Sunday, April 28, 2024

-->

नियात्रा
खुलेको गगन, हाँसेको पुङ्गेन

भनिन्छ– तालिममा धेरै पसिना बगाए लडाइँमा उति रगत बगाउन पर्दैन। ल्हार्के ला पार गर्नु भनेको पनि त लडाइँ नै हो। यतिबेला हामी तालिमकै चरणमा छौँ।

खुलेको गगन हाँसेको पुङ्गेन

घडीको सुईले लतारिरहेको भान हुन्छ बिहानलाई। 

कोठाबाट बाहिर निस्कँदा बालसूर्यले महिमित अभिवादन गरिरहेथ्यो पुङ्गेनलाई। शनैःशनैः स्यालातर्फ अगाडि बढ्छ, उज्यालो प्रकाशको पुञ्ज। दुरुस्तै लजाएकी युवतीझैँ लाग्छ पुङ्गेन। पुङ्गेनझैँ लाग्छ– हिमालचुली, ङादी र नाइके पिकको भाव र भङ्गिमा। अद्भुत सौन्दर्य बिहानीको। मोहक दृश्य प्रकृतिको। अविस्मरणीय पल स्यालाको।

स्यालाको यती होटलबाट निस्कँदा बिहानको साढे नौ बजिसक्छ।

हाम्रो बिदाइका लागि गेटबाहिरसम्मै आउँछन् दावा।

“ल राम्ररी जानू, फेरि नि आउनू है!” स–सम्मान हात मिलाउँछन् उनी।

अतिथि सत्कार व्यवसायमा स्वागतसरी महत्त्वपूर्ण हुन्छ बिदाइ। आफ्नो होटलमा बसेका पाहुनाहरूको समयलाई अविस्मरणीय बनाउन निपुण छन् दावा। अनुकरणीय लाग्छ उनको आगन्तुकप्रतिको आदरभावको कायदा।

सामाको डोरेटोले डोर्‍याउँछ हामीलाई। 

असाध्यै स्वादिष्ट लागिरहेछ, घामको न्यानो। बिहानी नौ बजेसम्मको घामले त शरीरमा भिटामिन ‘डी’ उत्पादन गर्न मद्दत गर्छ क्यार। घरमा हुँदा घाम तापेर बस्ने मेलोमेसो मिलिरहँदैन। बरु पदयात्राकै बेलामा मनग्य भिटामिन ‘डी’ प्राप्त गर्छु म। 

चउरमा फुलिबसेका बुकी फूलहरूले हाम्रै स्वागत गरिरहेका छन्। उन्नाइसौँ शताब्दीको अन्त्यतिर फ्रान्सेली न्यूरोलोजिस्ट गियोम दुसेनले पत्ता लगाएका थिए– जब हामीलाई कुनै कुराले साँच्चिकै आनन्द दिन्छ, तब हाम्रो ओठ र आँखाले सहज रूपमा मुस्कान छाड्छन्। आँखा वरपरका मांसपेशीहरू वास्तविक खुशी प्रदर्शन गर्दै खुम्चिन्छन्। तसर्थ, यही निष्कपट मुस्कानलाई ‘दुसेन मुस्कान’ भनेर भनिन्छ। लेकाली फूलहरूको सौन्दर्यले ममा पनि ‘दुसेन मुस्कान’ खुल्छ।

रातको चिसोले कठ्याङ्ग्रिएको छ स्यालाको धरा। चर्‍यापचर्‍याप आवाज आइरहेछ जुत्ताको जिब्रीबाट। घामको कोमल स्पर्शमा क्रमशः द्रवीभूत हुँदैछ धूपी र सल्लाका पातमा बसेको तुसारो। खस्रुका पातबाट तपतपी तप्किरहेका छन्, मोतीका दानाजस्ता शीतका थोपा। अनायासै सोच्छु– शीतको थोपा जस्तै होइन र मान्छेको जीवन? कुन बेला भुईंमा तप्किने हो के ठेगान! 

