Thursday, May 09, 2024

-->

‘क्यान्सर, हाइपरटेन्सन र मधुमेहजस्ता नसर्ने रोग विश्वव्यापी रूपमा बढ्दो छ’

पश्चिमा मुलुकहरूमा हेलमेट वा सिट बेल्ट नबाँधेको अवस्थामा सवारी दुर्घटना हुँदा बीमितले क्षतिपूर्ति वा सहयोग पाउँदैन। त्यस किसिमको नीति तर्जुमा गरे दुर्घटना घटाउन सकिन्छ।

‘क्यान्सर हाइपरटेन्सन र मधुमेहजस्ता नसर्ने रोग विश्वव्यापी रूपमा बढ्दो छ’

पाल्पामा जन्मिएका डा. शम्भु आचार्य हाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को 'कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट डिपार्टमेन्ट'को निर्देशक छन् र क्षेत्रीय निर्देशकको पदमा उम्मेदवारीसमेत दिएका छन्। आचार्यसँग जनस्वास्थ्यका विभिन्न विषयमा केन्द्रित रहेर उकालोले गरेको कुराकानी:  

सार्वजनिक स्वास्थ्यका सवालमा नेपाल कहाँ छ?
नेपालले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा राम्रै सफलता पाएझैँ लाग्छ। नेपालका विभिन्न तहमा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरू छन्। सँगै, नियमित रूपमा स्वास्थ्यसम्बन्धी संरचनाहरू बन्दैछन्। ती स्वास्थ्य निकायमा औषधि  पुर्‍याउने, दक्ष जनशक्तिसहितको गुणस्तरीय सेवा पुर्‍याउने कुरामा भने सुधारहरू आवश्यक छ। 

अहिलेको अवस्थामा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्यसेवाको आधार प्राथमिक स्वास्थ्यसेवालाई मान्छ। प्राथमिक स्वास्थ्यबिना 'सबैका लागि स्वास्थ्यसेवा' सम्भव छैन। सबैका लागि स्वास्थ्यसेवाको बलियो आधार हो प्राथमिक स्वास्थ्यसेवा। त्यो कोणबाट हेर्दा जनस्वास्थ्यसेवामा नेपालमा राम्रै काम भइरहेझैँ लाग्छ। 

विश्वभर हेर्दा जहाँ–जहाँ प्राथमिक स्वास्थ्यसेवा बलियो छ, त्यहाँ समुदाय र स्वयंसेवीहरूको राम्रो योगदान छ। नेपालमा पनि समुदायस्तरमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले काम गरिरहनुभएको छ। मातृ शिशु र खोप कार्यक्रमलगायतका सेवामा संलग्न भइरहनुभएको छ। त्यसले पनि प्राथमिक स्वास्थ्यसेवामा धेरै टेवा पुगेको छ। किनकि, समुदायको सहभागिताका लागि स्वयंसेवकहरूको ठूलो भूमिका हुन्छ। 

तर स्वास्थ्य क्षेत्रमा स्रोतसाधन र दक्ष जनशक्तिको संख्या पनि बढाउनुपर्नेछ। समग्रमा हेर्दा भने हाम्रा 'हेल्थ इन्डिकेटर'हरू राम्रा छन्। स्वास्थ्यसेवामा हामी हाम्रो क्षेत्रको हाराहारीमा छौँ। मातृ शिशु कार्यक्रममा नेपालले राम्रो कार्यक्रम गरेको भन्दै 'सहश्राब्दी विकास लक्ष्य'ताक दुई पटक त 'मेडल' पनि पायो। 

कोभिड १९ महामारीका बेला विश्व स्वास्थ्य संगठनअन्तर्गत रहेका मुलुकले त्यसलाई फैलन नदिन कतिसम्म प्रभावकारी ढंगले काम गर्न सके? आशातीत रूपमा काम गर्न सके या सकेनन्? अझै राम्रो कसरी गर्न सकिन्थ्यो? 

