Saturday, May 04, 2024

-->

देशभर लम्पी स्किन रोगको महामारीबाट १० हजार पशुको मुत्यु, सरकारी उदासीनताले किसानलाई दोहोरो चिन्ता

पशुचौपायामा देशभर फैलिएको लम्पी स्किन रोगको महामारीबाट अहिलेसम्म १० हजार पशुचौपाया मरिसके। ७१ जिल्लाका ५०० पालिकामा फैलिइसकेको महामारी रोक्न सरकारले चासोे नदेखाउँदा किसानमा निराशा बढ्दो छ।

देशभर लम्पी स्किन रोगको महामारीबाट १० हजार पशुको मुत्यु सरकारी उदासीनताले  किसानलाई दोहोरो चिन्ता

काठमाडौँ– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का कृष्ण अधिकारीले २०७९ फागुनमा हेटौंडाबाट ९० हजार रुपैयाँमा दुहुनो गाई किने। तर, त्यसको एक महिना नपुग्दै गाईको जिउभरि घाउखटिरा देखिए। अत्यधिक ज्वरो आयो र खान नसक्ने अवस्थामा पुगेर गाई मर्‍यो। 

एक महिनाभित्र अधिकारीले थप दुईवटा दुहुनो गाई गुमाए। दुईमध्ये एउटा गाई ७ महिनाअघि ८५ हजारमा किनेका थिए भने एउटा गाई घरमै हुर्केको र भर्खर ब्याएको पहिलो बेते थियो। “तीनवटै पहिलो बेतका दूध दिने गाई मरे,” अधिकारी भन्छन् “सहकारीबाट ऋण लिएर किनेको थिएँ, ऋण तिरेर नसक्दै गाई मरे। गाई किन्दाको २ लाख ऋण तिर्नै बाँकी छ।” 

दैनिक ३५ लिटर दूध बेच्ने गरेकोमा अहिले घटेर १५ लिटरमा झरेको अधिकारी बताउँछन्। पशु सेवा विभागका अनुसार २०७९ चैतदेखि अहिलेसम्म लम्पी स्किन रोगका कारण देशभर करिव १० हजार गाई, भैंसी र गोरु मरेका छन्। करिब ५ लाख पशुचौपाया प्रभावित भएका छन्। 

विभागका पशुचिकित्सक डा. चन्द्र ढकालका अनुसार लम्पी स्किन रोगबाट संक्रमितमध्ये मृत्यु हुने पशुको संख्या करिब एक प्रतिशत छ। तर, पशुमा रोग लागेपछि त्यसबाट हुने उत्पादन घट्छ। “दूध उत्पादन आधा भन्दा धेरै खट्छ। खटिरा र ज्वरोले थलिएको पशुले कति दूध दिन सक्छ र?” उनी भन्छन्, “हामीले मृत्युको संख्या भन्दा पनि त्यसबाट घट्ने उत्पादनमा ध्यान दिनुपर्छ। १० हजार पशु मर्नु पनि सानो विषय होइन।” 

विशेषज्ञहरूका अनुसार यो रोगबाट संक्रमित भएपछि पशुको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै प्रजनन् र गर्भपतन जस्ता समस्या देखिन्छन्। मकवानपुरगढीमा पशुपालन गर्ने सबैजसो किसानका गोठमा लम्पी स्किन रोगबाट गाईगोरु मरेको मकवानपुरगढी गाउँपालिकाका पशु तथा मत्स्य विकास शाखा प्रमुख सत्यनारायण साह बताउँछन्। “एकै घरमा दुई÷तीन वटासम्म दुहुना गाईभैँसी गुमाउनेको संख्या २० भन्दा बढी छ,” उनी भन्छन्।  

साहका अनुसार गाउँपालिकामा पछिल्लो दुई महिनामा ११५ पशुचौपायाको मृत्यु भयो। अन्य ३ हजार २ सय चौपाया रोगले बिरामी परेका छन्। “५० हजार रुपैयाँ मूल्य पर्ने गाईगोरु मर्नु एउटा किसानका लागि ठूलो क्षति हो,” साह भन्छन् “एकदुई पशु मर्दा पनि किसानको थाप्लोमा बोक्न नसक्ने ऋणको भारी थपिन्छ। उनीहरूको आर्थिक चक्र बिग्रिन्छ।” 

पशुचिकित्सक डा. ढकालका अनुसार पशुमा १०२ डिग्री फरेनाहाइटभन्दा माथि ज्वरो आउनु तथा छालामा १ देखि ५ सेन्टिमिटरसम्मको साह्रो र गोलो गिर्खाहरू देखिएर घाउ बन्नु लम्पी स्किन रोगका मुख्य लक्षण हुन्। थुतुनो र नाकभित्र घाउ देखिनु, र्‍याल काढ्नु, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउनु पनि यस रोगका लक्षण हुन्। 

लम्पी स्किन रोगको महामारीबाट तीन दुहुना गाई गुमाएका मकवानपुरगढी गाउँपालिका–३, मकवानपुरका पशुपालक किसान हरि कँडेल।

देशभर महामारीका रूपमा फैलिइसक्दा पनि लम्पी स्किन रोगको नियन्त्रण र रोकथाममा सरकार उदासीन रहेको भन्दै किसानहरू चिन्तित भएका छन्। सम्भावित महामारीको बारेमा पूर्व तयारी गर्नुपर्ने रोगप्रभावित क्षेत्रका किसानको माग छ। 

