Saturday, April 27, 2024

-->

यसपालि पनि फैलिन सक्छ डेंगी, यसरी अपनाऊँ सावधानी

गर्मी ठाउँमा मात्र देखा पर्ने विश्वास गरिँदै आएको डेंगीले महामारीको रूप लिँदा अघिल्लो वर्ष काठमाडौँवासीलाई समेत अत्याएको थियो। यस वर्ष संक्रमण फैलिन नदिन रोकथामका उपायतिर लाग्ने बेला भयो।

यसपालि पनि फैलिन सक्छ डेंगी यसरी अपनाऊँ सावधानी
डेंगीको भाइरस सार्ने एडिस एजिप्टाई प्रजातिको लामखुट्टे।

काठमाडौँ– हाँडीगाउँ, भत्केको पुलनजिकै फलफूल व्यवसाय गर्ने ४० वर्षीय रुद्र रेसमी गत वर्ष डेंगी संक्रमणबाट तीन हप्तासम्म ओछ्यान परे। त्यसबेलाको भोगाइबाट पाठ सिकेका उनी अहिले निकै सर्तक छन्। बस्ने ठाउँ वरपर पानी जम्न दिँदैन्न, राति सुत्ने बेला पनि लामखुट्टे धपाउने धुप बाल्छन्। 

त्यसरी सतर्कता अपनाउँदा अपनाउँदै पनि दुई हप्ताअघि उनी ज्वरोले थलिए। त्यसबेला पानी लगातार परिरहेको थियो। उनलाई डेंगीको आशंका भयो। तर, डाक्टरकहाँ जँचाउन भने गएनन्। “यसपटक डाक्टरले भनेअनुसार सिटामोल र फलफूल खाई चार दिन सुरक्षितसँग आराम गरेर निको भएँ,” रेसमी भन्छन्। 

काठमाडौँ, मनमैजुकी ६० वर्षीया रत्नमाया श्रेष्ठले हालै आफू बस्ने कोठामा सेताकाला टाटेपाटे रङका लामखुट्टे देखिन्। गत वर्ष डेंगी संक्रमणले सिकिस्त बिरामी परेर निको भएकी उनी त्यसयता लामखुट्टे देख्यो कि डराइहाल्छिन् र सचेत हुन्छिन्। 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष काठमाडौँ उपत्यकावासी सहित देशभरका करिब ३० हजार व्यक्ति डेंगीसंक्रमित भएका थिए। तीमध्ये ३४ जनाको मृत्यु भयो। विश्व स्वास्थ्य संगठनले चाहिँ गत वर्ष नेपालमा डेंगी संक्रमित २८ हजार १ सय ९ बिरामीमध्ये ३८ जनाको मृत्यु भएको अभिलेख राखेको छ। संगठनले त्यसयता नेपाललाई डेंगीको जोखिमयुक्त मुलुकमा सूचीकृत गरेको छ। 

स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जेठ २१ गते संसदमा यसवर्ष समयमै डेंगीको रोकथाम र नियन्त्रणको लागि सरकारसँग सातबुँदे माग सहितको संकल्प प्रस्ताव दर्ता गरेका थिए। 

संक्रमित बिरामी देखिन थाले 
वैशाखको अन्तिम र जेठको थालनीसँगै शुरू भएको ‘प्रि–मनसुन’का कारण विभिन्न जिल्लाका ३६ जनामा डेंगी संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका किटजन्य रोग विभाग प्रमुख डा. गोर्कण दाहालले जानकारी दिए। गत पुसयता ७२० जनामा डेंगी संक्रमण देखिएको उनले बताए। उनका अनुसार पछिल्ला दुई हप्तायता डेंगीका बिरामी छिटपुट रूपमा अस्पताल आउन थालेका छन्। 

सन् २०२२ को जनवरी १ देखि सेप्टेम्बर २८ सम्म नेपालमा डेंगी संक्रमित बिरामीको संख्या देखाउने विश्व स्वास्थ्य संगठनकाे अभिलेख तालिका।

