Tuesday, May 07, 2024

-->

बागमती किनारका सुकुमबासीको व्यथा
बाँच्ने आस देखाउने त्यो काठमाडौँ, अहिले पलपल तर्साइरहेछ

वर्षात‍्को बाढी र महानगरबाट विस्थापनको त्रास लिएर बाँचेका घरबारविहीनहरू भन्छन्– ‘राज्यका नागरिक हामी पनि हौँ। बाँच्न पाउने अधिकार हाम्रो पनि छ। हामीलाई कतै व्यवस्थापन नगरी लखेटेर यो राज्यले के पाउँछ?’

बाँच्ने आस देखाउने त्यो काठमाडौँ अहिले पलपल तर्साइरहेछ
थापाथलीस्थित बागमती किनारको सुकुमबासी बस्ती र यहाँ परिवारसहित दुई दशकको कष्टपूर्ण जीवनमा अझै अनिश्चय भोगिरहेका टहरावासीको प्रतिनिधित्व गर्ने बायाँबाट क्रमश: पदम लोप्चन, पुनम मगर र प्रमेश्वरी मुखिया। तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै ३९ वर्षीय दृष्टिविहीन प्रमेश्वरी मुखिया बिन्ती बिसाउँछिन्, “यतै बाँच्न दिनुपर्‍यो।” प्रमेश्वरीलाई यस्तो के दुर्दशा आइलाग्यो होला जसकारण ‘यस धर्तीमा बाँच्नका लागि’ बागमती किनारबाट याचना गर्दैछिन्? यो थाहा पाउन उनले जसरी लामो सास फेर्नु पर्दैन। 

२०७९ मंसिर १२ गते काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्तीमाथि डोजर चलायो। त्यही डोजरको हुंकारले प्रमेश्वरीलाई अहिलेसम्म झस्काइरहेको छ। छाप्रो भत्किने डरसँग दिनरात काटिरहेकी प्रमेश्वरीले आफ्नो पीडाको पोको फुकाएर एकछिन् भए पनि मनलाई सिमलको भुवाजस्तै हलुका बनाउन चाहिन्, “राम मन्दिरनजिकै बस्थ्यौँ। माग्नेहरू यता नबस, तिमीहरू बस्न मिल्दैन, भक्तजनलाई अप्ठ्यारो पर्छ भनेर त्यहाँबाट हटाइदिएपछि यहाँ आएर बस्यौँ। यहाँबाट पनि लखेटिएपछि अब हाम्रो जाने ठाउँ कतै छैन। यो ठाउँबाट महानगरले निकाल्यो भने पराइ ठाउँमा बाँच्दिनँ होला।”

प्रमेश्वरीको निराशाले उनलाई जीवनकै अनिश्चितता देख्ने बिन्दुसम्म किन पुर्‍यायो? एकपटक उनको विगततिर फर्कौं।

सिरहाको बन्दीपुरबाट २० वर्षअघि प्रमेश्वरीको दम्पती काठमाडौँ आइपुगेको हो। ‘धेरै मान्छे भेटिन्छन्, पैसा दिन्छन्’ भन्ने थाहा पाएपछि जीवन धान्न राजधानी पसेका दम्पतीको जिउने मार्ग, यिनै बानेश्वर, माइतीघर र थापाथलीका चोकहरू भए। 

बन्दीपुरमा आफ्नो घरजग्गा थिएन, अर्काको बारी कमाएर गरिखाने शारीरिक अवस्था भएन। जीवन चलाउनकै लागि उनीहरूले राजधानीलाई विकल्प ठाने। त्यो विकल्पलाई राजधानी काठमाडौँका चोक र गल्लीहरूले ‘सहर्ष स्वीकार’ गरे जसलाई प्रमेश्वरीले कसैगरी बिर्सेकी छैनन्। उनी भन्छिन्, “हामीलाई सहायता गर्ने मान्छेहरू चोकमा भेटिन्छन्। गल्लीमै भेटिन्छन्। पुलमै भेटिन्छन्। उनीहरूकै सहयोगले साँझ बिहान खान पाइन्छ। चोक, गल्ली र पुलको छेउमा बसेपछि दुई छाक टर्छ।”

