Sunday, April 28, 2024

-->

पुस्तकमा सत्यमोहनः समाचार, सम्पादकीय, अन्तर्वार्ता र स्मृतिहरूको संगालो

उमेरले नेटो काट्दै गर्दा सत्यमोहनले आफ्नो निवास बखुंबहालमा निर्माणाधीन संग्रहालयमा एउटा अलौकिक चित्रकला (चक्रसंवर पौभा भित्तेचित्र) रच्न लगाए। त्यो भित्ते चित्रकला पूरा नहुँदै संसारबाट बिदा लिए।

पुस्तकमा सत्यमोहनः समाचार सम्पादकीय अन्तर्वार्ता र स्मृतिहरूको संगालो

नेपाली साहित्य र संस्कृति क्षेत्रमा शताब्दी–पुरुष सत्यमोहन जोशी शिखर व्यक्तित्व थिए। उनले आफू शतक वर्षभन्दा बढी बाँच्न सफल भएको कुनै राज हुनसक्छ भनेर मृत्युअघि नै मृत्युपर्यन्त चिकित्सा विज्ञानको अध्ययनका लागि शरीर दान गर्ने इच्छा व्यक्त गरे। सोहीअनुसार उनको मृतशरीर किस्ट मेडिकल कजेलमा राखियो। अन्य मृतकको भन्दा फरक, उनको भौतिक शरीर अझै बाँकी छ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जीवनकालमा उनी आफैँले अनेकथरिका कीर्तिमान कायम गरे। एक शतकभन्दा बढ्ता जिउने क्रममा तीनपटक मदन पुरस्कार जित्ने, जिउँदो छँदै हुलाक टिकट प्रकाशनमा आउने, स्मारिका सिक्का बन्ने, काठमाडौँ विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि हासिल गर्ने कीर्तिमानका केही उदाहरण हुन्।

जोशी साहित्य र संस्कृति क्षेत्रमा निकै गहकिला कृति रच्न सफल भएका छन्। उनले पछिल्ला वर्षहरूमा नेपाल भाषा क्षेत्रमा पनि रचनात्मक कामहरू गर्न भ्याए। उमेरले नेटो काट्दै गर्दा उनले आफ्नो निवास ललितपुरको बखुंबहालमा निर्माणाधीन संग्रहालयमा एउटा अलौकिक चित्रकला (चक्रसंवर पौभा भित्तेचित्र) रच्न लगाए। त्यो भित्ते चित्रकला पूरा नहुँदै उनले संसारबाट बिदा लिए।

शंकरराज (दास) जोशी र नुगलदेवी दम्पतीका सुपुत्र सत्यमोहनले क्रिकेटको भाषामा उमेरको ‘सेन्चुरी’ कटाउलान् भन्ने अनुमान कमैको थियो होला। त्यो बेलाको काठमाडौँ खाल्डोका नेवारले खस भाषाको उद्गमस्थलसम्म पुगेर नेपाली लोकसाहित्यका कुरा जनमानसमा ल्याउला भनेर त झन् कसैले नसोचेको हुनुपर्छ। राणाशासन, पञ्चायत व्यवस्था, प्रजातन्त्र, संवैधानिक राजतन्त्रदेखि गणतन्त्रसम्म भोगेका एकाध व्यक्तिमध्ये सत्यमोहनले जीवनकालमा धेरै महत्त्वपूर्ण कामको अगुवाइ गरेका छन्।

नेपालको पहिलो तथ्यांक संकलक सत्यमोहन थिए। नेपालको पहिलो नक्सा तयार पार्न पनि उनको योगदान छ। सगरमाथाको पहिलो सफल आरोहण हुँदा उनी न्युजिल्यान्डमा थिए। संयोग के थियो भने, आरोहण दलका दुई जनामध्ये एक एडमन्ड हिलारी न्युजिल्यान्डकै थिए। त्यसबेला सत्यमोहनले नै न्युजिल्यान्डमा आरोहणसम्बन्धी ‘प्रवक्ता’ बनेर सूचना दिएका थिए। सांस्कृतिक संस्थानको स्थापना गर्न भूमिका खेल्ने उनै थिए। चिनियाँ रेडियोमा काम गर्ने बेला अरनिकोको विषयमा व्यापक खोज अनुसन्धान पनि उनैले गरे। गणतन्त्रपछि नेपालको राष्ट्रिय गान छनोटमा पनि उनको भूमिका थियो।