दुई हप्ताअघि लगातार वर्षा भइरहेको समयमा दैनिक तीन–चार जना डेंगी संक्रमित बिरामी टेकु अस्पतालको आकस्मिक वार्डमा आइपुगेका थिए। उपत्यका बाहिरबाट आएका ती बिरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पतालका एक कर्मचारीले बताए। फाटफुट रूपमा बिरामी देखिनु यसको संक्रमण बढ्न सक्ने संकेत भएको संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन्। 

“डेंगी परीक्षणमा जोड नदिइएकाले पनि उक्त संख्या कम देखिएको हुनसक्छ,” डा. सुवेदीले भने, “तथापि, डेंगी सार्ने लामखुट्टे देखिन थालेको कारण सतर्कता अपनाउनुपर्छ।” दुई हप्ताअघि आफूकहाँ जँचाउन आएका एक बिरामीको रगत परीक्षण गर्दा डेंगी पोजेटिभ देखिएको र त्यसपछि उनको परिवारमा पनि सरेको उनले बताए। 

के भन्छन् विज्ञ?
डेंगी रोगविज्ञ बाबुराम मरासिनी काठमाडौँमा हाल यो रोगको प्रकोप फैलिई नसकेको भए पनि वर्षा शुरू भएसँगै संक्रमण बढ्न सक्ने अनुमान गर्छन्। “डेंगी फैलाउने एडिस एजिप्टाई प्रजातिको लामखुट्टेले सफा पानीमा अण्डा पार्ने गर्छ। हाल वातावरण सुख्खा नै रहेको कारण डेंगी फैलिहाल्ने समय आएको छैन तर सतर्कता जरुरी छ,” उनले थपे। 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन यसवर्ष डेंगीले महामारीको रूप लिने सम्भावना हालसम्म नदेखिएको बताउँछन्। यद्यपि अहिलेकै अवस्था हेरेर ढुक्क हुन भने नसकिने उनको भनाइ छ। “कहिलेकाहीँ पकेट क्षेत्रमा एक्कासि आउटब्रेक भएका उदाहरण पनि छन्,” उनले भने। 

डेंगी नियन्त्रणमा सरकारको भूमिका रोग लागिसकेपछिको ‘प्रतिक्रियात्मक’ नभई फैलनुअघि रोकथामकै चरणदेखि ‘रक्षात्मक’ हुनुपर्ने डा. सुवेदीको सुझाव छ। त्यसका लागि घरभित्र र बाहिर सफा पानी जम्मा हुने ठाउँ खोजेर लामखुट्टे नियन्त्रण र बासस्थान नष्ट गर्न विगतका वर्षहरूमा जस्तै ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाउनुपर्ने डेंगी रोगविज्ञ डा. गोविन्द मरासिनीले सुझाए। 

“जथाभावी खुला छाडिएका गाडीका टायरमा वर्षादको पानी लामो समयसम्म जम्मा भइरहने हुँदा त्यस्ता ठाउँ डेंगी फैलाउने लामखुट्टेका लागि अण्डा पार्ने र संख्या बढाउने उपयुक्त स्थान हुन्छ। त्यसकारण टायर प्रयोगमा उचित व्यवस्थापन आवश्यक छ,” उनले भने। वर्षाद्को पानी जम्मा हुने गरी खुला ठाउँमा टायर राख्न रोकिए मात्र पनि डेंगीको संक्रमणमा ६० प्रतिशतले कमी आउने उनको दाबी छ। 

सिंगापुर, हङकङ लगायतका देशमा यस्ता रोग फैलिन नदिन टायर व्यवस्थापनका लागि छुट्टै ऐनसमेत बनाइएको डा. मरासिनी बताउँछन्। यद्यपि, नेपाल सरकार यस्ता विषयमा त्यति संवेदनशील नभएको उनको गुनासो छ।

