दृष्टिविहीन पात्रको भूमिकामा देखिएका दुवै कलाकार नेल सटन र अरिया मिया लोबर्टी वास्तवमै दृष्टिविहीन तथा कम दृष्टिका कलाकार हुन्। दृष्टिविहीन पात्रलाई प्रमुख भूमिकामा देखाउने यो पहिलो ठूलो प्रोजेक्ट हो।
यो दोस्रो विश्वयुद्धको समय हो। फ्रान्सको सेन मेलो गाउँमा भने बमवर्षा भइरहेको छ। मानिसहरू गाउँ छाडेर भाग्न आतुर छन्। अमेरिकी सैनिक गाउँनजिक आउँदै छन् भन्ने खबर आउँछ। स्थानीयलाई गाउँ छोड्न आदेश दिँदै लेखिएका पर्चा जताततै छरिएका छन्। तर जर्मन सैनिकहरू गाउँलेहरूलाई गाउँ छाड्न दिइरहेका छैनन्।
त्यही गाउँमा एक दृष्टिविहीन किशोरी छिन्। पेरिसबाट भागेर आएकी उनी आफन्तकहाँ लुकेर बसेकी छन्। उनले गैरकानूनी रूपमा रेडियो 'ब्रोडकास्टिङ' गर्ने गर्छिन्, जसको सजाय मृत्युदण्ड हुन सक्छ।
त्यस दिन पनि रेडियो प्रसारण गर्दैगर्दा अचानक उनको छेउमा बम विस्फोट हुन्छ। घरको झ्यालढोका र भित्ता बमले ध्वस्त पार्छ। उनी जमिनमा पछारिन्छिन्। एकैछिनमा उठेर रेडियो प्रसारणलाई निरन्तरता दिन्छिन्।
उनले बोलेको त्यही गाउँको फरक ठाउँमा रहेका एक किशोरले सुनिरहेका छन्। उनले बाल्यकालदेखि नै १३१० सर्टवेब फ्रिक्वन्सीबाट प्रसारण हुने ब्रोडकास्टिङ सुन्थे। पहिला–पहिला आफूलाई 'प्रोफेसर' भनेर चिनाउने अज्ञात व्यक्ति बोल्थे। मनभित्रको अँध्यारो र उज्यालोबारे सुनाउँथे। अहिले किशोरीको आवाज आइरहेको छ। किशोर जर्मन सैनिकको रेडियो अप्रेटर हुन्।
यी दुई पात्रको आरोअवरोहमा जेलिँदै जान्छ नेटफ्लिक्समा प्रिमियर गरिएको ‘अल द लाइट वी कान्ट सी’का चार भाग। दोस्रो विश्वयुद्धको पृष्ठभूमि, जर्मन सेनाको क्रूरता, दृष्टिविहीन किशोरीको सन्देश, गैरकानूनी प्रसारण, बमबारीको त्रासपूर्ण अवस्था, ब्रोडकास्टिङ सुन्ने लत बसेको एक किशोर सैनिकको मनोदशा र बहुमूल्य हीराको खोजीका क्रममा देखिएका उतारचढावलाई मिनी–सिरिज अल द लाइट वी कान्ट सीमा प्रस्तुत गरिएको छ।
अडोल्फ हिटलरले जर्मनीलाई शक्तिशाली सैन्यशक्तिका रूपमा विकास गरे। यसैबीच, जर्मनीले १९३९ सेप्टेम्बरमा पोल्यान्डमाथि आक्रमण गरेपछि दोस्रो विश्वयुद्धको शुरूआत भयो। इतिहासकै रक्तपातपूर्ण घटनाको रूपमा चित्रित दोस्रो विश्वयुद्धमा ६ करोडभन्दा बढीले ज्यान गुमाएका थिए, तीमध्ये अधिकांश सर्वसाधारण थिए।
