खेल
नेपालले विश्वकप छनोटअन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओसविरुद्ध १–१ को बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा पछि पारे नेपालले दोस्रो हाफको शुरूआतमा खेलमा बराबरी गरेको हो। नेपालका लागि अञ्जन विष्टले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए। यो गोलसँगै अञ्जनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्। उनले हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन्।
यात्रा
मुगुमा अवस्थित रारा तालसँगै रारा, छाप्रु र मुर्मा गाउँ थिए। विस २०३२ मा रारालाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि रारा र छाप्रु गाउँका स्थानीयलाई स्थानान्तरण गरियो तर, मुर्मा गाउँलाई भने यथावत् नै राखियो। रारा ताल भई बग्ने खत्याड नदीको किनारैकिनार करिब एक घण्टा हिँडेर केही माथि लाग्दा शुरू हुन्छ, मुर्मा गाउँ। पर्यटकहरू राराको पूर्ण स्वरूप हेर्न मुर्मा टप पुग्न मुर्मा गाउँ हुँदै जाने गर्छन्। संरचनागत र जीवनशैलीका हिसाबले पृथक् छ मुर्मा गाउँ। ढुंगा, माटो र काठको प्रयोगले बनेका घरलाई बिस्तारै जस्तापाताको छानोले विस्थापित गर्दै छ। मुर्मा गाउँ पुग्दा स्थानीयहरू कृषि गतिविधिमा व्यस्त देखिन्थे। तस्वीरहरू- किसन पाण्डे
सम्झना
काठमाडौँ– गत शनिबार इजरायलमा भएको प्यालेस्टिनी सैन्य समूह हमासको हमलामा परी मारिएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिले सोमबार ललितपुरको मंगलबजारमा इजराइल र हमासबीचको युद्धमा परी निधन भएका नेपाली विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलनमा उपस्थितहरूले मृतक विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनीहरूले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन्। आक्रमणमा १० जना नेपाली विद्यार्थीको निधन भएको थियो भने केही नेपाली घाइते भएका छन्।
विरोध
मानवअधिकार तथा शान्ति समाजले महाराजगन्जस्थित राष्ट्रपति भवनअगाडि विरोध प्रदर्शन गरेको छ। राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्नुपर्ने लगायतका माग गर्दै शान्ति समाजले विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनको क्रममा १३ जना प्रदर्शनकारी पक्राउ परेका छन्। ‘राष्ट्रपति महोदय, न्यायको सार्वभौम मान्यता विपरीत माफी मिनाहा घोषणा किन?’, ‘हत्या हिंसा महिमामंडन गर्न पाइँदैन’, ‘हिंसा र अपराधीकरणलाई बढवा दिने काम बन्द गर’, ‘राष्ट्रपति महोदय, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने?’
पर्व
इन्द्रजात्राको अन्तिम दिन नानी चाः महिलाहरूले जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेका छन्। रथलाई किलागल: इन्द्रचोक हुँदै वसन्तपुर पुर्याइन्छ, सोमबार राति ८ः३७ बजे इन्द्रध्वज प्रदान गरिन्छ र यसै समारोह बीच राष्ट्रप्रमुखद्वारा कुमारीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ।
विरोध
चिकित्सकमाथि कुटपिट भएको भन्दै काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन्। अस्पतालमा कार्यरत डा. मनिष खड्कामाथि आइतबार दिउँसो ओपिडीमा आएका एक बिरामीका आफन्तले कुटपिट गरेको बताइएको छ। त्यसपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
पितृको सम्झना
सोह्रश्राद्ध अर्थात् पितृपक्ष शनिबार शुरू भएको छ। चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस अवसरमा काठमाडौँको पशुपतिनाथ क्षेत्रमा श्राद्ध गर्नेहरूको भीड लागेको छ।
विरोध
स्वास्थ्यकर्मीहरू तेस्रो दिन बिहीबार माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शनसहित शान्तिपूर्ण र्याली गरेका छन्। विभिन्न बहानामा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण, दुर्व्यवहार एवं कुटपिट भएको भन्दै उनीहरू त्यसको विरोधमा विगत तीन दिनदेखि आन्दोलनमा छन्। दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ। उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने लगायतका माग राखेका छन्।
जगदीशपुर ताल
जगदीशपुर ताल कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलवस्तु नगरपालिका– ९ र १० मा अवस्थित छ। करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ। सन् २००३ सालमा रामसार सूचीमा सूचीकृत भएको यो ताल कपिलवस्तुको महत्त्वपूर्ण धरोहर हो। तालमा ४६ प्रजातिका माछा, घस्रने प्रजातिका ४२, उभयचर प्रजातिका १० तथा स्तनधारी समूहका समेत प्राणी रहेका छन्। विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चरा प्रशस्त मात्रामा आउने गर्छन्। यस्ता आगन्तुक चराहरू जाडो तथा गर्मी मौसम छल्न आई पुनः आफ्नै मुलुक फर्किने गर्छन्। यहाँ ११८ बढी प्रजातिको चराचुरुङ्गी पाइने पंक्षी संरक्षण संघले जनाएको छ।
विरोध
