Tuesday, April 30, 2024

-->

नेपाल एशिया कप क्रिकेटमा, भारत र पाकिस्तानसँग खेल्ने

एसीसी प्रिमियर कपको फाइनलमा मंगलबार यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा पुगेको छ। आगामी सेप्टेम्बरमा हुने एशिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा छन्।

नेपाल एशिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौँ– गुलशन झाको अर्धशतको मद्दतमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एशिया कप क्रिकेटमा छनोट भएको छ। एसीसी प्रिमियर कपको फाइनलमा मंगलबार नेपालले यूएईलाई पराजित गरेको हो। 

एशिया कप सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने तय छ। योसँगै नेपालले समूह चरणमा भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने छ।

नेपालको जितमा गुलशन झा ८४ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे। भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा क्रिजमा रहे। चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले ९६ रनको अविजित साझेदारी गरेका थिए।

गुलशनको यो ओडीआई करिअरको दोस्रो अर्धशतक हो। उनले ७५ बलमा अर्धशतक पूरा गरेका हुन्। गुलशनले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईविरुद्ध नै अर्धशतक प्रहार गरेका थिए। नेपालको शुरूआत भने राम्रो हुन सकेको थिएन। नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो। स्पिनर रोहन मुस्तफाको बलमा उनी एलबीडब्लू आउट हुन पुगे।

११८ रनको लक्ष्य पछ्याएको नेपालले पनि राम्रो शुरूआत गर्न सकेको थिएन। नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको दोस्रो बलमा गुमायो। स्पिनर रोहन मुस्तफाको बललाई स्वीप सर्ट खेल्न खोज्दा ८ बल खेल्दै १ रनमा एलबीडब्ल्यू आउट भए। अर्का ओपनर आसिफ शेख पनि क्रिजमा टिक्न सकेनन्।

सातौँ ओभरको पहिलो बलमा स्वीप सर्ट खेल्न खोज्दा उनी पनि आयन खानको बलमा एलबीडब्ल्यू धरापमा परे। उनले १० बलमा १ चौकासहित ८ रन प्रहार गरे। चौथो नम्बरमा क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल ९ बल खेल्दै १ रनमा पेभिलियन फर्किए। आठौँ ओभरमा रोहनले फ्याँकेको अन्तिम बलमा रोहित एजमा लागेर बोल्ड भए।

त्यसपछि गुलशन र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए। भीम ३६ रनमा अविजित रहे। उनले ७२ बलमा ४ चौका प्रहार गरे। 

यूएईका रोहन मुस्तफाले २ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १३ रन खर्चिए। यता, आयन खानको नाममा १ विकेट रह्यो।

यूएईको कमजोर प्रदर्शन
अघिल्लो महिना आईसीसी लिग–२ अन्तर्गत कीर्तिपुरमा नै भएको खेलमा नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। त्यसैले यूएईलाई नेपालको प्रमुख प्रतिद्वन्द्वीका रूपमा लिइएको थियो। तर, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएई नेपालसामू निरीह जस्तै देखियो।

पहिलो पावर प्ले (१० ओभर)मा नै यूएईले ३५ रन बनाउँदा ४ विकेट गुमाएको थियो। ओपनर तथा कप्तान मोहम्मद वासिम ११ रनको व्यक्तिगत स्कोरमा पेभिलियन फर्किए।

उनी तीव्र गतिका बलर सोमपाल कामीले फ्याँकेको तेस्रो ओभरको पहिलो बलमा ललितनारायण राजवंशीबाट क्याच आउट भए। क्याच आउट हुनुअघि वासिमले ८ बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए। तेस्रो नम्बरमा क्रिजमा आएका वृत्य अरविन्द पनि धेरै बेर टिक्न सकेनन्।

उनी पाँचौ ओभरको पाँचौँ बलमा कट बिहाइन्ड भए। उनलाई तीव्र गतिका बलर करण केसी र विकेट किपर आशिफ शेखले पेभिलियनको बाटो देखाए। उनले १९ बलमा २ चौकासहित ११ रन बनाए। आऔँ ओभरको पाँचौँ बलमा आर्यन लाक्राले जीवनदान पाए। ललितले फ्याँकेको बललाई आर्यनले डिप स्क्वायर लेगतर्फ हावामा प्रहार गरेका थिए। तर, बल भिजेका कारण भीम सार्किले क्याच छाडे। तर, ९औँ ओभरको पहिलो बलमा करण केसीले आरिफ शेखबाट क्याच आउट गराए। आर्यनले २८ बलमा २ चौकासहित १३ रन बनाए।

