Sunday, April 28, 2024

-->

पासपोर्ट नभएका कुकुर सडकमा डुलाउन मनाही

कुकुरको दिसाका कारण सडक फोहोर हुने समस्याको समाधानका लागि फ्रान्सको बेजिये नगरले अनिवार्य रूपमा 'पेट पासपोर्ट' बनाउनुपर्ने नियम लगाएको छ। पासपोर्ट बनाउन तीन महिनाको समय दिइएको छ।

पासपोर्ट नभएका कुकुर सडकमा डुलाउन मनाही

फ्रान्सको एक शहरमा कुकुरलाई सडकमा डुलाउन अनिवार्य 'पेट पासपोर्ट' बनाउनुपर्न कानून बनाइएको छ। कुकुरको दिसाका कारण सडक फोहोर भएपछि यस्तो नियम लगाइएको हो।

आफ्नो कुकुरको दिसा सडकबाट नउठाउनेलाई कारबाही गर्न फ्रान्सको दक्षिणी शहर बेजियेको नगर प्रशासनले मालिक पत्ता लगाउने नयाँ उपाय ल्याएको हो। अब सडकमा भेटिएको दिसाको डीएनए गरेर पासपोर्टको रेकर्डमा उल्लेख भए बमोजिम कुकुर पत्ता लगाइनेछ। 

यसरी कुकुर पत्ता लगाएपछि त्यसको धनीलाई पक्रिने तयारी बेजिये नगर प्रशासनले गरेको छ। उक्त शहरमा कुकुरलाई सडकमा डुलाउनेले दिसा नउठाउँदा हैरानी भएपछि नयाँ नियम लागू गर्नु परेको नगर प्रशासनले जनाएको छ। यसको समाधानका लागि कुकुरको दिसाको डीएनए परीक्षणको उपाय निकालिएको हो।

नयाँ नियमअनुसार कुकुरको आनुवांशिक विवरण भएको पासपोर्ट बनाइने छ। त्यसबाट दिसाको डीएनएको नतीजाका आधारमा मालिक पत्ता लगाइनेछ। पहिलो दुई वर्ष यो व्यवस्थाको परीक्षण हुनेछ। 

कानून लागू भएपछि तीन महिनासम्म पासपोर्ट बनाउन कुकुरधनीले छुट पाउने छन्। त्यसपछि आनुवंशिक पासबिना कुकुर घुमाउने धनीलाई प्रत्येकपटक ३८ युरो जरिबाना लाग्नेछ। कुकुरको दिसा नउठाउनेलाई भने १२२ युरो जरिबाना तिराइनेछ। पासपोर्ट नहुनेले सडकमा दिसा गराएर नउठाए दुवै जरिवाना तिर्नुपर्नेछ।

बेजियेका मेयर रोबर्ट मेनार्डले फ्रान्सको एक सञ्चारमाध्यममा भनेका छन्, "म यस्तो फोहोर सहेर बसिरहन सक्दिनँ। मान्छेहरूलाई उचित व्यवहार सिकाउन जरिबाना गर्नुपर्छ।"


सम्बन्धित सामग्री