Thursday, May 02, 2024

-->

लिग-२ : पपुवा न्युगिनीविरुद्ध नेपाल ४ विकेटले जित

जितसँगै नेपालले २९ खेलबाट २८ अंक बनाएको छ। नेपाल अंक तालिकामा छैटौँ स्थानमा यथावत् छ।

लिग-२  पपुवा न्युगिनीविरुद्ध नेपाल ४ विकेटले जित

काठमाडौँ– नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको हो।

पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले४५.२ ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनाएको हो।

नेपालका ओपनर कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ६९ बलमा ५ चौका प्रहार गरे। यता, आशिफ शेखले ३९ बलमा ५ चौकासहित ४४ रन बनाए।

पहिलो विकेटका लागि उनीहरूबीच ७८ रनको साझेदारी भएको थियो। आशिफ १४.५ ओभरमा रन आउट भएका थिए।

मध्यक्रमका आरिफ शेखले ६६ बलमा १ चौका र १ छक्कासहित ३८ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २० र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए।

कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे।

पपुवा न्युगिनीका असद भालाले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा ३७ रन दिए। नोर्मन भानुआ र सेसे बाउले १/१ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको हो।

पपुवा न्युगिनीका कप्तान असद भाला र चाड सोपरले ३६/३६ रन बनाए। भालाले ५३ बलमा ४ चौका प्रहार गरे। सोपरले ५३ बलमा २ चौका प्रहार गरे।

यता, सेस बाउले ५५ बलमा ३ चौकासहित ३१ रन बनाए भने ओपनर किप्लिन डोरिगाले २९ र नोर्मन भानुआले २५ रन बनाए। पपुवा न्यगिनीका अन्य ब्याटरले सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्।

नेपालका गुलशन झाले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मिडेनसहित ३२ रन खर्चिए। गुलशनको ओडीआई करिअरमा यो नै उत्कृष्ट प्रदर्शन हो।

यसअघि उनले सन् २०२२ डिसेम्बर ४ मा स्कटल्यान्डविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित १९ रन खर्चिएर २ विकेट लिएका थिए।

यता, कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिए। डेब्यू ब्वाइ प्रतिश जीसी, करण केसी र सोमपाल कामीले १/१ विकेट लिए।

जितसँगै नेपालले २९ खेलबाट २८ अंक बनाएको छ। नेपाल अंक तालिकामा छैटौँ स्थानमा यथावत् छ। पपुवा न्युगिनी समान खेलबाट ५ अंक बनाउँदै पुछारमा छ।


सम्बन्धित सामग्री