स्याला छाडेपछि आउने कानीमानेबाट छिरेपछिको गोरेटोले जंगल प्रवेश गराउँछ। नाम्रुङदेखि यता भने सहज बाटो हिँडिरहेका छौँ। पहिलो तीन दिनको चुनौतीपूर्ण गोरेटो सम्झँदा धन्न हिँडेछु भनझैँ लागिरहेछ। 

जय भन्छन्– “हाम्रा लागि सकस भनेको अब ल्हार्के ला चढ्ने दिन मात्र हो।” 

भनिन्छ– तालिममा धेरै पसिना बगाए लडाइँमा उति रगत बगाउन पर्दैन। ल्हार्के ला पार गर्नु भनेको पनि त लडाइँ नै हो। यतिबेला हामी तालिमकै चरणमा छौँ। खलखली पसिना बगाइरहेकै त छौँ। हेरौँ, के हुन्छ!

कदाचित् ल्हार्के ला पार गर्न नसकेर यही बाटो फर्कनु पर्‍यो भने....! फेरि केके तरङ्ग उठ्छन् मनमा। 

चञ्चल बतास घरी मेरो कपालसित खेल्न आउँछ, घरी गुराँसको हाँगासित ठुम्का लगाउन पुग्छ। त्यही मौकामा खस्रुका पातहरू पनि कुर्कुरे बैँसको फुर्ती लगाइरहेका छन्। बतासको सुस्केरामा वनस्पतिहरूको चाल देख्दा प्रकृतिले ‘सेब्रुनाच’को सामूहिक नृत्यको कोरियोग्राफी गरेझैँ प्रतीत हुन्छ। मलाई पनि आनन्द आउँछ वायुसितको प्रेमिल स्पर्श। 

केके देखिन्छन् केके! 

कुनै वनस्पति हरिया त कुनै पात झरेर खङ्ग्रङ्ग सुकेका। काँक्रोलाई हालेको थाँक्रो जस्तै। 

हिमाल र पहाडलाई देख्दा विभिन्न खाले काल्पनिक बिम्ब आउँछन् मेरो मन मस्तिष्कमा।

सेताम्मे हिमाल– सेतै घोडा जस्ता। खैरा पहाड– पिठ्यूँमा भारी बोकेका खिरिला खच्चर जस्ता। पर एउटा तृणहीन पहाड देख्छु। त्यो चाहिँ उग्राइ बसेको चौँरीजस्तै लाग्छ। 

अस्थिपञ्जर मात्र देखिन्छ खुरिखन्ड पहाडको। हिउँले पोतिएको पहाडको चिल्लो गालाको सौन्दर्यको निखार जब घामले लुट्छ, तब बनाइदिन्छ उजाडउजाड। फेरि घामले नै बेरिदिन्छ पहाडलाई हरियालीको वस्त्र। घामले नै बनाउँदो रहेछ सेतोलाई कालो। घामले नै गर्दो रहेछ धेरै कुरा। 

मुजा परेको धर्तीको पत्रपत्र टेक्दै जाँदा स्वागत गर्छ एउटा फाँटिलो भूसतहले। पर देखिने नाइके पिक र ल्हार्के भन्ज्याङ औँल्याउँछन् राम र जय। 

“ऊ त्यही हो सामागाउँ,” जानकारी गराउँछन् जय।

त्यसपछि झुल्कन्छ कानीमाने। त्यहीँबाट देखिन्छ राता र निला छानाले छोपिएका फराकिलो बस्ती। 

पहिले आउँछ एउटा बस्ती। सामागाउँकै क्षेत्र। स्थानीय भाषामा सामालाई ‘रो’ भनिँदो रहेछ। यही बस्ती टेक्दै हाम्रो अप्रोच–मार्च सामातर्फ अघि बढिरहेछ। 

घुमाउने मानेसहितको एउटा लामो मानेवाल भेटिन्छ। 

षडाक्षरी मन्त्र जप्दै आदर, भक्ति र श्रद्धाका साथ माने घुमाउँछन् एक स्थानीय ज्येष्ठ नागरिक। उनकै अनुकरण गर्छु म। माने घुमाउँदा हृदयचक्र खुल्छ र शान्तिको अनुभूति हुन्छ। मनैदेखि माने घुमाउँदा सकारात्मक ऊर्जा प्रवाहित भएको अनुभूत हुन्छ मलाई। 

