Sunday, May 05, 2024

-->

भुंग्रोले खाएका खुट्टा सग्लाझैँ भएपछि आत्मबल टेकेर उभिएका सन्तोष (भिडियोसहित)

घिस्रिएरै स्कुल आउजाउ गरिरहेका उनलाई कृत्रिम खुट्टाले ठमठम हिँडेको दिन दोस्रो जन्म पाएको महसुस भयो। पहिले भारी लाग्ने शरीरलाई नयाँ खुट्टाले हलुकासँग हिँडाएपछि केही न केही काम थाल्ने उत्साह थपियो।

भुंग्रोले खाएका खुट्टा सग्लाझैँ भएपछि आत्मबल टेकेर उभिएका सन्तोष भिडियोसहित

काठमाडौँ– जन्मेर शैशवकालको ६ महिना मात्र पूरा गरेका सन्तोषराज आचार्य भर्खर हाँस्न–खेल्न सिक्दै थिए। दाङ जिल्लाको खड्कपुर गाउँमा खरले छाएको सानो घर थियो। आमा देवकला र बुवा चिन्तामणिको काखमा पालैपालो खेल्दै हुर्किरहेका बेला सन्तोषको अवोध जीवनको बिहानीमै एउटा खराब बिहान आयो।  

उनकी आमा कुवामा कपडा धुन गएकी थिइन्। बुवा घरमा उनैको रेखदेख गर्दै बसेका थिए। छिमेकबाट काकाका साना छोराछोरी पनि खेल्दै त्यहाँ आइपुगेछन्। त्यसपछि उनका बुवाले भोकाएका बस्तुभाउ सम्झिएछन् अनि खेल्न आएका बालबालिकालाई ‘एकैछिन भाइ हेर्नु है, म बस्तुभाउलाई घाँस दिएर आउँछु’ भनेर उनी गोठतिर गएछन्। 

काकाका छोराछोरी एकैछिन खेलेर घर फर्किएछन्। भर्खरै बामे सर्न थालेका सन्तोष घरभित्र एक्लै छाडिए। त्यही बखत उनी घिस्रिँदै गएर छेउकै अगेनाको भुंग्रोमा परेछन्। केहीबेरमा सन्तोषकी फुपू त्यहाँ आइपुग्दा उनको शरीर आगोमै थियो। खुट्टा त पूरै जलिसकेको! 

आत्तिँदै हत्तपत्त फुपूले सन्तोषलाई अगेनाबाट निकालिन्। त्यसबेलासम्ममा उनको कलिलो शरीर जलेर तहसनहस भइसकेको थियो। त्योसँगै छोराको सुन्दर भविष्य देखेका आमाबुवाको सपना पनि जल्यो। त्यो खबर सुनेर रुँदै कराउँदै आइपुगेका दम्पती एकैछिनअघि काखमा खेलाइरहेको निश्चल छोरालाई बचाउन सकिने आशा नै गुमाउनुपर्ने स्थितिमा पुगे।  

त्योसँगै आमाबुवाको झिनो आशामा झुण्डिरहेको सन्तोषको जीवनमा सास्ती र पीडाको महाभारत शुरू भयो। आगोमा परेको तेस्रो दिन सन्तोषलाई लिएर उनका आमाबुवा नेपालगञ्ज अस्पताल पुगे। तर अस्पताल वरपर फेहोरै फोहोर थियो। लामखुट्टे लागेर बस्न सकिने अवस्था थिएन। 

त्यहीबेला एकजना बिरामीका आफन्तले ‘पाल्पामा अमेरिकन डाक्टर आउनुभएको छ, त्यहाँ लैजानुस्’ भनेर सुझाए। “त्यसपछि पाल्पा गयौँ। त्यहाँ तीन महिना बसेर उपचार गरायौँ। पोलेको घाउ पूरै सञ्चो हुन एक वर्ष लाग्यो,” सन्तोषकी आमा देवकलाले भनिन्।

त्यस घटनाको चोट सहन नसकेर सन्तोषका बुवाको मानसिक अवस्था कमजोर हुँदै गएको थियो। चरम् निराशामा पुगेका उनले भएजति सबै खेतबारी बेचे र अन्ततः घर छाडेर बेपत्ता भए। हिम्मत नहारेकी आमाले सम्भव भएजति उपचार गरिन् र पाँच वर्षसम्म अर्घाखाचीको सिद्धारास्थित माइतमा राखेर हुर्काइन्। 