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्। देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरूले काठमाडौँको माइतीघरमा विद्यालय शिक्षा विधेयकको विरोध गरेका हुन्। नेपाल शिक्षक महासंघको आयोजनामा शिक्षकहरू आन्दोलित बनेका हुन्। गत बुधबारबाट शुरू भएको काठमाडौँकेन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरूले बताएका छन्। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ। संसद्मा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरूले विभिन्न १७ बुँदे असहमति प्रकट गरेका छन्। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। उनीहरूले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। विरोधका क्रममा माइतीघरमा शिक्षकहरूले नाचगानसमेत गरेका थिए।
द्रुत बस
सरकारले काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा शुरू गरेको छ। रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिकमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको बुधबार उद्घाटन गरेका हुन्। यो बस सेवाबाट सूर्यविनायकदेखि ४५ मिनेटमा रत्नपार्क पुगिने बताइएको छ। अब हरेक दिन बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस चल्ने यातायात व्यवस्था विभागले जनाएको छ। तस्वीर: किसन पाण्डे/उकालो
संविधान दिवस
संविधान दिवस २०८० को अवसरमा बुधबार काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो। सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्च पास ब्यान्ड प्रदर्शनी गरेका थिए। काठमाडौँ र ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।
पर्व
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आइतबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। यस दिन पशुपतिनाथसहित देशभरका देवालयमा व्रतालुहरूको भीड लाग्ने गर्छ।
झरना
काठमाडौँमा उपत्यकाका काँठ क्षेत्रमा अझै स्वच्छ पानीका मुहान प्रशस्त भेटिन्छन्। ती मुहान शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन्। तर, त्यहाँ पनि घुम्न जाने पर्यटकका कारण प्रदूषण बढिरहेको छ। काठमाडौँको सुन्दरीजलस्थित बागमती नदीको मुहान, टोखास्थित झरनाको मुहान, बैडेश्वर झरनाकलकल पानी बगेको देख्न सकिन्छ। त्यसैगरी ललितपुरको कर्मनासा झरनाको मुहान, बाँडेगाँउको झरना तथा भक्तपुरको मुहान पोखरी र खरिपाटीस्थित झरना पनि स्वच्छ पानीको मुहान हुन्।\n\n
पितृको सम्मान
दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगयामा भक्तजनको भीड लागेको छ। भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास छ।
सुवास नेम्वाङ
एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय ललितपुरको च्यासल लगिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय लगिएको हो। नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो।\r\n\r\n
पर्व
पाल्पामा ऐतिहासिक भगवती जात्राको रथयात्रा निकालिएको छ। नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा बिहीबार पाल्पामा विजयोत्सवस्वरूप भगवती जात्रा निकालिएको हो। नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती जात्रा रथयात्रा निकालिएको हो। भगवती जात्रालाई सिन्दूर जात्राका नामले पनि चिनिन्छ। विद्यालय एवं विभिन्न संघसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा रथयात्रालाई भजनकीर्तन, पञ्चेबाजा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिन्छ गरिन्छ। विजयोत्सव जात्रामा पाल्पाका साथै गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत क्षेत्रबाट निकै उत्साहका साथ अवलोकनका निम्ति आउने गरेको पाइन्छ। तस्वीर: मनिष अर्याल
विरोध
एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरूमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौँको बानेश्वरमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छ। प्रदर्शनकारीले राष्ट्रिय युवा संघ नेपालको कार्यालयदेखि मसाल बाल्दै मुख्य सडकमा प्रवेश गरेर सडक एकछिन अवरोध गरेका थिए। राष्ट्रिय युवा संघले शनिबार ७७ जिल्लामै एकसाथ विरोध प्रदर्शन गरेको हो।
पर्व
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा काठमाडौँस्थित बौद्धमा मनाइएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको जात्राको विधि मात्र पूरा गरेर सम्पन्न गरिएको हो। जात्रामा ६० केजी सुन प्रकरण, महानगरपालिकाले ठेला व्यापारीहरूलाई गरेको ज्याजतीको व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विशेष गरी नेवार समुदायले मनाउन शुरू गरेको रोपाइँजात्रा अहिले देशैभरका विभिन्न स्थानमा मनाउने गरिन्छ। धान रोप्ने काम सकिएको खुशियालीमा जात्रा मनाइने गरिन्छ।
पर्व
नीलहीरा समाजको आयोजनामा र अमेरिकी दूतावासको सहयोगमा योनिक तथा लैंगिक अल्पसंख्यक समूहले २०औँ नेपाल प्राइड परेड र गाईजात्राको अवसरमा बिहीबार प्राइड परेड र प्राइड कन्सर्ट आयोजना गरेको छ। परेड दिउँसो १ बजे कर्मचारी सञ्चय कोषबाट शुरू भई टुँडिखेल मैदानमा गएर सम्पन्न भएको छ। नेपालको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने क्वियर समूहको नृत्य, कुटुम्ब ब्यान्ड, अभया एन्ड स्टिम इन्जिनस्, प्रकाश सपुत, सुबानी मोक्तान, एलिना चौहान, सुशान्त घिमिरे र वाङ्देन शेर्पालगायत कलाकारको प्रस्तुतिसहितको कार्यक्रम गरिएको थियो।