पृथ्वीमा जीवन आरम्भको एक अभूतपूर्व र अद्वितीय घटना घट्यो। तत्पश्चात् जे जति प्राणी अस्तित्वमा थिए वा छन्, ती सबै त्यही आदिम पहिलो पुर्खाबाट फैलिएका हुन्।
मान्छेका पुर्खा बाँदर होइनन्। हाल अस्तित्वमा रहेका कुनै पनि प्रजातिको प्राणीबाट हाम्रो उद्विकास भएको होइन। न जंगलका बाँदर, न चिडियाखानाको चिम्पान्जी। यी कुनैबाट मान्छेको जन्म भएको होइन। प्राकृतिक छनोटमार्फत उद्विकासको सिद्धान्तलाई चार्ल्स डार्बिनले ‘डिसेन्ट विद मोडिफिकेसन’ अर्थात् नयाँ शारीरिक र अन्य गुणसहित कुनै प्राणीको नयाँ पुस्ता निर्माण हुनु हो भनेका छन्। यसरी थपिएका नयाँ गुणहरूको आनुवंशिक आधार छ र ती गुणहरूले कुनै निश्चित वातावरणमा उक्त प्राणीलाई बाँच्न र प्रजनन गर्न सहयोग गर्छ भने उसको सन्तानमा त्यो गुण हस्तान्तरण हुन्छ। यस्तै, हरेक पुस्तामा थपिएका उपयोगी गुणहरूको लामो कालखण्डको समुच्चय नै नयाँ प्राणी हो। यसलाई प्रजातीकरण पनि भन्छन्। कुनै पनि आधुनिक प्रजातिबाट आजको भोलि नयाँ प्रजाति जन्मँदैन।
डार्बिनको सिद्धान्तको अर्को पाटो साझा पुर्खा अर्थात् ‘कमन डिसेन्ट’ हो। प्रजातीकरणमार्फत हाँगा फैलिएर नयाँ प्रजाति बन्नुको अर्थ सबै प्राणी साझा पुर्खाबाट आएका हुन् भन्ने हो। हाल लोप भइसकेको तर अपुच्छ बाँदरजस्तै कुनै प्राणीबाट मान्छेको उद्विकास भयो। त्यो प्राणी हाम्रो र चिम्पान्जीको साझा पुर्खा थियो। त्यो साझा पुर्खा करिब ५० देखि ७० लाख वर्षअगाडि अस्तित्वमा थियो।
त्यसयता आआफ्नो वातावरण अनुकूल हुने गुणहरू संग्रह गर्दै हामी दुवैले उद्विकासको आ–आफ्नो यात्रा तय गर्यौँ। त्यसैले आधुनिक बाँदर वा चिम्पान्जी हाम्रा पुर्खा होइनन्, नातेदार हुन्। अझ ठेट भाषामा भन्दा काका या बडाबाका छोराछोरी हुन्, कजन हुन्। बाँदरभन्दा पनि अपुच्छ बाँदर समूह (ग्रेट एप्स)को चिम्पान्जी हाम्रो सबैभन्दा नजिकको नातेदार हो। करिब ५० देखि ७० लाख वर्षपहिले अस्तित्वमा रहेको साझा पुर्खाबाट हामी छुट्टियौँ। त्यो साझा पुर्खा मान्छे र चिम्पान्जीको शारीरिक र अन्य गुणहरूको सम्मिश्रण भएको कुनै एक प्राणी थियो। त्यो साझा पुर्खा/सेतु प्राणीको स्वरूप अपुच्छ बाँदरसँग अलि बढी मिल्दोजुल्दो थियो होला। जीवाश्म प्रमाणले त्यसै भन्छ। तर त्यो साझा पुर्खा हामीले जंगलमा देख्दै आएको आधुनिक बाँदर वा चिडियाखानाको चिम्पान्जीजस्तो चाहिँ पक्कै थिएन, किनभने साझा पुर्खाबाट छुट्टिएर उद्विकासको आआफ्नो बाटो लागेयता दुवै प्राणी (मान्छे र चिम्पान्जी)ले आफ्नो वातावरणसँग अनुकूल हुने शारीरिक र व्यवहारगत गुण विकास गर्दै उत्तिकै लामो यात्रा तय गरिसकेका छन्।
किन छ गलत धारणा?
