Monday, May 06, 2024

-->

११ जिल्लाका २४ मतदानस्थलमा ९९ राउन्ड हवाई फायर

मतदानका क्रममा देशका केही स्थानमा हवाई फायर भएका छन् भने केही स्थानमा मतपेटिकामा हानी पुग्नेगरी आक्रमण भएका छन्।

११ जिल्लाका २४ मतदानस्थलमा ९९ राउन्ड हवाई फायर

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत आइतबार भएको निर्वाचनका क्रममा प्रहरीले देशका ११ जिल्लामा हवाई फायर गरेको छ।

निर्वाचनमा खलल पुर्‍याउने गतिविधि भएपछि स्थितिलाई नियन्त्रणमा लिन ११ जिल्लाका २४ ठाउँमा हवाई फायर गर्नु परेको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए।

उम्मेदवारका प्रतिनिधि, राजनीतिक दलका कार्यकर्ताबीच झडप र विवादका घटनाले निर्वाचनमा खलल पुग्ने काम भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने काम गरेको जनाएको छ।

प्रहरीले यी क्षेत्रमा ९९ राउन्ड हवाई फायर गरेको हो। प्रवक्ता राईका अनुसार देशभर दिनभरमा ६४ स्थानमा मतदान कार्य रोकिएको थियो। ती मध्ये अहिलेसम्म ६ स्थानमा मतदान शुरू हुन सकेको छैन भने अन्यत्र मतदान सञ्चालन भएको थियो।

प्रहरीका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी मतदान केन्द्रमा विवाद भएपछि केही समय मतदान रोकिएको थियो। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो।

झडप र विवादका कारण दोलखाका ७ ठाउँमा दिनभर तनाव सिर्जना हुन पुग्यो। स्थिति नियन्त्रणमा लिन प्रहरीले २६ राउन्ड गोली चलाएको थियो। गौरीशंकर गाउँपालिका–२ स्थित मतदान केन्द्र, बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २, कालिन्चोक गाउँपालिका वडा नम्बर –७ र १ मा तनाव भएको थियो। जिरी नगरपालिका–९, तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा पनि झडप भएको थियो।

त्यस्तै रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको थियो। मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

बर्दियाको गुलरिया मतदान केन्द्र नजिक बम विस्फोट भएपछि मतदान रोकिएको थियो। त्यस्तै मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि केही समय मतदान स्थगित भएको थियो। बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको थियो।

उता कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन्। माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए। उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो।

त्यस्तै सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विस्फोट भएको थियो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विस्फोट भएको थियो।

उता हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्कास्थित डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो।

दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको थियो। मतहाल्न पुगेका एक जना मतदाताको मत अरूले नै हालेको भेटिएपछि विवाद बढेको थियो। त्यसै क्रममा प्रहरीले लाठीचार्ज गर्दा एकजना महिलालाई चोट लागेको थियो। त्यसपछि आक्रोशित स्थानीयले ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो।

बाजुराको एक मतपेटिकामा आगजनी भएको छ। स्वामिकात्र्तिक खापर गाउँपालिका १ को भगवती आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी सूर्य थापाले ‘क’ केन्द्रमा रहेको प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगो लागेको अवस्थामा भेटिएको जानकारी दिए।

“मतपेटिका भित्र प्रज्वलनशील वस्तु राखेपछि आगो लागेको देखिएको छ,”उनले भने,“घटनाबारे अनुसन्धान भइरहेको छ।” बाजुरामै अन्य स्थानीयतहमा पनि विवाद र झडपको स्थिति बनेपछि प्रहरीले २७ राउन्ड हवाई फायर गरेको थियो। उता नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा पनि आगजनी भएको छ। प्रदेशसभातर्फको समानुपातिक मतपेटिकामा आगजनी भएको हो। 


सम्बन्धित सामग्री