Monday, May 06, 2024

-->

प्रेम–विवाहमा जात नमिल्दा जल्यो घर, बिहे गर्ने युवक ‘बेपत्ता’

अघिल्लो दिन जलाउने धम्की आएको कारण भरत त्यस रात घरमा सुतेका थिएनन्। छिमेकमा गएर बसेकाले आगोमा पर्नबाट उनको ज्यान जोगिएको थियो।

प्रेम–विवाहमा जात नमिल्दा जल्यो घर बिहे गर्ने युवक ‘बेपत्ता’
जुम्लाको तातोपानी गाउँपालिका–४, गिडीखोलामा जलाइएको मुकेन्द्र नेपालीको घर। प्रेम सम्बन्धमा रहेकी एक युवतीलाई भगाएपछि दलितले आफ्नो बहिनी लगेको भन्दै केटीका दाइले घरमा आगो लगाइदिएका हुन्। तस्वीर सौजन्य: भरत नेपाली

काठमाडौँ– तातोपानी गाउँपालिका–४ गिडीखोला, जुम्लाका मुकेन्द्र नेपालीले गाउँकै एक युवतीसँग प्रेम गरेको दुई वर्ष बितिसकेको थियो। यही असार १२ गते गाउँमा एउटा हल्ला फैलियो– ‘मुकेन्द्रले ...लाई भगाएर लग्यो रे।’ १२ कक्षा पास गरेका मुकेन्द्रले एसईईको परीक्षा दिएर नतिजा कुरिरहेकी युवतीलाई ‘भगाएर लगेको’ खबर गाउँमा फैलिइसक्दा मुकेन्द्रको परिवार भने अनभिज्ञ थियो।    

“हामीलाई केही थाहा थिएन। गाउँमा तेरो भाइले माथिल्लो जातकी केटी भगाएर लग्यो भनेर सुनाए। पहिले पत्याएनौँ, पछि सबैले भन्न थाले,” मुकेन्द्रका दाइ भरत भन्छन्, “कहाँ गयो, के गर्‍यो भनेर भाइलाई खोज्यौँ। तर, ऊ हाम्रो सम्पर्कमा आएन। परिवारको कान्छो भाइ, उसको पढाइमै हाम्रो जोड थियो। केटी भगाएर लगेपछि हाम्रो डर मान्यो होला, दुई/चार दिनपछि सम्पर्कमा आउला भन्ने ठान्यौँ।” 

तर मुकेन्द्र घर फर्किएका छैनन्। उनको कुनै खबर छैन। बरु चार दिनपछि भरतलाई केटी पक्षका तीन जनाले घरमै आएर धम्की दिए। 

“हाम्रो परिवारसँग तेरो औकात मिल्दैन, तिमीहरूसँग मेरो जात मिल्दैन, आज यस ....को घर जलाएरै छाड्छु भन्दै केटीका दाइ, बाबु र काकासमेत तीन जना आएर थर्काएका थिए। पछि सजग भएर आफ्नै कामकाजमा फर्किएँ,” भरत भन्छन्। 

उनको परिवारमाथिको धम्की त्यतिमै सीमित रहेन। 

त्यसको भोलिपल्ट, असार १७ गते बिहान ३ बजेतिर आफ्नो बाह्रकोठे घरको तल्लो तलामा लागेको आगो सल्किएर बल्दै गरेको भरतले देखे। तत्काल छरछिमेकी गुहारे। हेर्दाहेर्दै घरभित्र आगो दन्किँदै गयो। तुरुन्तै गाउँभरि खबर फैलियो। घरका झ्यालहरूबाट देखिएको आगोको लप्का र धुरीबाट निस्किएको धुवाँको मुस्लोले टाढाटाढाका छरछिमेकीले पनि थाहा पाएर मद्दत गर्न आए। 

घटनाको वास्तविकता छिप्ने कुरा थिएन। भरतसँग अघिल्लो दिन ‘घर जलाएरै छोड्छु’ भनी धम्की दिने समूहले राति आएर आगो झोसेर गएको सबैले अनुमान लगाए। घरमा भरत र उनका भाइ मुकेन्द्र मात्र बस्दै आएका थिए। अघिल्लो दिन धम्की आएको कारण भरत त्यस रात घरमा सुतेका थिएनन्। छिमेकमा गएर बसेका कारण आगोमा पर्नबाट उनको ज्यान जोगिएको थियो। 

“एक–दुई दिन धम्की दिएर चुप लाग्छन् होला भन्ने लागेको थियो। यसरी घरै जलाउलान् भन्ने सोचेनौँ। तर, भनेको भोलिपल्ट उज्यालो नहुँदै घरमा आगो लगाइदिएछन्। बाहिर गएर बास बसेको कारण ज्यान जोगियो, घर जोगिएन,” भरतले उकालोसँग फोनमा भने। 