अन्य उपकरण र यान्त्रिक सामग्री वितरण गर्नुको सट्टा गाई गुमाएका किसानलाई राहतस्वरूप सरकारले गाई नै उपलब्ध गराउनुपर्ने उनीहरू बताउँछन्। यस रोगबाट तीनवटा ब्याउने गाई गुमाएका हरिप्रसाद कँडेल भन्छन् “गाई नै नभएपछि उपकरण र यन्त्रको के काम? त्यसैले किसानलाई गाई नै दिए राहत हुन्थ्यो।”

नेपालका लागि नयाँ रोग
लम्पी स्किन रोग नेपालका लागि नयाँ हो। यो रोग २०७७ साउनमा पहिलो पटक सुन्दर हरैचा नगरपालिका–११, मोरङका पशुचौपायामा देखिएको थियो। 

प्रयोगशालामा लम्पी स्किन रोग पुष्टि भएपछि पशु सेवा विभागले थप सुनिश्चित गर्न रोगी पशुका रिपोर्ट र नमूना परीक्षणका लागि अस्ट्रियाको भियन्नास्थित विश्व पशु स्वास्थ्य संगठनबाट मान्यताप्राप्त प्रयोगशालामा पठाएको थियो। त्यहाँको रिपोर्टबाट पनि लम्पी स्किन प्रमाणित भएपछि २०७७ साउनमा विश्व पशु स्वास्थ्य संगठनले लम्पी स्किन रोग फैलिएका मुलुकहरूको सूचीमा नेपाललाई सूचीबद्ध गरेको थियो।

२०७७ र २०७८ सालको गर्मीको समयमा देशका धेरै ठाउँमा यो रोग देखिएको पशु सेवा विभागका वरिष्ठ पशुचिकित्सक डा. चन्द्र ढकाल बताउँछन्। “त्यतिबेला धेरै ठाउँमा देखिए पनि पशुचौपाया प्रभावित भएका थिएनन्,” उनी भन्छन् “यसपटक गत चैतदेखि अहिलेसम्मको दुई महिनामै यो रोग ७१ जिल्लाको ५०० पालिकामा पालिएका पशु चौपायामा देखिइसकेको छ।” 

विभागका अनुसार मनाङ, मुस्ताङ सहितका हिमाली जिल्ला बाहेकका सबै ठाउँमा लम्पी स्किन रोगको प्रभाव देखिएको छ। 

गर्मी मौसममा टोक्ने झिँगा, डाँस, लामाखुट्टे, किर्ना जस्ता किराहरूको टोकाइबाट यो रोग सर्ने गर्छ। त्यसैगरी संक्रमित गाईबस्तुको ओसारपसार र सामुदायिक चरन तथा दानापानी खुवाउने ठाउँ यो रोग सार्ने अन्य माध्यम हुन््। 

कहाँबाट आयो? 
नेपालमा भारतबाट सरेको लम्पी स्किन रोग पहिलो पटक सन् १९२९ मा जाम्बियामा देखिएको थियो। त्यसपछि सन् १९४४ तिर जिम्बावे, दक्षिण अफ्रिका र बोत्सवानाका ८० लाख पशुचौपाया प्रभावित भएका थिए। त्यसपछि केन्या, सुडान, तान्जानिया, सोमालिया, क्यामरुन लगायतका दक्षिण अफ्रिकी देशमा यो रोग फैलिएको थियो।

लम्पी स्किन रोग दक्षिण अफ्रिकाको रैथाने रोगका रूपमा देखिएको पशुचिकित्सक डा. ढकाल बताउँछन्। अफ्रिकाभन्दा बाहिर १९८९ मा पहिलो पटक इजरायलमा पनि देखिएको यो रोग इजरायल हुँदै युरोप र एसियाका देशमा फैलिएको हो। 

भारतीय पत्रिका द हिन्दूका अनुसार सन् २०१९ देखि यो रोग चीन, बंगलादेश, भियतनाम, थाइल्यान्ड र भारतमा देखिएको थियो। उक्त पत्रिकाले संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ) लाई उद्धृत गर्दै लेखेअनुसार सन् २०१९ र २०२० मा दक्षिण एसिया र दक्षिण पूर्वी एसियामा मात्र लम्पी स्किनका कारण प्रत्यक्ष रूपमा १.४५ बिलियन डलर अर्थात् झन्डै दुई खर्ब रुपैयाँ बराबरको नोक्सान भएको थियो। 

नेपालमा यस रोगबाट अहिलेसम्म के कति पशुधनको कति क्षति भयो त्यसको कुनै लेखाजोखा छैन। क्षतिको मूल्यांकन गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले शुरू गरेको छ। 

विभिन्न रिपोर्टलाई उद्धृत गर्दै भारतीय पत्रिकामा लेखिएअनुसार त्यहाँका १९७ जिल्लामा लम्पी स्किन रोगबाट १६ लाख पशुचौपाया प्रभावित भएकोमा सन् २०२२ मा मात्र ७५ हजार पशु चौपायको मृत्यु भएको थियो। त्यसमध्ये ५० हजार गाई थिए।

गाईभैंसी पालनमा विश्वमै अग्रणी रहेको भारतमा बार्षिक २० करोड टनभन्दा बढी दूध उत्पादन हुन्छ। लम्पी स्किन रोगको प्रभाव बढेपछि भने दूधको उत्पादनमा चिन्ताजनक ह्रास देखिएका विवरणहरू सार्वजनिक भएका छन्। रोगबाट प्रभावित राजस्थानमा मात्र दैनिक ३ देखि छ लाख लिटर दूध उत्पादन घटेको खबरहरूमा जनाइएका छन्। 


सम्बन्धित सामग्री