सानासाना ढुंगाले बनेका घर छन्। भित्तामा गोबरका थाप्रा टाँसिएका। दाउराको विकल्प हो, गुइँठा। झरिलो हुन्छ गुइँठाको आगो। मान्छेहरूले युगौँसम्म छ्वाली बाले। दाउरा र गुइँठा बाले। हाम्रै पहाडतिर पनि छ्वाली र गुइँठा बालेको याद छ मलाई। स्टोभ त शहरकाले मात्र बाल्थे। अचेल त जताततै ग्याँसको प्रयोग हुन्छ। हिमाली भेगमा गुइँठाले नै छुट्याउँछ हुनेखाने र हुँदाखाने वर्ग। 

गरिबका लागि त गुइँठा पनि कहाँ सजिलो छ र! ऊसँग चौँरी हुनुपर्छ र चौँरीलाई घाँस खुवाउनुपर्छ। चौँरीले गोब्य्राउनुपर्छ र गोबरलाई सुकाएपछि मात्र बन्छ– गुइँठा। धनीहरू आगोको रापबाट विद्युतीय तापसम्म पुगिसके। यही ठाउँका गरिबहरूलाई गुइँठाबाट मुक्त गराउन नसक्नु राज्यको गैरजिम्मवारीपन नै हो भन्ठान्छु म।

सामाको मध्यभागमा पुग्दा तीन जना केटा भेटिन्छन्। चिम्सा आँखा। पटपटी फुटेका हात। च्यापुसम्मै सिँगान कटकटिएको। स्याउ जस्ता राता गाला। सबैको विशेषता उस्तै।

उनैबाट ‘नमस्ते’को अभिवादन पाउँछौँ हामी।

“तपाईंहरूको नाम के हो?” सोध्छु।

“छेवाङ रिदुप।” पहिलोको जवाफ।

“उर्गेन नोर्बु लामा।” दोस्रोको।

“सोनाम छिरिङ लामा।” तेस्रोको।

“स्कुल जान लागेको हो?”

“होइन।”

“कहाँ त?”

“खेल्न।”

“स्कुल जानु पर्दैन?”

“पर्दैन।” 

“कहाँसम्म जाने?”

“खोइ!”

खेल्ने भनेको बालवयमै हो। 

उनीहरूलाई देख्दा बालवयमा फर्कन्छु म। साथीहरूसँग यसरी नै खेल्दै हिँड्थेँ आफैँ पनि। खेल्दाखेल्दै कहिले तादीबगर, कहिले गंगटे त कहिले माथिल्लो सेरासम्म पुग्थ्यौँ। जब भोक लाग्थ्यो, तब मात्र सम्झना हुन्थ्यो घरको।

‘शोक न सुर्ता भोक न भकारी’ भने जस्तै थियो मेरो बालवय।

हठात् गुनगुनाउन थाल्छु रचनाकार/संगीतकार वसन्त सापकोटा र गायिका समीक्षा अधिकारीको गीत–
...फेरि कहाँ आउँछ र घुमेर
यो बालापनको उमेर...

०००

परम्परागत घरहरूमा नजर पुग्छन् मेरा। 

ढुंगाको गारो। ढुंगाकै छाना। बाहिरबाटै भर्‍याङ हालिएको। काठको समुचित प्रयोग। सानो र चिटिक्क परेको। एकरूपता देखिन्छ, पुराना घरहरूमा। भुइँतला चौँरीका लागि। माथिल्लो तला मान्छेका लागि। हिउँदका बेला बाक्लो हिउँ पर्ने यथार्थलाई बुझेर डिजाइन गरिएको होला भन्ठान्छु म। 

एकालाप गर्दा गर्दै पुगियो प्रहरी चौकी सामागाउँ।

सामाको एउटा सानो घरमा छ राज्यको उपस्थिति। राज्य भनेको जनसंख्या, भूगोल, सार्वभौमसत्ता र सरकार हो। सरकारकै एउटा सशक्त निकाय हो– प्रहरी प्रशासन। छ जना  सुरक्षाकर्मी घाममा बसेर बिहानी भोजन गरिरहेछन्। यति सशक्त निकायमा छ जना मात्र देखिनुले अचम्मित तुल्याउँछ मलाई। 

जयले विदेशीका नाम दर्ता गराउन पर्खंदै गर्दा उनीहरूसँग संवाद गर्छु म।

“तपाईंहरू सरुवा भएर यहाँ आएपछि कति समय बस्नुपर्छ?”

