Sunday, April 28, 2024

-->

'लोककथाका पात्रलाई लेखकको संसारमा ल्याएको छु'

'यो उपन्यास इतिहास र संस्कृतिबारे रुचि राख्ने गैरआख्यानका पाठक र काल्पनिक कथामा रुचि भएका पाठक दुवैका लागि उत्तिकै पठनीय छ। कथा काल्पनिक भए पनि ऐतिहासिक अभिलेखमा रहेका मिति तलमाथि गरिएको छैन।'

लोककथाका पात्रलाई लेखकको संसारमा ल्याएको छु
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

अध्येता तथा सम्पदा अनुवादकका रूपमा आफूलाई चिनाउने ऋषि अमात्यको पहिलो उपन्यास ‘राधाः र्‍याथ अफ द मयजु’ अघिल्लो साता मात्र बजारमा आएको छ। उनी पाटनका रैथाने हुन्। उनले बाल्यकालदेखि सुन्दै, देख्दै र पढ्दै आएका लोककथा, किंवदन्ती तथा सम्पदाका विषय यो उपन्यासमा समेटेका छन्। पहिलो उपन्यासको अनुभव र संस्कृति तथा सम्पदाका विषयमा लेखक अमात्यसँग उकालोका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानीः 

उपन्यासको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ?
उपन्यासको प्रतिक्रिया राम्रो आइरहेको छ। काठमाडौँ उपत्यकाको मल्लकालीन नगरी पाटनको परिवेशमा कथाको सेटिङ भएको कारण सोही परिवेशमा हुर्किएकाहरूले कथालाई अझ महसुस गर्न सक्नुहुन्छ। कारण त्यो पाटोबाट बढी प्रतिक्रिया आइरहेका छन्। 

‘राधाः र्‍याथ अफ द मयजु’ कस्तो उपन्यास हो?
यो उपन्यास युवा पुस्तामा केन्द्रित काल्पनिक आख्यान हो। उपन्यासको प्रमुख पात्र राधा भए पनि उनको सेरोफेरामा घुमेका अन्य पात्र पनि उत्तिकै महत्त्वपूर्ण छन्। राधा आफैँमा दृढता र सामर्थ्यको कथा हो। उनको भाइ धीरजलाई हेर्नुहुन्छ भने, कथाको शुरूआतमा डराउने पात्रबाट आफ्नो जिम्मेवारीप्रति ढृढ पात्रको रूपमा विकसित हुन्छ। त्यस्तै, केही यस्ता पात्र छन्, जसले पुस्तौँदेखिको श्राप (जिम्मेवारी)को अभिभारा बोकेर आएका छन्। त्यो अभिभारा पात्रकोे काँधमा आइपुग्दा के हुन्छ भन्ने कथन छ। त्यस्तै, विगतमा भएका कुनै गल्ती वर्तमानमा आएर दुःख दिन सक्ने खालका घटनाक्रम र त्यसलाई भोग्ने पात्रको पनि उपकथा छ। त्यस्ता समस्याबाट समाधानको संघर्ष छ। उपन्यास यस्तैयस्तै पात्रको पनि कथा हो।

यो उपन्यास कसरी लेखियो?
मैले इतिहास र सम्पदाको अध्ययन तथा अनुसन्धान गरिरहँदा गैरआख्यानमा बढी रुचि रह्यो। पाटनको इतिहास, कथा, अस्तित्वबारे पढ्दा एउटा छुट्टै दुनियाँ भेटिन्छ। आख्यानतर्फ फर्कंदा मेरो आमा, ठूलोबुबाले भनेका यहाँका राजाहरूको कथा, ‘ख्याः’ (मानिसजस्तै देखिन मृत लोककथनका पात्र)हरूको कथा धेरै छन्। कथाहरू सुन्दै, हुर्कंदै आउँदा यी दुवै धारलाई जोड्ने कुनै कथा पाइनँ। 