यस्तो खालको महामारी विश्वमा एक सय वर्षपछि आयो। १९१८ मा स्पेनिस फ्लु आउँदा धेरै मान्छेहरू मारिए। त्यसो हुँदा कोभिड धेरै ठूलो महामारी हो। पहिलो पटक र धेरैपछि यस्तो खालको महामारी आउँदा विश्व स्वास्थ्य संगठनलगायत सरोकारवालाहरूले आफ्नो प्रयत्न लगाए। कतिपय कमजोरीका बाबजुद सबैको प्रयास कोभिडलाई सकेसम्म चाँडै नियन्त्रण र त्यसका प्रभाव कम गर्ने भन्ने नै थियो।

जबकि, कोभिडकै कारण विश्व झन्डै रोकियो। महामारीकै कारण कतिपय व्यवसाय बन्द आए, जागिर खोसिए, आर्थिक गतिविधि कम भए। पर्यटनमा आश्रित मुलुकहरू त 'कोल्याप्स' नै भए।  एक सय वर्ष त्यति ठूलो महामारी आएका कारण हामी सबै पूर्वतयारीका साथ बसेका थिएनौँ। तर जति प्रयास भयो, त्यसलाई इमानदार प्रयासका रूपमा लिनुपर्छ। नेपालको प्राथमिक स्वास्थ्य सेवा बलियो भएका कारण पनि सापेक्षित रूपमा हामीले राम्रो काम गर्‍यौँ। 

भविष्यमा यस्तै खाले महामारी आएमा के गर्ने भनेर विश्व स्वास्थ्य संगठनले 'प्यान्डेमिक ट्रिटी'को कुरा गरिराखेको छ। भविष्यमा त्यस्तो कुनै महामारी आयो भने विश्व स्वास्थ्य संगठन र अरू विकाशसम्बन्धी साझेदार र सदस्य राष्ट्रहरू मिलेर प्रभावकारी रूपले नियन्त्रण गर्ने लक्षका साथ त्यसमा सदस्य राष्ट्रहरूले छलफल चलाइरहेका छन्। सन् २०२४ मेमा त्यसलाई 'विश्व स्वास्थ्य सम्मेलन'मा प्रस्तुत गर्ने कार्यक्रम छ। 

अर्को कुरा, 'इन्टरनेसनल हेल्थ रेगुलेसन २००५' लाई पनि परिमार्जन गर्ने काममा सदस्य राष्ट्रहरू लागेका छन्। खास गरी महामारीका सन्दर्भमा पूर्वतयारी र सतर्कतालाई अलि दह्रो रूपमा लिएर जानुपर्ने हुन्छ।    

जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग आउने सम्भावनातर्फ पनि वैज्ञानिकहरूले औँल्याइरहेका छन्। त्यसका चुनौतीलाई लिएर विश्व स्वास्थ्य संगठनले कत्तिको काम गरिरहेको छ?
यसमा डब्लूएचओले काम गरिरहेको छ। त्यसमा 'क्लाइमेट चेन्ज एन्ड हेल्थ' नामको विभाग नै छ। विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेड्रोस अभानोम घेब्रेयेससले 'जलवायु संकट नै स्वास्थ्य संकट हो' भन्ने अभिव्यक्ति धेरै पटक दिनुभएको छ। 

विश्वको तापक्रम बढ्दै जाँदा भाइरस फैलने सम्भावना बढ्छ। हामी सानो छँदा काठमाडौँ मलेरिया हुन्छ भन्ने सोच्नै सक्दैनथ्यौँ, तर आज काठमाडौँमा डेंगीसँगै मलेरिया पनि देखियो। त्यो पनि जलवायु परिवर्तनकै असर हो। जलवायु परिवर्तनकै कारण बाढी र पहिरो बढ्छ, हिमनदी पग्लने क्रम बढ्छ। त्यसले पनि मानवीय सुरक्षामा खतरा निम्तन्छ। कैयौँको घरबार सकिन्छ, आम्दानीको स्रोत नभएर मान्छेहरू बिचल्लीमा पर्छन्, विक्षिप्त हुन्छन्। 