त्यसपछि छोराले पढेर पक्कै केही गर्छ भन्ने भरोसाका साथ सन्तोषलाई कपिलवस्तुको रन्गाईमा रहेको बहिनीको घरमा लगेर राखिदिइन्। स्कुलमा भर्ना गरिएका सन्तोषको पढाइ शुरू भयो। घरबाट ८०० सय मिटरजति पर्ने स्कुलसम्म पुग्न उनलाई आठ हजार मिटर पार गरेजत्तिकै कठिन लाग्थ्यो। कक्षा १० सम्म पढ्दा सानोबुवा नेत्रप्रसाद भट्टराईले गरेको सद्भाव र माया कहिल्यै बिर्सन नसक्ने बताउँछन् सन्तोष।          

उनी १३ वर्षको छँदा २०५५ सालमा सानोबुवाले अप्रेशन गर्नुपर्छ, उपचार हुन्छ भनेर काभ्रेको बनेपा अस्पतालमा पुर्‍याएको उनी अहिले पनि सम्झन्छन्। तर त्यसबेला अप्रेशन गर्न धेरै खर्च लाग्ने र आगोले पोलेर असर गरेको बाँकी खुट्टासमेत काट्नुपर्ने भएकाले उपचार नगरी फर्केको सन्तोष सम्झन्छन्।

बढेको आत्मविश्वास
२१ वर्षअघिको कुरो हो। त्यसबेला १० कक्षामा पढिरहेका सन्तोषले सामाजिक सञ्जालमा एउटा जानकारी भेटे। आफूजस्तै खुट्टा गुमाएकाहरूलाई काठमाडौँको गौशालामा रहेको मारवाडी सेवा समितिले कृत्रिम खुट्टा निःशुल्क वितरण गरिरहेको त्यो जानकारीले उनलाई औधी उत्साहित बनायो। फोन गरेर बुझ्दा सूचना सही रहेछ। त्यसपछि व्यग्रताका साथ काठमाडौँ आएका उनले समितिको कार्यालय गौशालाबाट दुवै खुट्टा पाए।

यो पनि: एउटा धर्मशाला जसले खुट्टा गुमाएर घिस्रिन बाध्य भएका हजारौँलाई हिँडाइरहेको छ  (भिडियो कथा)

घिस्रिएरै स्कुल आउजाउ गरिरहेका उनलाई कुत्रिम खुट्टाको सहायताले ठमठम हिँडेको दिन दोस्रो जन्म पाएको महसुस भयो। पहिले भारी लाग्ने शरीरलाई नयाँ खुट्टाले हलुकासँग हिँडाउन थालेपछि कुनै न कुनै काम शुरू गर्ने उत्साह थपियो। त्यसपछि कामको खोजीमा लागे उनी।

जे पनि गर्न सक्छु भन्ने आँटले भरिएका सन्तोषले आफ्नो गाउँठाउँमा रोजगारी खोजे। भन्नेबित्तिकै कुनै काम नपाउँदा थप पर्खेर समय खेर फाल्न मन लागेन। त्यसपछि गाउँका केही साथीहरूसँगै २०६० वैशाखमा काम खोज्न भारतको राजस्थानको पुगे। 

शारीरिक परिश्रम गर्नुपर्ने काम उनका लागि निकै चुनौतिपूर्ण थियो। हिन्दी भाषा बोल्न नजान्दा पर्ने समस्याले अलि समय अलमल्यायो। त्यस्ता कुनै पनि बाधाबाट विचलित नभएका सन्तोषले तीन महिना नपुग्दै हिन्दी बुझ्न र बोल्न सिके। ठेलामा रातिको समयमा अण्डा बेच्ने काम पाएपछि छ–सात महिनाजति त्यही काम गरे। त्यसपछि मासिक चार हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरी एउटा किराना पसलमा करिब १७ महिना काम गरेर फेरि सानिमाको घर कपिलवस्तु फर्किए।

करिब दुई महिनाको नेपाल बसाइपछि फेरि राजस्थान गएका सन्तोषले होटलको ‘क्यान्टिन’ सरसफाइबाट काम शुरू गरे जहाँ उनी वेटर हुँदै क्यासिएरसम्म भए।