“छ महिना। त्यसपछि जिल्लाले खटाएको ठाउँमा जानुपर्छ।”

“कति जनाको दरबन्दी हो यहाँ।”    

“सत्र जनाको।”

“सबै जना छन् त यहाँ?”

“छैन नि!”

समाज विरोधी व्यवहार रोक्नु परे वा सामुदायिक सुरक्षा व्यवस्थापन गर्नु परे वा कुनै भवितव्य आइपरे छ जनाले के गर्लान्! सोधूँ कि जस्तो लागेको लाग्छ। तर सोधिनँ।

बरु सोध्छु– “दरबन्दीअनुसारको संख्या नभएको चाहिँ किन होला?”

“जाडो छउन्जेल यस्तै हो। त्यसैले हामी छ जना मात्र छौँ। अर्को कारण के हो भने– शहर बजारमा जमेर बसेकाहरू दुर्गममा आउन मान्दैनन्। यहाँको सेवा सुविधा राम्रो हुँदैन। रासन सुविधा छ भन्नु मात्र हो। यहाँको महँगीले गर्दा टार्न धौधौ हुन्छ। सोचेजस्तो हुन्न।” यथार्थ बताउँछन् एक प्रहरी  जवान। 

ठाउँमा आफ्नो मान्छे हुनु र नहुनुमा पनि फरक पर्छ। निम्सरा प्रहरीहरूले मात्र जहाँ तोकियो त्यहीँ जानुपर्छ नेपालमा। उनीसँगको संवादमा यही भाव बुझ्छु म। 

‘महिला सशक्तीकरण नै विकासको पूर्वाधार हो, आमा समूह’ लेखिएको पाटीमा नजर ठोक्किन्छ मेरो। 

कति सुन्दर नारा!

सशक्तीकरण भनेको महिलाहरूलाई आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा समावेश गराउँदै जिम्मेवार बनाउनु हो ताकि– उनीहरू आफ्ना हक र अधिकारको सुरक्षा गर्न सक्षम होऊन्। लाटो भाषामा मैले बुझेको यति नै हो।

म सामागाउँका महिलाहरूमा आत्म–मूल्यको भावना र निर्णय क्षमता अभिवृद्धि होस् भन्ने कामना गर्छु। यति नै बेला मेरो आफ्नै गाउँका महिलाहरू सम्झन्छु। घरका पुरुषले जुवातास खेलेको ठाउँसम्म पुगेर कान समाउन सक्ने क्षमता अभिवृद्धि भएको छ उनीहरूमा।

महिला सशक्तीकरणको उपादेयता र अभ्यास यति मात्र हो त? के नेपालमा महिला सशक्तीकरणको अभ्यास सही ढङ्गले भएको छ त? के हामी पुरुष सङ्कुचित भावनाबाट माथि उठ्न सकेका छौँ त? के हामीले प्राकृतिक कुराहरूलाई अस्वीकार गर्न सकेका छौँ त? 

मनमा कुरा खेलाउँदै अघि बढ्दा एउटा भव्य माने, कानीमाने र मानेवाल उभिएको ठाउँमा पुगिन्छ।

सामागाउँ आजको हाम्रो गन्तव्य। माउन्ट मनासलु होटल भित्र छिर्छौं हामी। होटलको छतबाट सामुन्नेमा देखिन्छ पुङ्गेनको सग्लो काया। 
०००

खुल्ला आकाश, मुसुक्क पुङ्गेन। 

आहा, क्या सुन्दर!

पुङ्गेनकै सामुन्नेमा छ ङादी पिक। काठमाडौँको पशुपति अगाडि बसेको बसाहा जस्तै पो लाग्छ नन्दी पिक।

पहाडको धारमा कोरिएको रेखाले सामालाई मनासलु आधार शिविरसम्म जोडेको छ। पुङ्गेनले च्यापेको काखमा टुसुक्क बसेको छ कार्ग्यु छोलिङ गुम्बा। स्यालाबाट आउँदा पुङ्गेन गुम्बा जाने बाटो छोडेर आएका थियौँ। चुम र नुब्रीमा भएको गुम्बाको संख्या ९२ वटा रहेछन्। ठुलै सांस्कृतिक क्रान्ति पो भएको रहेछ उतिबेला!