एकै व्यक्तिले चार वटा शासन व्यवस्था र चार राजाको शासनकाल भोगे। गणतन्त्र पनि भोगे। यी सबै भोगाइलाई साहित्यकार एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तकमा उतारेका छन्। पुस्तकमा अग्रजदेखि कनिष्ठ र फरक पृष्ठभूमिका व्यक्तिहरूको स्मृति अटाएको छ।

सत्यमोहनबारे धेरै व्यक्तिका धेरैथरि स्मृति छन्।

सत्यमोहनको जीवनकालमा उनको घर बखुंबहालको आँगन नेपालीका लागि सदैव खुला रह्यो। कोभिड एवं फोक्सोको समस्याले पटकपटक अस्पताल भर्ना हुनुपर्‍यो। त्यसअघि काठमाडौँको जुनसुकै कुनामा भरसक हिँडेरै पुग्ने उनको बानी थियो। उनी खरानी रङको टोपी, दौरासुरुवाल, कपडाको जुत्ता लगाउन मन पराउँथे। साँझ सुत्नुअघि एक सली (सानो प्याला) अय्ला खाने बानी भएको प्रष्ट बताइदिन्थे।

सत्यमोहन प्रमुख अतिथि, विशेष अतिथि बनेका धेरै सभा, समारोहमा उपस्थित हुँदा उनको स्मृति शक्ति देखेर म छक्क पर्थें। ८०–९० वर्षको उमेरमा पनि आफ्ना जीवनकालका घटनाहरू सप्रसंग विस्तार गर्न सक्थे। सत्यमोहनकै समकालीनहरू यस उमेरमा अल्जाइमर्स, डेमेन्सिया एवं अन्य दीर्घ तथा जीर्ण रोगबाट प्रताडित थिए वा थलिएर सामाजिक एवं सार्वजनिक भेलाहरूमा संलग्न हुन परहेज गर्न थालिसकेका थिए। त्यस बेला सत्यमोहन भने बोल्नुपर्ने विषय परिवेश जुनसुकै भए पनि निकै गहकिला एवं गहन तरिकाले राखिराख्नु हुन्थ्यो।

फेरि ती विचारहरू सतही, झूटा वा लरतरो तालले नभई आधिकारिक तवरले प्रस्तुत गर्थे। नेपाली कला, लोकसाहित्य, संस्कृति, अरनिको, नेपाल भाषा, नाटक त उनको आफ्नो विशेषज्ञताको क्षेत्र नै भयो, नेपाली राजनीति, अर्थनीति एवं विकास निर्माणको पनि मनग्गे जानकारी दिन्थे। उनको जीवनकालका धेरै किस्सा प्रकाशनमा आउनुपर्छ।

सम्झना भएसम्म उनी जीवित छँदै जनमत प्रकाशनबाट सत्यमोहन जोशी स्मृति अंक, वरिष्ठ विद्युत् इञ्जिनियर एवं साहित्यकार मोहनबहादुर कायस्थले ‘सत्यमोहन जोशी : व्यक्ति एक, अभिव्यक्ति अनेक’ एवं उनका आखिरी दिनमा पत्रकार गिरीश गिरीले ‘सत्यमोहन’ बायोग्राफी प्रकाशनमा ल्याएका छन्। हालै जितेन्द्र रसिकले ‘सत्यको खोज’ सार्वजनिक गरेका छन्। त्यसअघि, अनिल पौडेलले सत्यमोहनको जीवनी समेटिएको ‘जुरेली दर्शन’ लेखेका थिए। यसको अलावा अन्य साहित्यिक पत्रपत्रिकाले पनि सत्यमोहन जोशी विशेषांकहरू प्रकाशनमा ल्याएका छन्।

