Saturday, May 04, 2024

-->

पन्जाबले दिल्लीलाई ३१ रनले हरायो, प्रभसिमरनको शतक

अरुण जेट्ली स्टेडियममा पन्जाबले दिएको १६८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनायो।

पन्जाबले दिल्लीलाई ३१ रनले हरायो प्रभसिमरनको शतक

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

युवा ओपनर प्रभसिमरन सिंहको शतकमा पन्जाबले घरेलु टोलीलाई ३१ रनले पराजित गरेको हो। पन्जाबले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनायो। 

दिल्लीका डेबिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले २७ बलमा १० चौका र १ छक्का प्रहार गरे। फिल साल्टले साल्टले १७ बलमा ३ चौकाको सहयोगमा २१ रन बनाए। अमन खान र प्रबिन दुवेले १६ रनको योगदान दिए। 

पन्जाबका लागि हरप्रित ब्रारले ४ विकेट लिए। राहुल चहर र नाथन एलिसका नाममा २/२ विकेट रह्यो।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । 

पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले १०३ रनको शतकीय इनिङ्स खेले। उनले ६५ बलमा १० चौका र ६ छक्का प्रहार गरे। साम करनले करनले २४ बलमा २० रन बनाए।

दिल्लीका ईशान्त शर्माले २ , प्रबिन दुवे, अक्षर पटेल, कुलदिप यादव र मुकेश कुमारले समान १/१ विकेट लिए।

जितसँगै १२ खेलमा ६ जितका साथ १२ अंकसहित पन्जाब छैटौँ स्थानमा उक्लिएको छ। समान खेलमा ८ हार बेहोरेको दिल्ली अंक तालिकाको पुछारमा कायम छ। 


सम्बन्धित सामग्री