ल्होका छिरिङले अस्तिको साँझ भनेका थिए– “कैलाश जान नसक्नेहरू यहाँ आउँछन्।”

आफू पनि अहिलेसम्म कैलाश जान जुरेको छैन क्यारे। मेरै लागि पनि कैलाशसरी भएको छ पुङ्गेन। हिन्दूशास्त्रले मान्छेले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु राम्रो भनेको छ। शास्त्रले भनेको पूरा गर्न त भारतको उत्तराखण्डदेखि तामिलनाडुसम्म पुग्नुपर्छ। पशुपति काठमाडौँमै छँदैछ। मेरो त बद्रीनाथ पनि यही हिमाल, रामेश्वरम् पनि यही हिमाल, द्वारिका र जगन्नाथपुरी पनि यही हिमाल। देउताले बास नगरेको हिमाल कुन छ र नेपालमा!

पुङ्गेन गुम्बामा मेला लाग्दा घेटो (मित लगाउने)को चलन चाहिँ अचम्मकै रहेछ। उमेरको पावन्दी नहुने रे! 

छिरिङले अगाडि भनेथे– “मीत लगाउन चाहनेहरूले आफूसँग भएको कुनै सामान (कलम, चस्मा वा घडी) गुम्बाको लामालाई दिनुपर्छ। लामाले सामानलाई एकै ठाउँमा राख्नुहुन्छ र पूजाआजा गरिसकेपछि एक पटकमा दुई वटा सामान झिकेर जोडी मिलाइदिनुहुन्छ। त्यसरी झिकेको सामान ज–जसको हो ती दुईले मीत लगाउँछन्।”

मित्रता, मन र भावनाको सम्बन्ध हो– मीत। एक अर्थमा दुई ज्यान एक भएको महसुस पनि हो।  दुवैको सुखदुःख साझारूपमा व्यतीत गर्नु पनि हो। जीवनको पृथक् मिठास हो मितेरी परम्परा। पौराणिक ग्रन्थहरूमा आदर्श मित्रताका सुन्दर साक्ष्य पाइन्छन्। राम र सुग्रीव हुन् वा कर्ण र दुर्योधन अथवा कृष्ण र सुदामा नै किन नहुन्।

मरेपछि पनि अन्त कतै बास नपाए मीतको घरमा बास पाइने विश्वास छ, नेपाली समाजमा। मीत लगाउने चलन हट्दै गइरहेको छ आजकल। तर यस्तो मौलिक संस्कार अझै जीवित रहेको थाहा पाउँदा मीत लगाउनकै लागि भने पनि एक पटक मेलाको छेक पारेर आउनुपर्छ कि भनेझैँ लागेथ्यो मलाई। 
०००

पर्यटकीय याम अन्त भएकोले सामाका अन्य होटलहरू बन्द छन्। तर माउन्ट मनासलु होटलमा भने हल्का चहलपहल देखिन्छ। होटलमा आरोही शेर्पा र तिनका सहयोगी छन्। उनीहरू मनासलु आरोहण दलका बन्दोबस्तीका सरसामान लिएर आएका। कोही छतमा घाम तापेर बसेका छन् त, कोही भारी मिलाउँदै। सामागाउँदेखि मनासलु आधार शिविरसम्मको भारी सामाकै स्थानीयले मात्र खेप्न पाउनुपर्ने नियम छ। सम्पूर्ण भारी एउटा नाइकेले जिम्मा लिन्छ र वजनको हिसाबले बरबुझारथ गर्ने चलन छ। यस्तो चलन अन्य पदयात्रा क्षेत्रमा देखेको छैन मैले। 

चिनापर्चीका शेर्पासँग अभिवादन साटासाट हुन्छ मेरो। उनको नाम गेलु। उनीसँग भलाकुसारी हुन्छ। 

“आरोहण कहिलेबाट शुरू हुन्छ?” सोध्छु।

“ग्रुप पर्सि आइपुग्दै छ यहाँ। हामी चाहिँ भोलि नै बेस क्याम्प जाँदै छौँ। उनीहरू आउनुअघि क्याम्पको तयारी गर्नुपर्छ।”

“कति जना छन् नि विदेशी आरोही?”

