पोखरा– “दुर्गा दाइलाई कलाकारभन्दा पहिला मसल म्यानको रूपमा चिन्थेँ म। पोखराको पुरानोबजार मोहरिया टोल, बगरतिर हिँड्दा बाइसेप मसल भएको आकर्षक मान्छे हिँडेको देखिन्थ्यो। म ओझेल नपरुन्जेल उसलाई हेरिरहन्थे।”
यो भनाइ साहित्यकार सरूभक्तको हो। कलाकार दुर्गा बराल ‘वात्स्यायन’को ८०औँ जन्मजयन्तीको अवसरमा गएको चैत ४ गते पोखरामा आयोजना गरिएको ‘रथारोहण’ समारोहमा सरूभक्त आफ्नो स्मृति सुनाउँदै थिए।
त्यतिबेला सरूभक्त उनलाई कलाकारका रूपमा चिन्दैन थिए। न त वात्स्यायन नै सरूभक्तलाई साहित्यकारका रूपमा चिन्थे। तर वात्स्यायनको गठिलो शरीरसँग सरूभक्त आकर्षित थिए। “दुर्गा दाइसँग फोटो खिचाउँदा हामी खानै नपाएका जस्तै देखिन्थ्यौँ,” सरूभक्त सुनाउँछन्।
सरूभक्तका बाल्यकालीन साथी विजय बजिमयको मोहरियास्थित घरको पटांगिनीमा कवि गोष्ठी हुन्थ्यो। वात्स्यायन पनि त्यहाँ देखा पर्थे। ध्यानस्थ कवितापान गर्थे।
विजयको घर अघिल्तिर वात्स्यायनको स्टुडियो थियो— इगल आई आर्ट स्टुडियो। कवि गोष्ठीले उनीहरूलाई नजिक्यायो। त्यसपछि त सरूभक्त, तीर्थ श्रेष्ठ र वात्स्यायन सहधर्मी भइहाले।
पछि, वात्स्यायनको कलाकारिताले उनलाई चर्चा दिलायो। तर उनको अर्को रुचि शारीरिक सुगठन भने छायाँमा पर्यो।
कलाकारितामा वात्स्यायन जति अनुशासित छन्, आफ्नो स्वास्थ्यबारे पनि उनी उत्तिकै अनुशासित छन्। शरीर स्वस्थ भए मात्रै काम गर्ने स्फुर्ति आउने उनको भनाइ छ। ८० वर्षे उमेरमा अहिले पनि हरेक दिन ‘मर्निङ वाक’मा निस्किन्छन्।
उनी कलाकारिता सिक्न २०१९ सालमा काठमाडौँ पुगे। उतै ‘बडिबिल्डङ’ सिके। काठमाडौँमा कतिपय युवाले टिमिक्क परेको टि—सर्ट लगाएर ‘मसल’ देखाउँदै हिँड्थे। वात्स्यायनलाई पनि रहर जाग्यो। “साथीहरू हातका बाइसेप्स मसल देखाएर टाइट टिसर्ट—पाइन्ट लगाएर हिँड्थे। मलाई पनि आफ्नो शरीर त्यस्तै बनाउन मन लाग्यो,” वात्स्यायनले सुनाए।
त्योबेला हिन्दी सिनेमाको प्रभावले काठमाडौँमा युवाहरू शारीरिक सुगठनतर्फ लागेको उनको अनुमान छ। त्यस्तै आकर्षक शरीर भएका एक जना कलाकार थिए कृष्ण मानन्धर। उनको आकर्षक शरीरले वात्स्यायनलाई लोभ्याएको थियो। आफ्नो शरीर पनि त्यस्तै बनाउन पाए हुन्थ्यो झैँ लाग्थ्यो।
एक दिन मेसो मिलाएर उनले सोधेछन्, “मलाई पनि यस्तै शरीर बनाउन रुचि जागेको छ। कसरी गर्ने हो?”