२०६९ सालमा दशैँ–तिहारको बेला नेपाल फर्किएका उनी कामले संघर्ष गर्न सिकाएको बताउँछन्। “जीवनका हरेक चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ भन्ने सोँचले म अघि बढेँ। परिवारको जेठो छोरा भएकाले पनि ममा धेरै जिम्मेवारी थियो,” उनले भने। सन्तोषपछि जन्मेका भाइ आमासँगै थिए। भारतमा गरेको कामकाजबाट सिकेका व्यावहारिक सीपहरूले जीवनयापन सहज भएको ठान्ने उनले रोजगारदाताहरूबाट पाउने माया र सद्भावमा कहिल्यै कमी महसुस गरेनन्। 

उपचारको खोजीमा बाल्यकालमै बनेपा अस्पताल गएको बेला उनले आफ्नोभन्दा धेरै ठूलो अपांगता र अशक्तता भोगिरहेका थुप्रै मानिसहरू देखे जसको जीवन उनकोभन्दा कैयौँ गुणा कष्टकर थियो। त्यसपछि उनलाई आफूले भन्दा पनि चर्को समस्या भोगिरहेका अरू पनि रहेछन्, उनीहरूभन्दा त म धेरै खुशी र सुखी रहेछु भन्ने लाग्यो। त्यो बुझाइले जीवनमा अवश्य केही गर्नुपर्छ भन्ने आत्मबल आएको र त्यसले अहिलेसम्म आड दिइरहेको सन्तोष बताउँछन्।

पारिवारिक पुनर्मिलन
सन्तोषले आफू भारत छँदा भाइलाई जेनतेन गरेर खर्च जुटाई कामका लागि कतार पठाएका थिए। केही पैसाको जोहो भएपछि भाइ र उनी दुवै स्वदेश फर्किए। त्यसपछि दाजुभाइ र मावलीको सहयोगमा कपिलवस्तुकै शिवराज नगरपालिका–५ मा घर किने।

बुवाको अवस्था वर्षौंसम्म थाहा नपाउँदा सन्तोष साह्रै चिन्तित थिए। भारतमै छँदादेखि खोजतलास गरिरहेका भए पनि कुनै जानकारी पाउन सकेका थिएनन्। आफन्त र गाउँछिमेकका मानिसहरूमार्फत् चौतर्फी खबर पठाएपछि २०६८ सालतिर एक आफन्तले पंजाबको लुधियानामा उनका बुवा भेटिएको जानकारी दिए। त्यसपछि खोज्दै त्यहाँ पुगेका उनले बुवालाई भेटेरै छाडे। तर अनेक आग्रह गर्दा पनि घर फर्काउन भने त्यतिबेला नसकेको उनी बताउँछन्। 

२०६९ साल माघमा पाल्पाकी बिष्णु आचार्यसँग बिहे गरेका सन्तोषले आफ्नै साहस जुटाएर सृष्टि गरेको संसारमा सुख र साथ थपिँदै गयो। तर बाल्यकालमै छुटेको बुवाको काख सम्झँदा परिवार अपूरो लागिरहन्थ्यो। त्यसपछि उनी मानसिक विक्षिप्तताको व्यथा बोकेर पंजाबमा एक्लै बसेका बुवालाई लिन फेरि गए। तर त्यस पटक पनि बुवाले फर्किन नमान्दा उनी सफल भएनन्। 

पहिलो र दोस्रो प्रयासमा बुवालाई मनाउन नसक्दा एक्लै फर्केका सन्तोषले आमाको आशीर्वादसहित तेस्रो पटकमा भने सफलता पाए। २०७१ सालमा बुवालाई जर्बजस्ती गरेरै घर फर्काएपछि बल्ल उनले अपूरो परिवार पूर्ण भएको महसुस गरे। 

दशकौँ लामो वियोगपछि आमाबुवासँगै जिउन पाउँदाको क्षण धरतीमै स्वर्ग जितेझैँ लागेको सन्तोष सम्झन्छन्। उनका दुई छोरी र एक छोरा छन्। “श्रीमती विष्णुको साथ, सहयोग र सहकार्यले एकदमै खुशी छु,” उनले भने।

उनका बुवा चिन्तामणिको गत वर्ष अपांग दिवसकै दिन ६० बर्षको उमेरमा निमोनियाको कारण निधन भयो। अहिले बुवाआमा दुवैको अभिभावकत्व आमा देवकलाले दिइरहेकी छन्। 

