दूर शिक्षाको पद्धतिमा शिक्षकको व्याख्यानभन्दा पनि विद्यार्थीको आफ्नै मिहिनेत, स्वअध्ययन, सोच, आत्मचिन्तन (रिफ्लेक्सन) र जिज्ञासाले बढी महत्त्व राख्छ।
आजको यस ऐतिहासिक र गौरवपूर्ण अवसरमा यहाँ उपस्थित भई दीक्षित विद्यार्थीलाई सम्बोधन गर्न पाउँदा म अत्यन्त सम्मानित र कृतज्ञ महसुस गरिरहेको छु। सर्वप्रथम, कठोर परिश्रमपछि प्राप्त गर्नुभएको डिग्रीका लागि दीक्षित विद्यार्थीहरूलाई हार्दिक बधाई दिन्छु। साथै, तपाईँहरूको ज्ञानको दायरा फराकिलो एवं गहिरो बनाउन र सीपलाई चुस्त तुल्याउन मद्दत गर्नुहुने शिक्षकहरूलाई पनि म हार्दिक धन्यवाद दिन्छु।
खुला विश्वविद्यालय विशेष उद्देश्य र चरित्र बोकेको प्राज्ञिक संस्था हो। यो निरन्तर-सिकाइको प्रतीक हो। यसले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ‚ शिक्षा— उमेर, स्थान र परिस्थितिमा सीमित हुँदैन। सिकाइ कक्षाकोठाभित्र मात्र होइन; यो जीवनमा बटुलेका अनुभव, लिएका जिम्मेवारी र लडेका सङ्घर्षसँगै अघि बढ्ने प्रक्रिया हो।
खुला विश्वविद्यालयहरूले अध्ययन र पेसागत जिम्मेवारीको दौडधुपमा पूरा गर्न नसकिएका व्यक्तिका सपनाहरू साकार पार्न मद्दत पुऱ्याउँछन्। त्यसैले‚ खुला विश्वविद्यालयसँग आबद्ध हुन आएका विद्यार्थी अरू विद्यार्थीभन्दा बढी उत्साही, जिज्ञासु र सिक्नका लागि परिपक्व हुन्छन्। यी सबै कारणले गर्दा खुला विश्वविद्यालयको पाठ्यक्रम तर्जुमादेखि पढाइ–सिकाइ प्रक्रिया निकै चुनौतीपूर्ण र अझ चाखलाग्दो हुन्छ भन्ने मेरो बुझाइ छ। दूर-शिक्षाको पद्धतिमा शिक्षकको व्याख्यानभन्दा पनि विद्यार्थीको आफ्नै मेहनत, स्व-अध्ययन, सोच, आत्मचिन्तन (रिफ्लेक्सन) र जिज्ञासाले बढी महत्त्व राख्छ।
माथि उल्लिखित कारणहरूका आधारमा खुला विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीमा तीन किसिमका गुण विकास हुने सम्भावना मैले देखेको छु।
पहिलो— आफ्ना अन्य कामबाट फुर्सद निकालेर पनि अध्ययन गर्ने बानी।
दोस्रो— शिक्षकसँगको प्रत्यक्ष सम्पर्क सीमित हुने भएकाले जटिल विषयहरू पनि आफ्नै मेहनतले बुझ्न प्रयास गर्ने बानी।
तेस्रो— पढाइ‚ सिकाइ आफ्ना लागि हो‚ तसर्थ जीवनभरि पढिरहनुपर्छ, सिकिरहनुपर्छ भन्ने आत्मबोध।
यदि तपाईँहरूले यस्ता गुण विकास गर्नुभएको छ भने, यही नै खुला विश्वविद्यालयको पढाइबाट प्राप्त गर्नुभएको सबैभन्दा ठूलो उपलब्धि हो।
धेरैजसो विद्यार्थी आफूले चाहेको डिग्री प्राप्त गरेपछि पढाइको काम सकियो भन्ने ठान्छन्। तिनहरू पत्रपत्रिका वा कहिलेकाहीँ केही साना पुस्तक पढ्न बाहेक गहिरो अध्ययन (डीप रिडिङ) आवश्यक छैन भन्ने भ्रममा पर्ने गर्छन्।
साठी वर्षअघि स्नातकोत्तर डिग्री हासिल गर्दा म पनि त्यस्तै भ्रममा थिएँ। पछि थाहा भयो— त्यो त त्रुटिपूर्ण बुझाइ रहेछ। मेरो चालीस वर्षभन्दा बढीको सक्रिय जीवनमा म प्राध्यापनबाट प्रशासन हुँदै कूटनीति र नीति-अनुसन्धानमा संलग्न हुन पुगेँ। कामको सिलसिलामा मेरो औपचारिक अध्ययनको सीमितता अनुभव गर्दै गएँ।