सत्यमोहनको भौतिक देहवसानलगत्तै उनको योगदान, उनले जीवनपर्यन्त पुर्‍याएको सेवालाई चीरकालसम्म स्थापित गरिराख्न लेखक तथा पत्रकार गोपीकृष्ण ढुंगानाको पहल र सम्पादनमा ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक भुँडीपुराण प्रकाशनबाट प्रकाशित भएको हो। यो निकै गहकिलो र समय सान्दर्भिक कदम हो। सत्यमोहनको अवसान भएको छोटो समयमै उनको स्मृतिमा लेखिएका त्यति धेरै लेखहरू संकलन गरी प्रकाशनमा ल्याउन ढुंगानाको ठूलो मिहिनेत छ। 

यो पुस्तकको लेख खण्डमा सत्यमोहन जोशीकै तीन वटासहित २७ लेखकका लेख छन्। सम्पादकीय खण्डमा सत्यमोहनको मृत्युलगत्तै गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक, राजधानी, नेपाल समाचारपत्र र ईकागजमा प्रकाशित सम्पादकीयहरू छन्। अन्तर्वार्ता खण्डमा कनकमणि दीक्षित, देवीदत्त न्यौपाने र छविरमण सिलवालले विभिन्न समयमा लिएका अन्तर्वार्ताहरू समेटिएका छन्। त्यसैगरी, परिशिष्टांक खण्डमा १७ लेखक साहित्यकारका रचनाहरू, समाचार खण्डमा सत्यमोहनको देहवसानलगत्तै १४ वटा पत्रपत्रिकामा विभिन्न शीर्षकमा प्रकाशित समाचारहरू एवं कविता खण्डमा तीनवटा कविता राखिएका छन्।

यस पुस्तकमा सत्यमोहन जोशीले रच्नुभएका लोकसाहित्य, काव्य, निबन्ध/प्रबन्ध, नाटक, जीवनी, बालसाहित्य, व्याकरण कोषसम्बन्धी कृतिहरूको सूची पनि समेटिएको छ। वैयक्तिक विवरणहरू पनि समेटिएको हुनाले सत्यमोहनको जीवनीमाथि रुची राख्नेहरूलाई धेरै सहज हुन गएको छ।

पुस्तकको अन्त्यमा तस्वीर खण्डअन्तर्गत सत्यमोहनको निवासस्थान बखुंबहालमा गरिएका विभिन्न क्रियाकलाप, श्रीमती राधादेवीसँगका पल, आफ्नो कृति पढ्दै गर्दाका क्षण, उनलाई प्रदान गरिएका सम्मान, अभिनन्दन, सत्यमोहनसम्बन्धी हुलाक टिकट, सिक्का, उनको पासपोर्ट, मृत्युपछि दिइएको शोकबिदाको पत्रलगायत तस्वीर करिब ६ पृष्ठमा छन्।

उक्त ग्रन्थमा घोत्लिँदा खासै खोट मान्नुपर्ने विषय छैन। तर सत्यमोहनसम्बन्धी लेखहरू समेट्ने क्रममा गिरीश गिरी, मोहनबहादुर कायस्थ एवं उनको स्मृति वा सत्यमोहन जोशी अंक विशेष प्रकाशन गर्ने अन्य लेखक÷साहित्यकारका लेखहरू समेट्न पाएको भए झन् गजब हुन्थ्यो। जोशीका कृति वा जीवनीमाथि विद्यावारिधि गर्ने नेपाल भित्र र बाहिरका शोधकर्मीहरूका छोटा छोटा रचना पनि समेट्न पाएको भए सुनमा सुगन्ध हुने थियो।


सम्बन्धित सामग्री