दिनभर चोक र गल्लीहरूमा बसे पनि जब साँझले संकेत गर्छ तब बागमती किनारतिर ओर्लिन थाल्छिन्, प्रमेश्वरी। भिन्नभिन्न चोक र गल्लीहरूमा टेकेर पैतालाको डोबले प्रमेश्वरीले शहरमा आफ्नो  इतिहास लेख्न थालेको वर्षौं भइसक्यो। एकमुठी सास जोगाउन संघर्ष गरिरहेकी उनलाई एक वर्षयता निकै डर पैदा भएको छ। “सरकार उठाउँछु भन्छ तर हातखुट्टा यही ठाउँमा सरिसकेका छन्। हाम्रो लागि यहीँ सजिलो छ,” प्रमेश्वरी आफ्नो कथा सुनाउँछिन्, “बाहिर गएपछि हामीजस्ता दृष्टिविहीनलाई गर्ने व्यवहार फरक हुन्छ। अरू ठाउँमा खानै पाइँदैन, कसैले खान दिँदैनन्। हामीलाई पाल्ने यिनै चोक र पुल हुन्।” 

पाँच वर्षको उमेरमै दृष्टि गुमाएकी प्रमेश्वरीको सिरहा, बन्दीपुर बस्ने सल्टु मुखियासँग बाटोमै बिहे भयो। उनीहरू दुई दशकभन्दा बढी समयदेखि सुखदुःख बाँड्दै आएका छन्। 

प्रमेश्वरी दुःखको गाथा पल्टाउँछिन्, “बूढो पनि मजस्तै छन्, आँखा देख्दैनन्। विवाह भएको २५ वर्षभन्दा बढी भयो। सानैमा आमाबा बिते। आफ्नो घरजग्गा थिएन। पछि यस्तो अवस्थामा पुगेको हुँ।” दुई दशकदेखि थापाथलीमा बस्दै आएको दृष्टिविहीन 'मुखिया दम्पती'को घरबार कहीँ छैन। थापाथलीस्थित बागमती किनारका सुकुमबासी परिवारको संख्यामा भने उनीहरूको नाम दर्ज भएको छ।

दृष्टिविहीन प्रमेश्वरी मुखिया र उनको परिवार १९ वर्षदेखि ओत लाग्दै आएको टहरो। १७ वर्षसम्म पालले छोपेको यो टहरोमा दुई वर्षअघि मात्र केही सहयोगीले टिनको छाना हालिदिएका थिए। तस्वीर: कृष्पा/उकालो 

प्रमेश्वरी दम्पतीले १७ वर्षभन्दा बढी समय पालमुनि व्यतित गरे। जोडले हुरी चलेपछि छानो उनीहरूको साथमा हुँदैनथ्यो। दुई वर्षअघि मात्र परोपकार क्षेत्रमा काम गर्दै आएका सामाजिक अभियन्ताहरूले छानोमा टिन छापेर प्रमेश्वरीको यो दर्दमाथि मलहम लगाइदिए। 

पालमुनि बिताएका दिनहरू उनको स्मृतिमा ताजै छन्, “गर्मीका बेला पाल च्यातिन्थ्यो। त्यही च्यातिएको पालले बर्खाको पानी आधा छेक्ने गर्थ्यो। झरी ओछ्यानमै आउँथ्यो। हामी त्यसरी बसेको भनेर अरूलाई पनि थाहा भएपछि चार/पाँच जना आएर टिन हालिदिएका हुन्।” 

तर, छानो फेरिएको खुशी मनाउन नपाउँदै काठमाडौँ महानगरको डोजरले प्रमेश्वरीको खुसीलाई त्रासमा बदलिदियो। उनी भन्छिन्, “टिन हालेपछि राम्रोसँग बस्न पाइन्छ भन्ने सोच्यौँ। तर महानगर भन्छ– घर भत्काउनुपर्छ। हामी कहाँ जाने? सर्ने ठाउँ छैन। हाम्रो लागि सारा संसार अँध्यारो छ। बुढो बिमार छन्। हामीलाई नहटाइदिनु पर्‍यो।”