यता, सरुवा रोग विशेषज्ञ डा. पुन गत वर्षको डेंगी महामारीका बेला भएका गल्ती दोहोरिन नदिन पूर्वतयारीमै ध्यान दिनुपर्ने बताउँछन्। सरकार तथा सर्वसाधारण मिलेर सर्तकता अपनाउनुपर्ने र विशेषतः स्थानीय तहलाई यसको जिम्मेवारी दिनुपर्ने उनको राय छ। “घरघरमा करेसाबारी छन्। वर्षायाममा पानी जम्ने यस्ता क्षेत्र एडिस लामखुट्टेको अण्डा पार्ने नयाँ स्रोत हुन्। त्यसकारण आममानिसले पनि यस्ता विषयमा हेक्का राख्नुपर्छ,” उनले भने।

“मन्त्रालय तयारी अवस्थामा छ”
डेंगीको सम्भावित महामारी रोकथाममा स्वास्थ तथा जनसंख्या मन्त्रालय रक्षात्मक तवरले लागेको मन्त्रालयका प्रवक्ता समिर अधिकारी बताउँछन्। डेंगी नियन्त्रणका लागि वर्षभरिकै योजना बनिसकेको उनले जानकारी दिए। 

“गत फागुनमै हामीले एक वर्षको योजना बनाएका छौँ। त्यसैअनुसार हरेक स्थानीय तहलाई परिपत्र भइसकेको छ,” प्रवक्ता अधिकारी भन्छन्, “बनेको योजना स्वास्थ्यसँगै गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत सहभागी गराएर संघीय मामिला मन्त्रालयसँगको समन्वयमा कार्यान्वयन गरिँदैछ।”

अघिल्लो वर्ष डेंगी संक्रमण भोगेर यसपालि रोकथामका लागि सतर्क बनेका हाँडीगाउँ, काठमाडौँका रुद्र रेसमी। 

लामखुट्टेको वृद्धि र विकास नियन्त्रण गर्नु योजनाको मुख्य प्राथमिकता रहेको उनले बताए। वर्षादको पानी जम्ने खाल्डाखुल्डी खोजेर डेंगी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्ने, केही दिनसम्म लगातार पानी जम्मा हुने घरभित्रकै भाँडाकुडा लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने वा खाली गर्ने, घर वरपर सरसफाइ गर्ने, फोहोर हुन नदिने, विद्यालयस्तरमा बालबालिकालाई  जनचेतना दिने खालका कार्यक्रमहरू योजनामा समावेश भएको अधिकारी बताउँछन्। 

डेंगी नियन्त्रणका लागि स्थानीय तहमा मुख्य जिम्मेवारी दिई जनप्रतिनिधिमार्फत् घर वरपरको वातावरण सफा राख्न लगाउने, झ्यालढोकामा जाली राख्न र लामो बाहुला भएका कपडा लगाउन प्रोत्साहन गर्ने लगायतका जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको प्रवक्ता अधिकारीले जानकारी दिए। 

टेकु अस्पतालका किटजन्य रोग विभाग प्रमुख डा. गोर्कण दाहालले पनि अस्पतालमा आएका डेंगी संक्रमित बिरामीको ठेगाना पहिचान गरी सम्बन्धित वडा कार्यलयलाई सर्तकता पत्र लेखिरहेको बताए। 

काठमाडौँ महानगरपालिकाको स्वास्थ शाखा प्रमुख रामप्रसाद पौडेलले डेंगी नियन्त्रणको लागि महानगरपालिकामा स्वास्थ्य मन्त्रालयको परिपत्र आएको पुष्टि गरे। यसका लागि गरिने क्रियाकलाप र आवश्यक बजेट प्रस्ताव भइसकेको उनले जानकारी दिए।  

काठमाडौँ महानगरपालिकाका वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार विद्यालयस्तरमा डेंगी नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनको लागि पालिकाबाट पत्राचार भएको छ। त्यसबाहेक वडास्तरका कार्यक्रम तय भईनसकेको र बजेटको विषयमा पनि आगामी साता छलफल हुने उनले बताए। 

वडा नं. ५ का अध्यक्ष विनोद प्रजापति पनि डेंगी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाबाट पत्र आएको बताउँछन्। यसअन्तर्गत वडामा गरिने क्रियाकलाप भने निर्धारण हुन बाँकी रहेको उनले बताए। महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले भने यसबारेमा आफूलाई केही थाहा नभएको जवाफ दिए। 