अल द लाइट वी कान्ट सीको प्लट यही दोस्रो विश्वयुद्धको परिवेशमा आधारित भएर लेखिएको र सन् २०१४ मा प्रकाशन भएको चर्चित ऐतिहासिक आख्यानबाट लिइएको हो। सन् २०१४ मा एन्थोनी डोयरको ‘अल द लाइट वी कान्ट सी’ नामक उपन्यास प्रकाशन भएको थियो। उपन्यासले पुलित्जर पुरस्कार जितेको थियो भने न्युयोर्क टाइम्सको बेस्ट सेलर लिस्टमा २०० हप्तासम्म रहेको थियो। विश्वभर १ करोड ५० लाखभन्दा बढी प्रति बिक्री भएको थियो।
मुख्य कलाकार मैरी लौरको बाल्यकालीन भूमिकामा नेल सटन र किशोरावस्थाको भूमिकामा अरिया मिया लोबर्टीले अभिनय गरेका छन्। जर्मन किशोर सैनिक वार्नरको भूमिकामा लुइस हाफमन र मैरीका बुवा डेनियलको भूमिकामा मार्क रफालो छन्। सस्पेन्स र युद्ध त्रासले भरिएको यो सिरिजलाई स्क्रिन राइटर स्टिवन नाइट र निर्देशक शान लेवीले प्रिमियरका लागि योग्य बनाएका हुन्।
मैरी र वार्नरमा समानता छ र दुवैका अगाडि चुनौती पनि उस्तै छ। वार्नर रेडियो मर्मतका साथै सन्देश डिकोड गर्न माहिर छन्। मैरी दृष्टिविहीन हुन् तर सुघ्ने, सुन्ने र स्पर्श गर्ने तीक्ष्ण क्षमता छ। पेरिसमा मैरी र जर्मनीमा वार्नर दुवै प्रोफेसरको ब्रोडकास्टिङबाट प्रभावित किशोर किशोरी हुन्, जो बाल्यकालदेखि नै उनका उपदेश सुन्दै आएका थिए।

त्यसैबेला जर्मन सैनिकले पेरिसमा कब्जा गरेपछि मैरी हातमा सुटकेस लिएर बुवासँगै पैदलै पेरिस शहरबाट भाग्छिन्। पेरिसस्थित संग्रहालयका निर्देशक बुवा डेनियलले जर्मन सैनिक पेरिस प्रवेश गरेपछि संग्राहलयका महत्त्वपूर्ण र बहुमूल्य सामानहरू साथैमै लिएर हिँड्छन्। उनीहरू भाग्दै तटीय शहर सेन्ट मालोमा रहेको आफन्तकहाँ शरण लिन पुगेका हुन्छन्। मैरीले त्यहाँ नै प्रोफेसरको नाममा आशावादी सन्देश ब्रोडकास्ट गर्ने व्यक्तिलाई भेटाउँछिन्। उनी अरू कोही नभएर उनका आफ्नै अंकल हुन्छन्।
वार्नरको बाल्यकाल जर्मनको एक अनाथालयमा बित्छ। उनले त्यहाँ नै रेडियो बनाउने सीप सिक्छन् र लुकेर उनै अज्ञात प्रोफेसरको सन्देश सुन्ने गर्छन्। त्यति नै बेला जर्मन सैनिकले उनको क्षमता थाहा पाएर रेडियो सन्देश डिकोडका लागि बलपूर्वक प्रयोग गर्छन्। उनलाई सेन मेलोमा पनि अवैध सन्देश प्रसारण रोक्न खटाइएको हुन्छ। यसरी दुवै जना एउटै गाउँमा पुगेका हुन्छन्।
मैरीलाई माया गर्ने आशावादी सोच भएका उनका बुवाले गाउँमा जानकारी दिने उद्देश्यले गाउँको ‘डमी मोडेल’ बनाउँछन्। यसैले उनलाई जर्मन सैनिकको नजरमा पुर्याइदिन्छ। उनलाई सैनिकहरूले गिरफ्तार गर्छन्। मैरीका अंकल जो पहिलो विश्वयुद्धका योद्धा पनि हुन्, उनी त्यसले पारेको आघातबाट २० वर्षदेखि बाहिर निस्किन सकेका छैनन्। यसबीच दोस्रो विश्वयुद्ध शुरू हुन्छ र उनी गुप्त रूपमा जर्मन सैनिकविरुद्धको अभियानमा लाग्छन्।
