Tuesday, April 30, 2024

-->

ओलीको नयाँ 'मूभ', माधव नेपाल बन्न सक्छन् एमालेको राष्ट्रपति उम्मेदवार

कांग्रेस र माओवादीले एमालेबाट राष्ट्रपति बन्न नदिने रणनीति बनाएपछि एमाले अध्यक्ष ओली त्यसको प्रतिरणनीतिमा केन्द्रित भएका छन्। त्यसमै अगाडि आएको छ, राष्ट्रपतिमा माधव नेपालको नाम।

ओलीको नयाँ मूभ माधव नेपाल बन्न सक्छन् एमालेको राष्ट्रपति उम्मेदवार 

काठमाडौँ- आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति बन्न नदिन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र निर्णायक पहलमा जुटेपछि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले नयाँ रणनीति तय गरेको छ। 

त्यो रणनीति हो- डेढ वर्ष पहिले एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकीकरण गर्ने। यो प्रयास सफल हुँदा प्रतिनिधिसभामा एमाले ठ्याक्कै कांग्रेस बराबरको दल हुनेछ। र, कांग्रेसले प्रतिनिधिसभामा आफू पहिलो दल भएको एकल दाबी गुमाउनेछ।

एमाले रणनीति एकीकृत समाजवादीसँग एकता गर्ने मात्र होइन, त्यसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेसम्म केन्द्रित छ।

यही रणनीति फत्ते गर्ने प्रयासका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच आइतबार एक चरण छलफल भइसकेको छ। त्यो छलफलमा ओलीले नेपाललाई पार्टी एकता गर्न र राष्ट्रपतिको उम्मेदवार बन्नसमेत आग्रह गरेको ओलीनिकट एमालेका एक नेताले सोमबार राति उकालोलाई बताए।

"कुराकानी अगाडि बढेको छ, तर कुनै निचोडमा पुगिएको छैन," ती नेताले भने, "हामीविरुद्ध शुरु भएको घेराबन्दीलाई ख्याल गरेर सुझबुझपूर्वक अघि बढ्न खोजेका छौँ। अहिले यति मात्र भनौँ।"

सम्भवतः ओली र नेपालबीचको संवादबारे भेउ पाएरै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँगको भेटमा यो कुरा उठाएका थिए। राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निधो आफूले गरेको सुनाउँदै उनले भनेका थिए, "तर केपी ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अगाडि सार्न सक्ने संकेत मैले पाएको छु। त्यसो भयो भने मलाई अप्ठेरो पर्छ।"

दाहालले संकेत गरे झैँ कांग्रेस र माओवादीलाई नजिकिन नदिन र वर्तमान सत्ता गठबन्धनलाई यताउता हुन नदिन पनि ओलीले यस्तो 'मूभ' गरेको देखिन्छ।

सभामुखमा जस्तै राष्ट्रपतिमा पनि आफ्ना 'भित्रिया'लाई अघि सार्न पार्टीभित्र छलफलसमेत नगरेका ओली कांग्रेस र माओवादीको पछिल्लो 'मूभ'बाट झस्किएको र राष्ट्रपतिसँगै संघ र प्रदेशका सरकारमा समेत हिस्सेदारी गुम्ने अवस्था देखेर यो विकल्पमा अग्रसर भएको देखिन्छ। कांग्रेस र माओवादीले राष्ट्रपतिमा ओलीले अघि सार्ने एमालेका उम्मेदवारलाई पराजित गर्ने मात्र होइन, पुस १० अघिको तत्कालीन गठबन्धन ब्युँताउनेसम्मको अग्रसरता देखाइसकेका छन्।

एमालेका अर्का नेताले नेपाल नै आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने बताए। "हो, सबै कुरा ठिकठाक अघि बढ्या भने उहाँ हाम्रो उम्मेदवार बन्ने सम्भावना छ। हामीविरुद्ध देश भित्र र बाहिरबाट यस्तो घेराबन्दी गरिएको छ कि राष्ट्रपतिमा सम्भवतः हाम्रो अन्तिम विकल्प नै यही हो," उनले भने।

तर, उनले त्यो चरणमा पुग्नलाई केही कुरा टुंगो लाग्न बाँकी रहेको बताए। "पहिले पार्टी एकीकरण टुंगो लगाउने कि राष्ट्रपतिको उम्मेदवार तय गर्ने भन्ने सवाल छ," उनले भने। 

एमाले र एकीकृत समाजवादीबीच एकता हुँदा प्रतिनिधिसभामा कांग्रेस र एमालेका समान ८९/८९ सदस्य हुनेछन्। एमालेले आफूबाट विद्रोह गरेर चुनाव लडेका स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई पनि भित्र्याउन सकिने, त्यसो हुँदा प्रतिनिधिसभामा पहिलो दल बन्ने हिसाबकिताब राखेको छ। पहिलो दल बन्दा कार्यकर्ता पंक्तिमा बेग्लै सन्देश प्रवाह गर्न सकिने बुझाईमा ओली अहिले होइन, मंसिर ४ को निर्वाचनको नतिजा आएपछि नै पुगेका थिए।

सोमबार दिउँसो प्रधानमन्त्री दाहालले सिंहरदरबारमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग एक्लै संवाद गरे। त्यो संवादपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे कुनै निर्णय गरेन। बरु त्यसबारे आवश्यक पहल गर्ने र निर्णय लिने जिम्मा अध्यक्ष दाहाललाई नै दिने निर्णय गरेको छ। 
माओवादीको यस्तो निर्णयलाई कांग्रेस नेताहरुले केही संशयपूर्ण तरिकाले हेरेका छन्। किनभने आइतबार साँझ कांग्रेस नेताहरुसँगको भेटमा दाहालले सोमबारको पदाधिकारी बैठकबाट राष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने आश्वासन दिएका थिए।

दाहालले भनेअनुसार निर्णय नगरिनुलाई कांग्रेसइतरले भने अर्थपूर्ण रुपमा हेरेका छन्।

दाहालसँगको भेटपछि नेपालले संवाद सकारात्मक र सौहार्द्धपूर्ण भएको प्रतिक्रिया दिएका थिए।

दाहालको नेतृत्वमा सरकार बन्नुअघि पनि दोस्रो तहका नेताहरुले एमाले र एकीकृत समाजवादीलाई मिलाउने, नेपाललाई राष्ट्रपति बनाउनेसम्मको पहल अघि बढाएका थिए। तर, त्यसबेला नेपालकै अनिच्छाले त्यो पहल बिथोलिएको थियो। त्यसबेला एकीकृत समाजवादीका एक नेताले भनेका थिए, "माधव नेपालको भाग्य नै यस्तै हो या ढंग नपुगेको हो, जहाँबाट जसरी मिलाउन खोजे पनि भताभुंग हुन्छ।"

परिस्थितिले नेपाललाई फेरि त्यही अवसर दोहोरिएर आइपुगेको देखाउँछ। पछिल्ला घटनाक्रमबारे नेपालले पार्टीभित्र त्यति धेरै छलफल भने गरेका छैनन्। एकीकृत समाजवादीका एक नेताले सोमबार राति भने, "हो, छलफल शुरु भएको छ। तर, कुनै निचोडमा पुगिएको छैन। यो अहिले प्रारम्भिक चरणमा मात्र छ।"

उनले पार्टी एकतासम्मको कुरा अघि बढ्दा राष्ट्रपतिमा पनि नयाँ विकास हुनसक्ने, तर सबैको सहमतिको उम्मेदवार बन्ने निश्चित नभएसम्म नेपाल राष्ट्रपतिमा अघि नबढ्ने बताए।


सम्बन्धित सामग्री