एआई र शिक्षा: परिवर्तनको चाबी शिक्षकसँग

नेपालको हकमा पाठ पढाउने व्यक्ति मात्र होइनन् शिक्षक, सामाजिक र नैतिक मार्गदर्शक पनि हुन्। त्यसैले एआईलाई मानव निर्णयको विकल्पका रूपमा प्रस्तुत गरियो भने प्रतिरोध स्वाभाविक हुनेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको कृत्रिम बुद्धिमत्ता नीति-२०२५ ले कृत्रिम बुद्धिमत्ता अब नेपालको आर्थिक भविष्यको परिधिमा होइन, केन्द्रमा छ भन्ने स्पष्ट संकेत गर्छ। रोजगारीको आधुनिकीकरण, उत्पादकत्वको वृद्धि र समावेशी विकासका लक्ष्यहरू एआईसँग गाँसिएका छन्। शिक्षाको सन्दर्भमा नीति, पाठ्यक्रममा एआई समावेश गर्ने, शिक्षक (प्रशिक्षक) तालिम सुदृढ गर्ने र डिजिटल पूर्वाधार विस्तार गर्ने प्रतिबद्धतासहित आएको छ। कागजमा यो दृष्टि आकर्षक छ। महत्वाकांक्षी पनि।

तर नेपालले रेडियो शिक्षा, टेलिभिजन कक्षा, कम्प्युटर प्रयोगशाला, स्मार्ट बोर्डजस्ता शैक्षिक प्रविधिका धेरै लहरहरू देखिसकेको छ। हरेक पटक पूर्वाधारलाई परिवर्तनको पर्याय ठानियो। तर अनुभवले देखायो, पूर्वाधार परिवर्तनको सर्त हुन सक्छ, तर ग्यारेन्टी होइन।

तपाईँले हरेक कक्षा कोठामा इन्टरनेट पुर्‍याउन सक्नुहुन्छ। कम्प्युटर राख्न सक्नुहुन्छ। उपकरण वितरण गर्न सक्नुहुन्छ। तर शिक्षण पद्धतिमा गहिरो रूपान्तरण त्यसैले हुन्छ भन्नेचाहिँ निश्चित छैन। पूर्वाधार भन्दा पनि शिक्षकको तयारी र अपनत्व निर्णायक हो।

यो यथार्थ प्राविधिक तथा व्यावसायिक शिक्षालयहरूमा अझ प्रस्ट देखिन्छ, जसको समन्वय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले गर्छ। स्वास्थ्य, इन्जिनियरिङ, कृषि र  होटेल व्यवस्थापन क्षेत्रका विद्यार्थीहरू सिद्धान्त पढेर होइन, सीप सिकेर श्रम बजारमा प्रवेश गर्छन्। यदि एआईले नेपालको मानव पुँजी सुदृढ गर्ने हो भने यसको परीक्षण यिनै कक्षा कोठाबाट सुरु हुनुपर्छ। यी विषयहरूमा डिग्रीभन्दा दक्षता महत्त्वपूर्ण हुन्छ।

नीतिले एआईलाई प्रतिस्पर्धात्मक अर्थतन्त्रको आधार मानेको छ। तर प्रतिस्पर्धा भाषणबाट होइन, व्यवहारबाट सुरु हुन्छ। त्यसैले यसको वास्तविक सुरुवात पनि कक्षा कोठाबाटै हुनुपर्छ।

प्रत्येक विद्यार्थीका लागि व्यक्तिगत ट्युमर बन्न सक्छ एआई। यसले तुरुन्तै विद्यार्थीको कामको सुझाव दिन सक्छ, कमजोरीअनुसार अभ्यास तयार गर्न सक्छ, जटिल विषय फरक–फरक तरिकाले बुझाउन सक्छ। ठूलो कक्षामा व्यक्तिगत ध्यान सीमित हुन्छ, यस्तो सहयोगले सिकाइको अन्तर घटाउन सक्छ।

उता, शिक्षकका लागि व्यक्तिगत सहायक पनि बन्न सक्छ एआई। पाठ योजना बनाउने, प्रश्नपत्र तयार गर्ने, उद्योगसम्बन्धी अभ्यास परिदृश्य विकास गर्ने, प्रशासनिक बोझ घटाउने काममा यसले सहयोग पुर्‍याउन सक्छ। त्यसरी बचत भएको समय शिक्षकले प्रत्यक्ष अन्तरक्रिया र व्यावहारिक प्रशिक्षणमा खर्च गर्न सक्छन्।

यस अर्थमा, शिक्षकको प्रतिस्थापन नभएर सुदृढीकरण हुन सक्छ एआई। तर यो सम्भावना स्वतः साकार हुँदैन। कक्षा कोठाको व्यवहार बदल्न चार आधारभूत सर्त आवश्यक छन्।