दिनभर थापाथलीको पुलमा बस्ता इच्छुक पैदलयात्रीले गरेका दानको भरमा जीवन धानिरहेका मुखिया दम्पतीलाई ‘बालेनको डोजर’ले मात्र तर्साउँदैन, कहिले कसो आकाशको गर्जनले ‘बस्न नदिने’ जनाउ घण्टी दिन्छ। उनीहरू भन्छन्, “आँखाले नदेखे पनि पानी परेको, हुरी चलेको, बागमती नदी बढेको कानले थाहा पाइन्छ। हातखुट्टाले पनि थाहा पाउँछौँ। भुईंमा टेकिएका नङग्राहरूले भेउ पाउँछन्।”

बिउँझाइरहने बागमती
प्रमेश्वरी मात्र होइन, असार लागेपछि सुकुमबासी बस्तीकी पुनम मगर मस्तसँग निदाउन पाउँदिनन्। बागमती नदीको छालले पुनमलाई बिउँझाइरहन्छ। आकाश गडगडाउन थालेपछि मन चिसो पार्ने पुनम भन्छिन्, “खोलो बढेपछि चुलोसम्मै पुग्छ। पानी परेको रात हामी सुत्दैनौँ, बगाउँछ कि भनेर। अब धेरै सुत्न पाइँदैन होला, पानी पर्न थालिसक्यो। बाहिर गएका छोराछोरीसँग भेट हुँदैन कि भन्ने पो डर लाग्छ।” 

तीन सन्तानलाई पुनमले बागमतीकै किनारमा हुर्काइन्। कान्छी छोरी वैदेशिक रोजगारका लागि अरब पुगेको पाँच वर्ष भइसकेको छ। जेठी छोरी अरब जाने तरखरमा छिन्। एक मात्र छोरा (कमल समाङ्गी मगर) ले बुहारी भित्र्याएर पुनमको चुलो छोडिसकेका छन्। 

आँखैअघि बगिरहेको धमिलो बागमतीलाई साक्षी राखेर मनको अमिलो पोख्छिन्, “श्रीमानले छोडेको २०/२५ वर्ष भइसक्यो। घर काभ्रे हो भन्थे तर कहिल्यै लगेनन्। पछि बुझ्दा उनको घरजग्गा नै रहेनछ। १५ वर्षको उमेरमा विहे भएको हो। काठमाडौँमै ज्यालामजदुरी गरेर जीवन चलाइरहेका थियौँ। पछि त बूढो अर्कै श्रीमती लिएर भागे।” 

टहराको जीवनमा अभावले डसेपछि कमाइको आशामा अरबी देश जोर्डन गएकी छोरीसँग भिडिओ कलमा कुराकानी गर्दै पुनम मगर। उनकी छोरी जानुका कम्पनी बन्द भएर काम नपाउँदा घर फर्किने खर्चसमेत नपाएर पाँच वर्षदेखि उतै अड्किएकी छन्। तस्वीर: लोकेन्द्र/उकालो 

बेलाबेला पुनम बागमतीसँग आफूलाई तुलना गर्छिन्, “म पनि बागमती जस्तै भएको छु, मन सङ्लो र सफा नभए पनि बग्न छोडेको छैन।” 

२०६० सालतिर श्रीमान अर्की श्रीमती लिएर सम्पर्कविहीन भएपछि पुनम नसोचेको संकटमा परिन्। ललितपुरको इमाडोल बस्ने उनी गाउँ फर्केर खेतीपाती गरेर जीवन चलाउने सोचमा थिइन्। तर उनको त्यो सोच अफशोचमा बदलियो। किनभने गाउँमा न घर थियो न बारी। इमाडोलमा कोठा भाडासमेत तिर्न नसकेपछि बागमती किनारसँग साइनो गाँसिन् उनले। त्यसैको छेउमा टहरो बनाएर जीवन काट्न शुरू गरिन्। त्यही टहरोमा ओत लागेको दुई दशक बितिसक्यो। वर्षौंसम्म घरेलु काम गरेर जीवन गुजारा गरेकी पुनमले अहिले काम छोडिसकेकी छन्। उनले अरबको तातो घाममा पसिना बगाइरहेकी छोरी जानुका र अनिताको सहयोगमा सुकुमबासी बस्तीमै खुद्रा पसल थालेकी छन्। 

