Sunday, April 28, 2024

-->

किशोर हत्यापछि तरंगित फ्रान्स, ट्राफिकलाई दिइएको गोली हान्ने अधिकारमाथि प्रश्न

फ्रान्समा नाहेल मेर्जोकलाई ट्राफिकको चेक-पोइन्टमा गाडी नरोकेका कारण गोली हानी हत्या गरिएपछि सन् २०१७ मा ट्राफिकलाई बन्दुक प्रयोगको अनुमति दिन परिवर्तन गरिएको दण्डसंहितामाथि प्रश्न उठाइएको छ।

किशोर हत्यापछि तरंगित फ्रान्स ट्राफिकलाई दिइएको गोली हान्ने अधिकारमाथि प्रश्न

फ्रान्समा प्रहरीले ‍गोली हानेर हत्या गरेको किशोरका आफन्तले दंगा मत्थर गर्न प्रदर्शनकारीहरू समक्ष आव्हान गरेका छन्। ती किशोरका परिवारले उनको मृत्‍युले दंगा भड्कियोस् भन्ने नचाहेको बताएका छन्।

मृतककी हजुरआमाले उनको मृत्युपछि भएको हिंसाको विरोध गर्दै दंगा अन्त्य गर्न आइतबार अनुरोध गरेकी थिइन्। उनले ‘ट्राफिक स्टप’हरूमा सुरक्षाकर्मीले प्रयोग गर्ने घातक बलसम्बन्धी कानून परिवर्तन हुनैपर्ने बेलायती संचारमाध्यम बीबीसीलाई बताएकी छन्।

म‍ृतकका परिवारका एक सदस्यका अनुसार परिवारले मृतकको सम्झनामा र उनको हत्याको विरुद्धमा आक्रोशपूर्ण, तर अहिंसात्मक प्रदर्शन गर्न ‘व्वाइट स्ट्रीट मार्च’को आव्हान गरेका थिए।  "उनको मृत्‍युपर्यन्त हामीले कहिले पनि घृणा वा दंगा हुन उक्साउने वक्तव्य दिएनौँ। हजारौँ पक्राउ पर्ने गरी भएका यस्ता लुटपाटजन्य हिंसात्मक गतिविधिले उनको स्‍मृतिको सम्मान हुँदैन,"  परिवारका ती सदस्यले भनेका छन्।

अल्जेरियन मूलका १७ वर्षीय किशोर नाहेल मेर्जोकलाई गत मंगलबार ट्राफिकको चेक-पोइन्टमा नरोकेका कारण प्रहरीले गोली हानी हत्या गरेका थिए। त्यसपछि फ्रान्समा दंगा भड्किएको थियो, जुन सोमबार बिहानसम्म जारी छ।     

नाहेलका आफन्तले फ्रान्सेली अधिकारीहरूले ट्राफिक जाँचको बेला पुलिस अधिकारीहरूलाई गोली हान्न अनुमति दिइएको कानूनको समीक्षा गर्दै यथाशीघ्र परिवर्तन गर्नुपर्ने बताएका छन्। 

प्रहरीमाथि हिंसा बढिरहेको भन्दै बन्दुक प्रयोगको अनुमति दिनका लागि सन् २०१७ मा फ्रान्सको दण्डसंहिता परिवर्तन गरिएको थियो। तथ्यांकअनुसार फ्रान्समा अघिल्लो वर्ष ट्राफिक-स्टप सम्बन्धित घटनाहरूमा १३ जना मारिएका थिए, जसमध्ये अधिकांश अश्वेत र अरब मूलका व्यक्ति थिए।

दंगा भड्किएको पाचौँ दिन अर्थात शनिबार, नाहेलको अन्तिम संस्कार उनी बस्ने नान्तेर शहरस्थित एक मस्जिदमा गरिएको थियो।    

कसरी शुरु भयो दंगा?
गएको जुन २७ मा मर्जोकलाई प्रहरीले गोली हानेर हत्या गरेलगत्तै फ्रान्सका केही प्रमुख शहर आसपासका क्षेत्रहरूमा हिंसा भड्किएको थियो। हिंसात्मक गतिविधि गरेको आरोपमा हालसम्म फ्रान्सका विभिन्न शहरबाट तीन हजारभन्दा बढी पक्राउ परेका छन्। 