उद्विकासका सन्दर्भमा सबैभन्दा बढी सोधिने प्रश्न, जिज्ञासा वा यसविरुद्ध चुनौती पेश गर्दा राखिने कुतर्क यही हो। केही समय पहिले हलिउड कलाकार टिम एलेनको ट्विट "यदि मान्छेका पुर्खा बाँदर हुन् भने अहिलेका बाँदरबाट किन मान्छे नजन्मिएका त?" त्यस ट्विटरलाई ५० हजारभन्दा बढीले लाइक र रिपोस्ट गरेका थिए। धेरैलाई लाग्छ– उद्विकासको सिद्धान्तलाई चुनौती दिने यो नै एक अचुक प्रश्न हो। अर्थात् बाँदरबाट मान्छे बनेको हो भने जंगलको बाँदर कहिले मान्छे बन्छ त? पहिलो त उद्विकास सिद्धान्तबारे गलत वा अपूर्ण बुझाई र दोस्रोचाहिँ आफ्नो अस्तित्वलाई विशिष्ट ठान्ने मान्छेको आग्रही सोच यसको कारण हो।
महत्त्वपूर्ण कुरा– उद्विकास पूर्व निर्धारित नियति होइन। अर्थात् यो कुनै एक ‘सामान्य’ एक कोषीय प्राणीबाट बहुकोषीय वा ‘जटिल’ स्वरूपको मान्छेजस्तै अर्को प्राणीमा कायाकल्प हुने प्रक्रिया होइन। उद्विकासको कुनै पूर्व निर्धारित गन्तव्य हुन्न, छ नै भने पनि त्यो गन्तव्यको अन्तिम विन्दु मान्छे होइन। बदलिँदो परिवेश/वातावरणमा अनुकूलन हुने क्रममा नयाँ गुणहरूको विकास हुनु एक संयोग हो। नयाँ गुणहरू बन्ने आनुवंशिक प्रक्रिया नै एक संयोग हो। त्यसमाथि नयाँ गुणले कुनै निश्चित वातावरणमा बाँच्न सहयोग गर्छ/गर्दैन, अर्को संयोग हो। कस्ता गुणहरू छान्ने र कस्ता निफनेर फाल्ने भन्ने काम प्रकृतिले गर्छ। र, प्रकृतिको यो शक्ति (प्राकृतिक छनौट) तटस्थ/निरपेक्ष हुन्छ। कुनै जीव मान्छे बनोस् या बाँदर बनोस् या ब्याक्टेरिया बनोस्, प्रकृतिलाई मतलब छैन।
आखिर कोही किन मान्छे बनोस्?
आफ्नो वातावरण/परिवेशमा प्राप्त ऊर्जा दोहन गर्दै बाँच्नु र सन्तान उत्पादनमार्फत कुनै निश्चित कालखण्ड (स्पेसटाइम)मा मस्त फैलनु नै कुनै पनि प्राणी/वनस्पति प्रजातिको सफलता हो। यसमा असफल हुने त लोप भएर गइसके। ५० हजार वर्ष अगाडिसम्म कम्तीमा चार प्रजातिका मानवहरू धर्तीमा थिए। हाम्रो प्रजाति स्यापियन्सबाहेक अरू लोप भइसके। मस्त जंगलमा रमाइरहेको वा अझ भनौँ त्यही वातावरणसँग अनुकूलित गुणहरू विकास गरेर फैलिरहेको जंगलको बाँदरलाई मान्छे हुन नै के खाँचो परेको छ र!
