Saturday, May 11, 2024

-->

धादिङमा छुरा प्रहारबाट युवकको हत्या, गल्छी–त्रिशूली सडकखण्डमा स्थानीयको प्रदर्शन

गल्छी गाउँपालिका–८ निबुवा बोटेस्थित एक होटेल सञ्चालकले ग्राहकलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

धादिङमा छुरा प्रहारबाट युवकको हत्या गल्छी–त्रिशूली सडकखण्डमा स्थानीयको प्रदर्शन 
तस्वीर : पाण्डव रिमालकाे फेसबुक

धादिङ– गल्छी गाउँपालिका–८ निबुवा बोटेमा सञ्चालित एक होटेलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ।

बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका विनोद थापामगरलाई ‘सानदार होटेल’का सञ्चालक नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए।

पण्डितलाई राति नै पक्राउ गरिएको उनले बताए। खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट घाइते थापामगरको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएको हो।

प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित छ जनालाई पक्राउ गरेको छ। घटनापछि स्थानीयले गल्छी–त्रिशूली सडकखण्डमा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका कारण रातिदेखि नै राजमार्ग ठप्प छ। उनीहरूले होटेल सञ्चालकको गाडी पनि जलाएका छन्।


सम्बन्धित सामग्री