धेरै व्यापार हुँदैन भन्ने उनलाई राम्रोसँग थाहा छ। तापनि कालो बादलमा चाँदीको उज्यालो देखिरहेकी पुनम केही आशावादी सुनिन्छिन्, “व्यापारै नभए पनि केही छैन। दिन काट्ने मेसो त भएको छ नि। के थाहा, हाम्रो पनि कोही सरकार आएर व्यवस्थापन गर्छ कि!” तर सरकारले धेरैपटक ‘गर्छु गर्छु’ भनेर निराशामा पारेको उनको अनुभव छ।

पुनमका ग्राहक सुकुमबासी बस्ती बाहिरका कोही छैनन्। “तागत हुञ्जेल काम गरियो। अब शरीरमा बल छैन, घरको काम गर्न सक्दिनँ। सरकार घर भत्काइदिन्छु भन्छ। कहाँ गएर मर्ने होला? सबैले हाम्रै घाँटी निमोठ्न थाले,” कुँडिएको मन लिएर पुनमले भनिन्, “झरीले मोटो सर्को हानेपछि डर पैदा हुन्छ, बाढी आउँछ कि भनेर। उता महानगर डोजर लिएर आउँछ उठाउन। एउटा मात्र डर कहाँ छ र? डरैडर छन्। कसरी बाँच्ने होला?” 

पुनम मात्र नभई नदी किनारमा बस्ने धेरैले यस्तै प्रश्न गर्छन् जो ‘बालेनको डोजर’ छल्दै बर्खाको बाढी र हिउँदको चिसोतातो सहेर जीवन जिउने संघर्ष गरिरहेका छन्। अरब गएकी छोरीले कमाएको भए बाढी र डोजरको त्रासबाट टाढा हुने पुनमको सपना पूरा भइसक्ने थियो।

२०६९ सालमा बस्तीमाथि सरकारले डोजर चलाएको विषयमा पुनम जानकार छिन्। यही पीडाले हो, उनकी कान्छी छोरी जानुका हरियो किताब (पासपोर्ट) बोकेर अरबतिर लागेकी। तर, पराइ देशमा गएर पनि सोचेजस्तो भएन। पाँच वर्ष बितिसक्दा पनि जानुका नेपाल फर्किएकी छैनन्। 

जोर्डनमा रहेकी उनले भिडियो कलमार्फत् उकालोसँग भनिन्, “सुखीसम्पन्न परिवारमा जन्म भएन। यसमा कसैको दोष छैन। पढ्न नपाए पनि केही गर्नुपर्छ भन्ने हुटहुटीले खाडी आइपुगेकी हुँ। कुनै गाउँमा जग्गा किन्ने, घर बनाउने, सुकुमबासी जीवनबाट मुक्त हुने, आमाको सुखदुःखमा सँगै रहने सपना बोकेरै खाडी पुगेको हुँ। सोचे जस्तो भएन। मैले काम गर्ने कम्पनी कोभिडको कारण घाटामा पुग्यो। मसहित सयौँले रोजगारी गुमायौँ। पहिला भएको अलिअलि पैसा खर्च भइसकेको थियो। पछि कमाइ भएन, त्यसकारण घर फर्किन पनि सकिनँ।”

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चलेको डोजरकै कारण अरब पुगेकी जानुका काठमाडौँका मेयर बालेनले आफ्नो बस्तीमाथि डोजर नचलाएको भए खाडीबाटै आफ्नो मन शान्त बनाउँथिन्। तर यता सिंगो सुकुमबासी बस्तीको मन भने अशान्त छ। डर र त्रासमा बाँचिरहेको छ।

