Sunday, April 28, 2024

-->

काठमाडौँको भाषाः किन मधेशी समुदायमाथि भइरहेको छ अपमानजनक सम्बोधन?

आधुनिक नेपालको एकीकरणदेखि नै सत्तामा पहाडका मानिसको प्रभुत्व थियो। आफूलाई ‘सुसंस्कृत’ र ‘सभ्य’ ठान्ने पहाडिया शासकले तयार गरेको भाषाकै कारण अझै पनि काठमाडौँमा मधेशीप्रति अपमानजनक सम्बोधन हुने गरेको छ।

काठमाडौँको भाषाः किन मधेशी समुदायमाथि भइरहेको छ अपमानजनक सम्बोधन

काठमाडौँ– “भर्खरका केटाकेटीले अंकल, दाइ भन्छन्, तर पुरानाहरूको बोली सुधारिएको छैन। भैया भनेर बोलाउँछन्,” मनमैजु लोकतान्त्रिक चोकस्थित सडक किनारामा जुत्ता सिलाउन बसेका रामाधर राम भन्छन्, “भैया भनेको त्यति राम्रो लाग्दैन। तर ग्राहक भड्कन्छन् कि भन्ने डरले म केही बोल्दिनँ।”

आफ्नो समुदायमा परिवार, साथीभाइ र जेठोबाठोलाई आदरपूर्वक ‘भैया’ भनिने रामाधर बताउँछन्। तर गैरमधेशीले आफूहरूलाई फरक सम्प्रदायका रूपमा चिनाउन यसरी बोलाउने गरेको उनको भनाइ छ।

रामाधर सर्लाहीबाट काठमाडौँ आएको एक दशक बित्यो। शुरूमा बास्केटमा टीका, झुम्का, काँटालगायत कस्मेटिक सामान बोकेर बेच्नका लागि नगरकोटका गाउँसम्म पुग्थे। पाँच वर्षअघि मनमैजुमा जुत्ता सिलाउन थाले। उनी विवाहमा ब्यान्ड बाजा बजाउन पनि जान्छन्। 

रामाधर राम जुत्ता सिलाउँदै।

रामाधरको आर्थिक अवस्था अहिले बदलिएको छ। पहिलेभन्दा राम्रो कमाउँछन्। आफ्नो श्रमबाटै जेठी छोरीलाई काठमाडौँमा ल्याब टेक्निसिएन पढाए। उनकी छोरी त्यही क्षेत्रमा जागिरे छिन्। त्यसैले जीवनशैली बदलिएको छ। तर काठमाडौँले उनलाई गर्ने सम्बोधन बदलिएको छैन।

०००

रामा धर्म आठ वर्षअघि भारतको बिहारबाट काठमाडौँ आएका हुन्। फलफूल बेच्ने गरेका उनले अझै हेपाइ र दुर्व्यवहार सहनुपर्छ। आफूहरूलाई पोशाक र भूगोलको आधारमा साम्प्रदायिक विशेषण लगाएर बोलाउने उनी बताउँछन्। “बोलीको त के कुरा गर्नु, हामीले दिनमै धेरैपटक गाली खान्छौँ”, उनले भने।

यसरी दुर्वचन बोल्नेप्रति रामाको आफ्नै मूल्यांकन छ। उनी भन्छन्, “सबै मानिस एकै हुँदैनन्। कुरा बुझ्ने मान्छेले जथाभावी बोल्दै बौल्दैनन्, गाली गर्दैनन्। नबुझ्नेलाई बुझाएर सकिन्नँ।”

०००

कञ्चनपुरकी पुष्पादेवी साह आफ्नो परिवारसहित सात वर्षअघि काठमाडौँ आएकी हुन्। उनी हाँडीगाउँमा ठेलागाडामा फलफूल बेच्ने गर्छिन्। आफूलाई कसैले अभद्र शब्द नभने पनि आफ्नो श्रीमान‍्ले हरेक दिन सुन्नु परेको उनी बताउँछिन्। “नेपालीहरू यस्तै त हो नि, मधेशी देख्नेबित्तिकै भैया भनिहाल्छ,” उनी भन्छिन्, “तर मेरो बूढो भने जवाफ फर्काइहाल्नु हुन्छ। हामीभन्दा पनि साइकलवालालाई अझ हेपेर बोलाउँछन्।” 