विश्वमा लोककथा तथा संस्कृतिमा आधारित साहित्य धेरै छन्। ‘कमिक’कै कुरा गर्दा ‘ब्ल्याक प्यान्थर’मा अफ्रिकन मिथोलोजीको कथा छ। ‘मार्भल’, ‘डिसी’मा थोरलगायत पात्रको कथा छन्। हामी भने एउटै कथा परिवेशमा घुमिरहेका छौँ। सोही कारण पनि मलाई कसैले हाम्रो कला, संस्कृतिमा रहेका मिथबारे लेखिदियोस् भन्ने लाग्थ्यो। तर मैले पनि लेख्न सक्छु भनेर कहिले पनि लागेन। कारण, म म्यागजिनहरूमा काम गर्ने हुँदा मेरो शैली त्यस्तै थियो। 

२०७२ सालको भूकम्पपछि दुई–तीन वटा घटनामा त्यहीँका स्थानीयलाई आफ्नो ठाउँका मन्दिरको नाम पनि राम्रो थाहा नभएको पाएँ। उनीहरूले टुँडाललगायत मन्दिरका केही भाग चिनेका छन्। यसबाहेक, त्यहीका स्थानीयलाई मन्दिरबारे केही थाहा छैन। त्यो बेला मलाई ‘ट्राभल लिटरेचर’ लेख्छु भन्ने लाग्यो। आख्यानपछि मैले धेरै पढेको ‘ट्राभल लिटरेचर’ नै हो।

त्यही क्रममा सन् २०१७ मा काठमाडौँ ट्रिनाले (कला प्रदर्शनी) हुने भयो। प्रदर्शनीको थिम शहर थियो। मैले सोचिरहेको ट्राभल लिटरेचरको ‘कन्सेप्ट’ त्यहाँ पेश गरेँ। अध्ययनको क्रममा वेल्स (बेलायत) घुम्दा त्यहाँका इतिहास, स्तम्भ, भवनबारे बालमैत्री सूचना देखेको थिएँ। मलाई पनि पाटनमा त्यस्तै काम गर्न रहर थियो। त्यो सोचको ‘म्याप स्टोरी’ ट्रिनालेमा राखेँ। ट्रिनालेमा आफ्नो योजना राखिरहँदा कथाको बिजारोपण भयो। दुई बच्चा उनीहरूको ठूलोबुबासँग पाटन घुम्न जाँदैछन्। उनीहरू किन पहिलोपटक पाटन घुम्न जाँदैछन्, उनीहरूको ठूलोबुबा को हुन् भनेर ब्याकस्टोरी बन्दै गयो। यसरी उपन्यास लेखियो।

संस्कृति, सम्पदा र इतिहासको पठनलाई आख्यानको रूप दिन चाहिँ केले प्रेरित गर्‍यो?
खासमा फिक्सन लेखनी र पठन गाह्रो विषय हो। युवल नोरा हरारीको लेखनी रोचक हुन्छ। यस्तो खालको कथन शैली कमै हुन्छ। नेपालको सन्दर्भमा डा. सुदर्शनराज तिवारीको ‘ब्रिक एन्ड त बुल’ (हाँडीगाउँमा नाममा अनुवाद) गैरआख्यानमा मज्जाले लेख्नुभएको छ। त्यो स्तरको लेखनी हाम्रो इतिहासबारे छैन।

मैले यो उपन्यास युवा पुस्तालाई केन्द्रित गर्दै लेखेको हो, जसले ह्यारी पोटर पढेका छन्। गैरआख्यानअन्तर्गत इतिहास र सम्पदाको अध्ययन एक हदसम्म बोरिङ हुन जाने हुँदा युवा पुस्ताले रुचाउने विधा ‘फेन्टासी फिक्सन’ लाग्यो। पाठकलाई पढ्ने विषय रोचक हुनुपर्छ भन्ने मलाई लाग्छ।