घरमा लगाइएको आगो निभाइसकिए पनि भरतको मनमा सल्किएको आगो भने दन्किरहेको छ। त्यसलाई उनले कसैगरी निभाउन सकिरहेका छैनन्। भन्छन्, “भाइ अहिलेसम्म सम्पर्कमा छैन। नवराज (रुकुममा हत्या गरिएका नवराज विक) बनाउने हुन् कि भन्ने डर लागिरहेको छ। अहिले मुद्दा प्रक्रिया अगाडि बढाएको छु।”

आगो लागेको थाहा पाउनासाथ जम्मा भएका गाउँलेले निभाउने प्रयास गरे पनि पानी पर्याप्त नभएका कारण बिहान उज्यालो हुँदासम्ममा घरका भित्री सामान र काठपात जति सबै जले। छिमेकी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि जल्दाजल्दैको छानोका जस्तापाताहरू निकालियो। आधा भत्किएको गारो मात्र बाँकी रहेको भग्न घर अहिले जातीय विभेदको कुरूप साक्षीका रूपमा गिडीखोला गाउँमा बाँकी छ।  

घर जलेपछि बिचल्ली भएका भरत तातोपानीबाट जुम्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय पुगे। घटनाको यथार्थ बताएर जाहेरी दर्ता गराउन तयार भए। प्रहरीको स्थानीय टोलीले जातकै कारण घर जलेको आँखै अगाडि देखे पनि जिल्ला प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरिरह्यो। पछि स्थानीय अधिकारकर्मीहरूको दबाबमा असार १७ गते ‘आपराधिक उपद्रव र जातजातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार’ मा प्रहरीले भरतको जाहेरी दर्ता गर्‍यो। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार १०५ नम्बरमा दर्ता भएको उक्त जाहेरी दरखास्त तीन जनाविरुद्ध दिइएको छ। जातीय रूपमा गालीगलौज गरेको र जात नमिलेकै कारण घर जलाइदिएको आरोपमा युवतीका दाइ, बाबु र काकाको नाममा किटानी जाहेरी छ। 

अनुगमन टोलीको जाँचबुझ
घटनाको विरोध जिल्लादेखि केन्द्रसम्म भइरहेको छ। असार १८ गते राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाका प्रमुख धनराज शाही, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई लगायतको टोली पुगेर क्षतिबारे जाँचबुझ गरेको छ। 

“हामीले बुझ्दा घरमा आगो लगाइएको देख्यौँ। स्थानीय व्यक्तिहरूसँग पनि कुरा गर्‍यौँ। वस्तुगत अवस्थालाई पनि प्रत्यक्ष हेर्दा–बुझ्दा त्यस्तो देखिन्छ। घटनाको अघिल्लो दिन केटी पक्ष र केटा पक्षको विवाद भएको रहेछ। भोलिपल्ट केटी पक्षबाट घरमा आगो लगाइदिएको पाइयो,” स्थलगत जाँचबुझ टोलीमा गएका गाउँपालिका अध्यक्ष चौलागाई भन्छन्, “यो नहुनुपर्ने घटना हो। दुःखद छ, जाहेरी परिसकेकाले कानूनबमोजिम अनुसन्धान चलिरहेको छ। दोषीले सजाय र पीडितले न्याय पाउनुपर्छ।” 

घरमा जलाउने हिसाबले नै आगो लगाइएको देखिएको अध्यक्ष चौलागाईंले बताए। “घरको छतबाट आगो सल्किएको छैन। बत्तीको तारबाट लागेको पनि होइन र खाना पकाउने ग्यास पनि केही भएको छैन। घरको भुइँतला जसलाई हाम्रोतिर गोठ भन्छन्, त्यसैको भित्रबाट आगो लगाइएको छ,” उनले भने। 

चौलागाईंको टोलीले आरोपित परिवार, तिनका आफन्त, केटापक्षका आफन्त र स्थानीयसँग सोधपुछसमेत गरेको छ। घरमा सुनियोजित तवरले आगो लगाइएको र दलित भएकै कारण यस्तो घटना भएको स्थलगत अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ। 

आरोपित युवकलाई जुम्ला प्रहरीले १७ गते पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान भइरहेको र जाहेरीमा उल्लेख भएका अन्य दुई व्यक्तिमाथि पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ। 