आफ्नो श्रीमान‍्ले अभद्र बोली बोल्नेविरुद्ध आफ्ना दुई सन्तानलाई पनि प्रतिकार गर्न सिकाएको पुष्पा बताउँछिन्। “भैया भनेको आदर गर्ने बोली हो। राम्रै मुखले भैया भने त ठीक छ नि। तर हेप्ने पारामा बोलाउँदा कसलाई मन पर्छ र!” उनी भन्छिन्।

०००

नेविसंघ कार्यकर्ता राहुलराज यादव केही समयअघि नेपाली कांग्रेसका एक पदाधिकारीको घर पुगेका थिए। पदाधिकारीसँगको भेटका लागि स्वकीय सचिवले राहुलको नाम सोधे। अनुहारको मास्क निकाल्दै उनले नाम बताए। 

‘आपका घर कहाँ हे?’ नाम भन्नेबित्तिकै ती स्वकीय सचिवले हिन्दीमा प्रश्न गरे। “म त प्रस्ट नेपाली बोल्न सक्छु नि। मैले नेपालीमै सोधेको थिएँ,” राहुल भन्छन्, “उहाँले मेरो अनुहारको रङ, मेरो परिचय र लवजलाई लिएर अपहेलित गर्न हिन्दी बोल्नु भएको थियो।”

तत्काल प्रतिवाद गरेपछि ती स्वकीय सचिवले माफी मागेको राहुल बताउँछन्। छालाको रङ, लवज र पहिचानका कारण यादवले यस्ता घटना धेरैपटक भोगेका छन्। चार वर्षअघि इन्जिनियरिङ अध्ययनका लागि काठमाडौँ आएसँगै यस्ता भोगाइको लामो अनुभव भएको उनी बताउँछन्। 

राहुलराज यादव।

“जनकपुर, बर्दिबासमा पनि पहाडी मूलका मानिस बस्नुहुन्छ। हामीले उहाँहरूलाई कहिले त्यसरी हेपेनौँ। काठमाडौँ पस्नेबित्तिकै हामीलाई भने किन हेपिन्छ?” उनी भन्छन्।

मधेशका मुद्दामा माइतीघर मण्डलमा हुने प्रदर्शनमा पनि राहुल सहभागी भइरहन्छन्। त्यस्ता ठाउँमा समेत गैरमधेशीबाट बेलाबेला अपमानजनक सम्बोधन हुने गरेको उनी बताउँछन्। “बलिदानी दिवसका दिन हामी माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शनी गरिरहेका थियौँ”, उनी सम्झन्छन्, “मेरो छेउबाट गइरहेका एक व्यक्तिले साम्प्रदायिक शब्द बोलेर गाली गर्दै गए।”

उमेर, वर्ग र पहुँचका आधारमा आफूभन्दा सानालाई हेप्ने चेतनाको निर्माणले नै यस्तो भाषाको विकास भएको राहुल बताउँछन्। आफूले पटकपटक मधेशी आयोगमा उजुरीसमेत दिएको, तर विज्ञप्ति जारी गर्नुबाहेक अन्य काम केही नगरेको उनको गुनासो छ।

इतिहासदेखि विभेद, अहिलेसम्म निरन्तर
करिब एक दशकअगाडि प्रकाशित ‘मधेश : समस्या र समाधान’ पुस्तकमा भाषाविद् डा. रामावतार यादवले ५८ वर्षअगाडि भोगेको विभेदबारे उल्लेख गरेका छन्। सन् १९६५ मा ब्रिटिस काउन्सिल छात्रवृत्तिका लागि उनी पहिलो स्थानको उम्मेदवार थिए। तर शिक्षा मन्त्रालयका उपसचिव लवबहादुर प्रधानको विरोधमा उनले पाएको छात्रवृत्ति रोकियो र दोस्रो नम्बरमा रहेका तारानाथ शर्मालाई दिइयो। यसो हुनुमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफू मधेशी हुनु नै प्रमुख कारण भएको रामावतारले लेखेका छन्।

 