मिथक, इतिहास र संस्कृतिलाई आख्यानसँग जोड्दा के–केमा सीमा कोरिनु पर्छ?
पुस्तकको शुरूमै कथावस्तु नितान्त काल्पनिक भएको उल्लेख गरिएको छ। लोककथा र संस्कृतिबाट प्रेरित उपन्यासको ९० प्रतिशत कथावस्तु हामीले सुन्दै आएका नै छौँ। यद्यपि, ऐतिहासिक अभिलख, कथनलगायत विषयमा ‘क्रिएटिभ लिबर्टी’ (सिर्जनशील स्वतन्त्रता)लाई मैले प्रयोग गरेको छु। उदाहरणको लागि कथाको सेटिङ पाटन दरबार परिसरको मूलचोक, भण्डारखाललगायत ठाउँ हुन्। तिथिमिति अभिलेखमा रहेकाले नै छन्, तर कथा बुनाइमा लेखकको स्वतन्त्रता छ। ‘त्रयोदश भुवन’ भनेपछि त्यो काल्पनिक भनेर बुझ्नु पर्छ। उल्लेखित त्रयोदश भुवन बौद्ध धर्मावलम्बीसँग सम्बन्धित छ। त्यही भुवनलाई मैले मेरो काल्पनिक संसारको लोक बनाएँ।

लेखनीमा यस्तो मिश्रण कतिको चुनौतीपूर्ण हुन्छ?
हाम्रो लोककथनमा विशिष्ट प्रकारको मिश्रण पाइन्छ। एउटै मन्दिरका मिथक, कथन, पात्र र टाइमलाइन एउटै हुँदाहुँदै पनि विभिन्न तरिकाले स्थापित छन्। यस्ता कथन शैलीको विविधतालाई एकै स्थानमा राख्नु सहज थिएन। सोही कारण मलाई अन्तिम तीन पाठ लेख्न निकै गाह्रो भयो। पहिलो तीन पाठ थोरबहुत सहज थियो।

खासगरी, किवंदन्ती र लोककथाका काल्पनिक पात्रलाई अभिलेख रहेका तथ्यसँग जोड्न सहज भएन। अन्तिमका तीन पाठमा क्रिएटिभ लिबर्टीको प्रयोग गरेँ। यसमा मेरा सम्पादक अमिस मुल्मी र सुवानी सिंहले लेखकसँग आख्यानका लागि सिर्जनात्मक तोडमोडको लाइसेन्स रहेको बताए। सोही अनुसार मैले सिर्जना गरेको ब्रह्माण्डमा सहज हुने लाइसेन्स प्रयोग गरेँ। यद्यपि, पहिलो ड्राफ्ट निकै गाह्रो भएको थियो। यसमा म मेरा सम्पादकप्रति कृतज्ञ छु। 

उपन्यास लेख्न कति समय लाग्यो?
मलाई उपन्यास पूरा गर्न सात वर्ष लाग्यो। यसमा कुल सात परिच्छेद छन्। पहिलो चार परिच्छेद सन् २०१७ मा लेखेको थिएँ। अन्तिम दुई परिच्छेद सन् २०१९ मा लेखेँ। कोरोनाको महामारीमा ‘सफु’ प्रकाशनले ‘स्टोरी आइडिया’को लागि आवहान् गर्‍यो। आफूसँग तयार रहेको पुस्तकको पाण्डुलिपि प्रस्तुत गर्दा उहाँहरू सहमत हुनुभयो। सन् २०२० बाट हामीले उपन्यासमा व्यापक काम गर्न थाल्यौँ। 

उपन्यासका परिच्छेद महिनामा आधारित छन्, किन यस्तो भयो?
मैले लेख्न शुरू गर्दा पहिलो पाठ भूकम्पबाट शुरू हुने थियो। २०७२ वैशाखमा गएको भुकम्पको सम्झना सबैलाई हुँदा सान्दर्भिक बनाउन ‘वैशाख’ पाठको शीर्षकको रूपमा शुरू गरेँ। कथावस्तु सांस्कृतिक रितिथितिमा पर्ने हुँदा र पाटनको सांस्कृतिक क्यालेन्डर पनि वैशाखदेखि कात्तिकसम्म हुँदा सोही अनुसार पाठको शीर्षक महिनाअनुसार राखेँ। उदाहरणका लागि श्रावणमा गथामुग पर्दा उपन्यासको ‘क्लाइमेक्स’ सोही क्रममा घट्छ। भद्रौ असोजमा महत्त्वपूर्ण सांस्कृतिक चालचलन रहँदा कात्तिक महिनाको कात्तिक नाचमा हुने कथा उत्कर्षमा पुग्छ। साउनको घटनाको पराकाष्ठा कात्तिक नाचको माग हो।