त्यसो हुँदा जलवायु संकटलाई डब्लूएचओले प्राथमिकताकै रूपमा लिइराखेको छ र नियमित रूपमा त्यसमा काम भइरहेको छ। डब्लूएचओ, संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन (एफएओ), संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूनेप) र विश्व पशु स्वास्थ्य संगठन (डब्लूओएएच) मिलेर अहिले भाइरसजन्य प्रकोप तथा जनस्वास्थ्यका समस्यालाई ट्याकल गर्न 'वन हेल्थ अप्रोच' कार्यक्रममार्फत कम्बाइन्ड रूपमा काम गर्दैछन्। 

आजको विश्वव्यापी स्वास्थ्य संकट के हो? त्यसको आलोकमा हामी कहाँ छौँ?
एउटा मात्रै स्वास्थ्यलाई विश्वव्यापी संकटका रूपमा उल्लेख गर्न नमिल्ला। नसर्ने रोगको समूहमा पर्ने क्यान्सर, हाइपरटेन्सन, मधुमेह विश्वव्यापी रूपमै बढ्दो छ। पहिले–पहिले धनी देशमा मात्रै हुने रोगका रूपमा यिनलाई बुझिन्थ्यो, तर अहिले यी रोग सबै देशमा देखिएका छन्। कम र मध्यम आय भएका देशमा पनि यी रोगहरू देखिएका छन्।

ती रोगसँग लड्न प्राथमिक तहमै केन्द्रित हुनुपर्छ, किनभने यस्ता रोगहरूको उपचार धेरै महँगो हुन्छ। यसका लागि मान्छेको जीवनशैली परिवर्तन आवश्यक छ। त्यस ज्ञानलाई सबै जनतामाझ पुर्‍याउनु आवश्यक छ। मान्छेलाई स्वस्थ र सन्तुलित भोजन, शारीरिक व्यायाम आवश्यक छ। अहिले कोकाकोलालगायतका बजारिया पेय तथा जंकफूड (पत्रु खाना) पनि नसर्ने रोग निम्त्याउन जिम्मेवार छन्, त्यसमा चुरोट र मदिरा त छँदैछ। अतः स्वास्थ्यसँग जोडिएका यी धेरै विषय सम्बोधन गर्न स्वास्थ्य सचेतना आवश्यक छ। त्यसका लागि 'स्वास्थ्यका लागि शिक्षा' चाहिन्छ। शिक्षामार्फत सचेतना बढाउनु आवश्यक छ। 

नसर्ने रोग त छँदैछ, क्षयरोग (टीबी)का संसारकै ४५ प्रतिशत बिरामी दक्षिण एशिया र पूर्वी एशियामा छन्। उसो त, यस क्षेत्रको जनसंख्या पनि धेरै छ। तर यो पनि हाम्रा लागि चुनौती हो। योसँगै डेंगी, मलेरिया तथा अन्य ट्रपिकल रोगसँग हामीले जुध्नु पर्नेछ। जलवायुजन्य रोगका चुनौती त माथि हामीले उल्लेख गर्‍यौँ। यस क्षेत्रमा सबैभन्दा बढी प्राकृतिक प्रकोपसमेत हुन्छन्, भूकम्प, बाढीपहिरो र खडेरी हुन्छन्। 

यस क्षेत्रको क्षयरोग निर्मूल गर्ने विषय कसरी सम्बोधन गर्ने?
भारत, म्यानमार र इन्डोनेसियामा समेत प्रशस्त देखिएको यो रोग मूल रूपमा विपन्नतासँग जोडिएको छ। यो संक्रामक रोग हो। यस रोगको धेरै खालका प्रभावकारी उपचारहरू अहिले आइरहेका छन्। राम्रो नीति बनाएर जनतामा पुग्न सक्दा यसलाई कम गर्न र हटाउन सकिन्छ। यसमा 'दिगो विकाशको लक्ष्य' (एसडीजी)ले एउटा लक्ष्य लिएको छ। सन् २०३० सम्म क्षयरोग उन्मुलन गर्ने लक्ष्य छ।  