सडक पेटीमा कपडा बेच्दै। तस्वीर : अमित मचामसी

कार्यपत्रको अन्तिममा उनी लेख्छन्, “एउटा मधेशीले के गर्न सक्छ र सक्दैन भन्ने कुराको म जिउँदो प्रमाण हुनसक्छु। मैले मेरो जीवनमा एउटा अदृश्य शत्रु मधेशीपनको सामना गर्नुपर्‍यो। तैपनि मेरो मधेशीपन मेरो प्रगतिपथमा कति शक्तिशाली र अपराजेय तगारो बन्यो वा बनेन भन्ने कुराको आकलन म गर्न सक्दिनँ।”

सोही पुस्तकको अर्को कार्यपत्र ‘थारू र राज्यः प्रजातन्त्र, राज्य निर्माण र जनजाति पहिचान’मा श्रीलंकाली नागरिक अर्जुन गुनरत्नेले थारूहरूलाई नेपाली अधिकारीहरूले ‘भारतीय’ भन्ने गरेको उल्लेख गरेका छन्। उनले थारूहरूको अध्ययनका लागि पहिलोपटक आफू नेपाल आएको बेला काठमाडौँमा उच्च अहोदाका नेपालीसँग कुरा गरेको उल्लेख गरेका छन्। केही वर्षअघिसम्म थारू समुदायलाई मधेशी समुदायकै रूपमा बुझिन्थ्यो।

उक्त पुस्तकअनुसार, नेपालको दक्षिण भेगमा रहेको भारतसँग सीमा जोडिएको उष्ण हावापानी भएको मैदानी भाग मधेश हो। पूर्वदेखि परिश्चमसम्म फैलिएको मधेशमा हाल २० जिल्ला छन्। लेखक चन्द्र किशोरका अनुसार, सुगौली सन्धिपछि मिथिलाको आधा भाग बिहार र अवधीको आधा भाग उत्तरप्रदेशमा गाभिए। त्यसपछिको बाँकी क्षेत्र हाल पनि नेपालको भएको उनी बताउँछन्।

“दशकौँदेखि नेपाली मिडियाको पहुँचमा नेपालका जनता कम सहभागी हुनु, एउटा सुमदाय विशेषको मान्छेबारे अर्को समुदायमा सही सूचना र जानकारी नहुनुजस्ता कारणले रिक्तता उब्जियो,” चन्द्र किशोर भन्छन्, “जसले गर्दा एउटा समुदाय र भूगोलका बासिन्दाले अर्को भूगोल तथा बासिन्दाबारे अनेक तरिकाका आहान, मिथहरू खडा गरे।”

साइकलमा फलफूल बेच्दै। तस्वीर : अमित मचामसी

लामो समयदेखि नेपाली समाजबीच रहेको रिक्तताले आजसम्म पनि भाषिक विभेद निम्त्याएको उनी बताउँछन्। यसमा मिडियाको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ छ। यस्तै, पञ्चालयतकालमा एकात्मक राज्य, धर्म, भाषा हुँदा पनि यस्ता भाष्य निर्माण भएको बताउँछन्। 

दुई सम्प्रदायका मानिसबीच विचार आदानप्रदानका क्रममा एकले अर्कोको भाषा र संस्कृति नबुझ्दा ऐतिहासिक रूपमै विभेद शुरू भएको सांस्कृतिक अनुसन्धानकर्ता विक्रममणि त्रिपाठी बताउँछन्। “बिहारमा टुटेको भाडा खरिद गर्नेहरू हेपिएका थिए। उनीहरू यहाँ आउँदा पनि हेपिए। उनीहरूको पोशाक र भाषाका आधारमा केही शब्दको उच्चारण शुरू भयो,” त्रिपाठी भन्छन्, “त्यो उच्चारण चलनचल्तीमा आयो। त्यस्ता अनुहार देख्नेबित्तिकै उनीहरू सबै एउटै हुन् भन्ने भान भयो। खासगरी काठमाडौँमा यस्तो अभ्यास भयो र अहिलेसम्म छ।”

मृणमोय मजुम्दारको ‘धनी ठाँउ, गरिब अर्थतन्त्र’ लेखमा राणाकालीन समयमा हिन्दू वर्णव्यवस्थात्मक शासन भए पनि लगभग त्यही वर्णव्यवस्था भएको मधेशलाई विश्वास नगरेको उल्लेख छ। उत्तरी भारतका बासिन्दासँगै धेरै कुरा मिल्दाजुल्दा भएका, मैथिली, भोजपुरी अवधी भाषा बोल्ने मधेशका अधिकांश बासिन्दालाई पहाडीया भारदारहरूले सम्प्रदायका आधारमा उपनिवेशसरह भेदभाव गर्ने गरेको पनि उल्लेख छ। 