डेंगी रोग र यसबाट बच्ने उपाय
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग एक्कासि आउने एक प्रकारको भाइरल ज्वरो हो जुन सामान्यतया सात दिनसम्म रहन्छ। त्यसबाहेक टाउको, आँखाको गेडी, ढाड, शरीरका जोर्नी तथा मांसपेशीहरू बेसरी दुख्ने, जिउमा बिबिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, उपचार नपाएमा आन्तरिक रक्तस्राव भई रगत जमेका दागहरू देखा पर्ने र बेहोश हुने यसका लक्षणहरू हुन्। 

गाउँघरमाभन्दा शहरी क्षेत्रमा यसको संक्रमण दर बढी छ। सानातिना पोखरी, खाल्डाखुल्डी र कुनै भाँडोमा लगातार एक हप्तासम्म जम्मा भइरहने सफा पानीमा यो रोग सार्ने लामखुट्टेले फुल पार्छ। वर्षाको पानी जम्ने प्लास्टिक वा टीनका खाली डब्बा, खुला छाडिएका पुराना टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, घरमा राखिएका गमला वा फूलदानी, पानीका खुला ट्यांकी आदि पनि एडिस प्रजातिका लामखुट्टेको गुँड मानिन्छन्।  

गत वर्ष नेपालमा फैलिएको डेंगी संक्रमणबाट प्रभावित जिल्लाहरूको बिरामी संख्याका आधारमा विश्व स्वास्थ्य संगठनले बनाएको नक्सा।

डेंगी सार्ने लामखट्टे हेर्दा आकर्षक देखिन्छ। यो कालो रङको हुन्छ जसको जिउ र खुट्टामा सेता थोप्लाहरू हुन्छन्। विशेषगरी दिउँसो टोक्ने यस लामखुट्टेले औलो सार्ने लामखुट्टेले झैँ फोहोर पानी रुचाउँदैन। विश्व स्वास्थ्य संगठनको वर्गीकरणअनुसार डेंगी भाइरसका चार सेरोटाइपहरू छन्। यीमध्ये एउटाको मात्र संक्रमण छ भने सामान्य ज्वरोपछि आफै निको हुन्छ। तर, एकपछि अर्को सेरोटाइपमा संक्रमण सर्दै गएमा समयमै सही उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्छ ।

डेंगी ज्वरो कम गर्न पारासिटामोल बाहेकका कडा औषधि खान नहुने सम्बन्धित विशेषज्ञ डाक्टरको सल्लाह छ। यसका बिरामीले झोलिला खानेकुरा र तागतिला फलफूल भने प्रशस्त खानुपर्छ । डेंगी निको पार्ने विशेष औषधि वा खोप अहिलेसम्म पत्ता नलागेकाले रोग लागेपछि उपचार गराउनुभन्दा लामखुट्टेको टोकाइबाट जोगिएर संक्रमण रोक्ने उपाय सबैभन्दा बढी प्रभावकारी हुने विश्व स्वास्थ्य संगठनको सल्लाह छ।  

विशेषज्ञहरूका अनुसार लामखुट्टेबाट बच्न सरसफाइ गर्ने, घरभित्र र वरपर भएका पानी जम्न सक्ने खाली भाँडाकुडा हटाउने, फुलदानी, गमला, रेफ्रिजरेटर जस्ता घरेलु सरसामानमा जम्मा भएको पानी हप्तामा कम्तीमा दुई पटक बदल्ने गर्नुपर्छ। पानीको ट्यांकीलाई लामखुट्टे नपस्ने गरी छोपेर राख्ने, एअर कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल थप्ने र जम्मा भएको पानी दिनदिनै फ्याँक्ने, दिउँसो पनि बाहुला भएको वा शरीर ढाक्नेगरी लुगा लगाउने, झ्यालढोकामा जाली राख्ने, सुत्दा अनिवार्य रूपले झुल प्रयोग गर्ने जस्ता उपायबाट पनि डेंगी हुनबाट जोगिन सकिन्छ। 


सम्बन्धित सामग्री