बाँच्ने कहरसँगै डोजरको डर 
पदम लोप्चन गर्भमै छँदा बाबु कृष्णको मृत्यु भयो। २०१४ सालमा काभ्रेको रोशीमा जन्मिएका पदमले पछि आमालाई पनि गुमाए। बस्ने घरजग्गा नभएपछि सानै उमेरमा काभ्रेबाट भौतारिएर काठमाडौँ आई ज्याला मजदुरी गर्न थाले। १२  वर्षको उमेरमा क्विन्टलका बोरा बोक्न सक्ने क्षमता उनीमा थिएन। उनलाई पछि धेरैले अटो–ट्याम्पो सिक्न सुझाए। बालुवा र सिमेन्टका क्विन्टलका बोरा बोक्नुभन्दा ट्याम्पो चलाउन सहज हुने उनले ठाने। पदमको सपनाले बाटो मोड्यो। दुई/तीन महिनामै ट्याम्पो चलाउन जान्ने भए। पछि पदमको हातमा साहुको ट्याम्पो पर्‍यो । 

२० वर्षदेखि बागमती किनारको टहरामा बस्दै आएका पदम र आइतीमाया लोप्चन दम्पती।  तस्वीर: कृष्पा/उकालो 

दिनभर ट्याम्पोको स्टेयरिङ घुमाएर १५–२० रूपैयाँ कमाउन थालेका पदमको दैनिकी त्यसैबाट चल्न थाल्यो। “ट्याम्पो ड्राइभरको जीवन त हो, ऊबेला कति नै कमाइ हुन्थ्यो र? त्यो पनि साहुलाई बुझाउनुपर्ने। बचेको पैसाले जेनतेन खाने खर्च चलाउनुपर्थ्यो,” पदम भन्छन्। 

दुई/चार वर्ष काठमाडौँमा साहुको ट्याम्पो चलाएपछि उनी एक्कासि सर्लाही पुगे। तर, त्यहाँ अडिएनन्, छिट्टै राजधानी काठमाडौँमै फर्किए। २०३५ देखि २०६० सालसम्म ट्याम्पोसँगै रमाए पनि आफ्नै ट्याम्पो किन्ने हैसियत बनाउने सपना पूरा भएन। उनी ट्याम्पो ड्राइभर हुँदाको दिन सम्झिन्छन्, “पछि विहे पनि गरियो। पहिला ट्पाम्पोले घरखर्च चलाइरहेको थिएँ। एक्कासि बिमार भएँ, अनि छोड्नुपर्‍यो।” 

अलि समयपछि स्वास्थ्यमा समस्या देखिँदा पदमको हातबाट ट्याम्पोको स्टेयरिङ पनि गुम्यो। त्यही दिनबाट हो, उनको जीवनमा संकट आउन थालेको। दुःख र संघर्षलाई नजिकबाट बुझेका पदम सानोतिनो पीडा बाहुलीमै छुपाउँथे। हत्तपत्त निराश हुँदैनथे। तर, आफै बिरामी परेपछि उनले परिवारमा निम्तिएको संकटलाई टार्न सकेनन्। घर भाडा तिर्न नसकेपछि घरबेटीले निकालिदिए। त्यसबेला दुई सन्तान लिएर सडकमा आएको पदमलाई याद छ। विपतपूर्ण विगत सम्झन्छन्, “गाउँ फर्कियौँ। तर, घर थिएन, जग्गा थिएन, आफन्त थिएनन्। गोजीमा सुक्को पैसा थिएन। कुनै उपाय नलागेपछि फेरि काठमाडौँ शहरकै शरणमा आउनुपर्‍यो। त्यसबेलादेखि टहरो बनाएर सपरिवार बागमती छेउमै बस्न थाल्यौँ।”

पदमको परिवार थापाथलीस्थित बागमती किनारमा बस्न थालेको दुई दशक भइसक्यो। श्रीमती आइतमाया लोप्चनले पछि घरेलु काम शुरू गरिन्। पदम फेरि सकिनसकी ढुंगामाटोमा फर्किए। बागमती छेउको टहरोमा ओत लागेको पदम परिवारलाई त्यसपछि पनि अनेकौँ चुनौती आइलागे। 