राधा उपन्यासको सौन्दर्य नै यसमा रहेका मिथक र लोककथालाई आख्यानमा बुनिएको शैली हो। उपन्यासमा रहेका ‘गयो बाजे’, म्ह पूजा, मण्डलाको महत्त्व, प्याकिन आदि हामीले सुन्दै आएका थियौँ। उपन्यासमा यसलाई कसरी आफू र पाठकसँग जोड्नुभएको छ?
हामीले राजकुमार दिक्पालको कथा, पाटनको कृष्ण मन्दिर बनाउँदाको कथा सुन्दै आएका छौँ। समुदाय विशेषमा पाटनबासीले गयो बाजेको कथा सुने। ‘एसिन्यट नेपाल’ नामक जर्नलमा यस्ता लोककथामा पृथ्वीमा आएर देवीदेवता नाचिरहेको, तान्त्रिकले देवीदेवतालाई समातेर राख्ने, तन्त्रमन्त्रले मन्दिर बनाएको, कुनै विदेशीहरूको काल्पनिक संसारको कथनभन्दा कम छैन। हाम्रो संस्कृतिको पाटोको चिनारीको रूपमा रहेको यस्ता कथन शैलीलाई हराउन नदिने एक तरिका पुस्तकका माध्यम पनि हुन्। 

उपन्यासमा उल्लेखित प्याकिन (फलामे काटी) नेवार समुदायको घरको ढोकामा अझै पनि ठोकिन्छ। कारण, प्याकिनले भूतप्रेत, पिचासलगायत नकारात्मक उर्जाबाट टाढा राख्ने जनविश्वास छ। पुराना घरको जगमा पनि सलिचामा फुक्का दामसहित प्याकिन राख्ने चलन थियो। 

मैले प्याकिनलाई कथाको मागअनुसार दुई लोक जोड्ने माध्यम बनाएको छु। ‘मयजु’ नामक पात्रलाई जालोमा पार्न पनि प्याकिनको प्रयोग गरिन्छ। डबलीको चारवटै र केन्द्रमा प्याकिन गाडिन्छ। हरेक वर्ष डबलीमा हुने कात्तिक नाचमा देवीदेवताहरूको नाचले सकारात्मक शक्तिमार्फत नकारात्मक शक्तिको नवीकरण पनि गरिरहन्छ। हाम्रो दैनिकीको मूल्यमान्यतालाई लेखकको लिबर्टीको आधारमा प्रयोग गरेको छु। जस्तै, विलिमय सेक्सपियरकै कथालाई पनि कलाकार, सिनेकर्मीहरूले पटकपटक पुनः अभ्यास र प्रयोग गर्छन्। मेरो आइडिया पनि हाम्रो लोककथलाई आधार बनाएर नयाँ शैलीमा कथाशैली निर्माण गर्नु हो।

लेखक नभई पाठकको रूपमा राखेर हेर्नुभयो भने उपन्यासमा तपाईंको सबैभन्दा मनपर्ने पक्ष के छ?
उपन्यासमा मलाई सबैभन्दा मन पर्ने मात्र अमोघ भन्ने छ। राधा, धीरजलगायत पात्र पनि राम्रा छन्, तर अमोघको पाटो लेख्दा पनि आफैँलाई एकदमै मन परेको थियो। कहीँकतै आफूलाई अमोघमा पनि पाउँछु। 