उनले मसल कसरी बनाउने, पेटमा कसरी ‘सिक्स—प्याक’ निकाल्ने, खुट्टाको, शरीरका विभिन्न भागको व्यायाम कसरी गर्ने, सबै सिकाइदिए। कुराकानी हुँदै जाँदा मानन्धरले आफू ‘जिम’ पनि जाने गरेको खुलाए।
पोखरामा जिमबारे कसैलाई थाहा थिएन। बडिबिल्डङबारे कसैलाई जानकारी नै थिएन।
काठमाडौँमा गरेको मिहिनेतले वात्स्यायनलाई जेनतेन धानिन मात्र पुगिरहेको थियो। जिम जाने खर्च थिएन। तर रहर थियो र हुट्हुटी पनि।
अनि, उनले उपाय लगाए— पैसा तिरेर सिक्नुको सट्टा आफैँले जिम गर्ने। तौरतरिका साथीहरूसँग सोध्ने विचार गरे।
टुँडीखेलमा नेपाली सेनाले शारीरिक अभ्यास गर्थे। बिहन ४–५ बजे नै त्यहाँ पुगेर अभ्यास गर्न थाले। “मसँग सामान त थिएन, तर बिहानै टुँडीखेल पुग्थेँ। आर्मीहरुले खेल्ने विभिन्न प्रकारका व्यायाम गर्ने सामग्री हुन्थ्यो,” उनी सम्झिन्छन्, “त्यहीँ गएर बारहरू समातेर पुसअप गर्ने अरू एक्सरसाइज गर्ने गर्थेँ।”
त्यो बेला सर्वसाधारण पनि सजिलै जान पाइन्थ्यो। बिहान व्यायाम गर्न काठमाडौँबासी पनि टुँडीखेल जान्थे। उनका साथीहरू पनि हुन्थे। यो उपक्रमलाई उनले निरन्तरता दिइरहे।
जिम गरिसकेपछि ‘डाइट’ खानुपर्यो।
अघिल्लो दिन बेलुका नै चना भिजाएर राख्थे। भिजाएर राखेको चना खाने, त्यो पनि काँचै। अन्डा ल्याउने काँचै खाने गर्थे।
वात्स्यायन २०२६ सालतिर काठमाडौँ छोडेर पोखरा फर्किए।
पोखरा फर्केपछि पनि वात्स्यायनले व्यायाम गर्न छाडेनन्। तर, काठमाडौँमा सैनिकहरूले गर्ने जस्तो सुविधायुक्त व्यायाम गर्ने ठाउँ पोखरामा थिएन।
अब कहाँ गर्ने त व्यायाम?
जिमका तौरतरिका धेरथोर थाहा छँदै थियो। किताबहरू हेरे। कसरी उठाउने, ‘वेट’ कसरी ‘लुज’ गर्ने, आवश्यक जानकारी आफैँले खोजे। “आफैँले (व्यायामका सामा) बनाएँ। जाँतोको दुई वटा पाँग्रा ल्याएर, अनि फलामको गल बिचमा राखेर टम्म कसेर गललिएर बेन्च बनाएर त्यसमा सुत्यो। कुर्सी राखेर, गल उठाउने चिज तेर्स्याएर घरै जिमखाना बनाएँ,” उनी सम्झिन्छन्।
‘वेट डम बेल्ट’ पनि सिमेन्टको बनाए वात्स्यायनले। डल्लो दुईतिर भएको बीचमा समाउने बनाए। तिघ्रा कसरी ठूलो बनाउने, कम्मर कसरी घटाउने, छाती कसरी बढाउने, पछाडी कसरी ठूलो बनाउने भन्ने सबैको छुट्टाछुट्टै एक्ससाइज हुन्छ। उनले घरैमा अभ्यास थाले। बडिबिल्डङका पत्रिका काठमाडौँ छँदा नै संकलन गरेका थिए। ती सहयोगी भए।
उनले बडिबिल्डङ गरिरहेका थिए। तर घरमा यसरी अभ्यास गरेको पोखराका साथीभाइलाई पत्तै थिएन।
बाहिर निस्किँदा टिमिक्क परेको टि–र्सट लगाउँथे। उनको शरीर देखेर मान्छेहरू लोभिन्थे। तर, त्यसको राज के हो भेउ पाएका थिएनन्।
“म त्यो सब कोठाभित्र लुकेर गर्थें। स्टुडियो आर्ट गर्ने ठाउँमा भित्रबाट चुकुल लगायो, अनि एक्सरसाइज गर्ने। एक–डेढ घण्टा जति गर्थें,” उनी सम्झिन्छन्, “त्यो सकाइसकेपछि सामान अर्कोतिर लगेर लुकाउँथे।’