मधेशमा बस्नेलाई मधेशी भन्ने चलन छ। तर नियोजित रूपमा उत्तर भारत वा पराईको अर्थ दिने गरी ‘मदिशे’ भनिने गरेको ‘मधेश : समस्या र समाधान’ पुस्तकको ‘मधेशीप्रतिको विभेद र समानताको आन्दोलन’ लेखमा लेखक के ह्योमेले उल्लेख गरेका छन्।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि पहाड शक्तिकेन्द्रको रूपमा रहेको र अन्य भौगोलिक क्षेत्रमा पनि प्रभुत्व जमाएको ह्योमेले लेखेका छन्। सत्ताधारी उच्च वर्गले परापूर्वकालदेखि नै आफूलाई ‘सुसंस्कृत र सभ्य’ ठान्दै सीमावर्ती तराईका मानिसलाई तल्लो दर्जाको नागरिकको रूपमा व्यवहार गरेको उनले उल्लेख गरेका छन्।

नरिवल बच्दै। तस्वीर : अमित मचामसी

किन निरन्तरता पायो विभेदकारी भाषाले?
मनमैजुमा रामाधरसँग जुत्ता मर्मत गराउन दुई महिला आए। उनीहरूले रामाधरलाई पटकपटक ‘भैया’ सम्बोधन गरिरहेका थिए। उनीहरूको सम्बोधनबारे प्रश्न गर्दा जवाफ थियो, “पहिलेदेखि यस्तै भनेको सुनियो, यस्तै बोलियो।” 

लेखक मोहन मैनाली समग्र समाजको बनोट नै आफूभन्दा कमजोरलाई हेप्ने खालको भएको बताउँछन्। उनका अनुसार, काठमाडौँमा मात्र नभई अन्य ठाउँमा पनि आफूभन्दा बाहेकको समुदाय, जातजाति, आप्रवासी, फरक धर्मको मान्छेलाई हेप्ने चलन छ। काठमाडौँ स्रोत र साधनका आधारमा शक्ति केन्द्र हुँदा शक्तिमा रहेकाले निर्धोलाई हेप्ने चलन बढी देखिएको उनको बुझाइ छ। “यहाँ मधेशी समुदाय ज्याला–मजदुरी गर्छन्, साइकल, कवाडीवाला छन्। उनीहरू नै बढी हेपिएको पाउँछौँ,” उनले भने, “यद्यपि, मधेश आन्दोलनपछि त्यहाँका सचेत वर्ग र लेखकले उठाएका बहसले सम्बोधनमा परिवर्तन आउन थालेको छ।”

भाषा आयोगका सदस्य गोपाल अक्स पहिलेदेखि व्याप्त मानसिकताका कारण यस्तो सम्बोधन भएको बताउँछन्। “पढे–लेखेका मान्छेले विभेद जनाउने गरी भैया भन्दैनन्,” उनले भने, “कतिपयले त भैया भनेको भारतीय भन्ने बुझेका छन्। यही सोचले मधेशका मानिस प्रताडनामा पर्ने गरेका छन्।” 

आफू एसएलसी उत्तीर्ण गरेर २०३५ सालमा पहिलोपटक काठमाडौँ आउँदा मधेशीलाई नेपाली नै नमान्ने चलन रहेको उनी सम्झन्छन्। “यसै विषयमा काठमाडौँमा बहस भएका छन्। लेख लेखिएका छन्। होच्याउने प्रवृत्ति अलिकति कम भएको छ,” उनी भन्छन्, “सम्भ्रात वर्गले आफूभन्दा सानालाई हेप्ने प्रवृत्ति भारत, बेलायत, अमेरिकाजस्ता देशमा पनि छ। सामाजिक संरचना परिवर्तन हुन समय लाग्छ। यसको एक मात्र उपाय कानुनी उपचार हो।”