“दुई जना। एलेक्स टिसिकोन (स्पेनिस) र साइमोन मोरो(इटालियन)। उनीहरू गत वर्ष पनि आएका थिए। मौसमले साथ दिएन। यसपालि फेरि आउँदै छन्। हेरौँ के हुन्छ।”

अत्यधिक चिसो र भारी हिमपातको सम्भावनाका कारण जाडोमा मनासलु आरोहण विशेष चुनौतीपूर्ण हुन्छ। अन्नपूर्ण, नंगापर्वत र के–२ पछिको जोखिमपूर्ण हिमाल यही हो। नेपालको ‘किलर माउन्टेन’को रूपमा चिनिन्छ यसलाई।

शेर्पा– शब्द नै प्यारो लाग्छ मलाई। सहनशीलताको पर्याय। कुशल आरोही उनीहरूको परिचय। पर्वतीय पर्यटनमा उनीहरूको विशिष्ट योगदान। उनीहरूले नै राखेका छन्, विश्व कीर्तिमान। उनीहरूले नै बढाएका छन्, राष्ट्रको शान। यथार्थमा उनीहरूकै कारणले टिकेको छ, नेपालको पर्वतीय पर्यटन। शेर्पाहरूले अँगालेको पेसाले गर्दा राज्यले राजस्व सङ्कलन गर्छ, त्यो पनि विदेशी मुद्रा। साँच्चै तिनले हिमाल नचढ्ने हो भने राज्यले कति घाटा बेहोर्नु पर्ला? कल्पना मात्र गर्न सक्छु। 

कतिपय आरोही विदेश पलायन भइसके। उनीहरूका सन्ततिमा हिमाल आरोहणप्रतिको मोह कम छ। ज्यानलाई खुकुरीको धारमा राख्नुपर्छ। आखिर तिनले के पाउँछन् राज्यबाट र मरिमेट्नु? बल छउन्जेलको लागि मात्र हो यो पेसा। सामाजिक सुरक्षाको ‘स’ पनि उच्चारण हुँदैन सरोकारवालाबाट। यही त छ विडम्बना।

सन् २००९ देखि हिमाल आरोहण शुरू गरेका गेलुले ८००० मिटरमाथिका आठ वटा हिमाल चढिसकेका छन्।

“आरोहण सफल हुँदा कस्तो महसुस हुन्छ?” फेरि सोध्छु।

“सफल हुँदा एकदम खुसी लाग्छ नि! युद्ध जिते जस्तै त हो। विदेशी आरोहीहरू यति धेरै खर्च गरेर आएका हुन्छन्। समयको पनि खर्च हुन्छ। आरोहण असफल हुँदा चाहिँ असाध्यै नरमाइलो लाग्छ।”

मनासलु आरोहण सफलताका लागि उनलाई शुभकामना दिन्छु म।
०००

“जाने होइन त वीरेन्द्र ताल?” खाना खाइसकेपछि घाममा ढाड सेकाउँदै गर्दा रामको सोधनी हुन्छ।

म भन्छु, “भर्खर दुई बजेको छ। सामाको दालभात त पचाउनै पर्‍यो नि।”

हाम्रो टोली वीरेन्द्र तालतर्फ अघि बढ्छ। 

बाटोमा पर्छ, पेमा छ्योलिङ गुम्बा। सामाको सम्पदा।  सामागाउँको एउटा विशेषता। सामा तिब्बती मूलका नेपालीहरू बस्ने भूगोल हो। उनीहरू शताब्दीयौँदेखि बस्दै आएका दसी छन्। गोरखाका राजा राम शाहका पालामा उनकै अधीनमा थियो यो भूमि। सन् १५७२ मा बनेको यो गुम्बा उति बेला निग्मापा सम्प्रदायसित सम्बद्ध भए पनि अचेल यहाँका मान्छेहरू कर्मापाको अनुयायी भएका छन्। सामुदायिक गुम्बा भएकाले सम्प्रदाय विशेषका समारोह र पर्वका बेलामा मनोरञ्जनका गतिविधिहरू यहीँ गरिन्छ। यहाँको भाषा, शैली ल्हो र ल्होतल्तिरको भन्दा फरक छ। मुस्ताङमा जस्तो घाच्याङ (घोडे जात्रा), डोरी तान्ने र तीर हान्ने खेल यहाँ पनि हुन्छन्। 

