Sunday, May 12, 2024

-->

हिँड्दाहिँड्दै टुंगिने काठमाडौँ उपत्यकाका फुटपाथ

शहर कस्तो छ भन्ने तस्वीर त्यहाँ पैदलयात्री हिँड्ने फुटपाथ कति व्यवस्थित छन् भन्ने कुराले देखाउँछन्। काठमाडौँ उपत्यका त्यसको उदाहरण हो जहाँ पैदलयात्रीका लागि बनाइएका फुटपाथ हिँड्दाहिँड्दै हराउँछन्।

हिँड्दाहिँड्दै टुंगिने काठमाडौँ उपत्यकाका फुटपाथ
लाजिम्पाटस्थित फ्रान्सको दूतावासअगाडिको सडक। तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– हामी अहिले संघीय सरकारको राजधानी काठमाडौँ र ललितपुर महानगरपालिकाका केही फुटपाथहरूको शाब्दिक यात्रा गर्दैछौँ। 

लगनखेलस्थित पाटन अस्पतालबाट दक्षिणतर्फ दक्षिणकाली मार्गतिर लाग्दा जिल्ला प्रशासन कार्यालय ललितपुर पुगिन्छ। यसबीचमा कृषि ज्ञान केन्द्र– ललितपुर, खुला विश्वविद्यालय लगायतका कार्यालय पर्छन्। यहाँबाट अघि बढ्दै गर्दा एभीएम चोक आउँछ, जहाँ नरपार्क छ। यो चोकले लगनखेल, जावलाखेल र भनिमण्डल गरी तीन दिशाका तीन वटा बाटोलाई जोड्छ। हामी भने यो पार्कको दक्षिण हुँदै यात्रा गरौँ, भनिमण्डलतर्फ।

एकैछिन रोकिऊँँ। दोबाटोको बीचमा उभिएर हेर्दा कुमारीपाटीतर्फ जाने बाटोका दुवै किनारामा फुटपाथको लेन छ। तर, जिल्ला प्रशासन कार्यालयतर्फ भने एकातिर मात्र फुटपाथ छ। फुटपाथ अपांगमैत्री छ। हाल यहाँ फुटपाथको लाइनलाई रंगाउने काम भइरहेको छ।

चोकको पश्चिमतर्फ बाटो छेउमा किराना पसल थापेर बसेका छन्, ज्ञानबहादुर गुरुङ। उनका अनुसार, नदेखिने हुँदै गएको फुटपाथ देखिने गरी छुट्ट्याउन महानगरपालिकाले यस क्षेत्रमा पुनर्निर्माण र रङरोगन गरिरहेको छ। चोकका तीन दिशातर्फ जाने बाटोमा रहेका फुटपाथको प्रकृतिले उनी अचम्मित छन्। कहाँ कति फुटपाथ हुनुपर्ने हो उनलाई थाहा छैन तर दुई छेउमा फुटपाथ हुँदा अझ राम्रो हुने उनको भनाइ छ।

आवासीय तथा सवारी साधनको चाप कम हुने क्षेत्रमा सडकभन्दा पनि फुटपाथ फराकिलो हुनुपर्ने उनी बताउँछन्। भनिमण्डलतर्फ जाने सडक भएर कुसुन्ती हाइटसम्म पुग्दा बाटोको एकातर्फ मात्र फुटपाथ पाइन्छ। कुसुन्ती हुँदै एकान्तकुना निस्कने यो बाटोबाट हाम्रो गन्तव्य बन्यो, भनिमण्डल। 

एकान्तकुना-भनिमण्डल सडक।

एकान्तकुनाको अल्का अस्पतालबाट भनिमण्डलतर्फको बाटोमा दुईतर्फ फुटपाथ छ। दायाँतर्फको उक्त फुटपाथबाट एक दम्पती ओरालो लाग्दै थिए। भनिमण्डल चोक आइपुग्दा उनीहरू फुटपाथ हुँदै सडकमा हिँड्न थाले। कारण, त्यहाँबाट फुटपाथ बिलाउँछ। फुटपाथको सट्टा त्यहाँ एक संस्थाको प्रवेशद्वारले ठाउँ ओगटेको छ। उमेरले ५०–५५ का देखिने उनीहरू फुटपाथमा हिँडिरहँदा बाटोमा निस्केको पत्तै नभएको बताउँछन। हिँड्दाहिँड्दैको फुटपाथ हराएको उनीहरूलाई याद रहेनछ। उनीहरू यही क्षेत्रमा बस्दै आएको पनि लामै समय भइसकेको रहेछ।   

“फुटपाथ भएको ठाँउमा फुटपाथमै हिँड्ने हो, नत्र सडकमै हिँडिन्छ,” टीका तामाङ भन्छिन्, “फुटपाथ सबैतिर भए पो फुटपाथमा हिँड्नु, हैन र?”