मैरीको साथमा बहुमूल्य हीरा रहेको चाल पाएका जर्मन सैनिक अधिकारी उनको खोजीमा गाउँलेहरूको ज्यान लिँदै हिँड्छन्। जर्मन सैनिकले मैरीको हत्या गरेर उनीसँग भएको बहुमूल्य हीरा लिन चाहन्छन्।
मैरीको प्रसारण सुनेर आकर्षित वार्नर पनि उनैलाई भेट्न आतुर छन्। वार्नर उनको प्रसारणमा यति आकर्षित छन् कि, सैनिक साथीलाई मार्न पनि पछि पर्दैनन्। सिरिज हेर्दै जाँदा खुल्दै जान्छ, मैरीले जर्मन सैनिकविरुद्ध लडिरहेका युद्धाहरूलाई सन्देश पुर्याइरहेको। जर्मन सैनिक अधिकारी र वार्नरले मैरीलाई भेटाउलान्? दृष्टिविहीन मैरीले कसरी युद्ध सन्देश दिन्छिन्? यी प्रश्नको जवाफका लागि भने सिरिज नै हेर्नुपर्ने हुन्छ।
अन्य हलिउड चलचित्रमा जस्तै यस सिरिजमा पनि जर्मन सैनिकहरूलाई मानताविहीन, निर्दयी, क्रूर पात्रका रूपमा दर्शाइएको छ। जर्मन सैनिकको घेरामा संघर्षपूर्ण जीवनयापन गरिरहेका गाउँलेको दयनीय अवस्था र अमेरिकी सेना आइपुग्ने एउटा आशामा रहेका गाउँलेप्रति दर्शकलाई सहानुभूति जगाउँछ। पैसाको लोभमा परेर मैरीको गुप्त स्थान बताइदिने पात्रप्रति आक्रोश जाग्छ।
जस्तो वास्तविकता उस्तै पात्र
यस सिरिजको दृष्टिविहीन पात्रको भूमिकामा देखिएका दुवै कलाकार नेल सटन र अरिया मिया लोबर्टी वास्तवमै दृष्टिविहीन तथा कम दृष्टि भएका कलाकार हुन्। लोबर्टीको यो पहिलो व्यावसायिक अभिनय हो। लेखक–निर्देशकले सिरिज बनाउँदै गर्दा पात्रअनुसार प्रभावशाली कलाकारलाई भेटाउन सफल भएका छन्। अन्य केन्द्रीय पात्रहरूमा भने पुरानै कलाकारले निरन्तरता पाएका छन्।
हलिउडमा दृष्टिविहीन भूमिकामा दृष्टिविहीन कलाकारलाई नै अभियनय गराएको लामो इतिहास छ। ‘सेन्ट अफ ए वुमन’मा अल पचिनो र ‘वेट टिल डार्क’मा आड्रे हेपबर्नजस्ता कैयन् उदाहरणबीच ‘अल द लाइट वी कान्ट सी’ दृष्टिविहीन वा कम दृष्टि भएका कलाकारको प्रतिनिधित्वको अर्को सफलता हो। दृष्टिविहीन पात्रलाई प्रमुख भूमिकामा देखाउने यो पहिलो ठूलो प्रोजेक्ट बनेको लस एन्जल्स टाइम्सले उल्लेख गरेको छ।