“झरी र बाढी भनेनन्। अन्त बस्ने ठाउँ थिएन। जेनतेन टहरोमै परिवार पाल्ने सोच पलाएर यता बस्न थालेको पनि २० वर्ष लागिसक्यो,” लोप्चन थप्छन्, “सरकार हट भन्छ। बालेन टहरो भत्काउँछु भनेर डोजर लिएर आउँछन्। यस्तो गरेर हाम्रो बिचल्ली पार्नु भएन। अब कता जाने होला? जाने ठाउँ छैन।”

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बस्तीमा चलेको डोजरलाई नबिर्सेका उनी सुनाउँछन्, “पहिला बाबुरामले उठाए। जाने ठाउँ कतै भएन। फेरि यतै बस्यौँ। अहिले बालेन उठाउँछु भन्छन्। राज्यसँग लड्ने हाम्रो पावर छैन। व्यवस्थापन गरिदिए राम्रो हुन्थ्यो।”

सुकुमबासी बस्तीमा पदम र आइतीमाया दम्पतीको घर। तस्वीर: कृष्पा/उकालो 

व्यवस्थापन नगरी उठाए अलपत्र परिने पदमको बुझाइ छ। छोरा नरेशलाई मलेसिया पठाएको तीन वर्ष भयो। बुढेसकाल लागेसँगै श्रीमतीले घरेलु काम गर्न छोडिसकेकी छन्। अहिले छोरा नरेशले मलेसियाबाट पठाएको केही पैसाले खर्च चलाइरहेका छन्। 

उठीबासको त्रासमा दिन गुजारिरहेका पदम महानगर नेतृत्वसँग अपिल गर्छन्, “बालेन सिधै डोजर लिएर आउने भएकाले अहिले पनि आइहाल्छन् कि भन्ने डर लाग्छ। यस्तो गर्नुभएन, यो राज्यका नागरिक हामी पनि हौँ। यहाँ बाँच्न पाउने अधिकार हाम्रो पनि छ। हामीलाई कतै व्यवस्थापन नगरी लखेटेर यो राज्यले के पाउँछ?”

पहिला फाट्टफुट्ट बसे पनि २०६२/६३ को जनआन्दोलनपछि बागमती किनारमा बाक्लो बस्ती बसेको बुझिन्छ। जनआन्दोलनकै बलमा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो। तापनि कैयौँ नागरिक घरबासविहीन भएर वर्षौदेखि संघर्ष गरिरहेको थापाथली क्षेत्रको बागमती किनारमा टहरो बनाई बसेका परिवारहरूको संगठन ‘उत्पीडित सुकुमबासी समिति’का अध्यक्ष मीनकुमार राना मगरले बताए। 

“वास्तविक सुकुमबासीको पहिचान गरेर व्यवस्थापन गर्नुको साटो राज्य–सरकार डोजर ल्याएर बस्तीमा आउँछ। यसले सुकुमबासीमाथि के न्याय गर्‍यो?” उनी प्रश्न गर्दै भन्छन्, “राज्यले भूमिसम्बन्धी बनेका ऐन-कानुन कार्यान्वयन गरेर सुकुमबासी बस्तीको व्यवस्थापन गर्न जरुरी छ।”

नदी किनारमा टहरो बनाएर वर्षौंदेखि बसिरहेका सुकुमबासीको व्यवस्थापनमा राज्यले नजरअन्दाज गर्दा उनीहरू मृत्युसँग लडिरहेको उनीहरूलाई विगतको आन्दोलनमा साथ दिएका लेखक डा. सञ्जीव उप्रेतीको टिप्पणी छ। 

घरबारविहीन भई टहरामा बस्ने परिवारले बााहिरबाट हेर्दा नदेखिएका अरू पनि अनगिन्ती समस्याबाट गुज्रिनुपरेको उनी बताउँछन्। “नदी किनारमा बस्छन्, ठूलो बाढी आएपछि उनीहरूलाई नै असर पुर्‍याउँछ। जमिन पोल्ने गर्मी हुन्छ, उनीहरूलाई नै असर पुर्‍याएको हुन्छ। विडम्बना भन्नुपर्छ, यी कुरामा राज्यले ध्यान दिँदैन। अनि आवासविहीन नागरिक दिनरात मृत्युसँग लडिरहेका हुन्छन्,” उप्रेती भन्छन्।