चालीस मिनेटको आरोहणपछि आउने भ्यू प्वइन्टबाटै नजर पुग्छ वीरेन्द्र तालमा। वीरेन्द्र ताल स्वर्गीय राजा वीरेन्द्रजस्तै शालीन लाग्छ। स्थानीयहरू ‘याम्छो’ले पुकार्छन् यो ताललाई। २०३४ सालतिर वीरेन्द्रको सवारी भएपछि जनजिब्रोमा ‘वीरेन्द्र ताल’ झुन्डिन पुगेछ। 

गोल्डेन इगलले गस्ती गरिरहेछ याम्छोको आकाशमा। एउटा वृत्ताकार रंगमञ्चजस्तै लाग्छ याम्छो। पुङ्गेनले वमन गरेको चाँदीको लेदो घसँ्रदैघस्रँदै पहाडको अञ्जुलीमा खस्छ। अनि सिर्जिन्छ याम्छो। याम्छोमा आधा भाग पानी र आधा भाग हिउँ छ।  

याम्छोको पवनमा धूपि र सल्लाको महक आइरहेछ। याम्छोको बतासले याम्छोकै महिमा गाइरहेछ। यतिबेला नाइके पिक, केर्मा खर्क र जंगल मेरा नजरका परिदृश्य बनेका छन्।

दिनको उज्यालोमा चम्किरहेछ याम्छोताल। एकातर्फ जंगल, अर्कोतर्फ शैलकूट। याम्छोको महिमित चमक पर्न आउँछ मेरा एक जोर आँखामा। नाइके पिक पौडिरहेछ याम्छोमा। याम्छोकै ऐनामा आफ्नो तस्वीर हेरिरहेछ केर्मो खर्कले। मनोहारी र शान्त लाग्छ निलो याम्छो। तालसौन्दर्य मन नपर्ने सायदै होला कोही यो संसारमा!    

मेरै आँखाको नानी जस्तो लाग्छ याम्छो। याम्छोजस्तै शान्त र स्थिर बन्छ मेरो हृदयको सतह। याम्छो जस्तै मौनतामा रहँदा एउटा खुशीको कमल मुस्कुराउँछ मनमा।

याम्छोको किनारभरि ठड्याइएका छन्– शिलाकूट। बिछट्टै सुन्दर लाग्छन् ती अनेक आकारप्रकारका ढुंगाका खात। यो पनि एउटा कला नै हो। ढुंगालाई सन्तुलन मिलाउन कम कठिन हुँदैन। मानेकै सानो रूप पनि हो यो। पुर्खाहरूले स्मृतिस्मारक वा कुनै चिनोको रूपमा बनाउने गर्थे। समयको अन्तरालसँगै विभिन्न अर्थमा यसलाई निरन्तरता दिँदै आए। समय बिताउन, तनाव कम गर्न र आफूलाई एकाग्र बनाउन पनि शिलाकूट बनाउन आजका मान्छेहरू समय व्यतीत गर्छन्। 

बालवयमा तादीबगर पुगेको बेला यसैगरी खेलीबस्थेँ म। कहिले बालुवा ठड्याएर त कहिले ढुंगाका खात लगाएर। सन्तुलन मिलाउन नसक्दा ढुंगाका खात गर्ल्यामगुर्लुम ढल्थे। फेरि उठाउँथेँ। फेरि ढल्थे। यसो गर्दागर्दै समय बितेको पत्तै हुँदैनथ्यो। याम्छोका किनारका बेगिन्ती शिलाकूटका दृश्यले उही बेलाको सम्झना गराउँछ मलाई। सहयात्री आइपुग्दासम्म ऊ बेलाकै जसरी एउटा शिलाकूट ठड्याउन भ्याइसक्छु।

सहयात्रीको आगमनपछि फोटो सेसन चल्छ याम्छोमा। याम्छो तालमै बित्छ एक घण्टा। मोबाइलको घडीले चार बजेको सङ्केत गर्छ। पेटले भोक लागेको आभास गराएपछि म एक सास लिएर उठ्छु र फालहाल्छु सामामा।


सम्बन्धित सामग्री