Sunday, May 05, 2024

-->

लम्पी स्किन रोगको नियन्त्रणदेखि तराईमा तातो हावाले पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण

सांसदहरूले गाईबस्तुमा देखिएको लम्पिस्किन रोग नियन्त्रण, तराई/मधेश तातो हावा (लू)ले जनजीवनमा पारेको प्रभावका साथै भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साबारे ध्यानाकर्षण गराएका छन्।

लम्पी स्किन रोगको नियन्त्रणदेखि तराईमा तातो हावाले पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ– प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले गाईबस्तुमा देखिएको लम्पिस्किन रोग नियन्त्रण, तराई/मधेश तातो हावा (लू)ले जनजीवनमा पारेको प्रभावका साथै भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साका बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन्। 

प्रतिनिधि सभा सदस्य विमला सुवेदीले गाईबस्तुमा देखा परेको लम्पिस्किन रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरिन्। उनले देशभर गाईबस्तुमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै यसको लागि औषधि उपचार गर्न र प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरिन्। उनले सरकारले बीमा कम्पनीलाई बुझाउनुपर्ने प्रिमियम नबुझाएका कारण किसानले पाउनुपर्ने बीमा रकमसमेत नपाएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

“सरकारले बीमा कम्पनीलाई बुझाउनुपर्ने प्रिमियम रकम नबुझाएका कारण कम्पनीमार्फत किसानले पाउनुपर्ने बीमा रकम नपाउँदा किसान पशुपालन व्यवसायबाटै विस्थापित हुनुपर्ने स्थिति पैदा भएको छ तसर्थ यी समस्याको तत्कालै समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन्।

प्रतिनिधिसभा सदस्य मनिष झाले तराईमा तातो हावा (लू)का कारण जनजीवन प्रभावित हुने तर्फ सरकारलाई सजग गराउँदै स्वास्थ्य संस्थाले आवश्यक तयारी गर्न ध्यानाकर्षण गराए।

लूका कारण विश्वमा बर्सेनि १२ करोड ५० लाख मानिसहरू प्रभावित हुने गरेको र नेपालमा पनि यसको सम्भावना धेरै देखिएको उनले बताए। “पाँच दिनको लू मात्रै होइन यसले वर्षौंसम्म प्रभाव पार्न सक्छ। त्यसैले स्वास्थ्य क्षेत्रहरूमा, स्वास्थ्य केन्द्रहरूमा जीवनजल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भने।

प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले किसानले मौसम अनुरूपका विभिन्न समस्या खेप्नुपरेको भन्दै उनीलाई समस्या अनुरूपको राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरे। “सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, किसानका लागि अभिभावक बनिदेऊ। किसानलाई मल, बीउ, राहत, क्षतिपूर्ति दिन माग गर्न चाहन्छु,” उनले भने।

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले असार १ गतेदेखि गोंगबुस्थित बसपार्कबाट मात्रै यात्रुवाहक बस छुट्ने व्यवस्थाको अन्त्य गर्न काठमाडौँ महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरे। उनले टिकट काट्न पनि गोंगबु जानु पर्ने व्यवस्था अव्यावहारिक भएको बताए।

“हालै काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रु बसले आगामी असार १ गतेदेखि गंगबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडीबुटीदेखि गोंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ। टिकट काट्न पनि त्यहीँ पुग्नुपर्ने नियम झनै अव्यावहारिक छ,” उनले भने।

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोध स्वरूप नेपालले टिस्टा, काँगडासम्म भएको आफ्नो नक्सा संसद् भवनमा राख्नुपर्ने प्रस्ताव गरे। भारतीय संसद् भवनमा राखिएको नक्साबारे पाकिस्तान र बंगलादेशले प्रश्न उठाएको उल्लेख गर्दै उनले के नेपालले चित्त बुझाएको हो भन्दै प्रश्न समेत गरे।

“यदि भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसद्मा राखिराख्न पाउँछ भने हामीले सतलौजसम्म पुगेको हाम्रो सिमाना, रावी नदीको छेउसम्म पुगेको सिमाना, टिस्टा काँगडालाई पनि सामेल गरेको नक्सा लाई हाम्रो संसद्मा भारतले त्यो नक्सा नहटाएसम्म हामीले पनि आफ्नो संसद्मा टाँग्दा के हुन्छ?” उनले भने।

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा बोलिएका कुराहरू रेकर्डबाट हटाउने कुराको अन्त्य गर्न आग्रह गरे। उनले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माणको क्रममा हराएको सुनको सम्बन्धमा प्रश्न उठाउँदा बैठकको रेकर्डबाट हटाइएको भन्दै आफू त्यसरी रेकर्डबाट हटाउने कुराको विरुद्धमा रहेको उल्लेख गरे।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले विद्यालय कर्मचारी र बालविकास शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे। उनले संघीय शिक्षा ऐन संसद्को यसै अधिवेशनमा ल्याउन पनि माग गरे। उनले संघीय निजामती सेवा ऐन पनि संसद्को यसै सदनमा ल्याएर पारित गर्नुपर्नेमा जोड दिए।


सम्बन्धित सामग्री