हाम्रोजस्तो देशले प्रिभेन्टिभ हेल्थ केयरमा खर्च गर्ने कि ठूला र विशेषज्ञ चिकित्सकहरूसहितका पूर्वाधारहरूमा खर्च गर्ने?
हामीले गर्नुपर्ने त प्राथमिक स्वास्थ्यसेवामै हो। रोग लाग्नुभन्दा लाग्नै नदिनु राम्रो हो, त्यसो हुँदा प्राथमिकता प्राथमिक रोकथाममै हुनुपर्छ। तर मान्छे बिरामी भएपछि त फेरि उस/उनले राम्रो स्वास्थ्यसेवा पनि पाउनै पर्‍यो। 

प्राथमिकता प्राथमिक स्वास्थ्यवामै हुनुपर्छ, तर जब हामीलाई कुनै विशेष रोग लाग्छ, त्यस्तो बेला विशेष रोग निदान हुने खालका सुविधा पनि आवश्यक पर्छ।

हाम्रोजस्तो देशका सडक सुरक्षाबारे विश्व स्वास्थ्य संगठनले के कस्ता काम गरिरहेको छ?  
सडक सुरक्षा डब्लूएचओको एकदमै प्राथमिकतामा छ। तर सडक र सवारी सुरक्षाका लागि पहिले सडकलाई नै राम्रो अवस्थामा राख्नुपर्‍यो। सवारीचालकलाई तालिम दिनेदेखि र सवारीचालक अनुमतिपत्रको व्यवस्थापन सही हुनुपर्छ, विश्वमा अहिले सडक दुर्घटनामा मृत्यु हुनेको संख्या धेरै छ, धेरै विकसित देशमा पनि यो बढी नै देखिन्छ, सोही कारण डब्लूएचओले पनि यसलाई एकदमै प्राथमिकतामा लिएको देखिन्छ। 

तर सदस्य राष्ट्रहरूले पनि यसको न्यूनीकरणमा राष्ट्रिय नीति तर्जुमा गर्नु आवश्यक देखिन्छ। जस्तो कि सवारी चलाउँदा अपनाइने सुरक्षा सतर्कता आवश्यक छ। हेलमेट लगाउने, सिटबेल्ट लगाउनेजस्ता कुरालाई अनिवार्य गर्नुपर्छ। पश्चिमा मुलुकहरूमा त हेलमेट वा सिट बेल्ट नलगाएको अवस्थामा दुर्घटना हुँदा बीमा वा क्षतिपूर्ति नै पाउँदैन। त्यस किसिमको नीति तर्जुमा गरेमा भने दुर्घटना केही हदसम्म कम हुन्छ। नेपालमा सडक सुरक्षा एकदमै फितलो छ, दिनहुँजसो समाचारमा हामी पढ्न पाउँछौँ। यसलाई नियम बनाएर कार्यान्वयनमा कडाइ गर्नुपर्‍यो। यात्रुहरूलाई सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम गर्नुपर्‍यो। 

सडक सुरक्षाको विषयलाई एउटा संस्कृतिकै रूपमा विकाश गर्नुपर्छ। दुर्घटना हेर्ने हो भने उमेरका हिसाबले युवाहरू धेरै दुर्घटनामा पर्ने गरेका छन्, जबकि परिवार र राष्ट्रमा त्यस उमेरका युवाको योगदान आवश्यक हुन्छ। यस कारण सडक सुरक्षा सम्बन्धी शिक्षा पनि एकदमै आवश्यक छ। 

नेपालमा धेरै दुईपांग्रे सवारी प्रयोग गरिन्छ। सुरक्षाका हिसाबले मोटर बाइक र स्कुटर एकदमै असुरक्षित साधन हो, दुवै जनाले हेलमेट अनिवार्य लगाउनुपर्ने हो। तर एक जनाले मात्रै लगाउने अभ्यास छ। यसमा सुधार आवश्यक छ।


सम्बन्धित सामग्री