उनका श्रीमान् टेकबहादुर तामाङ रिङरोडबाट भनिमण्डल निस्कने भित्री बाटोमा फुटपाथ नहुनुले पिरोलिएका रहेछन्। “त्यहाँ हिँड्न जोखिमपूर्ण छ। हामीजस्तो पाको उमेरकालाई यो अझ जोखिमपूर्ण हो,” उनी भन्छन्। छोटो कुराकानीपछि यी दम्पती आफ्नो बाटो लागे।

टेकबहादुरले भनेजस्तै नख्खुबाट भनिमण्डल निस्कने बाटोमा फुटपाथ हराएको छ। मानिसहरू सडकको किनाराबाट हिँड्ने गर्छन्। दाहिनेतर्फको भनिमण्डल उकालोमा डीएभी स्कुल शुरू भएसँगै फुटपाथ पनि देखा पर्छ। उक्त फुटपाथ झम्सिखेलसम्म सडकको दुईतर्फी नै छ।

झम्सिखेलस्थित सेन्ट मेरिज स्कुलपछाडिको सडक।

झम्सिखेलबाट पुल्चोकको लागि निस्कने क्रममा सेन्ट मेरिज स्कुलको पछाडिको भाग आउँछ जहाँ फुटपाथको लागि विद्यालयले ठाउँ छोडेको छ। यद्यपि, सोही विद्यालयको जावलाखेल जानेतर्फ विद्यालयकै पर्खालले फुटपाथ खाइदिएको छ। विद्यालय परिसरको पर्खाल नसकिएसम्म यहाँ सडकको बायाँतर्फबाट मात्रै हिँड्न सकिन्छ।

ललितपुरका मार्ग तथा उपमार्गमा यस्ता धेरै फुटपाथ छन् जुन कतै भवन संरचनाका कारण मेटिएका छन् भने, कतै  बिजुलीको ट्रान्समिटरले ओगटेका छन्। 

यस्तै यात्रा काठमाडौँ महानगरपालिकामा पनि गरौँ। यहाँका विभिन्न संरचनामा विशेषतः राजदूतावास क्षेत्रमा त्यस्तै खालको संरचना बनेको देखिन्छ। लैनचौरबाट महाराजगञ्जतर्फ जाने सडकलाई ‘कूटनीतिक मार्ग’ भन्दा फरक नपर्ला। लैनचौरमा दुईतर्फ रहेको फुटपाथ फ्रान्सेली दूतावासको परिसर अगाडि पुगेपछि एकातर्फको खिइँदै जान्छ। त्यसरी खिएको फुटपाथ सानो धर्सोमा परिणत भएको छ जहाँ एक पटकमा एक जना मात्र हिँड्न मिल्छ। त्यसमाथि आडैमा दूतावासको अग्लो पर्खाल उभिएको छ जसका कारण फुटपाथ भएर ओहोरदोहोर गर्ने पैदलयात्रीहरू हैरानी खेपरिहेका हुन्छन्। तिनैमध्ये पर्छिन् श्रेया श्रेष्ठ।

लाजिम्पाटमा काम गर्ने श्रेयालाई साँझ आफ्नो गन्तव्य फर्कन होटल एम्बास्डरको पछाडि रहेको लैनचौरको बस स्टपमा पुग्नुपर्छ। 

“गाडी चढ्न बस स्टप नगई हुन्न। त्यही भएर फर्कने बेला देब्रेतिरबाट हिँड्ने गर्छु। तर, फ्रान्सको एम्बेसी आइपुग्दा फुटपाथ नै हराउँछ। सानो कुलो जस्तो बाटोबाट हिड्नु पर्छ,” श्रेष्ठ भन्छिन्, “वरपर सबैतिर फुटपाथ छ, यहीँ चाहिँ किन यस्तो भएको होला?” 

फुटपाथ नहुँदाका असुरक्षाबारे थाहा हुँदाहुँदै पनि पटकपटक उनी सोही बाटोबाट यात्रा गर्छिन्। लाजिम्पाटको माछापुच्छ्रे बैंकनजिकै रहेको बिजुलीको ठूलो ट्रान्समिटरले यात्रालाई बाधा पार्ने गरेको छ। श्रेयाको स्थानमा कोही अपांगता भएका र ह्विलचेयरमा हिड्नेको लागि विकल्प के? सडक बनाउनेहरूको असंवेदनशीलता यहाँ गएर देखिन्छ। 

त्यसो गर्नु ‘नेपाल सहरी सडक मापदण्ड २०७६’ को उल्लंघन हो। त्यस मापदण्डमा पथ तथा सडकमा अपांगता भएका व्यक्तिहरूलाई हिँड्न सजिलो होस् भनी न्यूनतम दुई मिटरसम्म चौडाइको फुटपाथ आवश्यक पर्ने उल्लेख छ। तर, यसको कार्यान्वयन अहिलेसम्म पनि हुन सकेको छैन।

अपांगता भएका ३० वर्षीय भरत बिसीको दैनिकी ह्विलचेयरमार्फत चल्छ। लामो समय ललितपुरको एकान्तकुना बसेका उनी केही महिनाअघि मात्र काठमाडौँको रातोपुल सरेका छन्। तर, उनका लागि सडक र फुटपाथको कष्ट ज्यूँका त्यूँ छ। अझ काठमाडौँको बसाइ ललितपुरमा भन्दा बढी कष्टकर भएको उनको अनुभव छ। 

काठमाडौँमा सवारी चाप बढी र अपांगमैत्री सडक कम भएको उनी बताउँछन्। उच्च ट्राफिक चाप र फुटपाथ छिन्नभिन्न भएकाले उनी एक्लै हिँड्न सक्दैनन्। “फुटपाथ व्यवस्थित नभएकै कारण मलाई कार्यलय जाँदा आफ्ना साथी अथवा परिवारका सदस्यको सहायता चाहिन्छ,” उनी भन्छन्। 

नक्सालस्थित प्रहरी प्रधान कार्यालय अगाडिको पेट्रोल पम्पले पनि फुटपाथका यात्रुलाई बिथोलेको छ। नक्साल हुँदै भाटभटेनीबाट बालुवाटार जाने बाटोको दाहिनेतर्फ चिनियाँ राजदूतावास छ। यी क्षेत्रमा खम्बा, पोल र साँघुरो फुटपाथ छ। प्रधानमन्त्री निवासबाट केही माथि रहेको अस्थायी प्रहरी चौकीले पनि फुटपाथ खाइदिएको छ। त्यहाँबाट ठाडो उकालो लाग्दा रुसी दूतावास पुगिन्छ। त्यहाँ फुटपाथ हराएको छ। दूतावासको कम्पाउन्डमा फुटपाथको केही अंश रहे पनि त्यहाँ घाँस उम्रिएका छन् जसलाई दूतावासले बार लगाएको छ। 

त्रुटिपूर्ण ऐन 
शहरी विकास अभियन्ता सौरभ ढकाल, प्राचीन बस्ती संरचनामा गाडी कुदाउनेभन्दा पनि मानिसको आवतजावत र रथ कुदाउने सभ्यता रहेको बताउँछन्। “समाज विकास हुने क्रममा सवारी साधनको आविष्कार भयो र काठमाडौँमा पनि भित्रियो,” उनी भन्छन्, “सोही अनुसार उपत्यकाको सभ्यतामा यसको प्राथमिकता बढ्यो। शहरमा मानवकेन्द्रित भन्दा पनि सवारीकेन्द्रित बाटो बन्ने क्रममा सडकको निर्माण भयो।”

ढकालका अनुसार, बाटो विस्तारको क्रममा उपत्यकाका धेरै घरहरू भत्काइए र त्यहाँ सडक फैलाइयो। “पैदलयात्रीका लागि फुटपाथ पनि चाहिन्छ भन्ने हेक्का नहुँदा सडक मात्र बने। सडक बनाइसकेर बाँकी रहेका ठाउँमा फुटपाथ बने। यसलाई ‘कार सेन्ट्रिक डिजाइन’ भनिन्छ।”

शहरका भित्री मार्ग (पथ) तथा उपमार्गको जिम्मेवारी स्थानीय तहलाई छ। “मापदण्ड तोकिए पनि हाम्रो शहरको सडक त्यसअनुसार छ कि छैन भनेर पालिकाले हेरेको छैन,” ढकाल भन्छन्।

नेपाल शहरी सडक मापदण्ड नै २०७६ सालमा आएर बन्यो। त्यसअघि सार्वजनिक सवारी ऐन–२०३१ लगायतका कानून थिए जसमा शहरी सडकको जिम्मेवारीबारे कतिपय नीति प्रष्ट थिएन। 

सार्वजनिक सडक ऐन–२०३१ अनुसार उपत्यकाको चक्रपथ सडक केन्द्रबिन्दुबाट दायाँबाँया २५/२५ मिटर अर्थात् ५० मिटर फराकिलो छ। त्यसपछि ६ मिटर ‘सेट ब्याक’ (सडक सीमा) हुन्छ। केन्द्रबिन्दु तोकिएका यस्ता बाटोमा सडकछेउको ६ मिटर दूरीभित्र केही पनि बनाउन मिल्दैन। तर, केन्द्रबिन्दु नतोकिएको सडक क्षेत्रमा किनारापछि नालाको लागि थोरै ठाउँ छोडिएको हुन्छ र त्यसपछि व्यक्तिको जग्गा शुरू हुन्छ।

ललितपुरमा एभीएम चोकबाट कुसुन्ती हाइट जाने सडक।

“त्यस्तो ठाउँमा जग्गाधनीले कम्पाउन्ड लगायतका अस्थायी संरचना बनाउन पाउँथे जसलाई सडक चौडाइ गर्ने क्रममा क्षतिपूर्तिसहित भत्काउन मिल्थ्यो। तर, हाल सर्वोच्च अदालतबाट भएको आदेशमा पनि मुआब्जा दिन सकिने अवस्था छैन,” सडक विभागका एक कर्मचारी भन्छन्। 

यति बेला सबैको ध्यान ट्राफिक जाम व्यवस्थापनमा मात्र केन्द्रित हुँदा सडक फराकिलो पार्ने कामले मात्र प्राथमिकता पाएको उनी बताउँछन्। उपत्यकाभित्रको सडक निर्माणमा उपत्यका विकास प्राधिकरण, स्थानीय विकास विभाग, भवन विकास, स्थानीय तह, बागमती सभ्यता, सडक विभाग लगायतका धेरै निकाय संलग्न धेरै छन् जसले फुटपाथ व्यवस्थापनको समस्या अझ बल्झाएको छ।

“नीतिअनुसार हेर्ने हो भने काठमाडौँको कुनै पनि बाटो मापदण्ड बमोजिमको छैन। पैदलयात्रीको भार अनुसार फटपाथको न्यूनतम क्षेत्र तोकिएको छ, तर व्यवहारमा त्यो लागू भएको छैन,” उनले भने, “एक मिटरको फुटपाथमा केयुकेल, विद्युत प्राधिकरण लगायतका संस्थाका तारजाली र खम्बाले ओगटेर बाँकी भागमा पनि महानगरपालिकाले फूल रोपिदिएपछि पैदलयात्रीलाई हिँड्नै समस्या छ।”

सडकको परिभाषा नै गलत
सडकको परिभाषा नै सुधार्नुपर्ने शहरी यातायातका विज्ञ, इन्जिनियर सागर वन्त बताउँछन्। बाटोले छोएको जमिनलाई सडक मान्ने गलत व्याख्याले फुटपाथ अथवा ‘साइडवाक’ उपेक्षित भएको र बाटोले छोएको जमिन आकर्षक ठान्ने मान्यताबाट समाज माथि उठ्न नसकेको उनको भनाई छ। 

ऐन र मापदण्ड आफैमा समस्याग्रस्त रहेका र तिनलाई कार्यान्वयनमा ल्याउन पनि सडक विभाग, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले नसकेको उनको बुझाइ छ। यसको उदाहरण उनी चक्रपथलाई दिन्छन्। 

“हाम्रो नियम र मापदण्ड यति कमजोर रह्यो कि सहयोगदाता चिनियाँ कम्पनीले मनोमानी ढाँचामा यसको निर्माण गरे। हाम्रो सरकारसँग परिमार्जन गर्ने पाटो थियो तर गर्न सकेन,” वन्त भन्छन्, “अहिले प्रादेशिक मार्ग तथा साना सडकहरू स्थानीय पालिकाको जिम्मामा छन् जहाँ मुस्किलले एक जना इन्जिनियर मात्र छन्।”

उनी केही महानगरपालिका बाहेक अन्य स्थानीय तहको संस्थागत योग्यतामाथि नै प्रश्न गर्छन्। 

फुटपाथ मास्ने विदेशी दूतावासलाई छुनै नसक्ने प्रवृत्ति उनी देख्छन्। “यस विषयमा पराराष्ट्र मन्त्रालयलाई वास्ता छैन र सडक विभागले पनि दूतावासको पर्खाल भत्काउन सक्दैन,” वन्त भन्छन्, “मन्त्रालय–मन्त्रालय बीच सहयोग आदानप्रदान भन्दा पनि प्रतिस्पर्धाको भावना देखिन्छ।”

सडक र विकासको कुरामा मानिसले गर्ने प्रगतिलाई विलासिताका वस्तु घर, गाडीसँग जोड्दा पनि हाल समस्या निम्तिएको उनी बताउँछन्। यस खालको प्रगतिले आगामी २०–२५ वर्षमा जति नै चौडाइको बाटो बने पनि अन्तत संरचनाले थेग्न नसक्ने वन्तको दाबी छ। “हाल विकसित र समुन्नत कहलिएका देश यही विषयमा चुके, हामीलाई अझै पनि समय छ, सार्वजनिक सवारी साधनमा सरकारले जोड दिनुको विकल्म म देख्दिन,” उनले भने।

दूतावासमा महानगरको पत्राचार
फुटपाथ संरक्षण अभियानबारे सम्बन्धित दूतावासमा पत्राचार भइसकेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर बताउँछन्। पत्रको प्रत्युत्तरमा आफ्नो पर्खालमा विद्युतीय तथा सैनिक सामान भएको कारण उक्त सामानको व्यवस्था गरिसकेपछि त्यसलाई हटाउने जवाफ प्राप्त भएको उनले बताए। 

फुटपाथलाई खुला गर्ने नीतिअनुसार हाल ठेलागाडा जफत गर्ने, फुटपाथमा बनेका अस्थायी प्रहरी पोस्ट हटाउने जस्ता काम महानगरको नगर प्रहरीले गरिरहेको छ। हराएका ठाउँको फुटपाथ पनि पुनर्निर्माण हुने प्रवक्ता मानन्धरको दाबी छ।

जतिसुकै सानो सडक खण्डमा पनि सडकको दुवै किनारतर्फ फुटपाथ हुनुपर्ने मापदण्डमा उल्लेख छ। यद्यपि, पैदल यात्रुको आवतजावत कम हुने क्षेत्र पहिचान गरी यस्ता विषयलाई जोड नदिँदा पनि हुने उनको उकालोलाई बताए।

मुआब्जा दिन सकिने स्थिति नै छैनः ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा पूर्वाधार निर्माण महाशाखाका प्रमुख श्रीकुमार महर्जन ८ मिटरसम्मको बाटोको अधिकार पालिकालाई रहेको बताउँछन्। ८ मिटरको बाटोमा ६ मिटर सडक  र दायाँवायाँ दुई/दुई मिटर फुटपाथ छन्। 

उनका अनुसार ललितपुर क्षेत्रमा पेटीका रूपमा फुटपाथको जग्गा प्रयोग गरिनु, सडकको सतहसँग बराबर पारिनु र जग्गाको आकार अमिल्दो हुनु जस्ता कारणले फुटपाथ मेटिँदै गएका हुन्।

उदाहरणका लागि सेन्ट मेरिज विद्यालयतर्फ बाटोको चौडाइ बढाउने क्रममा फुटपाथ घटेर एकतर्फ मात्र बाँकी रहेको छ। “पहिले नगरपालिका र प्राधिकरणले पनि बिनामुआब्जा क्षतिपूर्ति दिएर काम गरिरहेका थिए। अहिले कसैको घरको भित्ता वा गेटमा यति मिटर छोड भनेर लेख्न पनि पाइँदैन,” उनी भन्छन्, “घर भवन निर्माणका बेला भने फुटपाथ अतिक्रमणमा हामी रोक लगाउन सक्छौँ।”

सडकको विषयमा जिम्मेवारी कसकसले लिने भन्ने विषयमा मन्त्रालयदेखि नै विवाद रहेको उनी बताउँछन्। “२२ मिटर फराकिलो भैँसेपाटी–हरिसिद्धि लगायतका क्षेत्रका बाटाहरू सडक विभागअन्तर्गत पर्छन्। तर, ती क्षेत्रमा बाटो नबनेको अपजस हामीले खानुपर्छ,” इन्जिनियर श्रेष्ठ भन्छन्, “सडक विभाग संघीय मन्त्रालयअन्तर्गत पर्छ। कम्तीमा नगरपालिकाभित्र पर्ने बाटो हाम्रो जिम्मामा भए हामी आफ्नो हिसाबले काम गर्ने थियौँ।” 

सडकका विषयमा धेरै निकायले काम गर्ने हुँदा कसको जिम्मा के-के छ भन्नेमा पनि अन्योल रहँदा काम नहुनुको गाली पालिकाले मात्र खानुपर्ने परिपाटी नसुध्रिएको उनी बताउँछन्। 

उपत्यका विकास प्राधिकरण ललितपुरका इन्जिनियर पूर्ण महर्जन व्यक्तिको नाममा दर्ता भएको जग्गामा क्षतिपूर्ति दिएर सडकको अधिकारक्षेत्र किटान गर्ने काम भइरहेको बताउँछन्। यद्यपि, हाल मुआब्जा दिनुपर्ने कारण काम रोकिएको छ। सोही कारण पनि कतिपय स्थानमा सडकमा हिँड्दाहिँड्दै फुटपाथ हराउने र घरको पर्खाल, गेट इत्यादि आइपुग्ने गरेको उनको भनाइ छ। 

हाल अदालतबाट क्षतिपूर्ति सहितको आदेश आएसँगै यस्ता समस्या समाधानको काम सडक विस्तार आयोजनाले गर्छ। उपत्यकाका पालिकामा हालको लागि जग्गाको मुआब्जा दिन सक्ने स्थिति प्राधिकरणसँग नरहेको उनी बताउँछन्।

के छ शहरी सडक मापदण्डमा?
नेपाल शहरी सडक मापदण्ड–२०७६ अनुसार, शहरमा चार किसिमका सडक हुन्छन्– मुख्य सडक (पथ), सहायक सडक (सडक), मार्ग र उपमार्ग। यी चारै किसिमका सडकमा फुटपाथ, साइकल लेन तथा सडकको मध्यभागमा बोटविरुवा अनिवार्य हुनुपर्ने व्यवस्था छ। 

मापदण्डअनुसार, आठ लेनको मुख्य सडकको मध्य भागबाट दायाँवायाँ दुवैतर्फ १५/१५ मिटर हुन्छ जहाँ सडकको दुवैतर्फ २.५ मिटरको फुटपाथ हुनुपर्छ। यसबीचमा साइकल लेन, भर्ज (नाला) र बोटविरुवा रोप्ने भागसमेत गरी यस्तो सडकको अधिकारक्षेत्र ५० मिटर हुन्छ। काठमाडौँको चक्रपथलाई मुख्य सडकको रूपमा लिन सकिन्छ।

दोस्रो, सहायक सडक हो जुन मुख्य सडकसँग जोडिएको हुन्छ। सडकको केन्द्रभागबाट ७/७ मिटर दायाँवायाँ क्षेत्र रहने ४ लेनको सहायक सडकको पनि दुवैतर्फ दुई मिटरको फुटपाथसँगै साइकल लेन र भर्ज हुन्छन्। नख्खुबाट भनिमण्डलसम्मको सडक क्षेत्रलाई सहायक सडक मान्न सकिन्छ। सहायक सडकमा पनि २.५ मिटरको फुटपाथ छोडिनु पर्छ। यसको अधिकारक्षेत्र ३० मिटर हुन्छ।

मुख्य सडक र सहायक सडकसम्म पुग्ने सडकलाई मार्ग भनिन्छ। मार्ग पनि मध्य बिन्दुबाट दायाँवायाँ सात मिटर हुन्छ। तर, यसको अधिकारक्षेत्र २० मिटर हुन्छ। अर्थात् यहाँ फुटपाथ, साइकल लेन र भर्जका लागि मुख्य सडक र सहायक सडकको भन्दा केही हिस्सा बढी हुन्छ। सवारी साधन आवतजावतका लागि भने दुई लेनमा गाडी गुड्ने बाटो हुन्छ। यहाँको फुटपाथ ३ मिटरको हुन्छ। यो विशेषतः उद्योग क्षेत्र, अस्पताल लगायतका व्यावसायिक क्षेत्र जोड्ने बाटो हो।

दुई लेनको आवासीय क्षेत्र जोड्ने बाटो उपमार्गमा गनिन्छ। यस्ता क्षेत्रमा ट्राफिकको चाप निकै हुनुपर्ने हुन्छ। यहाँ दुवै किनारामा दुई मिटरको फुटपाथ तोकिएको छ। तर, यो मापदण्ड पालना भएको देखिँदैन। उपमार्गमा मुस्किलले एकातर्फ मात्र फुटपाथ रहेको पाइन्छ। सडकको केन्द्रबाट दुवैतर्फ ६ मिटर हुने यस सडकको क्षेत्राधिकार १० मिटर हो। 

फुटपाथसँग व्यक्तिको जग्गा जोडिने गरेको सन्दर्भमा ऐनको अस्पष्टताले पनि कतिपय भवन संरचनाले फुटपाथ खाइदिएको अनुमान लगाउन गाह्रो पर्दैन।

त्यस्तै, आवासीय क्षेत्र तथा सवारी साधनभन्दा पैदल यात्रीको चाप बढी हुने स्थानमा फुटपाथलाई प्राथमिकता दिनुपर्ने मापदण्ड तोकिएको छ। जस्तो कि प्रतिघन्टा ८०० जनाको दरले पैदलयात्री आउजाउ हुने ठाउँमा दुई मिटरको फुटपाथ अनिवार्य आवश्यक पर्ने नेपाल शहरी सडक मापदण्ड–२०७६ मा उल्लेख छ। यसले सडक बनिसकेपछि बाँकी रहेको स्थानलाई नभई पैदलयात्रीको आवतजावतको घनत्वअनुसार फुटपाथ निर्धारण हुनुपर्ने स्पष्ट देखिन्छ।

यद्यपि, सडक संरचना सवारीकेन्द्रित हुँदा फुटपाथ नजरअन्दाजमा परेको शहरी यातायातका विज्ञ सागर वन्त बताउँछन्। “हाम्रो सडकको ढाँचा समाजवादीभन्दा पनि पुँजीवादी भयो। हुने खानेको लागि सडक विस्तार हुँदैछ। पैदल हिँड्नेलाई फुटपाथ चाहिन्छ भन्ने हेक्का नै छैन,” उनी भन्छन्।

शहरी विकास अभियन्ता सौरभ ढकाल यसलाई पर्यावरणसँग पनि जोड्छन्। “कम सवारी चाप र उच्च पैदलयात्रु भएको क्षेत्रमा फुटपाथलाई बढावा दिनुपर्छ। यसले त्यस क्षेत्रमा सवारी साधनको चाप घटाउँछ। सवारी साधन कम हुँदा वातावरणीय प्रदूषणमा पनि कमी आउँछ। यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन,” उनी भन्छन्।

ढकालले भने झैँ धेरै मानिसको आवतजावत हुने स्थानमा पर्छ काठमाडौँको कोटेश्वर। यहाँ फुटपाथको पनि उत्तिकै आवश्यकता छ। यहाँबाट जडिबुटीसम्म पुग्ने व्यक्तिले गाडीभन्दा फुटपाथ नै रोज्न सक्छन्। तर आवश्यकता अनुसारको फुटपाथ नहुँदा गाडीमै चढेर जानुपर्ने बाध्यता छ। यसले मानिसलाई ‘मेकानिकल’ बनाएको ढकालको बुझाइ छ। उनका अनुसार नेपाल शहरी सडक मापदण्ड–२०७६ ले फुटपाथलाई प्राथमिकता दिनुको उद्देश्य पनि यस्ता क्षेत्रमा व्यवस्थित फुटपाथ र वातावरणीय स्तरोन्नतिमा टेवा पुर्‍याउनु हो।

यद्यपि, फुटपाथ र फुटपाथमा बसेर व्यवसाय चलाउनेहरूको विषयमा हाल भइरहेको बहसको अपव्याख्या भइरहेको ढकाल बताउँछन्। उनी भन्छन्, “स्थानीय तहले अस्थायी र सहज रुपमा सार्न मिल्ने ठेलागाडालाई मात्र लेखेटिरहेको छ। फुटपाथको हिस्सा ओगटेर उभिएका अजंगका दूतावास तथा अन्य भवन संरचना हटाउन चाहिँ केही गर्न नसकेर मूकदर्शक बनेको छ।”


सम्बन्धित सामग्री