Thursday, May 09, 2024

-->

किटो, एट्किन र पेलिओ डाइट मुटुका लागि बन्न सक्छ खतरा

अमेरिकन हार्ट एसोशिएसनले चर्चित डाइट प्लानबारे गरेको अध्ययनले किटो, एट्किन र पेलिओ डाइट गर्ने अधिकांशमा मुटुसम्बन्धी समस्या देखा पर्ने जनाएकाे छ। साथै, पोषणबारेका गलत भ्रम चिर्न आवश्यक रहेको बताएको छ।

किटो एट्किन र पेलिओ डाइट मुटुका लागि बन्न सक्छ खतरा
तस्वीर : फ्रिपिक डट्कम

मोटोपनले शारीरिक सुन्दरता मात्रै घटाउँदैन, शरीरमा रोगको जोखिम पनि बढाउँछ। साथै, व्यक्तित्वको विषय पनि शारीरिक सुन्दरतासँग जोडिएर आउँछ। सन्तुलित आहार, हरियो सागपात, फलफूल र शारीरिक व्यायामले शरीरलाई स्वस्थ र सन्तुलित राख्न सकिन्छ भन्ने ज्ञात हुँदाहुँदै व्यस्त र अव्यवस्थित जीवनशैलीका कारण स्वास्थ्यमा ध्यान दिन नसक्दा शरीरको सन्तुलन गुम्छ र मोटोपन बढ्दै जान्छ। यस्तो अवस्थामा मानिसले शरीर र स्वास्थ्यलाई सन्तुलितमा राख्न अनेक प्रयत्न गर्ने गर्छन्। मानिसहरू शरीरको मोटोपन छिटोभन्दा छिटो घटाउन भन्दै जिममा घण्टौँ मिहिनेत गर्छन्, डाइटिङदेखि विभिन्न थरिका औषधिसमेत सेवन गर्ने गर्छन्।

छोटो समयमै मोटोपना घटाउन र शरीर सन्तुलनमा ल्याउने महत्त्वाकांक्षासहित यसका परिणामबारे बेवास्ता गर्दै विभिन्न डाइट प्लान अपनाउँछन्। र, यी प्लानहरूले स्वास्थ्यमा छोटो समयका लागि लाभ देखिए तापनि कालान्तरमा हानि पुर्‍याउँछन् भन्ने विषयमा विभिन्न अध्ययन प्रतिवेदन सार्वजनिक भएका छन्।

पछिल्लो समय विश्वव्यापी चर्चामा रहेको किटोजेनिक डाइट यसलाई किटो डाइट पनि भनिन्छ, जसको मान्यताअनुसार हाम्रो खानामा कूल कार्बोहाइड्रेटको उपभोगको मात्रा दैनिक औसतमा ५० ग्रामसम्म र ज्यादै न्युन २० ग्रामसम्म पनि घटाउन सकिन्छ। प्रायः मोटापन घटाउन मानिसहरूले किटो डाइट प्लान प्रयोग गर्दै आएका छन्। 

अमेरिकाको मायो क्लिनिकका डाक्टर रस्सेल मोर्स वील्डरको अनुसन्धानले किटो डाइट पत्ता लागेको थियो। खानामा कार्बोहाइड्रेड कम गरी र प्रोटिनलाई जोड दिने गर्छ, जसबाट डाइटमा अत्यधिक चिल्लो पदार्थ (फ्याट) उत्पादन भई रगतमा केटोन बडिज उत्पादन गराउने डाइट प्लानलाई किटोजेनिक भनेर चिनिन्छ।

यसै योजनामा खानाको मात्रा मिलाएर कतिपयले मोटो छोटो अवधिमै धेरै तौल घटाएका छन्। अरूलाई पनि यसैअनुसार खानाको तालिका मिलाउन सुझाव दिने गरेका छन्। तर किटो डाइट गर्दा न्यून रक्तचाप, मिर्गौलामा पथरी, कब्जियत र पोषक तत्त्वको कमी र मुटुसम्बन्धी समस्याको जोखिम बढ्ने चर्चा हुँदै आएको छ। यस्तै प्रकृतिका अन्य डाइट प्लान पनि प्रयोगमा छन्।

