Thursday, May 02, 2024

-->

बार्सिलोनाको सिनियर टोलीबाट यामलको 'ड्रिम डेब्यू'

बार्सिलोना यामलले क्लबमा निरन्तरता दिनेमा विश्वस्त छ, उनलाई व्यावसायिक सम्झौता प्रस्ताव गर्ने र उनको भविष्य सुरक्षित गर्दिने बचन पनि दिएको छ। यद्यपि, यामलसँग जमाल मुसियालाजस्तै अरू क्लब जाने विकल्प छ।

बार्सिलोनाको सिनियर टोलीबाट यामलको ड्रिम डेब्यू

काठमाडौँ– “हामीले धेरै युवा खेलाडीहरूलाई मौका दिएका छौँ। लामिन पनि जन्मजात प्रतिभावान् खेलाडी हुन्। उनी १५ वर्षको जस्तो लाग्दैन। उनी धेरै परिपक्व र निडर छन्। उनी बार्सिलोनाबाट खेल्न योग्य छन्।”

क्याटलान क्लबका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले विंगर लमिन यामलबारे एक साताअघि भनेका थिए। त्यतिबेलै जाभीले यामललाई ला लिगाअन्तर्गत रियल बेटिसविरुद्ध घरेलु मैदान नाउ क्यापमा हुने खेलका लागि टोलीमा समावेश गराउने जनाएका थिए। यद्यपि, यामलले बेटिसविरुद्ध कतिखेर डेब्यू गर्छन् या गर्दैनन् भन्ने सबैको चासोको विषय बनेको थियो।

शनिबार राति बेटिसविरुद्धको खेलमा एन्ड्रियास क्रिस्टेनसन, रोबर्ट लेवान्डोस्की र राफिन्हाले गोल गर्दै पहिलो हाफमा लिग लिडर बार्सिलोनालाई ३-० गोलअन्तरको अग्रता दिलाइसकेका थिए। दोस्रो हाफमा सो अग्रता कायम राखे मात्रै बार्सिलोनाको जित पक्का थियो।

८२औँ मिनेटमा बेटिसका गुइडो रोड्रिग्वेजले आत्मघाती गोल गरेसँगै बार्सिलोना ४–० गोलअन्तरको फराकिलो जिततिर अग्रसर थियो। त्यसको एक मिनेटपछि नै सबैको खुलदुली मेटाउँदै मुख्य प्रशिक्षक जाभीले अन्ततः यामललाई बार्सिलोनाको सिनियर टोलीबाट ड्रिम डेब्यू गराए। उनी पाब्लो गाभिरा (गाभी)लाई परिवर्तित गर्दै मैदान उत्रिएका हुन्।

उनी मैदान उत्रिएपछि दर्शक मात्रै होइन्, राफिन्हो पनि छक्क परे। खेलपछि उनी भन्दै थिए, “म यामलको उमेरमा (१५ वर्ष) स्थानीय टोलीको लागि खेल्दै थिएँ। यो उमेरमा उनी यो स्टेडियममा खेलेको देख्नु सबैका लागि अविश्वसनीय थियो। उसले यो खेलमा गोल गरेको भए राम्रो हुन्थ्यो, तर सकेन। यद्यपि, उसले समयमा गोल गर्नेछ र क्लबका लागि धेरै महत्त्वपूर्ण खेलाडी बन्ने छ।”

४१ नम्बरको जर्सी लगाएर यामल मैदान उत्रिएका थिए। ७ मिनेट मात्रै मैदानमा बिताएका उनले डेब्यू खेलमै आफ्नो छाप छाडे। खेलको ८६औँ मिनेटमा यामलले गोल गर्ने सुवर्ण अवसर चुकाए। बेटिसका मोन्टोयाबाट बल खुत्काउँदै उनले करिब ६ यार्डबाट प्रहार गरेका थिए। तर, बेटिसका गोलरक्षक रूई सिल्भाले उत्कृष्ट बचाउ गर्दै उनलाई ऐतिहासिक गोल गर्नबाट रोके। त्यसको केहीबेरपछि उनले डिबक्स बाहिरबाट उत्कृष्ट चिप पास दिएका थिए। तर, रन लिँदै गोलरक्षकअघि पुगेका डिम्बेलेले त्यसलाई सदुपयोग गर्न सकेनन्।