पोखराको तेर्सापट्टीमा खेमनारन श्रेष्ठको फोटोग्राफी पसल थियो। काठमाडौँ जानुअघि वात्स्यायनले श्रेष्ठसँग फोटो धुलाउने काम पनि सिकेका थिए। काठमाडौँबाट फर्केर पोखरामै बस्न थालेपछि फेरि श्रेष्ठसँग सम्पर्क भयो।
केही काम पाएका थिएनन्। श्रेष्ठले नै लगानी गरिदिएर नाफा आधा–आधा बाँड्ने गरी महेन्द्रपुलमा फोटोग्राफीको पसल खोले। घाटामा गएपछि बन्द गरे।
त्यसअघि, रामबजार पेन्सन क्याम्प नजिकै सुनील गोशालीको फोटोग्राफी पसलमा केही समय काम गरेर छोडिसकेका थिए।
अब मोहरिया टोलमा ‘इगल आई आर्ट स्टुडियो’ खोले। त्यही स्टुडियो अगाडि ब्रिटिश क्याम्पको फोटो खिच्ने फोटोग्राफर थिए, पृथ्वीमान गुरुङ। गुरुङ काम विशेषले ब्रुनाइ गए। फर्केर नआउञ्जेल पसल चलाइदिन भनेका थिए। “ऊ नआइन्जेल उसको फोटोग्राफी पसल पनि मैले नै चलाइदिएँ,” उनी भन्छन्।
वात्स्यायनले अनेक पारामा मसल देखाएर फोटो खिचाएका थिए। ती फोटो स्टुडियोमा लगेर राखे। “त्यसअघिसम्म मेरो व्यायामबारे कसैलाई थाहा थिएन। आफ्नै बडीको फोटो पसलमा राखेको थिएँ। अनि बडिबिल्डङबारे धेरैले थाहा पाए,” उनी भन्छन्।
ती फोटो आफूसँगै राखेका थिए। तर अहिले कता परे उनले नै भेउ पाएका छैनन्।
ती फोटो देखेर बडिबिल्डङबारे सोध्न आउने पनि बढ्दै गए। उनले अनेक सुझाव दिन्थे। यसरी सुझाव माग्न आउनेमध्ये एक जना थिए, सुर्वण कायस्थ।
कायस्थले साथीहरूसँग मिलेर ‘जिम हाउस’ खोल्ने बताए। त्यसका लागि सामान किन्न र व्यायामको तरिका सिकाउन वात्स्यायनसँग आग्रह गरे। सल्लाहकारमा राख्ने जानकारी पनि गराए। तर उनले कुनै औपचारिक तालिम नलिएको र पढेर अभ्यास गरेको बताए।
यसरी पोखरामा जिम उनैले भित्र्याएका थिए। उनलाई नै देखेर जिम हाउस खुलेको थियो।
काठमाडौँमा जिम धेरै पुरानो भइसकेको थियो। शहीद धर्मभक्त माथेमाले १९९४ सालमा प्रजा परिषद् खुल्नुअघि नै ओमबहालमा व्यायामशाला खोलेको इतिहास छ। “जिम भन्ने त उही जमानमा रहेछ नि त काठमाडौँमा। त्यस्तोबाट काठमाडौँ परिचित भइसकेको थियो,” उनी भन्छन्।
उनले थाहा पाउँदा पनि ठमेलतिर दुईचार वटा जिमखाना थिए। त्यसो हुनुमा हिन्दी फिल्मको प्रभाव युवाहरूमा परेको ठान्छन्— वात्स्यायन। “इन्डियन फिल्ममा बडिबिल्डर्स बढी देखाउने। तिनीहरूको बडी, मसल भएको देखाउने। एकदम ह्यान्डसम, फिगरवाला हिरो देखाउने, यत्रो पाखुरा भएका,” उनी भन्छन्, “फिल्म हेरेर प्रभावित भएका केटाहरूलाई रहर पनि भयो। बाटोमा हिँड्दा पनि ‘फेसनै’ जस्तो भएको थियो।”
दुब्ला सरूभक्त र तीर्थ श्रेष्ठले वात्स्यायनसँग फोटो खिच्ने रहर गर्थे। “सरूभक्त र तीर्थसँग खिचेको फोटो थियो। उनीहरू दुवै ख्याउटे। म बीचमा हृष्ठपुष्ठ उभिएको। त्यो फोटो पनि मैले अहिले भेट्न सकिनँ,” वात्स्यायनले थकथकी माने।