हालै अमेरिकन हार्ट एसोशिएसनले मानिसले अपनाइरहेका चर्चित डाइट प्लानहरू मुटुको समस्याका लागि राम्रो र नराम्रो भन्ने विषय तयार गरेको एक अध्ययन प्रतिवेदनले किटो, एट्किन र पेलिओ डाइट गर्ने अधिकांशमा मुटुसम्बन्धी समस्या देखा पर्ने बताएको छ। साथै, पछिल्लो समय टिकटक, इन्स्टाग्राम, ट्विटर, ब्लग, डाइट पुस्तकहरू जताततै छरिएका पोषणबारेका गलत सूचना र भ्रम चिर्न आवश्यक रहेको बताइएको छ।

एसोशिएसनको स्वास्थ्य निर्देशिकाले पनि मुटु रोगबाट बच्न फलफूल, हरियो सागपात अत्यधिक मात्राका खाना सुझाएको छ। सामाजिक सञ्जालमा पोषणबारेका भ्रामक सूचना चिन्ताजनक तहमा फैलिरहेको पोषणविद् एवं स्ट्यानफोर्ड प्रिभेन्सन रिसर्च सेन्टरका निर्देशक क्रिस्टोफर डि गार्डनेर बताउँछन्। 

“आम मानिस, अधिकांश स्वास्थ्यकर्मीहरू मुटु र स्वस्थ खानाबारे दुविधामा छन्। अधिकांशले विभिन्न डाइट प्यानको महत्त्वपूर्ण विशेषताको मूल्यांकन गर्ने प्रशिक्षण र समय नपाएको महसुस गर्छन्,” गार्डनेर भन्छन्,  “प्रतिवेदनले डाइटलाई कसरी पछ्याउन सकिन्छ भन्नेमा जोड दिन्छ। कुनै मानिसले कसरी डाइट फलो गर्छन् र कसरी व्याख्या गर्छन् भन्ने होइन। जस्तो कि शाकाहारी मानिसले बिहानको खाजामा मासुको प्रयोग नगरी कोका कोला पिउँछन्, आलु चिप्स खान्छन् र म्याकडोनल्डको एग म्याकमफिन खान्छन्। यो शाकाहारी डाइट हो तर स्वस्थ मुटुका लागि शाकाहारी डाइट भने होइन।”

पोषणविद्, मुटुरोग विशेषज्ञ, डाइटिसियन र अन्य स्वास्थ्य विज्ञहरूको टोलीले विभिन्न डाइट प्लानको विश्लेषण गरेर तयार पारेको यो प्रतिवेदन बिहीबार जर्नल सर्कुलेसनमा सार्वजनिक गरिएको थियो।

उनीहरूले सम्बन्धित डाइट प्लान स्वास्थ्य र स्वस्थ खानासँग कति अन्तरसम्बन्धित छ भन्ने मूल्यांकन गरेका थिए। साथै, व्यक्तिगत छनोट, सांस्कृतिक र एंव आर्थिक रूपले सबैको पहुँचमा छ/छैन केलाएका थिए। अध्ययन टोलीले डाइटमा केबल नुन, चिनी, प्रोसेस्ड तथा मैदाजन्य खानेकुरा सीमित गर्न सुझाएका छन्। सफ्ट ड्रिंक्स, ह्वाइट ब्रेड, पास्ता, बिस्कुट, केक, पेस्ट्रिजका साथै प्रशोधित मासुका परिकार हट डग, ससेस र कोल्ड नट्स नखान सुझाएका छन्। साथै, मद्यपान नखानेलाई शुरू नै नगर्न र खानेलाई पनि सीमित गर्न सुझाएका छन्।

