Saturday, May 04, 2024

-->

राष्ट्रसंघको शान्ति विभाग हेर्ने उपमहासचिव नेपाल आउँदै

नेपाल भ्रमणका क्रममा उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

राष्ट्रसंघको शान्ति विभाग हेर्ने उपमहासचिव नेपाल आउँदै

काठमाडौँ– संयुक्त राष्ट्रसंघको शान्ति विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

उपमहासचिव ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। नेपाल भ्रमणका क्रममा उनी संयुक्त राष्ट्रसंघ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी हुन्छन्।

साथै, उनले पर्यटकीय महत्वका स्थानको अवलोकन गर्नेछन्। संयुक्त राष्ट्रसंघको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ। शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ।

राष्ट्रसंघबाट माग भइआएको खण्डमा नेपालले १० हजार संख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि  नै प्रतिबद्धता जनाइसकेको छ। संयुक्त राष्ट्रसंघले गत जेठ ३० देखि असार १ गतेसम्म सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी गरेको थियो।

उक्त गोष्ठीमा राष्ट्रसंघका सहयोग कार्यसम्बन्धी विभाग हेर्ने उपमहासचिव अतुल खेरसहितका उच्च पदाधिकारीले भाग लिएका थिए। 


सम्बन्धित सामग्री