दृष्टिविहीन कलाकारलाई पर्दाअगाडि देखाउने पर्दा पछाडिका खेलाडी हुन् जो स्ट्रेची। उनी आफैँ पनि दृष्टिविहीन हुन्। उनी सिरिजको सहनिर्माता तथा सल्लाहकार पनि हुन्। उनले यसअघि लेवीसँग मिलेर हँगेरी र फ्रान्समा काम गरेका थिए। फिल्म तथा टिभी प्रेमी स्ट्रेची १९ वर्षको उमेरमा दृष्टिविहीन बनेका थिए। उनले ‘रोयल पेन्स’बाट व्यावसायिक शुरूआत गरेका थिए। उनले दृष्टिविहीन पात्रहरू रहेका नेटफ्लिक्सका अन्य प्रोजेक्टमा पनि काम गरेका छन्।

मिडियामा दृष्टिविहीन चरित्रको प्रस्तुतिको तरिकाको विपक्षमा रहेका उनले दृष्टिविहीन कलाकारलाई पनि अभियनमा स्थान दिनुपर्छ भन्ने पक्षमा वकालत गर्दै आइरहेका छन्। उनले एप्पल टीभी प्लसको सीमा पनि काम गरेका थिए। यसमा पनि केही छोटा भूमिकामा दृष्टिविहीन कलाकारलाई अभिनय गराइएको थियो। उनले लस एन्जल्स टाइम्ससँगको अन्तर्वार्तामा आफ्नो कामले अन्य फरक क्षमताका कलाकारलाई पनि स्थान बनाउन सहयोग पुग्ने अपेक्षा रहेको बताएका छन्। उनले अन्तर्वार्तामा चलचित्र क्षेत्रलाई कसरी दृष्टिविहीन कलाकारमैत्री बनाउन सकिन्छ भन्नेबारे आफ्नो धारणा राखेका छन्।
“मैले कुनै प्रोडक्सन हाउसमा काम गर्छु, अरिया कुनै अर्को प्रोडक्सन हाउसमा काम गर्लिन्। त्यस्तै, यो प्रोडक्सन हाउसमा काम गर्ने यस्तै व्यक्तिहरू पनि अन्य हाउसमा जालान्। यसरी नै अन्य अपांगता भएका व्यक्ति, पूर्ण दृष्टिविहीन तथा कम दृष्टिविहीन व्यक्तिहरूका लागि अवसर खुल्दै जाने छ,” उनी भन्छन्, “मलाई लाग्छ दृश्य माध्यम भएकाले टेलिभिजन र फिल्ममा अन्य फरक क्षमताका व्यक्तिहरूको भन्दा हाम्रो प्रतिनिधित्व कम छ।”
मैरीको भूमिकामा देखिएकी बालकलाकार ७ वर्षीया नेल सटन वेल्सको सानो शहरमा बस्छिन्। सिरिजका निर्देशक लेवी उनसँग काम गर्दाको समय उत्साहपूर्ण रहेको बताउँछन्। सिरिजमा उनले गरेको अभिनयले दृष्टिविहीन कलाकारप्रति आफूमा रहेको धारणा नै परिवर्तन गरिदिएको उनको भनाइ छ।
उनका अनुसार फिल्म निर्माणका क्रममा उनीहरूले के गर्दैछन्? कता फर्किएका छन्? मोनिटर तथा क्यामेरा कहाँ छ? भन्ने कुराको जानकारी अडियो माध्यमबाट निर्देशन दिइन्थ्यो। त्यसैका आधारमा उनीहरूले आफ्नो अभिनयलाई अगाडि बढाउँथे।
सिरिजमा कमीकमजोरी नभएका होइनन्, तर दृष्टिविहीन भूमिका लागि दृष्टिविहीन कलाकारलाई नै अभिनय गराउनु सिरिजका निर्माता निर्देशकको प्रसंशायोग्य निर्णय हो। हाम्रै समाजको एउटा हिस्साका रूपमा रहेका फरक क्षमताका मानिसहरूलाई उनीहरूको कैशलअनुसार अवसर प्रदान गरियो भने नै समतामूलक समाज निर्माण हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