बढ्दो तथ्यांक, ठप्प व्यवस्थापन
२०४१ सालमा शहरी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार त्यसबेला काठमाडौँ उपत्यकाभित्र १७ वटा सुकुमबासी बस्ती थिए। ती बस्तीहरूको जनसंख्या २१ सयभन्दा बढी थियो। २०५९ सालको मन्त्रालयकै प्रतिवेदनअनुसार सुकुमबासी बस्ती ठूलो परिमाणमा बढेर ६४ पुग्यो। जनसंख्या पनि बढेर १४ हजार ५ सय पुग्यो। त्यसभन्दा पछि पनि सुकुमबासीमाथि विभिन्न संस्थागत तथा सरकारी तहबाट अध्ययन अनुसन्धान भयो। नेपाल बसोवास बस्ती संरक्षण समाजको तथ्यांकले पनि २०६१ सालमै काठमाडौँ उपत्यकामा सानाठूला गरी ६४ वटा सुकुमबासी बस्ती रहेको देखाएको थियो। 

थापाथलीस्थित बागमती किनारको सुकुमबासी बस्तीको एक खण्ड र इन्सेटमा यहाँ गठित 'उत्पीडित सुकुमबासी समिति'का अध्यक्ष मीनकुमार राना। तस्वीर: कृष्पा/उकालो 

२०६४ सालमा गरिएको अध्ययनले काठमाडौँ उपत्यकाभित्र पर्ने बाग्मती, विष्णुमती, हनुमन्ते, धोबीखोला, टुकुचा खोलाकिनार र अन्य क्षेत्रका गरी कूल २ हजार ७३५ घरधुरीलाई स्थानान्तरणका लागि उपयुक्त परिवारका रूपमा उल्लेख गरियो। तर, सुकुमबासी स्थानान्तरण गर्ने कार्य भने अघि बढ्न सकेन । 

सुकुमबासी आयोग २०७१ सालको प्रतिवेदनले ७२ जिल्लामा सात लाख २७ हजार २७ परिवारका ४३ लाख ५७ हजार ६२ जना सुकुमबासीमा काठमाडौँ उपत्यकाका पनि करिब ३५ हजारलाई गनेको थियो।   

२०७२ सालमा शहरी विकास मन्त्रालयले निकालेको तथ्यांकअनुसार काठमाडौँका नदीकिनारमा रहेका २९ सुकुमबासी बस्तीको जनसंख्या २ हजार ३१ थियो भने नदी किनारबाहेक अन्य १७ स्थानमा ४६७ सुकुमबासी बसोबास गरिरहेका थिए। यति मात्र नभई थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीलाई लक्षित गरेर इचंगुमा बनाइएको आवास भवन २०७३ सालमा तयार भए पनि त्यहाँ बसोबासका लागि योग्य शहरी गरिब पहिचान गर्ने कार्य अहिलेसम्म भएको छैन। 

उपत्यकाको काठमाडौँमा पर्ने भूमिभित्र १ हजार ४६५ परिवार सुकुमबासीका रूपमा बसिरहेको अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको २०७३ सालमा सार्वजनिक प्रतिवेदनले उल्लेख गर्‍यो। सुकुमबासी बस्तीमाथि विभिन्न संघसंस्था र सरकारी तवरबाट अध्ययन अनुसन्धान भए पनि वास्तविक सुकुमबासीको पहिचान हुन नसकेको जानकारहरू बताउँछन्। 

विगत तीन दशकयता सुकुमबासीका नाममा संघ संस्था र सरकारी तहबाट अध्ययन–अनुसन्धान हुँदै आए। सुकुमबासी तथा भूमिहीन नागरिकका समस्या समाधानका लागि १५ वटा त आयोग मात्र बने। तर, सुकुमबासीको घाउमाथि मलहम लाग्न सकेको छैन। भर्खरै सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर जग्गा र आवास दुवै नभएका परिवारको संख्या ४९ लाख ६६ हजार ५ सय ४८ छ भने काठमाडौँमा मात्र ३ लख ८० हजार २ सय ७८ परिवार घरजग्गाविहीन छन्। 


सम्बन्धित सामग्री