त्यसैले म तपाईँहरूलाई सल्लाह दिन चाहन्छु— मैले गरेको जस्तो भूल कहिल्यै नगर्नुहोस्। पुस्तक अध्ययन निरन्तर आवश्यक छ। नयाँ ज्ञान आर्जन गर्न, विश्वको बदलिँदो जटिलता बुझ्न, विचार फराकिलो बनाउन, चेतनशील भएर जीवन जिउन, अरूलाई बुझ्न र उनीहरूको मर्म आत्मसात् गर्न अथवा मनोरञ्जनका लागि नै किन नहोस्— निरन्तर गहन अध्ययन आवश्यक छ।
यो पनि म स्पष्ट रूपमा भन्न चाहन्छु— पत्रपत्रिकामा सरसर्ती लेखिएका समाचार र लेखहरू मोबाइलको स्क्रिनमा स्क्रोल गरेर पढ्नुलाई पर्याप्त ठान्नुहुँदैन। यसरी पढ्दा केही सूचना त प्राप्त हुन्छ, तर गहिरो ज्ञानका लागि गहन-सामग्रीहरूकै अध्ययन अनिवार्य हुन्छ।
गहिरो अध्ययन भनेको बिस्तारै, ध्यानपूर्वक; लेखकलाई तौलिँदै— किन यसो भनिएको हो, कसरी भनिएको छ, तर्क कति बलियो छ र आफ्नै अनुभवले के भन्छ— यी सबै कुरा विचार गर्दै अध्ययन गर्नु हो।
सधैँ गहिरो अध्ययन मात्र गर्नुपर्छ भन्ने होइन; तर टुक्राटुक्रा सूचना दिने सजिला लेखहरू मात्र पढेर गहिरो अध्ययनलाई पूर्ण रूपमा त्याग्नु भनेको आफ्नै मस्तिष्कलाई कमजोर बनाउँदै लैजानु हुन्छ। तसर्थ, म विश्वास गर्छु— तपाईँहरूले आफ्नो जीवनमा कदापि यस्तो हुन दिनुहुने छैन।
पुस्तक पढाइको सन्दर्भमा मलाई चिन्तित बनाएका केही कुरा पनि तपाईँहरूसँग राख्न चाहन्छु। पहिलो— हामी पढेलेखेकाहरू स्वयं पनि अत्यन्त थोरै पुस्तक पढ्ने गर्छौँ। दोस्रो— हामी विद्यालय र कलेजका विद्यार्थीलाई कुनै एक प्रायोगिक वा व्यावसायिक दिशातर्फ धकेल्ने क्रममा हाम्रो संस्कृति, कला‚ इतिहास र विश्व साहित्यका धरोहर पुस्तकमा सन्निहित ज्ञानबाट टाढा राख्छौँ। मेरो विचारमा, यो हाम्रो शिक्षाको एक गम्भीर कमजोरी हो।
म आशा गर्छु— तपाईँहरू विश्वविद्यालयबाट दीक्षित भएपछि पाठ्यक्रमको सीमितताबाट बाहिर निस्केर तपाईँहरूले विभिन्न विधाका ज्ञानप्रति रुचि बढाउनुहुनेछ। कलेज र विश्वविद्यालयमा पढ्न नपाएका पुस्तकहरू खोजी-खोजी पढ्न थाल्नुहुनेछ।
विविध विषयका पुस्तक अध्ययन गर्दा साहित्यलाई कहिल्यै नछुटाउनुहोला। कथा-कविता, उपन्यास र नाटकलाई केवल मनोरञ्जनको साधन मात्र नठान्नुहोला। साहित्य अध्ययनले तपाईँमा गहिरोसँग सोच्ने र विश्लेषण गर्ने क्षमता विकास गर्छ, तपाईंको भाषालाई समृद्ध र अभिव्यक्तिलाई सशक्त बनाउँछ। साथै, साहित्य अध्ययनले हामीमा मानवीय संवेदनशीलता पनि विकास हुन्छ।
अन्त्यमा, तपाईँहरूले आज प्राप्त गर्नुभएको डिग्री पढाइको समापन होइन— यो निरन्तर सिकाइको नयाँ चरणको यात्रा हो। यही विश्वासका साथ अघि बढ्नुहोस् । सिकाइले तपाईँलाई केवल रोजगारीका लागि होइन, चेतनशील,संवेदनशील र जिम्मेवार जीवन जिउन शक्ति दिनेछ।
(गत माघ ११ गते नेपाल खुला विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्राध्यापक माथेमाले राखेको विचारको सम्पादित अंश।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