सवारी चालक अनुमतिपत्र नभएका किशोरले मंगलबार बिहान कार चलाउँदै गर्दा उनलाई ट्राफिक नियम तोडेको आरोपमा रोकिएको थियो। उनीमाथि गोली प्रहार गर्ने प्रहरीले शुरूमा नाहेलले चलाएको कार आफूतिर सोझिएपछि गोली प्रहार गरेको बताएका छन्। तर, सामाजिक सञ्जालमा प्रसारित भिडियो र प्रत्यक्षदर्शीको बयान अनुसार प्रहरीको दाबीमा सत्यता नभएको बताइएको छ। प्रारम्भिक अनुसन्धानको आधारमा हतियारको कानूनी प्रयोगका लागि चहिने शर्तहरू पूरा भएका थिएनन्।

नाहेलको मृत्‍युको खबर सार्वजनिक भएलगत्तै पेरिसको नजिक रहेको नान्तेर आसपासका क्षेत्रमा मंगलबार राति नै प्रहरीसँग प्रदर्शनकारीको झडप शुरू भएको थियो। प्रदर्शनकारीले आगलागी शुरू गरेपछि सुरक्षाकर्मीले भीडमा अश्रुग्यास प्रयोग गरेको थियो। शान्ति सुरक्षा कायम गर्न बुधबार बिहानै दुई हजार प्रहरी परिचालन गरिए पनि साँझपछि फेरि दंगा शुरू भयो। दिन बित्दैगर्दा नान्तेरबाट शुरू प्रदर्शनकारी र प्रहरीबीचको झडप देशका विभिन्न शहरमा फैलियो। 

स्थिति नियन्त्रणबाहिर गएपछि सरकारले बिहीबार ४० हजार सुरक्षा अधिकारीहरू खटाएको थियो। त्यति बेलासम्म विभिन्न हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा ८७५ जना पक्राउ परेका थिए। शुक्रबार राति थप पाँच हजार सुरक्षाकर्मी परिचालित भएका थिए, जसपश्चात एक हजार ३०० भन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएका छन्।

लगातारको प्रदर्शनका कारण फ्रान्सेली यातायात सञ्जाल नराम्ररी प्रभावित भएको छ। सरकारले शुक्रबार राष्ट्रव्यापी रूपमा सबै बस र ट्राम सेवाहरू राति ९  बजेसम्म बन्द गर्ने आदेश दिएको थियो। यसबीच विभिन्न शहरका व्यवसायिक केन्द्रहरूमा लुटपाट र आगजानीका धेरै घटना दोहोरिए भने प्रहरी कार्यालय र 'टाउन हल'हरू पनि प्रदर्शनकारीको आक्रमणमा परेका थिए।   

शनिबार थप ७०० जना पक्राउ परेका छन्। दंगा नियन्त्रण गर्न फ्रान्सका विभिन्न शहरमा बख्तरबन्द बाहन, हेलिकप्टरको निगरानीमा ४५ हजार भन्दा बढी सुरक्षाकर्मी सडकमा तैनाथ थिए।

आइतबार बिहानसम्म तीन हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेका छन्। सरकारले स्थिति नियन्त्रणमा आएको बताएको छ। तर, सामान्यतिर गइरहेको स्थिति आइतबार बेलुकी पुन: बिग्रिएको थियो। राजधानी पेरिस नजिकैको एक शहरका मेयरको आवासमा जलिरहेको कार ठोक्काइएको थियो।

यस संकटले राष्ट्रपति इम्मानुएल म्याक्रोँ नेतृत्वमाथि चुनौती खडा गरेको छ भने, भेदभाव र अवसरको अभाव भोगिरहेका विभिन्न फ्रान्सेली अल्पसंख्यक समुदायको असन्तुष्टिलाई सतहमा ल्याएको छ।

देशमा प्रदर्शन चर्किँदै गएपछि राष्ट्रपति म्याक्रोँले आइतबारका लागि तय गरिएको जर्मनी भ्रमण स्थगित गरेका छन्। राष्ट्रिय संकट व्यवस्थापन गर्ने क्षमतामा प्रश्न उठिरहेको बेला २३ वर्षपछि पहिलोपटक कुनै फ्रान्सेली राष्ट्रपति जर्मनी जाने 'ऐतिहासिक' कार्यक्रम रद्द भएको छ। यसले उनको क्षेत्रीय क‍ूटनीतिक छविमाथि पनि धक्का पुगेको छ।


सम्बन्धित सामग्री