Sunday, May 05, 2024

-->

विश्वकप छनोटमा नेपाल जिम्बावेसँग पराजित

नेपाल जिम्बावेसँग आईसीसी एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा ८ विकेटले पराजित भएको छ।

विश्वकप छनोटमा नेपाल जिम्बावेसँग पराजित

काठमाडौँ– क्रेग इर्भिन र सेन विलियम्सको शतकसँगै घरेलु टोली जिम्बावेले आईसीसी एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा जिम्बावेले नेपाललाई ८ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो।

नेपालले दिएको १९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। जिम्बावेका इर्भिनले अविजित रहँदै सर्वाधिक १२१ रनको शतकीय इनिङ्स खेले। उनले १२८ बलमा १५ चौका र १ छक्का प्रहार गरे।

विलियम्स १०२ रनमा अविजित रहे। उनले ७० बलमा १३ चौका र १ छक्का प्रहार गरे। उनीहरूबीच १२५ बलमा १६४ रनको साझेदारी भएपछि नेपालले पहिलो खेलमै हार बेहोर्न परेको हो।

ओपननर जोयर्ल्ड गम्बी २५ रनमा सोमपाल कामीबाट एलबीडब्ल्यू आउट भए। वेस्ली मधेभरे ३२ रनमा टप एजमा लागेर ओभर फाइन लेगमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए।

नेपालका सोमपाल कामी र गुलशान झाले १/१ विकेट लिए।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी साझेदारीसँगै निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रन बनाएको थियो।

ओपनर कुशलले सर्वाधिक ९९ रन प्रहार गरे। उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे। उनी ३२ ओभरको पाँचौँ बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक प्रहार गर्न एक रनले चुके।

तीव्र गतिका बलर रिचर्ड नागरावाको चौथो ओभरको चौथो बलमा भुर्तेलले व्यक्तिगत एक रनमा जीवनदान पाएका थिए। एज लागेर हावामा रहेको बललाई फस्ट स्लिपमा रहेका सिकन्दर राजाले क्याच छाड्न पुगेका थिए। त्यसपछि कुशलले आफ्नो रनको गति बढाए।

उनी टेस्ट राष्ट्रविरुद्ध शतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्। उनले घरेलु टोलीविरुद्ध ६३ बलमा अर्धशतक प्रहार गरेका थिए। उनले पहिलो विकेटका लागि आशिफसँग १९१ बलमा १७१ रनको साझेदारी गरेका थिए।

ओडीआईमा नेपालका लागि भएको यो नै उच्च साझेदारी हो। यसअघि गत फेब्रुअरीमा आईसीसी लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आशिफले दोस्रो विकेटका लागि १३९ रनको शतकीय साझेदारी गरेका थिए।

३४औँ ओभरको पाँचौँ बलमा आशिफ पनि क्याच आउट भए। उनले १०० बलमा ७ चौका प्रहार गरे। उनी वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लबाट क्याच आउट भएका हुन्।

कप्तान रोहितकुमार पौडेलले २९ बलमा ५ चौकासहित ३१ रन बनाए। उनी ४४औँ ओभरको पहिलो बलमा विकेटकिपर क्लाइभ मडान्डेबाट क्याच आउट भए। रिचर्ड नगारवाको बललाई प्रहार गर्ने क्रममा एजमा लागेर उनी क्याच आउट हुन पुगेका हुन्।

उनले तेस्रो विकेटका लागि कुशल मल्लसँग ५७ बलमा ७२ रनको साझेदारी गरे। ४५औँ ओभरको तेस्रो बलमा कुशल पनि एक्स्ट्रा कभरमा तेन्डाई चतराबाट क्याच आउट भए। उनले ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रन बनाए।

तेस्रो नम्बरमा क्रिजमा आएका कुशलले शून्यमा जीवनदान पाएका थिए। ठूलो सट खेलेका क्रममा चतराले नै क्याच छाड्न पुगेका थिए।

आरिफ शेखले १० रनमा मिड अफ, गुलशन झा १३ रनमा डिप मिडविकेट, भीम सार्की १ रनमा कट बिहाइन्ड, दीपेन्द्रसिंह ऐरी ६ रनमा डिप मिडविकेटमा क्याच आउट भए।

करण केसी २ र सोमपाल कामी शून्य रनमा अविजित रहे। जिम्बावेका रिचर्ड नागरावाले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै १ मेडनसहित ४३ रन खर्चिए।

यता, वेलिङटन मसाकान्डाले २ र तेन्डाई चतरा तथा ब्लेसिंग मुजरबानीको नाममा १ विकेट रह्यो।


सम्बन्धित सामग्री