Sunday, April 28, 2024

-->

पर्यटकीय हब ठमेल पस्दापस्दै आँखा बिझाउने सञ्चय कोष भवन (भिडियो)

पर्यटकलाई चाहिने र लोभ्याउने हरेक सामान पाइने ‘पर्फेक्ट गन्तव्य’लाई प्रवेशद्वारमै बसेर गिज्याइरहेको सञ्चय कोष भवनको दृश्यले टुरिस्ट गाइडहरूलाई पनि लाजैमर्नु बनाइदिएको छ।

पर्यटकीय हब ठमेल पस्दापस्दै आँखा बिझाउने सञ्चय कोष भवन भिडियो
तस्वीर तथा भिडियो: किसन पाण्डे/उकालो

काठमाडौँ– नेपालमा भित्रने कुल पर्यटकको ८० प्रतिशत काठमाडौँको ठमेल पुग्छन्। पर्यटकीय हब ठमेलको पहिलो प्रवेशविन्दु हो कर्मचारी सञ्चय कोष भवन। पाहुनाको आँखैमा पर्ने यस्ता ठाउँको संरचना सफा र चिटिक्क भइदिए उनीहरूमा पर्ने पहिलो छाप (इम्प्रेसन) राम्रो हुने पर्यटन व्यवसायी तथा गाइड विदुर पन्त बताउँछन्। 

एक दशकभन्दा बढी समय व्यावसायिक टुरिस्ट गाइड भएर काम गरेका पन्त ठमेललाई नेपालको मौलिकदेखि विश्वव्यापी रूपमा हुने पर्यटन गतिविधिको केन्द्र मान्छन्। उनका अनुसार यहाँको ह्यान्डीक्राफ्ट, लोकदोहोरी, थकाली खाना, लाइभ म्युजिक, डान्स क्लबदेखि पर्यटकीय रुचिका अनेक क्रियाकलापहरू ठमेलका छवि उकास्ने चिनारी हुन्। 

यहाँका बाटोमा यत्रतत्र टहलिँदै पाहुनाका लागि चाखपूर्ण जानकारी पस्किन तम्तयार टुरिस्ट गाइडको संख्या एक हजारभन्दा बढी छ। पर्यटकलाई चाहिने र लोभ्याउने हरेक सामान पाइने ‘पर्फेक्ट गन्तव्य’लाई प्रवेशद्वारमै बसेर गिज्याइरहेको सञ्चय कोष भवनको बाहिरी दृश्यले भने गाइडहरूलाई पनि लाजैमर्नु बनाइदिएको छ।

केशर महलबाट पश्चिम हुँदै देब्रेतर्फ त्रिदेवी मन्दिरसँगै छ यो भवन। कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक तथा प्रवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार कोषको आफ्नै लगानीमा २०४२ सालमा यो भवन बनेको हो। भवनको कौसी तथा बरन्डाबाहिर कतै कालो लेउ, कतै तारको गन्जागोल र ठाँउ–ठाउँमा उम्रिएको झारपातले आँखा बिझाउँछन्। 

यसले ठाउँको शोभा र आँखाको चमक फिका बनाएको वास्तविकतालाई प्रवक्ता सुवेदी नकार्दैनन्। यतिबेला भवनको प्रबलीकरण (रेट्रोफिटिङ) र रङरोगनको काम धमाधम भइरहेको छ। दुई महिनायता यी कामले तीव्रता पाएकाले जति सक्दो चाँडै यहाँको दृश्य सफा गरिसक्ने उनको प्रतिबद्धता छ। 

कोषको भवनमा हाल हिमालयन बैंक र अन्य विभिन्न व्यवसायका १८ वटा पसल कवलहरू सञ्चालनमा छन्। आवश्यक वस्तु र सेवाका लागि त्यहाँ पुग्ने पर्यटकलाई पहिले बाहिरी आवरणको कुरूपताले स्वागत गर्छ, त्यसपछि मात्र भित्रको झकिझकाउले सान्त्वना दिन्छ। 

सञ्चय कोषको इतिहास
सैनिकहरूको सेवानिवृत्त जीवनमा आर्थिक राहत पुर्‍याउने उद्देश्यले १९९१ सालमा ‘द्रव्य कोष’को नामले सञ्चय कोष स्थापना भएको थियो। त्यसलाई विस्तार गरी निजामती कर्मचारीका निमित्त २००१ सालमा ‘निजामती प्रोभिडेन्ट फन्ड’को व्यवस्था भयो। त्यसपछि २०१९ भदौ ३१ गते ‘कर्मचारी सञ्चय कोष ऐन, २०१९’ जारी भएसँगै यसले कर्मचारी सञ्चय कोषको स्वरूप लिएको प्रवक्ता सुवेदी बताउँछन्। कोषले नेपाल सरकारको निजामती, जंगी, प्रहरी, शिक्षक, सार्वजनिक संस्था लगायतका संस्थाको सञ्चय कोषको व्यवस्थापन गर्दै आएको छ।

आर्थिक वर्ष २०७९ सम्म आउँदा कोषमा करिब ५ लाख ५५ हजार सञ्चयकर्ताको करिब ४१६ अर्ब सञ्चय कोष र ३ अर्ब निवृत्तिभरण गरी करिब ४५९ अर्बको कुल स्रोतको व्यवस्थापन गर्दै आएको सुवेदीले बताए। ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको कोषको सातै प्रदेशमा विभिन्न ८ स्थानमा शाखा कार्यालय छन्। यसका तीन सेवा केन्द्रमध्ये दुई वटा लगनखेल र सिंहदरबारभित्र छन्। कोषको ठमेलस्थित भवनमा सञ्चयकर्ता कोष विभाग, निवृत्तिभरण कोष विभाग र सूचना प्रविधि विभाग रहेका छन्। 


विस्तृत जानकारी यो भिडियोमा: 

 


सम्बन्धित सामग्री