लेखक चन्द्र किशोर बोल्दा शब्द चयनमा विशेष ध्यान दिनु पर्ने बताउँछन्। “जति नै मिल्ने साथी, सम्बन्ध भए पनि वा जस्तोसुकै प्रयोजनका लागि शब्द प्रयोग भए पनि यसले दीर्घकालीन रूपमा लोकआहान बनाउँछ। सोही कारण पनि शब्द निर्माण गर्दा हामीले ठट्टा, हाँस्यबाट परहेज गर्नुपर्छ,” उनी भन्छन्, “कुनै समय काठमाडौँमा ‘मनु मखु मर्स्या खः’ भन्थे। त्यही बोली फैलिएर अपमानजनक भाषा तयार भयो।”

कटन क्यान्डी बच्न हिँड्दै बालबालिका। तस्वीर : अमित मचामसी

मधेश आयोगकी सदस्य आभाकुमारी सिंह चेतनाको अभावले नै भाषिक यातना, हेपाइ र हिंसा हुने गरेको बताउँछिन्। मानिसहरूमा यस्ता विषयमा चेतना जागृत नभइसकेको उनको भनाइ छ।

तर, सांस्कृतिक अनुसन्धानकर्ता त्रिपाठी कथित राष्ट्रवादका कारण विभेद हुने गरेको बताउँछन्। उनी भन्छन्, “राष्ट्रवादको विचारले राष्ट्रधर्मबाट मानिसलाई टाढा लैजान्छ। जबसम्म राष्ट्रवादको प्रभाव हट्दैन, कुनै पनि दुई समुदायबीचको दूरी हट्दैन,” उनी भन्छन्। 

लोकतान्त्रिक गणतन्त्रका पहिलो राष्ट्रपति डा. रामवरण यादव भएसँगै मधेशी समुदायप्रतिको धारणामा परिवर्तन आएको पत्रकार तथा लेखक केदार शर्मा बताउँछन्। “समाज बिस्तारै पोलिटिकल्ली केरेक्ट हुने प्रयासमा छ। पहिलेजस्तो मानिसहरू प्याच्च भनिहाल्दैनन्। तर अझै तरकारी बेच्न साइकलमा आएको मान्छेलाई ‘ओ भैया’ भनिहाल्छन्,” लेखक शर्मा भन्छन्, “यसमा सचेत हुनुपर्नेछ। यो समस्या कम हुँदैछ, निराकरण भइसकेको छैन।” 

मोहन मैनाली यस्ता विषय सिकाउन विद्यालयस्तरमा पाठ्यक्रमसहितको व्यावहारिक पढाइ हुनुपर्ने बताउँछन्। 

के गरिरहेको छ मधेशी आयोग?
मधेशी आयोगले मंसिर १८ गते अपमानजनक शब्द प्रयोग भएका उजुरी आए कारबाही गर्ने सूचना जारी गरेको थियो। तर यस्ता उजुरी आयोगले सूचना जारी गर्नुअघि पनि आउने गरेका थिए। पछिल्लो दुई वर्षमा १६ वटा उजुरी आएको आयोग सदस्य सिंह बताउँछिन्।

उनी भन्छिन्, “हामीले उजुरी लिएर कारबाही प्रक्रिया अगाडि बढाउने गरेका थियौँ। यद्यपि, गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार दिएका बालेन शाहमाथि सम्प्रदायगत टिप्पणी हुँदा सूचना जारी गर्न बाध्य भएका हौँ।” 

उनका अनुसार लोकसेवा आयोगका परीक्षादेखि, कार्यालय र सार्वजनिक स्थानमा अपहेलना र भाषिक हिंसा भइरहेको उजुरी आउने गरेका छन्। “उजुरीका आधारमा आयोगले सोधखोज गर्छ र प्रमाण संकलन हुन्छ,” उनले भनिन्, “उजुरी प्रमाणित भएमा ओरोपित व्यक्ति र संस्थालाई पत्राचार गरी सल्लाह तथा सुझाव दिने र आयोगको सूचनाबारे अवगत गराउने गरिन्छ।” 

निर्देशनात्मक आदेशको अधिकार भने आयोगसँग नभएको उनी बताउँछिन्। मधेशी आयोगभन्दा शक्तिशाली राजनीतिक दल हुने उनको भनाइ छ। राजनीतिक निष्पक्षता नभएसम्म यो समस्याको अवशेष बाँकी रहने उनले बताइन्।


सम्बन्धित सामग्री