Tuesday, April 30, 2024

-->

हेटौँडामा प्रसारण लाइनको तार फेर्न स्थानीयको अवरोध,  काम नरोक्न प्राधिकरणको आग्रह

करिब ४१ वर्ष अघि विद्युत् लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएको लगायतका माग स्थानीयले राखेका छन्।

हेटौँडामा प्रसारण लाइनको तार फेर्न स्थानीयको अवरोध  काम नरोक्न प्राधिकरणको आग्रह

काठमाडौ- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्।

करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित जग्गाहरुको मुआब्जा तथा क्षतिपूर्ति नदिएको, रुट सार्नुपर्ने लगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन्। स्थानीयको अवरोधका कारण गत वैशाखको पहिलो हप्ताबाट काम ठप्प छ।

नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गर्न हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको हो।

अहिले उक्त प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुँदै आएकोमा कन्डक्टर बदलेपछि क्षमता बढेर करिब ४ सय  मेगावाट प्रवाह हुन्छ। यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युतलाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने र देशभित्र खपत गरी बढी भएको विद्युतलाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ।

हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित सबस्टेसनबाट कमानेसम्मको ९.५७ किलोमिटर प्रसारण लाइनमध्ये एउटा सर्किटको ७.५ किलोमिटर तार फेरिएको छ। हेटौँडा–कमाने खण्डमा तार बदल्न क्रममा टावरमा जोडिएको पुरानो काटेर अस्थायी रूपमा बाँधी राखिएको छ। स्थानीयको अवरोधले बाँकी काम रोकिएको छ।

प्राधिकरणका अनुसार एउटाको काम सकिएपछि अर्को सर्किटको काम शुरू हुने छ। तराई क्षेत्रमा विद्युतको माग बढेको तर कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले विद्युत भार क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आई विद्युत्को मागलाई व्यवस्थापन गर्ने काम असहज भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले निर्माणस्थलमा गएर स्थानीय बासिन्दासँग छलफल गरी पूर्व–पश्चिम विद्युत् प्रवाहका लागि मेरुदण्डको रूपमा रहेको लाइनको कामलाई अवरोध नगरदिन आग्रह गरेको छ।

छलफलमा १५ नं वडाका वडाध्यक्ष सुनिल मोक्तानले करिब ४१ वर्ष अघि लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाएको, लाइनका कारण घर निर्माण गर्न नसकिएको लगायतका माग स्थानीयको रहेको बताए।

"राज्यका निकायले कानूनभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन्, यस्तो बाध्यता सबैले बुझ्नुपर्छ, स्थानीयले उठाएका जायज मागलाई प्राधिकरण व्यवस्थापनले फिल्डमै आएर सम्बोधन गर्ने विश्वास दिलाएको छ, यसलाई अविश्वास गरी काम नै गर्न नदिने भन्ने हुँदैन, त्यसैले अवरोध नगरी काममा सहयोग गरौं", वडाध्यक्ष मोक्तानले स्थानीयलाई आग्रह गरे।

स्थानीयले राखेका जायज मागलाई क्रमशः सम्बोधन गर्दै जाने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले करिब ४१ वर्ष अघि बनेको लाइन अहिले आएर सार्न असम्भव रहेको बताए। "प्रसारण लाइन निर्माणमा देशभर नै समस्या छ, निर्माणाधीन लाइनको रुट सार्न त सकिँदैन भने बनिसकेको लाइन सार्न सम्भव नै छैन,"  घिसिङले भने।

यो लाइनको स्तरोन्नति सकिएन भने मस्र्याङ्दी नदी करिडोरका आयोजनाहरुको विद्युत प्रवाह हुन नसकेर खेर फाल्नुपर्ने अवस्था रहेको घिसिङले बताए। यस्तो अवस्था आएमा दैनिक राज्यलाई करौडौँ घाटा हुने भएकाले यस्तो महत्वपूर्ण लाइनको काम रोकेर सबै माग पूरा हुन्छ भन्ने नसोच्न र काममा अवरोध नगर्न उनले स्थानीयहरूसँग आग्रह गरेका छन्।

प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने जग्गाको कित्ताकाट गर्न दिने, बैंकमा धितो राख्न पाउने लगायतका विषयलाई नीतिगत रूपमा सम्बोधन गर्न माथिल्लो तहमा छलफल भइरहेको र स्थानीय सामाजिक मागलाई सम्बोधन गर्दै जाने प्रतिबद्धता कार्यकारी निर्देशक घिसिङले अवरोधकर्ताहरूसँग व्यक्त गरेका छन्

१३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौता २०७९ साउन ४ गते कार्यान्वयनमा आएको थियो। उक्त कार्य २०८१ पुसभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ।


सम्बन्धित सामग्री