Tuesday, May 07, 2024

-->

माओवादी सांसदको आरोप : ओलीले पशुपतिमा बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने तर्क गरे।

माओवादी सांसदको आरोप  ओलीले पशुपतिमा बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्

काठमाडौँ– पशुपतिमा राखिएको जलहरीको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दलका नेताहरूबीच टीकाटिप्पणी भइरहेको छ। सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताउँदा एमालेका सचेतक महेश बर्तौलाले एमालेको बदनाम गर्न खोजिएको प्रतिक्रिया दिएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी सांसद दाहालले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्नसमेत अप्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकताभन्दा माथि रहेको बताए। उनले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउने निर्णय आफैँमा वस्तुगत नभएको उनको दाबी थियो। जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने बताए।

“केपी ओलीजीले सुनको जलहरीमा आफ्नो नाम लेख्नुभएको छ। विद्या भण्डारीको नाम, भानुभक्त ढकालको नाम, लगायत धेरैको नाम लेख्नुभएको रहेछ। पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले लगाउनुभएको रहेछ। अख्तियारले हात हालिसकेपछि सबै विषय बाहिर ल्याउनुपर्छ। दाताहरूले दिएको पैसा कति छ? त्यो पनि चाहिन्छ,” उनले भने, “बदनियतपूर्ण ढंगले सुनको जलहरी राखिएको रहेछ।”

सांसद दाहालले जलहरी बनाउन दाताहरूले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए। जलहरीमा सुनको परिणाम रहेको चर्चाका बीच आइतबार अख्तियार अनुसन्धानको टोलीले पशुपतिनाथको मन्दिर परिसरमा पुगेर सुन तौल गरेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले पशुपतिमा राखिएको जलहरीमा कैफियत देखाएपछि अख्तियारले अनुसन्धान गरिरहेको हो।

जलहरीमा नाम कुँदिएकोबारे नेकपा एमालेका सचेतक बर्तौलाले उद्घाटन गर्नेको नाम लेखिनु सामान्य भएको प्रतिक्रिया दिए। उनले भने, “पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्ने कुरा पूर्वाग्रहपूर्ण हो, केपी ओलीको लोकप्रियता छ, राष्ट्रले भरोसा गरेको छ, त्यसको विरुद्धमा यो आएको हो। त्यही पनि यसको सत्यतथ्य रिपोर्ट आएपछि मात्रै यसबारेमा बोल्न सकिन्छ। उहाँको सरकारको पालामा, नेतृत्व रहेका बेलामा काम भएको कुरामा सामान्य कुरा हो। यस्तो सामान्य कुरामा पनि अल्झिएर बस्नु, टिप्पणी जोड्न थाल्छौँ।”

सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाउनु भएको बताए। एमालेलाई बदनाम गराउन, जनताको आँखामा छारो हाल्ने काम भइरहेको बताएका सचेतक बर्तौलाले एमाले नेता जोडिएका सबै घटनाको सत्यतथ्य छानबिन गर्न चुनौती दिए। पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको उनको भनाइ थियो।

उनले पशुपतिमा सुनको जलहरीको जाँच गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानु/नजानु भन्ने कुरा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न बताए। उनले एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको टिप्पणी गरे।


सम्बन्धित सामग्री