श्रद्धाञ्जली
भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका हुन्। लामो समयदेखि अस्वस्थ आचार्यको सोमबार ८१ वर्षको उमेरमा निधन भएको थियो।
विरोध
रुसले युक्रेनमाथि आक्रमण थालेको शनिबार दुई वर्ष पूरा भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ को बिहानै ‘विशेष सैन्य अभियान’को घोषणा गर्दा युक्रेनमाथि आक्रमण थालेका थिए। धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरुद्ध जित हात पार्ने अनुमान गरे पनि यी दुई देशबीचको युद्ध अझै जारी छ। यस क्रममा केही नेपाली रुसी सेनामा सामेल भए र केहीले ज्यान पनि गुमाए। रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएकाहरूको शवको पर्खाइमा रहेका छन् आफन्तहरू। रुसी सेनामा रहेका नेपालीको उद्धार, मृतकका परिवारलाई राहत तथा बेपत्ता अवस्थामा भएकाहरूको अवस्था सार्वजनिक गर्न उनीहरूका परिवारजन माग गर्दै आएका छन्। उनीहरूले शनिबार प्रधानमन्त्रीलाई भेटेर माग पत्र बुझाउने र ध्यानाकर्षण गराउने प्रयास भएको थियो। तर प्रधानमन्त्रीबाट समय उपलब्ध नभएपछि प्रतिनिधिमूलक परिवारजनको उपस्थितिमा आफूहरूले प्राप्त जानकारीका आधारमा मृतक, बेपत्ता, घाइतेहरूको नयाँ विवरण सार्वजनिक गरेका छन्। साथै उनीहरूले शनिबार साँझ रुसमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सम्मानमा द्वीप प्रज्वलन गरे। तस्वीर : फोटो लाइब्रेरी
पर्व
हिन्दु धर्मावलम्बीले पुस शुक्ल पूर्णिमामा शुरू गरेको स्वस्थानी व्रत शनिबार समापन हुँदै छ। एक महिनाभर व्रतालुले विधिपूर्वक स्वस्थानीको व्रत गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै कथासमेत सुनेका थिए। सो अवसरमा काठमाडौँको साँखुस्थित सालिनदीमा श्रद्धालुको घुइँचो लागेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
पर्व
काठमाडौँ– लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्षमा उत्रिएका करिब ३ हजार पीडितहरू काठमाडौँमा आइपुगेका छन्। अन्य पीडित आउने क्रम जारी रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष मनीराम ज्ञवालीले जानकारी दिए। \r\n\r\nएक हजारभन्दा बढी पीडितहरू करिब ६ दिन लगाएर लघुवित्त तथा वित्तीय शोषणविरुद्ध पैदल यात्रा तथा विरोध प्रदर्शन मुग्लिङबाट काठमाडौँ आइपुगेका हुन्। सरकारले समिति बनाएर केही काम नगरेकोमा पुनः सरकारलाई झकझकाउन आन्दोलन गर्न आएको बर्दियाका पीडित जीवन सुनारले बताए। मुग्लिङबाट हिँडेका उनीहरू ६ दिनमा शनिबार साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बसेका थिए। आइतबार उनीहरू थानकोटबाट र्याली प्रदर्शन गर्दै कलंकी हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन शुरू गर्न केन्द्रीय अध्यक्ष ज्ञवालीले जानकारी दिए।\r\n\r\nउनीहरूले नवसामन्तीको रूपमा स्थापित लघुवित्त तथा वित्तीय संस्थाहरू खारेज गर्न, लघु वित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, भूमिहीन तथा वित्तीय शोषणका पीडितहरूलाई मुआब्जाको व्यवस्था गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने माग अघि सारेका छन्। तस्वीर– फोटो लाइब्रेरी
पर्व
काठमाडौँ– तामाङ समुदायले नयाँ वर्षको रूपमा लिउने सोनाम ल्होसार आज शनिबार धूमधामसँग मनाइँदै छ। नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलुक चीनसहितका बौद्धमार्गीले यसलाई दिन नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। तामाङ समुदायले आज मुसा वर्गलाई बिदाइ गरी गाई वर्गलाई स्वागत गरेका छन्।\r\n\r\nहरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ। समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।\r\n\r\nतामाङ समुदायमा छोरीचेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरू १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरू हुने यी वर्षहरू जंगली बँदेल वर्षमा पुगेर सकिन्छ। तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। सोनाम ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। सोनाम ल्होसार मनाउन टुडिखेलमा परम्परागत भेषभूषामा उपस्थित भएर उनीहरूले बाजागाजा बजाउँदै नाचगान गरेर नयाँ वर्षको खुशियाली साटासाट गरेका थिए। कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका थिए। तस्वीर : फोटो लाइब्रेरी
मौसम
काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ। सार्वजनिक जग्गामा बनेका अस्थायी घरटहरा भत्काइएको महानगर प्रहरीले जनाएको हो। महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएका बताए। वडा कार्यालयले यहाँ खेलकुद पार्क बनाउने तयारी गरेको छ।
मौसम
मंगलबार बिहानैदेखि काठमाडौँ , ललितपुर र भक्तपुरको आकाशलाई हुस्सु, तुवाँलोले ढाकेको छ। मधुरो घाम र तुवाँलोले उपत्यकामा चोसो बढेको छ। काठमाडौँ उपत्यकामा मंगलबार अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्यो भने राति ३.५ भन्दा तल झर्ने अनुमान गरिएको छ।
धरहरामा पार्किङ
धरहराको पहिलो तलामा निःशुल्क पार्किङ शुरू भएको छ। काठमाडौँ महानगरले आइतबार नि:शुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। महानगरले केही दिनअघि न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेको थियो। त्यसको विकल्पका रूपमा धरहरामा व्यवस्था गरिएको हो।
पक्राउ
काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सो क्रममा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए। माइतीघरलाई काठमाडौँ प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको छ।
पर्व
नेपालीको चाड पर्वहरूमध्ये माघे संक्रान्तिमा तरुल, पिँडालुलाई विशेष खानेकुराका रूपमा लिइन्छ। संक्रान्तिका दिन घिउ, चाकु, तिलको लड्डु बनाएर खाने चलन झनै प्रख्यात छ। यसैबीच काठमाडौँको असनलगायत मुख्य बजारमा घिउ, चाकु, तिलको लड्डु किन्ने उपभोक्ताको भिड लागेको छ।
पृथ्वी जयन्ती
सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ। ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र विभिन्न राजावादी समूहले सालिकमा माला पहिराएका हुन्। त्यसअघि राप्रपाले विभिन्न झाँकीसहित र्याली निकालेको थियो। तस्वीर: कृष्पा श्रेष्ठ
रामबहादुर बम्जन
रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ। तीन करोड तीन लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ। उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बुढानीलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो।\r\n\r\n
पर्व
किरात समुदायले टुँडिखेलमा साकेला नाचेर उँधौली पर्व मनाएका छन्। बाली भित्राइसकेपछि नयाँ अन्न प्रयोग गर्नुपूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गरिन्छ। परम्परागत पोसाकमा सजिएर गोलो घेरा बनाएर ढोल बजाउँदै किरात महिला पुरुषले साकेला नाचेर उँधौली पर्वको खुशियाली साटेका हुन्। यो सुनुवार, राई, लिम्बू र याक्खाहरूले मनाउने पर्व हो। वर्ष मंसिर पूर्णिमाका दिनबाट शुरू हुने उँधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाइन्छ।
खेल
पोखरामा जारी २५औँ पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ। रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवानको आयोजनामा भएको प्रतियोगिताको खुल्लातर्फको प्रतिस्पर्धामा स्विमङपुल घाट ‘ए’ विजयी भयो भने गौरीघाट तथा बाराही घाट क्रमशः दोस्रो र तेस्रो भए। विजयी टोलीले २० हजार नगद पुरस्कार जित्यो भने दोस्रो १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे। यसैगरी संस्थागत तर्फका प्रतिस्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोस्रो हुँदा नेपाल टुरिजम भ्यान एसोसिएसनले तेस्रो स्थान हासिल गर्यो।सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने नारासहितको आयोजित महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता छ। मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
माइतीघरमा प्रदर्शन
बालकुमारीमा शुक्रबार भएको घटनाको विरोधमा युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्। निषेधित क्षेत्रमा आन्दोलन गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
महोत्सव
‘सडकमै खाऔँ सडकमै रमाऔँ’ नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव शुरू भएको छ। पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सको शुरूआत गरिएको हो। कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति छ। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हरेक वर्ष यो महोत्सव हुँदै आएको छ। महोत्सवलाई रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालले रेवान आयोजना गर्ने गरेको छ। डिसेम्बर २८ देखि जनवरी १ सम्म चल्ने यो महोत्सवमा विभिन्न सांस्कृतिक सांगीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेस्टुरेन्टले आफ्ना पकवानहरू पस्किने गरेका छन्। महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, र्यापर लाहुरे, र्यापर राजन केसी, शिला आले, समीक्षा अधिकारी, बद्री पंगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एन्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवं ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन्। महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकीय सहकार्य र \'नोस्टाल्जिक-थ्री\'सँग फुड कोर्ट पार्टनरका रूपमा सहकार्य गरिरहेको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी
पर्व
नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै आएका छन्। ‘यः’को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो भन्ने अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी यो पर्व मनाउने प्रचलन चलेको मनिन्छ। यो पर्वलाई नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ। यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ। नेवार समुदायले मंगलबार काठमाडौँमा औपचारिक रूपमा आयोजना गरेर यःमरी पुन्हिको खुशियाली साटासाट गरेका थिए। यस दिन राष्ट्रिय ज्यापु दिवस पनि मनाउने गरिन्छ। २०औँ ज्यापु दिवसका नेवार समुदायले निकालेको खुशियाली र्याली वसन्तपुरमा गएर टुंगिएको थियो। वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका उमप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति रहेको थियो। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो
पर्व
इसाई धर्मावलम्बीको पर्व क्रिसमसको अघिल्लो दिन विभिन्न कार्यक्रम गरी क्रिसमस इभ मनाइएको छ। इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस २५ डिसेम्बरमा पर्छ। त्यसको अघिल्लो साँझ क्रिसमस इभ मनाइन्छ। यसै क्रममा काठमाडौँको ठमेल क्षेत्र र ललितपुरको लबिम मलमा इसाई धर्मावलम्बी लगायतले क्रिसमस इभ मनाउँदै खुशियाली बाँडेका छन्।
पर्व
यतिबेला काठमाडौँको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्। काठमाडौँको दक्षिण भेगका कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ मिलेर गरिने जात्रा ‘सात गाउँ जात्रा’ अर्थात् ‘न्हयगां जात्रा’ बनाइँदै छ। सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो। हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरू छन्। कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ। आजका दिन कीर्तिपुरमा बाघभैरव मन्दिर परिसरबाट जात्रा शुरू हुन्छ। यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ। धूमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुग्ने गर्छन्।
राष्ट्रिय झण्डा
काठमाडौँमा छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आइतबार काठमाडौँको वसन्तपुरबाट रत्नपार्कसम्म र्याली निकालेको थियो। २०७५ पुस १ गतेबाट राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो। झण्डाको महत्त्वबारे प्रचार गर्न दिवस मनाउने गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए।