Sunday, May 05, 2024

-->

सरकार संसदीय समिति र संसद् चलाउन जिम्मेवार देखिएन: योगेश भट्टराई

एमालेका सांसद योगेश भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्।

सरकार संसदीय समिति र संसद् चलाउन जिम्मेवार देखिएन योगेश भट्टराई

काठमाडौँ– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले संसद् चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताए। उनले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसद्का बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। उनले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको बताए।

“समितिहरू भनेको सरकारलाई चेक एन्ड ब्यालेन्स गर्ने संसद्का अंग हुन्, यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ, किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ,” उनले भने, “समितिले दिएका निर्देशनहरू नेपाल सरकार र सरकारका निकायहरूले बिनाशर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनु पर्छ।”

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरू सरकार र सरकारका निकायहरूले बिनाशर्त कार्यान्वयन गर्नुपर्ने बताए।


सम्बन्धित सामग्री