आगामी जुलाईमा १६ वर्ष पूरा हुने यामल बार्सिलोनाका एकेडेमी उत्पादन हुन्। १५ वर्ष २९० दिनको उमेरमा सिनियर टोलीमा डेब्यू गरेका उनलाई बार्सिलोनाले आफ्ना क्लबका लागि खेल्ने यो शताब्दीकै कान्छा खेलाडी भएको जनाएको छ।

यामल बार्सिलोनाका लागि खेल्नै सबैभन्दा कान्छा खेलाडीमा दोस्रो नम्बरमा पर्छन्। यसअघि सन् १९०२ मा कोपा मकायामा अल्बर्ट अलमास्कले १३ वर्ष ११ महिना ६ दिनमा डेब्यु गरेका थिए। त्यसपछि अन्सु फाटी सबैभन्दा कान्छा खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए।

उनले बार्सिलोनाका लागि सन् २०२० सेप्टेम्बर ३ मा १६ वर्ष ९ महिना २५ दिनमा डेब्यू गरेका थिए। इतिहास हेर्दा यामल ला लिगामा डेब्यू गर्ने पाँचौँ कान्छा खेलाडी हुन्। ला लिगामा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान मालोर्काका युवा खेलाडी लुका रोमेरोसँग छ। उनले १५ वर्ष २१९ दिनको उमेरमा रियल मड्रिडविरुद्ध सन् २०२० मा ला लिगा खेल्दै सबैभन्दा कान्छा खेलाडीको इतिहास बनाएका थिए।

शनिबार नोउ क्याम्पमा बेटिसका ४१ वर्षीय बेटिसका विंगर जोआकिन पनि मैदान उत्रिएका थिए। यामलको जन्म हुँदा उनले २१५ ला लिगा खेल खेलिसकेका थिए। जोआकिनले यसै सिजनबाट संन्यास लिने बताइसकेका छन्।

१३ जुलाई २००७ मा जन्मिएका यामल सन् २०१४ मा ७ वर्षकै उमेरमा बार्सिलोनामा आबद्ध भएका हुन्। यामलका बुबाआमा भने स्पेनिस होइनन्। उनका बुबा मोरक्को तथा आमा गुएनाका हुन्। यामल पछिल्लो ५ वर्षदेखि बार्सिलोनाको एकेडेमीसँग आबद्ध हुँदै आएका छन्। प्रशिक्षणमा राम्रो खेल प्रदर्शन गर्दै आएका यामलबाट सबै प्रशिक्षक प्रभावित भएका थिए।

सानै उमेरमा उनमा देखिएको परिपक्वताले गर्दा सबैले उनलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर निकाल्ने योजना बनाएका थिए। उनले आफ्नो उमेरभन्दा माथि उठ्दै यू–१९ टोलीको हिस्समा पनि बने। उनले यो सिजन उमेर समूहबाट खेल्दै ७ गोलसमेत गरेका छन्।

उनको प्रदर्शनलाई नियालिरहेका जाभीले यामललाई सिनियर टोलीको प्रशिक्षणमा बोलाएका थिए। उक्त प्रशिक्षणबाट यामलको प्रतिभालाई जाभीले अझै नजिकबाट नियाल्ने अवसर प्राप्त गरे। त्यसपछि उनलाई बेटिसविरुद्ध टोलीमा समावेश गर्ने आश्वासन दिएका थिए। बाया साइडबाट खेल्ने यामल फरवार्ड लाइनमा पनि खेल्न सक्छन्। उनमा राम्रो ड्रिब्लिङ गर्ने कलाकौशल छ। उनलाई ब्राजिलि फरवार्ड नेयमार र रोनाल्डिन्होसँग तुलना गरिन्छ।

उनी स्पेन, मोरक्कन र गुएना तीनवटै देशबाट प्रतिनिधित्व गर्न सक्ने विकल्प छ। तर, अहिले उनी जन्मभूमि स्पेनमा मात्र केन्द्रित छन्। यू-१५ देखि यू-१९ स्तरमा स्पेनको प्रतिनिधित्व गर्दै आएका छन्।