८.१ ओभरमा ४–३५ को स्थितिमा रहेको यूएईको इनिङ्स सम्हाल्ने जिम्मा रामेज शाहजद र आशिफ खानले पाएका थिए। तर, १०औँ ओभरको पहिलो बलमा रामेज १ रनमा मिडअन र लङअफको बिचमा रहेका गुलशन झाबाट क्याच भए।

यूएईले अर्का भरपर्दा ब्याटर रोहन मुस्तफालाई पनि २ रनमा गुमायो। १४औँ ओभरको पहिलो बलमा उनी स्विप गर्ने क्रममा सर्ट लेगमा कुशल मल्लबाट क्याच आउट भए। १५ बल खेलेका उनको विकेट लेग स्पिनर सन्दीप लामिछानेले लिएका थिए।  

खेल १६औँ ओभरमा गएर रोकिएको थियो। बिहान १०: २५ बजेबाट पानी पर्न थालेको थियो। पानी रोकिएपछि १०: ४६ बजेबाट पुन: शुरू गरिएको थियो।

५–५१ को स्थितिमा रहेको यूएईको इनिङ्स बसिल हामेद र आशिफ खानले उकासेका थिए। छैटौँ विकेटका लागि उनीहरूले ३९ रनको साझेदारी गरेका थिए। तर, बसिल २३औँ ओभरको पाँचौँ बलमा एज लागेर बोल्ड भए। उनलाई गुलशनले बोल्ड गर्नुअघि २७ बलमा १ चौकासहित १० रन मात्रै बनाएका थिए। 

२६औँ ओभरको चौथो बलमा सन्दीपले अर्को विकेट लिए। स्वीप प्रहार गरेका आयन खानलाई स्क्वायरमा कुशल मल्लले क्याच आउट गरे। आयनले १२ बलमा १ चौका प्रहार गर्दै ५ रन बनाए

२७औँ ओभरको दोस्रो बलमा सेट ब्याटर आशिफ पनि स्लिपमा आरिफ शेखबाट क्याच आउट भए। उनले ५४ बलमा ७ चौका र १ छक्कासहित ४६ रन बनाए। उनी ललितले फ्याँकेको बलबाट क्याच आउट भएका हुन्।

दोस्रो बलमा जहूर खान पनि उसैगरी गोल्डेन डकआउट भए। ललितलगायत नेपाली खेलाडीले अपिल गरे पनि अम्पाएरले रिभ्यू लिएका थिए। टिभी अम्पायरले पहिला हरियो बत्ती (नट आउट)को संकेत दिएका थिए। पछि पुन: रातो बत्ती (आउट)को संकेत देखाए। जुनैद सिद्दिकी ३४औँ ओभरको पहिलो बलमा डिपमा क्याच आउट भएका थिए। उनले १७ बलमा १ छक्कासहित १० रन बनाए।

ललितको कसिलो बलिङ
सन् २०१८ मा जिम्मबावेमा भएको एकदिवसीय विश्वकप छनोटअन्तर्गत घरेलु टोलीविरुद्ध डेब्यू गरेका स्पिनर ललितनारायण राजवंशीले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

त्यसयता टोलीमा आउने जाने गरिरहेका ललितले सोमबार यूएईविरुद्ध ३ विकेट लिएका छन्। ४.३ ओभर बलिङ गरेका उनले १ मेडनसहित ५ रन दिएका छन्। ललितले २८औँ ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका थिए। उनी पहिलो ओडीआई ह्याट्रिक विकेट नजिक थिए। तर, जुनैद सिद्दीकीले अर्को बल डट खेले। उनको उत्कृष्ट प्रदर्शन यूएईविरुद्ध नै थियो।

यसै वर्ष मार्च १२ मा आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको यूएईविरुद्धको खेलमा उनले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चिएर ५ विकेट लिएका थिए। सोमबार र मंगलबार यूएईविरुद्ध उनले ४ विकेट लिए। ७.१ ओभर बलिङ गरेका उनले २ मेडनसहित १४ रन खर्चिए।

प्रिमियर कपका यसअघिका खेलमा ललितले ५ विकेट लिएका थिए। उनले मलेसियाविरुद्ध ३४ रन खर्चिएर २, ओमानविरुद्ध २२ रन खर्चिएर १, कतारविरुद्ध २७ रन खर्चिएर २ विकेट लिएका थिए।

कतारविरुद्धको सेमिफाइनलमा उनले २ ओभर बलिङ गर्दै १२ रन खर्चिएका थिए। तर, विकेट भने लिन सकेनन्। उक्त खेल वर्षाको कारण नतिजाविहीन भएको थियो। यता, ओमानविरुद्धको खेललाई भने आईसीसीले ओडीआई मान्यता दिएको थियो।

प्रिमियर कपका बाँकी खेल ५० ओभरका हुन्। यसले लिस्ट ‘ए’को समेत मान्यता पाउँदैनन्। करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।


सम्बन्धित सामग्री