Wednesday, May 15, 2024

-->

लिन्डा याकारिनो बनिन् ट्विटरको सीईओ

फोर्ब्सको प्रभावशाली महिलाको सूचीमा रहेकी लिन्डा एनबीसी युनिभर्सलको विज्ञापन प्रमुख थिइन्। उनी एप्पल, गुगलजस्ता ग्लोबल ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्।

लिन्डा याकारिनो बनिन् ट्विटरको सीईओ
तस्वीर: एएफपी

लिन्डा याकारिनो ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेकी छन्। ट्विटरका मालिक एलन मस्कले नयाँ सीईओका रूपमा याकारिनोको नाम सार्वजनिक गरेका हुन्।

मस्कले बिहीबार कम्पनीको सीईओमा एक महिलालाई छनोट गरिएको बताएका थिए। “ट्विटरको नयाँ सीईओका रूपमा लिन्डा याकारिनोलाई स्वागत गर्न उत्साही छु। लिन्डाले व्यापार सञ्चालन केन्द्रित विषयलाई प्राथमिकता दिनेछिन्,” मस्कले भने, “मैले सामग्री डिजाइन र नयाँ प्रविधिमा ध्यान केन्द्रित गर्नेछु।”

फोर्ब्सको प्रभावशाली महिलाको सूचीमा रहेकी लिन्डा एनबीसी युनिभर्सल मिडियाकी ग्लोबल एडभर्टाइजिङ एन्ड पार्टनरसिप प्रमुख थिइन्। उनी एप्पल, गुगलजस्ता ग्लोबल ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्।

अमेरिकाको पेन विश्वविद्यालयबाट लिबरल आर्ट्समा स्नातकोत्तर गरेकी लिन्डा इटालियन मूलकी अमेरिकी नागरिक हुन्।

सन् २०२२ अक्टोबरमा ट्विटर खरिद गरेका एलन मस्कले कम्पनीको मालिक बनेलगत्तै सीईओ पराग अग्रवाललाई बर्खास्त गरेका थिए। त्यसपछि उनी नै सीईओ बनेका थिए।

पछिल्लो समय भने आफ्नो थुप्रै जिम्मेवारी रहेकाले सीईओमा नयाँ मानिसको खोजी गरिरहेको बताउँदै आएका थिए।


सम्बन्धित सामग्री