पाटनबारे उपन्यासमा यति धेरै उत्खनन् छन्, जुन पढ्ने क्रममा थाहा हुन्छ। त्योबाहेक पनि पाटनबारे अझै हामीले थाहा पाउनु पर्ने वा लेखिनुपर्ने विषय तपाईंसँग बाँकी छ कि?
पाटनबारे जति लेखे पनि सकिँदैन। सबै विषय लेख्न र राख्न पनि सकिँदैन। जस्तै, केही समयअघि पाटन दरबार क्षेत्रमा ढल बनाउने क्रममा अंशुवर्माको शिलालेख भेटियो। त्यसले पाटन दरबार क्षेत्र मल्लकालीन समयअघि विहार थियो भन्ने प्रमाणित गर्छ। त्यस्तै, गौतमबज्र बज्राचार्यले पाटनबाट बल्खु जाने क्रममा लुकुमाद्य (नेवार समुदायले पुज्ने महादेवको एक रूप)को मूर्ति भएको बताएका छन्। जबकि, हालसम्म लुकुमाद्यको मूर्ति हुँदैन र उनलाई ढुंगाको प्रतिमाको रूपमा जमिनमा गाडेर पूजिने गरेको छ। अहिले सबै भन्न सक्दिनँ, तर भविष्यमा अवश्य पाटनबारे थप रोचक कथा आउन सक्लान्।

युवा पुस्तामा गैरआख्यानमा रुचि भएका पाठकको लागि यो उपन्यास कसरी सहयोगी हुन सक्छ?
यो उपन्यास इतिहास र संस्कृतिबारे रुचि राख्ने गैरआख्यानका पाठक र काल्पनिक कथामा रुचि पाठक दुवैका लागि उत्तिकै पठनीय छ। कथा काल्पनिक भए पनि ऐतिहासिक अभिलेखमा रहेका मिति तलमाथि गरिएको छैन। पाठकको लागि पाटनबारे बुझ्न यो राम्रो स्रोत हुनसक्छ। ह्यारी पोटरको कथा रुचाउने युवा पाठक वर्गलाई आफ्नै मौलिक लोककथा, किंवदन्तीको मिश्रित काल्पनिक दुनियाँको सयर पनि गराउनेछ। 

पहिलो पुस्तक प्रकाशन भएको छ। नवलेखकको रूपमा कस्तो अनुभव भइरहेको छ? 
अनुभव एकदमै रमाइलो भइरहेको छ। पुस्तकमा पहिलोपटक आफ्नो नाम देख्ख्दा ‘माई गड, वाह!’ वाला अनुभव भएको थियो। आफूले लेख्दा कम्प्युटरमा लेखिन्छ, ड्राफ्ट पनि पेपरमा प्रिन्ट हुँदा खास केही लागिरहेको थिएन। तर ६–७ वर्षको मिहिनेत एकैपटक पुस्तकको रूपमा हातमा पर्दाको अनुभव सुन्दर थियो।

लेखुन्जेल आफ्नो र प्रकाशकको हातमा हुँदा उस्तैखालको विचार उपन्यासप्रति हुन्छ। बजारमा पुगेर पाठकबाट विभिन्न प्रतिक्रिया आउँदा मैले एउटा दृष्टिकोणमा लेखेको कथावस्तु, उपकथावस्तुलाई पाठकले अर्को दृष्टिकोणबाट हेर्नु हुने पनि रहेछ। यस्तो हुँदा पाठकबाट आइरहेको हरेक खालको प्रतिक्रिया पढ्दा ‘थ्रिलिङ’ महसुस भइरहेको छ।

यो उपन्यासमार्फत लेखक र पाठक कसरी जोडिन्छन्?
नेपाली साहित्य क्षेत्रमा अधिक मात्रामा सामाजिक कथा नै लेखिन्छ। ‘फेन्टेसी वर्ड’मा हामीले ह्यारी पोर्टर पढ्दै आयौँ, अब हाम्रो आफ्नै मौलिक फेन्टेसी वर्डको कथनहरू पनि पढौँ भन्ने हो। आशा गर्छु, पाठकवर्गले ‘राधा’ किन्नु हुन्छ, पढ्नु हुन्छ र रुचाउनु हुन्छ। लागेको प्रतिक्रिया दिनुहोला। हाम्रो प्रयास अन्य राम्रो, निखारिएका लेखक, अनुसन्धानकर्ताको लागि बाटो होस् भन्ने कामना गर्छु।


सम्बन्धित सामग्री