सामाजिक सञ्जालहरूमा चर्चा गरिनेमा अधिकांश डाइट प्लानमध्ये किटोजेनिक, पेलिओ र एट्किन्स डाइट प्लान रहेको पाइएको छ। यस्ता डाइट प्लान अपनाउँदा मानिसले कार्बोहाइड्रेडको दैनिक मात्रा केबल १० प्रतिशतभन्दा कम लिने गरेको पाइएको छ। अधिकांश डाइट तौल घटाउन उपयोगी हुने भन्दै सेलिब्रिटीहरूले प्रयोजन गर्ने गरेको देखिन्छ। 

न्युयोर्क विश्वविद्यालयकी पोषणविद् प्रोफेसर लिस योङ भन्छिन्, “अहिले मान्छेहरू कार्ब फोबिक छन्, कार्ब गलत हो भनेर इन्स्ग्राममा पनि देख्न पाइन्छ। तर यो गलत सूचना हो। फलफूल, तरकारी, सम्पूर्ण अनाज हाम्रा लागि लाभदायी र स्वस्थ कार्बहरू हुन्। जुन एक स्वस्थ डाइटका लागि महत्त्वपूर्ण छ।”

सार्वजनिक प्रतिवेदनमा किटो र एट्किन डाइटका फाइदा उल्लेख गर्दै यसका गलत अभ्यासबारे पनि चर्चा गरेको छ। किटो प्लानमा चिनीजन्य खानेकुरा, रिफाइन्ड खानेकुरा र अन्नका परिकार खान प्रतिबन्ध गरिन्छ। शरीरका लागि आवश्यक नन स्टार्ची तरकारीहरूजस्तै ब्रोकली, कुरिलो, सागपात र काउलीको उपभोग गर्न प्रेरित गर्छ। तर यी डाइटमा गेडागुडी, स्टार्ची तरकारी, सम्पूर्ण अन्न र फलफूलसहित एसोशिएसनको डाइटरी निर्देशिकाले आवश्यक भनेका अधिकांश स्वथ्य कार्बहरूमा पनि सीमित गरिएको प्रतिवेदनलाई उद्धृत गर्दै द वासिंटन पोस्टले लेखेको छ।

न्युन कार्ब डाइट तौल घटाउन र मेटाबोलिक स्वास्थ्य सुधारमा उपयोगी हुने केही अध्ययनले देखाएका छन्। तर हार्ट एसोशिएसनको प्रतिवेदनले यस्ता सुधारहरू केबल छोटो समयका लागि हुने, पछि शरीरमा एडीएल कोलेस्ट्रोलको मात्रा बढ्ने र मुटु रोगको जोखिम उच्च हुने औँल्याएको छ।

प्रतिवेदनले यस्तै समस्या पेलिओ डाइटमा समेत देखाएको छ। पेलिओ डाइटले अनाज, वनस्पति तेल, अधिकांश दुग्धजन्य पदार्थ, बदाम, सोयबिन्सजस्ता खानेकुराको उपभोग नगर्न सुझाउँछ। यो डाइटको सिद्धान्त हाम्रा शिकारी पुर्खाले तत्कालीन समयमा उपभोग गरेका फलफूल, मासु, अण्डा, हर्बल चिया, अन्नका बिज र मह खान दिनु भन्ने हो। 

यस डाइट प्लानमा अनाज र आधुनिक कृषि उपजका खाद्यान्न खान रोक लगाइन्छ। जसका कारण शरीरका लागि आवश्यक भिटामिन डी, क्याल्सियम, फाइबर मिनरल र वनस्पतिजन्य प्रोटिनहरू अभाव हुँदा विभिन्न समस्या देखा पर्ने बताइन्छ। साथै, पेलिओ डाइट गर्ने मानिसमा मुटुसम्बन्धी रोगको खतरा हुने पनि अध्ययनले देखाएका छन्।


सम्बन्धित सामग्री