धेरैलाई लाग्छ– मान्छे ईश्वरको विशिष्ट रचना हो। ईश्वर नमान्नेले पनि आफूलाई प्रकृतिले विशेष र अपवाद प्रजाति बनाएको विश्वास गर्छ। दुवै थरीलाई लाग्छ, सृष्टिको उचाइ हो मान्छे। उद्विकासको बाटोबाट होस् या चौरासी लाख जुनी पार गरेर होस्, सब मान्छे बन्न उद्यत छन्, धेरैलाई यो भ्रम छ। हाम्रो धर्म, परम्परा, विद्यमान जीवन दर्शन सबैले यो सोचलाई आकार दिएका हुन्।
पश्चिमा देशहरूमा निर्जीव वस्तुदेखि जीवित प्राणीहरूलाई समेत एउटै पदसोपान (हाइरार्की) मा राखेर हेरिने दृष्टिकोण व्याप्त थियो। यसलाई 'ग्रेट चेन अफ् बिइङ' भनिन्थ्यो, जसको टुप्पोमा ईश्वर, त्यसभन्दा तल ईश्वरका दूत, त्यसपछि मान्छे, त्यसभन्दा तल जनावर र वनस्पतिहरू राखिएको थियो। पदसोपानको टुप्पोमा ईश्वरभन्दा एक तह तलको आफ्नो मर्यादाक्रम एक आग्रही सोचको उपज थियो। उद्विकाससम्बन्धी आम बुझाइलाई यसले पनि प्रभाव पारेको हो। हामीकहाँ पनि मानव जुनीलाई विशिष्ट मानिन्छ। त्यसैले पनि कुनै प्राणी उन्नत हुँदै मान्छे बन्छ र बन्नैपर्छ भन्ने अवधारणाका कारण पनि 'बाँदर किन मान्छे बनेनन्?' भन्ने प्रश्न आइरहन्छ। डार्बिनले आधुनिक मान्छे र अपुच्छ बाँदरको सम्बन्धबारे तुलना गरेपछि यस्ता प्रश्न उठ्न थाले।
सबै प्राणी विशिष्ट हुन्, कोही विशिष्ट होइनन्
स्यापियन्स प्रजातिका रूपमा हामी संसारको हर कुनामा फैलियौँ, भाषाको आविष्कार गर्यौँ, कृषि क्रान्ति गर्यौँ, सभ्यता निर्माण गर्यौँ, धरती छाडेर अन्तरिक्ष पुग्यौँ। यसले हामीलाई आफ्नो विशिष्टताको भान दिन सक्छ, तर प्रजातिका रूपमा हाम्रो आगमन ‘भर्खरै’ हो। हामीभन्दा धेरै समय अगाडिदेखि अस्तित्वमा आएका र संसारभर फैलिएका अन्य प्राणी तथा वनस्पतिहरू छन्।
हाम्रोभन्दा जटिल सामाजिक संरचना भएका सामाजिक जीवनहरू छन्। हाम्रा लागि हदैसम्मको प्रतिकुल परिवेशमा मस्त बाँचिरहेका जीवहरू छन्। दुनियाँ भोग्ने तिनको र हाम्रो तौरतरिका पृथक् छ। हरेक प्राणी आफ्नै विशिष्ट परिवेशलाई सुहाउँदो विशिष्ट शारीरिक गुण/आचरण विकास गरेर बाँचिरहेको/फैलिरहेको छ। यस अर्थमा हरेक प्राणी विशिष्ट हुन्। सबै विशिष्ट हुन्। त्यसैले कोही विशिष्ट होइनन् पनि।
जीवन वृक्ष
डार्बिनको विकासवादी सिद्धान्तको मूल मर्म हो– पृथ्वीको हरेक जीवन (प्राणी/वनस्पति) एकआपसमा गाँसिएका छन्। ती सम्बन्धी/आफन्ती (रिलेटेड) हुन्। पृथ्वीमा जीवन आरम्भको एक अभूतपूर्व र अद्वितीय घटना घट्यो। तत्पश्चात् जे जति प्राणी अस्तित्वमा थिए वा छन्, ती सबै त्यही आदिम पहिलो पुर्खाबाट फैलिएका हुन्। हामी सबै यही ‘जीवन वृक्ष’मा जोडिएका उपल्लो टुप्पोका मसिना हाँगाहरू हौँ। कोही अलि टाढा होलान्, कोही अलि नजिक, तर सबै एकआपसमा नातेदार हौँ। हाम्रा र चिम्पान्जीका पुर्खा त साझा हुँदै हुन्। तर यो जीवन वृक्षको हाँगाबाट बिस्तारै जति तल ओर्लिन्छौँ, अर्थात् जति जति पछिल्लो समयमा जान्छौँ, थप धेरै प्राणीहरूको साझा पुर्खाको हाँगा फाटिएको स्थानमा पुग्छौँ।
डार्बिनलाई अक्षरशः पढ्नु र यो कुरा बोध गर्नु सबैभन्दा ठूलो कुरा हो। यसले हामीलाई प्रकृतिमा रहेको जीवनको विविधतालाई व्याख्या गर्ने भरपर्दो औजार प्रदान गर्छ। यसले जीवनलाई एक प्राकृतिक परिघटनाको रूपमा एकै कसीमा राखेर व्याख्या गर्छ र मान्छेलाई मान्छे हुनुको अहंकारबाट मुक्त पार्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
