Tuesday, May 07, 2024

-->

विश्वकप छनोट : नेपालको पहिलो प्रतिस्पर्धी लाओस

नेपाल र लाओस हालसम्म ३ पटक आमनेसामने भएका छन्। नोभेम्बर २०१६ मा एएफसी सोलिडारिटी कपमा भएको पहिलो भेटमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३-० गोलअन्तरले पराजित गरेको थियो।

विश्वकप छनोट  नेपालको पहिलो प्रतिस्पर्धी लाओस
फाइल तस्वीर

काठमाडौँ– फिफा विश्वकप २०२६ तथा एएफसी एशियन कप २०२७ को प्रारम्भिक छनोटमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।

एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मलेसियाको क्वालाम्पुरमा गरेको ड्र अनुसार नेपालले लाओस प्रतिद्वन्द्वी पाएको हो।

 नेपालले अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकप र साउदी अरबमा हुने एशियन कपको प्रारम्भिक छनोट खेल्न लागेको हो।

नेपालले लाओससँग होम एन्ड अवेमा दुई खेल खेल्ने छ। पहिलो लेगको खेल अक्टोबर १२ देखि २३ र दोस्रो लेग अक्टोबर १७ देखि २३ भित्र हुनेछ।

नेपाल र लाओस हालसम्म ३ पटक आमनेसामने भएका छन्। नोभेम्बर २०१६ मा एएफसी सोलिडारिटी कपमा भएको पहिलो भेटमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३-० गोलअन्तरले पराजित गरेको थियो।

यही मार्चमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थ्रि नेसन्स् प्रतियोगिताको दुवै खेलमा नेपालले लाओसलाई पराजित गरेको थियो।

पहिलो खेलमा नेपालसँग लाओस २-० गोलअन्तरले पराजित भएको थियो। फाइनलमा २-१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको थियो।

आगामी फिफा विश्वकपमा ४८ राष्ट्रको सहभागीता हुनेछन्। एशियातर्फ नेपालसहित २० राष्ट्रले प्रारम्भिक छनोट खेल्नेछन्। छनोट पार गर्ने १० टोलीले दोस्रो चरण खेल्नेछन्। दोस्रो चरणबाट १० टोलीले अन्तिम चरणमा स्थान बनाउने छन्।

३६ टोलीबीच ९ समूहमा रहेर प्रतिस्पर्धा हुनेछ। एशियन कपको दोस्रो चरणमा २६ टोलीले यसअघि नै स्थान बनाइसकेका छन्। ४/४ राष्ट्रको समूहबाट विजेता र उपविजेताले एशियन कपमा स्थान बनाउनेछन्। यसैगरी विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश पाउनेछन्।

प्रारम्भिक छनोटको पट १ मा नेपालसहित फिफा वरियतामा २७ देखि ३६ स्थानका राष्ट्र थिए। पट २ मा ३६ देखि ४६ फिफा वरियताका राष्ट्र परेका थिए।

पट १ मा नेपालसहित हङकङ, इन्डोनेसिया, चाइनिज ताइपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार र कम्बोडिया थिए। पटक २ मा मकाउ, मंगोलिया, भुटान, लाओस, बंगलादेश, ब्रुनाई, टिमोर लिस्टे, पाकिस्तान, गुआम र श्रीलंका थिए।

पट १ मा परेको टोलीले पट २ का टोलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन्।

प्रारम्भिक छनोटका अन्य खेल :

अफगानिस्तानविरुद्ध मंगोलिया

माल्दिभ्सविरुद्ध बंगलादेश

सिंगापुरविरुद्ध गुआम

यमनविरुद्ध श्रीलंका

म्यानमारविरुद्ध मकाउ

कम्बोडियाविरुद्ध पाकिस्तान

चाइनिज ताइपेइविरुद्ध टिमोर लिस्टे

इन्डोनेसियाविरुद्ध ब्रुनाई

हङकङविरुद्ध भुटान

नेपालविरुद्ध लाओस

 


सम्बन्धित सामग्री