पहिलो, शिक्षकले स्पष्ट लाभ देख्नुपर्छ। एआईले शैक्षणिक गतिविधि सुदृढ बनाउनुपर्छ। अझ महत्त्वपूर्ण कुरा के हो भने यसले रोजगारीसम्बन्धी सीप बलियो बनाएको अनुभव हुनुपर्छ। यदि एआई कार्यस्थलमा प्रयोग हुने प्रविधिसँग विद्यार्थीलाई परिचित गराउने माध्यम बन्छ भने शिक्षकले अपनाउनेछन्। तर यदि व्यावहारिक शिक्षासँग यो असम्बद्ध देखियो भने राम्रो पूर्वाधार हुँदाहुँदै पनि प्रयोगमा नआउन सक्छ।

दोस्रो, प्रयोग सहज हुनुपर्छ। शिक्षकहरू पहिले नै प्रशासनिक बोझ र पाठ्य दायित्वले व्यस्त छन्। जटिल, अस्थिर वा अव्यवस्थित प्रणालीले उत्साह मर्छ। तर यदि एआईले समय बचाउँछ र काम सजिलो बनाउँछ भने प्रविधि अवरोध होइन, सहयोगी बन्छ।

तेस्रो, परिवर्तन सामूहिक हुनुपर्छ। विद्यालय नेतृत्वले यसको प्रयोगलाई प्रोत्साहन गरेमा सहकर्मीहरूले सफल अभ्यास साटासाट गरेमा आत्मविश्वास बढ्छ। माथिबाट थोपरिएको  सुधार कागजमा टिक्छ, व्यवहारमा होइन। प्रविधिको समावेशीकरण सामाजिक प्रक्रिया पनि हो।

चौथो, शिक्षकले प्रणालीगत समर्थन महसुस गर्नुपर्छ, केवल उपकरण होइन, स्पष्ट मार्गदर्शन। नैतिक मापदण्ड, प्रयोगका सीमारेखा, डाटा सुरक्षाको स्पष्टता र निरन्तर पेसागत विकास, यी सबै आवश्यक छन्।

धेरै राष्ट्रिय रणनीतिहरू यहीँ आएर कमजोर हुन्छन्। कति कम्प्युटर, कति शिक्षालयमा इन्टरनेट, कति प्रयोगशाला छन् भनेर देखिने कुरा हो पूर्वाधार। तर शिक्षकको तयारी भने अदृश्य हुन्छ, तर हुन्छ त्यो निर्णायक। यो उनीहरूको आत्मविश्वास, सीप र पेसागत पहिचानसँग गाँसिएको हुन्छ।

सामान्य पूर्वाधार भएको तर आत्मविश्वासी शिक्षक भएको कक्षा कोठामा वास्तविक परिवर्तन देखिन्छ। पूर्ण रूपमा सुसज्जित प्रयोगशाला भएर पनि यदि शिक्षक अन्योलमा छन् भने परिवर्तन सतही रहन्छ।

एआई नीति २०२५ ले समावेशी विकासको लक्ष्य राखेको छ। तर उपकरण समान रूपमा वितरण गर्नु मात्र होइन समानता। देशभरका शिक्षकले आफूलाई सक्षम र समर्थ महसुस गरेपछि मात्र एआईले सिकाइमा समानता ल्याउन सक्छ।

नेपालको हकमा पाठ पढाउने व्यक्ति मात्र होइनन् शिक्षक, सामाजिक र नैतिक मार्गदर्शक पनि हुन्। त्यसैले एआईलाई मानव निर्णयको विकल्पका रूपमा प्रस्तुत गरियो भने प्रतिरोध स्वाभाविक हुनेछ। तर यदि यसलाई शिक्षकको भूमिका अझ सशक्त बनाउने साधनका रूपमा बुझाइयो भने यसले शिक्षक–विद्यार्थी सम्बन्धलाई अझ बलियो बनाउन सक्छ।

बजारमा निहित रहने छ भविष्यको रोजगारी कृत्रिम बुद्धिमत्ता-समर्थित श्रम। प्रविधिको वेगले पेसा, सीप र अवसरको स्वरूप फेरिँदै जाँदा श्रमको परिभाषा पनि पुनर्लेखन हुँदै छ। तर भविष्यको शिक्षा अझै पनि शिक्षककै काँधमा रहनेछ। किनकि सिकाइको आत्मा एल्गोरिदममा होइन, मानवीय संवादमा बस्छ।

नेपालले एआईको राष्ट्रिय दृष्टि सार्वजनिक गरेर महत्त्वपूर्ण कदम चालेको छ। नीतिको घोषणा सधैँ सजिलो हुन्छ, कार्यान्वयन सधैँ जटिल। अबको निर्णायक चरण शिक्षकलाई तयार बनाउनु हो, जुन अझ कठिन तर अपरिहार्य छ। प्रविधि उपकरण हुन सक्छ, तर शिक्षा सम्बन्ध हो। त्यो सम्बन्ध जोगाउने जिम्मा अन्ततः शिक्षककै हो।

इन्टरनेट र कम्प्युटर आवश्यक छन्। तर कक्षा कोठाको अगाडि उभिएको शिक्षक कति तयार छ भन्ने कुराले नै एआई प्रत्येक विद्यार्थीका लागि व्यक्तिगत ट्युमर र प्रत्येक शिक्षकका लागि प्रभावकारी सहायक बन्ने कुरा तय गर्छ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)