काठमाडौँ– ब्लड क्यान्सरले थलिएका श्रीमान्का २०६० सालमा निधन भयो। त्यतिबेला ठूलो छोरा १५ वर्षको र छोरी ९ वर्षकी थिइन्। दुःखसुख गरेर जोडेको सम्पत्ति श्रीमान्को उपचारमै सकियो। त्यो बज्रपातबाट सम्हालिँदै छोराछोरीलाई एक्लै लालनपालन गर्नुपर्ने दायित्व राधा महर्जनको काँधमा आयो।
अरूको घरमा झाडा माझ्ने, सरसफाइ गर्ने काम गरेर महिनाको ८ हजार रुपैयाँ कमाउँथिन्। कोठा भाडादेखि खाना र छोराछोरी पढाउने खर्चसम्म सबथोक त्यसैबाट पुर्याउनुपर्थ्यो। माइतीबाट पनि उनले साथ पाइनन्। दिनहरू बित्दै गए। छोराले केही वर्षमै पढाइ छोडे। तर, उनले कतै जागिर पाएनन्।
घरको अवस्था नाजुक देखेपछि १२ कक्षाको पढाइ सकेकी छोरीले काम गर्न युनाइटेड अरब इमिरेट्स (यूएई) जाने निधो गरिन्। २१ वर्षकी छोरीलाई खाडी मुलुक पढाउनु पर्दाको पीडा सम्झिँदा राधाको आँखा अहिले पनि रसाउँछन्। तापनि मन दह्रो बनाउँदै छोरीलाई विदेशका लागि बिदा गर्नुपर्यो।
छोरीले बिस्तारै पैसा पठाउन थालिन्। यता राधाले पहिलेको कामलाई निरन्तरता दिइरहिन्। छोरीको कमाइ बिहे खर्च र उनकै भविष्यका लागि भनेर सकेसम्म खर्च नै नगरी बचत गरिदिन चाहन्थिन् राधा।
सीतापाइला, रामकोट बस्ने उनले साथीभाइबाट न्युरोडमा मुख्य कार्यालय रहेको खुशी बचत तथा ऋण सहकारी संस्थाबारे सुनेकी थिइन्। त्यहाँ बचतखाता खोलेर कहिले ५० हजार, कहिले १ लाखका दरले पैसा जम्मा गर्न थालिन्। साढे दुई वर्षको अवधिमा सहकारीमा साढे ८ लाख रुपैयाँ जम्मा भयो।
यो पनि : सहकारी समस्याको जड : स्वनियम र सुशासनको अभाव
गत चैतमा १० हजार रुपैयाँ चाहिएर निकाल्न जाँदा सहकारी बन्द भइसकेको उनले थाहा पाइन्। त्यसका सञ्चालक पनि फरार थिए। त्यो खबरले उनलाई फनफनी रिंगटा लाग्यो। त्यसपछिका कति दिन उनले रोएरै बिताइन्।
उक्त सहकारीका अन्य शाखाहरू पनि बन्द भएपछि सडकमा आउनुबाहेक राधासँग अरू विकल्प थिएन। १० दिनदेखि काठमाडौँको माइतीघरमा जारी सहकारी पीडितहरूको आन्दोलनमा भेटिएकी राधा आफ्नो व्यथा यसरी पोख्छिन्, “शुरूमा छोरीलाई नभने पनि पछि भन्नैपर्ने थियो। दुई–तीनचोटि त छोरी पनि रोई। अहिले मलाई यहाँ देखेर, म कमाइहाल्छु नि ममी त्यसरी रोडमा किन बस्नुपर्यो भन्छे। तर मन मान्दैन।”
कामबाट दुई–तीन दिनको छुट्टी लिएर सहकारी पीडितहरूको आन्दोलनमा आएको पनि १० दिन पुगिसक्यो। योबीचमा उनले दुई ठाउँमा गर्दै आएको सरसफाइको काम पनि गुमाइन्। “आन्दोलन दुई/तीन दिन होला भनेको त १० दिन भयो। मैले काम गर्ने ठाउँमा अर्को मान्छे राखिसकेछन्। १५ हजारको जागिर पनि गयो। अब के गर्ने हो थाहा छैन,” उनले वेदना पोखिन्।