घटनाको चौतर्फी निन्दा
अहिले यस घटनाको विषयमा सडकदेखि सामाजिक सञ्जालसम्म तातेको छ। संयुक्त राजनीतिक दलित संघर्ष समिति कर्णाली प्रदेशले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनालाई मानवता, संविधान र ऐनकानून विपरीत भनी निन्दा गरेको छ। दलित मुक्ति मोर्चाका दिनेश चदारा, दलित संघका भिमबहादुर परियार, उत्पीडित जातीय मुक्ति समाजका तेजकुमार विके, दलित मुक्ति संगठनका बसन्तकुमार विश्वकर्मा, जातीय समता समाजका लालबहादुर नेपाली र श्रमिक समुदाय मोर्चाका रमेश दर्जीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, “घटनाप्रति यस संयुक्त राजनीतिक दलित संघर्ष समिति, कर्णाली प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। पीडित मुकेन्द्र नेपालीको खोजतलास गरी अवस्था सार्वजनिक गर्न, पीडितलाई उचित क्षतिपूर्ति दिलाउन र दोषीलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौँ।”

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ जुम्लाले मंगलबार विज्ञप्तिमार्फत घटना योजनाबद्ध भएको जनाउँदै यसको सूक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेको छ। संघकी केन्द्रीय सदस्य शान्ता शाहीले जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई मागपत्र बुझाउँदै घर जलाइएको मात्र नभई मानवता विरुद्धको अपराध र जातीय हिंसा भएकाले दोषीलाई हदैसम्मको दण्ड हुनुपर्ने बताइन्। घटनाको वास्तविकता नलुकाई अनुसन्धान गर्न उनले आग्रह गरिन्। 

विभिन्न संघ संस्था र अधिकारकर्मीहरूले पनि घटनाको आ–आफ्नै तवरले विरोध गरेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यस घटनालाई एउटा दलित युवा र परिवारमाथि गरिएको अपराध मात्र नभई एक्काइसौँ शताब्दीको उन्नत चेतना, मूल्यमान्यता र मानवताविरुद्धकै अपराध भनी निन्दा गरेका छन्।  

मंगलबारको राष्ट्रियसभा बैठकमा सांसद सुमित्रा बिसीले जुम्लामा अन्तरजातीय विवाह गर्दा मुकेन्द्र नेपालीको घरमा आगजनी भएको भन्दै दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिन्। “गत साता जुम्ला तातोपानी–४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपालीको घरमा अन्तरजातीय विवाह गरेबापत आगजनी गरिएको छ। अहिलेको युगमा पनि यस्ता संकुचित सोचले भरिपूर्ण समाजलाई प्रशिक्षित गर्दै यस्ता अपराधीहरूलाई छानबिन गरी कडाभन्दा कडा कारबाही गरियोस्,” उनले भनिन्। 

यो घटना मानवताविरुद्धको अपराध भएको राजनीतिकर्मी एवम् अधिकारकर्मी प्रकाशचन्द्र परियार बताउँछन्। उनी भन्छन्, “मानवताविरुद्धको यस्तो अपराधका दोषीले सजाय पाएनन् भने ठूलो विद्रोहको आगो बल्न सक्छ। यो घटना सामाजिक र कानूनी दुवै हिसाबले घृणित र दण्डनीय छ।” 

कर्णालीमा बेलाबेला यस्ता घटना दोहोरिइरहन्छन्। एक वर्ष अगाडि मात्र सर्केगाड गाउँपालिका–१, हुम्लाका चन्द्र विकले अन्तरजातीय प्रेम विवाह गरेकै कारण मध्यरातमा आएका केटीपक्षले उनी र उनकी नवविवाहित श्रीमतीलाई घरबाटै अपहरण गरेका थिए। श्रीमतीलाई आफूसँगै लगेर उनलाई बाटोमा छाडिदिएपछि आक्रमणको डरले उनी एक सातासम्म भोकभोकै जंगलमा लुकेर बसेका थिए। त्यस घटनाका दोषीलाई कारबाही नभएको अधिकारकर्मीहरूले बताएका छन्।  

अधिकारकर्मी वसन्त विश्वकर्मा भन्छन्, “जुम्लाको घटना मात्र होइन, कर्णालीको सिंगो दलित समुदायमाथि यसैगरी हिंसा भइरहन्छ तर सरकार बोल्दैन, सुन्दैन। दलित समुदायको मानवअधिकारको गम्भीर हनन भइरहेको छ। जुम्लामा जुन खालको मानवताविरोधी घटना भयो त्यसको जति निन्दा गरे पनि कम हुन्छ। यो जातीय विभेदको पराकाष्ठ हो।”

नेपाल दलित मुक्ति मोर्चा, दलित सेवा संघ, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, नेकपा एमाले जुम्ला जिल्ला कमिटी, सोही पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटी तथा जुम्ला जिल्ला कमिटी लगायतका संघसंगठनहरूले पनि घटनाको विरोध जनाएका छन्। 


सम्बन्धित सामग्री