चुनौती नै अवसर
विगत आठ वर्षयता सन्तोष बंगलादेशी कम्पनी ‘प्रान ड्रिंक्स’ कपिलवस्तु जिल्लाको बिक्री प्रतिनिधिको रूपमा काम गरिरहेका छन्। अचम्मको कुरा के छ भने यति लामो समय काम गरिसक्दा पनि उनका दुइटै खुट्टा छैनन् भन्ने कुरा कम्पनीका हाकिमले अहिलेसम्म थाहा पाएका छैनन्। यसबारे सन्तोष भन्छन्, “म यस्तो छु भनेर सहानुभूति खोज्नु हुँदैन। मैले गरिरहेको कामबाट कम्पनीको चित्त बुझेको छ, ठूलो कुरा यही हो।”

कमाएर आफ्नो जीविका चलाएर मात्र हुँदैन, नसक्नेहरूको सेवा पनि गर्नुपर्छ भन्ने उनलाई लाग्छ। यही भावनाका साथ सामाजिक कार्यमा सक्रिय उनी अभावका कारण समस्यामा परेका र प्रायः अपांगता भएका व्यक्तिहरूलाई सहयोग गरिरहेका हुन्छन्। सन्तोष भन्छन्, “आफूले दुःख काटेर आएपछि अरूका दुःख देखिँदोरहेछ, कमाइको थोरै अंश कटाएर खाँचोमा परेकाहरूलाई सहयोग गर्छु, यसमा मलाई आनन्द आउँछ।”

कृत्रिम खुट्टाको सहायताले हिँड्नुपर्ने अवस्थाका बाबजुद पनि विश्वभर फैलिएको कोरोना महामारीका बेला उनी सरसहयोगका सामग्री जुटाएर संक्रमितहरूसम्म पुग्थे। खानाको अभावमा भोकै बस्न बाध्य दीनदुखीहरू र आफूभन्दा गम्भीर अवस्थाको अपांगता भएका व्यक्तिहरूको कष्ट देख्दा सधैं उनीहरूकै सेवा गरिरहुँजस्तो लाग्ने उनी बताउँछन्। 

हिँडडुल गर्न नसकेका बेला कतिपय मानिसहरूले गरेको व्यवहार सम्झिँदा भने सन्तोषलाई अहिले पनि दुःख लाग्छ। समाजमा अपांगता भएका व्यक्तिहरूको आत्मसम्मान र मनोबल बढाई राज्यले दिनुपर्ने अवसर दाबी गर्ने अभियानको नेतृत्व गरिरहेका उनी अपांगता उत्थान समाज शिवराज नगर समितिको अध्यक्ष पनि हुन्। 

देश संघीयतामा गइसकेको अवस्थामा पनि राज्य र समाजले अपांगता भएका व्यक्तिलाई हेर्ने नजर नफेरिँदा साह्रै दुःख लाग्ने गरेको सन्तोष सुनाउँछन्। उनी भन्छन्, “अपांगता भएका व्यक्तिहरू अब कुवाको भ्यागुतोजस्तो भएर बस्नुहुँदैन, माथि उठ्नुपर्छ। हामीलाई दया र सहानुभूति होइन, अवसर चाहिएको छ।” 

अपांगता भएका व्यक्तिहरूमाथि आफ्नै नगरपालिकाले बेलाबेला गर्ने व्यवहारमा समेत चित्त नबुझेको उनको अनुभव छ। “सार्वजनिक भवनहरू अपांगमैत्री बनाउनुपर्ने सुझाव दिँदा नसुनेझैँ गर्ने प्रवृत्ति व्याप्त छ। यस्तो देख्दा हामीलाई हेपेको हो कि भन्ने लाग्छ,” उनी दुःख पोख्छन्। ह्वील चेयर प्रयोग गर्नेहरूलाई चाहिने पूर्वाधारको विकास गर्न सरकारी निकायहरूले नै चासो नदेखाएकोमा उनी चिन्तित छन्। 

स्वदेशप्रति चासो घट्दै जाँदा बर्सेनि लाखौँको संख्यामा सक्षम युवा बिदेसिएको उनलाई चित्त बुझेको छैन। “शारीरिक रूपमा सबल र सक्षम हुँदा त राज्यले उन्नति गर्ने अवसर नदिएका कारण बाहिरिनुपरेको छ भने चाहेर पनि विदेश जान नसक्ने हामीजस्ता अपांगता भएका व्यक्तिहरूलाई बाँच्न कति गाह्रो भएको होला?” यही प्रश्नले बोक्ने संवेदनशीलताको जवाफ खोजिरहेका छन् सन्तोष। 


उनको कथा भिडियोमा:


सम्बन्धित सामग्री