प्रहरी कार्यालय, सहकारी विभाग, बागमती प्रदेशस्थित मन्त्रालय (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) लगायतका निकाय धाउँदा मात्रै १ लाखभन्दा बढी खर्च भइसकेको राधा बताउँछिन्। उनका अनुसार उक्त सहकारीका सञ्चालक अभय घिमिरे, मातृका घिमिरे, सुबोध घिमिरे र ज्ञानेन्द्र घिमिरे फरार छन्। केही समयअघि मात्र ज्ञानेन्द्रलाई पीडितहरूले झापाबाट नियन्त्रणमा लिएको भए तापनि उनी फेरि भागेको राधा बताउँछिन्।
सहकारी पीडितकै आन्दोलनमा भेटिएकी शोभा सिग्देलको पीडा राधाको जस्तै भए पनि उनको भोगाइ भने फरक छ। सिग्देल एकल महिला हुन्। काठमाडौँको वसुन्धरास्थित फुटपाथमा पानीपुरी–चटपट बेच्दै दुई छोरीको पढाइ र छोराको खर्च जेनतेन धान्दै आएकी थिइन् उनी।
उनका २२ वर्षका छोरा शारीरिक रूपमा अशक्त छन्। सटर भाडामा लिएर व्यवसाय बढाउँदै लैजाने चाहना शोभामा पहिलैदेखि नै थियो। त्यो योजना पूरा गर्न २०७६ पुसमा गाउँबाट आफन्तसँग १० लाख रुपैयाँ ऋण लिइन्। तर, कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीले सटर भाडामा लिएर व्यवसाय गर्ने उनको सपना तत्काल पूरा भएन।
“फिर्ता गरौँ भने फेरि चाहिएको बेला नपाइएला भनेर ऋण लिएको पैसा बैंकमा राखिरहेको थिएँ। अलि समयपछि सहकारीको पैसा उठाउने बहिनीले १७ प्रतिशत ब्याज आउँछ भनेर लोभ देखाइन्” शोभा भन्छिन्, त्यही लोभमा तीन महिना बैंकमा राखेको पैसा झिकेर वसुन्धरामै रहेको उत्तम बचत तथा ऋण सहकारी संस्थामा राखेँ। अहिले आफ्नो यो हालत भयो।”
४१५ जना बचतकर्ताको १३ करोडभन्दा बढी रकम ठगी गरेर सञ्चालक समितिका पाँच जना फरार भएको थाहा पाएयताका कुनै पनि रात राम्रोसँग निदाउन नसकेको उनी बताउँछिन्। आफन्तसँग एक वर्षका लागि लिएको ऋण तिर्ने म्याद नाघेकै दुई वर्ष भयो अहिलेसम्म ब्याज तिर्ने रकमको जोहो पनि गर्न सकेकी छैनन्।
यो पनि : सहकारी डुब्दा बचतकर्ताको बेहाल (फोटो फिचर)
सहकारीमा डुबेको रकम फिर्ता पाउने आसमा उनले प्रहरी कार्यालय, सहकारी विभागलगायत सबै ठाउँमा चक्कर काटिन्, तर कतैबाट केही उपाय लागेन, न सुनुवाइ नै भयो। “अब सडकमै आउनुभन्दा अरू उपाय नै देखिनँ, कमाउने कोही छैन, बेच्ने सम्पत्ति पनि छैन। १० लाख रुपैयाँ कहाँबाट ल्याएर तिर्नु?” शोभा अनुत्तरित प्रश्न गर्छिन्।
सहकारीको बदमासीले व्यवसाय बढाएर उन्नति गर्ने सुखद सपना चुँडिएपछि १० दिनदेखि दिनहुँ आन्दोलन गर्न माइतीघर आइरहेकी छन् उनी। चटपटको व्यापार पनि अहिले ठप्प छ।
“अहिले फुटपाथमा पसल गर्ने हो भने महानगरले समात्छ, सटर लिने हो भने पसल दर्ता गर्ने पैसा छैन। के गर्ने केही सोच्नै सकेकी छैन,” सोचमग्न देखिएकी शोभाले भनिन्, “सरकारले सहकारीका सञ्चालक समातेर पैसा फिर्ता दिलाइदिन्छ कि भन्ने आसमा १० दिन भयो यहाँ बसेको, त्यो पनि टुंगो छैन, अब के गर्नु?”
