बेदकोट– पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा छन्। छाप्रामा खरबुजा राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारि खरबुजा बेच्नेको भिड छ। राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रु यहाँ रोकिएर खरबुजा खरिद गर्ने गर्छन्।
कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा खरबुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका हुन्। वनरा नदीको बगरमा खरबुजा खेती गर्ने उहाँ बर्सेनि राजमार्गमा छाप्रो बनाएर खरबुजा बिक्री गर्दै आएका छन्।
“बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिघा जमिनमा खरबुजा, काक्रा, फर्सी खेती गरेको छु। यसैबाट घरखर्च चलेको छ,” रामकृष्णले भने, “दैनिक तीन/चार हजारको बिक्री हुन्छ।” उनका अनुसार चैतदेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर खरबुजा बिक्री गर्ने गरिन्छ। हाल दैनिक १५/२० क्विन्टल खरबुजा बिक्री भइरहेको छ। मूल्य प्रतिकिलो ५० रुपैयाँ छ।
“गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ। बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ,” उनले भने, “यो सिजनमा राम्रो आम्दानी हुन्छ।” वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा खरबुजा बिक्री गरिरहेको भेटिन्छन्। वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा खरबुजाखेती गरेको उनले बताए।
“आफ्नो बारीमा खरबुजा पाकेको छैन। अरूबाट ३० रुपैयाँ प्रतिकिलो किनेर ५० रुपैयाँमा बेच्दै छौँ,” उनले भने, “केही दिनमा आफ्नै बारीको खरबुजा तयार हुन्छ।” वनरा पुल क्षेत्रमा खरबुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन्। “शुरूमा भारतीयहरूले बगरमा खेती गर्थे। उनीहरूबाटै हामीले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ,” सालिकरामले भने, “अहिले बगरमा भारतीय छैनन्।”
माघदेखि बगरमा खेतीको तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि बिक्रीका लागि बजार ल्याउने गरिन्छ। “अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन। ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै बेच्छौँ,” बासपति रानाले भने, “अरू बेला मजदुरी गरेर घरखर्च जुटाइन्छ।”