“सबैले उनको बारेमा कुरा गर्छन्। स्पेनबाट उनलाई कहिले फिर्ता ल्याउने भन्ने पनि सोध्छन्,” मोरक्कन राष्ट्रिय टोलीका प्रशिक्षक राबी ताकासाले काडेना एसईआरलाई भने। खेलप्रति उसको दृष्टिकोण, गोलका लागि उनले सिर्जना गर्दिने मौका र क्षमताले सर्वश्रेष्ठ विंगरहरूमध्ये एक हो भनेर आफूलाई भन्न कर लाग्ने उनी बताउँछन्।

तर, युवास्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्पेनबाट सहभागिता जनाइसकेको कारण आफूहरूले उनलाई मोरक्को ल्याउन दबाब नदिने उनले बताए। उनले स्पेनको युवा टोलीबाट १२ खेलमा ५ गोल गरिसकेका छन्। “उनी मलाई मन पर्ने खेलाडी हुन्। तर, युवास्तरमा उनी स्पेनिस अन्तर्राष्ट्रिय खेलाडी हुन्। हामी कसैलाई यस देशबाट खेल भनेर दबाब दिँदैनौँ। उसले निश्चित रूपमा स्पेन या मोरक्कोबाट निर्णय गर्छ। जुन देशबाट खेले पनि उसको निर्णयलाई हामी सम्मान गर्छौँ,” उनी भन्छन्।

१५ वर्षका यामल बार्सिलोनाको सिनियर टोलीमा सम्झौतामा हस्ताक्षर गर्न योग्य भएका छैनन्। बार्सिलोनाले सम्झौताका लागि कागजमा कलम राख्ने दिनसम्म उनले पसिना बगाउनुपर्ने छ। त्यसका लागि बार्सिलोना यामलको १६औँ जन्मदिन अर्थात् जुलाई १३, २०२३ का लागि उत्सुकताका साथ पर्खिरहेको छ।

बार्सिलोनाले उनलाई व्यावसायिक सम्झौता प्रस्ताव गर्न र उनको भविष्य सुरक्षित गर्दिने बचन दिएको छ। तर, यामलसँग पनि जमाल मुसियाला जस्तै विकल्प छ। जो किशोरावस्थामा फुटबल सिकाएको इंग्लिस क्लब चेल्सीको अफरलाई लत्याउँदै जर्मन क्लब बायर्न म्युनिखमा आवद्द भएका थिए।

बायर्न र इंग्लिस क्लब लिभरपुलले यामललाई भित्र्याउन चाहेको खबरहरू पनि प्रकाशित भइरहेका छन्। यद्यपि, बार्सिलोना यामलले क्लबमा निरन्तरता दिनेमा विश्वस्त छ। बार्सिलोना २०२३-२४ सिजनमा यामललाई र विश्वविजेता अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीसिट भेट गराउन उत्सुक छ। मेस्सीले पनि किशोरावस्थामा बार्सिलोनाबाट डेब्यू गरेका थिए। तर, मेस्सीलाई फिर्ता बोलाउन बार्सिलोनालाई आर्थिक समस्या भने कायमै छ।

यद्यपि, मुख्य प्रशिक्षक जाभी आफ्नो पूर्वसहकर्मी मेस्सी र यामलमा धेरै कुरा समान रहेको बताउँछन्। “यामल १५ वर्षको जस्तो लाग्दैन। ऊ धेरै परिपक्व छ। ऊ सिनियर टोलीमा खेल्न तयार छ र उसले राम्रोसँग प्रशिक्षण गरिरहेको छ,” उनी भन्छन्, “यामललाई मेस्सी र अन्सु फातीसँग तुलना गर्न सकिन्छ। किनभने उनीसँग जन्मजात प्रतिभा छ, जुन भेट्टाउन गाह्रो छ।”

यद्यपि, यामलले अझै लामो यात्रा तय बाँकी छ। सिनियर टोलीमा पुग्ने क्रममा यामलमाथि धेरै दबाब हुनेमा कुनै शंका छैन। तर, उनलाई आफ्ना प्रशिक्षक, साथीभाइ र समर्थकको साथ छ। यदि, उनले कडा परिश्रम जारी राखे र खेलमा ध्यान केन्द्रित गरे जाभीले भनेजस्तै मेस्सी र फातीजस्तो सुपरस्टार बन्नेमा कुनै शंका नै छैन।


सम्बन्धित सामग्री