सहकारी पीडितहरूको आन्दोलनको १०औँ दिन सोमबार दिउँसो काठमाडौँको माइतीघरमा पानी पर्दा पनि पीडितहरूले नारा लगाउन छोडेनन्। ७५ वर्षका पेमा छिरी शेर्पा पनि त्यही लहरमा उभिएर नारा लगाइरहेका थिए। आफ्नो भोगाइबारे बताउन आग्रह गर्दा ओठबाट शब्द निस्किनुअघि उनका आँखाबाट आँसु झर्यो।
पेमाले बूढेसकालका लागि भनेर जीवनभर दुःख गरी कमाएको १८ लाख रुपैयाँ बूढानीलकण्ठ नगरपालिका–१२ स्थित सुमो बचत तथा ऋण सहकारी संस्थामा राखेका थिए। आफ्नो मात्र नभई कतारको तातो मरभूमिमा पसिना बगाइरहेका भाञ्जाले राम्रो ब्याज आउने ठाउँमा राखिदिन भन्दै ७ लाख रुपैयाँ पठाएका थिए। पेमाले त्यो रकम पनि वर्षौंदेखि आफ्नो बचत रहेको सहकारीमै राखे।
यो पनि : संकटमा सहकारी : बचतकर्ताको रकम जोखिममा, नियामक निकाय उदासीन
काठमाडौँको बौद्धमा श्रीमान्–श्रीमतीले १५ वर्षसम्म होटल व्यवसाय गरेर कमाएको रकम बचत गरेका थिए उनले। त्यसअघि भारतमा कमाएको पैसा पनि केही जोगाएका थिए। त्यो सबै कमाइ सहकारीमा फस्यो।
“अंशबन्डा गरेर सम्पत्ति दिएपछि छोराबुहारीले पनि राम्ररी हेरेनन्। आफ्नै घरमा बूढाबूढी मिलेर होटल चलायौँ। त्योभन्दा अघि इन्डियामा कमाएको पैसा पनि धेरै ब्याज पाइन्छ भनेर सहकारीमै राखेँ,” पेमाले सुनाए।
गत साउनमा साढे ५ लाख रुपैयाँ बचत फिर्ता माग्दा सहकारीले चेक दियो। तर बैंकमा पुगेपछि थाहा भयो, सहकारीको खातामा रकम नै थिएन। त्यसको केही समयपछि सहकारीको कार्यालय पनि बन्द भयो।
त्यसयता सहकारी विभाग लगायतका विभिन्न निकायमा धाउँदा पनि पार लागेन। अहिले सकिनसकी हरेक दिनजसो आफूजस्तै पीडितहरूको आन्दोलनमा सहभागी भइरहेका छन् उनी। “अहिले भाञ्जा पनि नेपाल आएका छन् तर पैसा छैन,” उनी हात जोड्दै भन्छन्, “यस्तो आपत् पर्यो। अब के उपाय लाग्छ, तपाईंहरूले नै सहयोग गरिदिनुहोस्, म बूढो सहारा खोज्न कहाँ जाऊँ?”