Saturday, May 04, 2024

-->

लिच्छविकालीन हाँडीगाउँ झल्काउने अबको हाँडीगाउँ

लिच्छविकालको राजधानी मानिएको हाँडीगाउँ अहिले फेरिइसकेको छ। तर अझै लिच्छविकालीन सम्पदा र कतिपय अवशेष देख्न पाइन्छ। अब वडा कार्यालयले ती प्राचीन सम्पदा ब्युँताउने गरी बनाउँदै गरेको गुरुयोजना कस्तो छ?

लिच्छविकालीन हाँडीगाउँ झल्काउने अबको हाँडीगाउँ
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– हाँडीगाँउस्थित दथु टोलका कान्छा प्रजापति (७०) र सिद्धि प्रजापति (९४) भदौ २४ गते घरको पेटीमा बसेर गफिँदै थिए। उनीहरूको गफको विषय थियो, हाँडीगाउँका परम्परागत ढोकाहरू।

कान्छा भन्दै थिए, “कृष्ण मन्दिरनजिकै ढ्वखा बहाल थियो, त्याँ’को ढोका चाहिँ बन्ला त?”

जवाफमा सिद्धि आशावादी देखिए। उनले भने, “एक ठाउँमा त ढोका बनाइसक्यो। अरू पनि बनाउने कुरा भइरहेको छ भन्छन्, तर के हुन्छ!”

जीवनको उत्तरार्द्धतिर पुग्दा उनीहरूले बाल्यकालमा देखेको हाँडीगाउँ धेरै परिवर्तन भइसकेको छ। आधुनिक विकास जोडिँदै गएको छ, कतिपय पुराना सम्पदा हराएका छन्। ती हराएका सम्पदामा पर्छ ढ्वखा बहाल।

कृष्ण मन्दिरबाट ओरोलो लाग्दालाग्दै ढ्वखा बहाल थियो। तर ढ्वखा (ढोका) हराउँदै गए। अहिलेका मान्छेलाई ती ढोकाबारे थाहा नै नहुनसक्ने कान्छा बताउँछन्। अहिले गहनापोखरीपट्टिको ढोका भने बनाइसकिएको छ।

ढ्वखा बहालजस्तै हराएका सम्पदा बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ५ कार्यालयले गुरुयोजना बताउँदैछ। वडा कार्यालयले भदौ २३ गते ‘हाँडीगाउँ सम्पदा पुनरुत्थान गुरुयोजना वृहत् छलफल कार्यक्रम’ गरेको थियो। सांस्कृतिक, सामाजिक र वातावरणीयलगायत बहुआयामिक पक्ष समेटेर हाँडीगाउँको पुनरुत्थान गर्ने उद्देश्यले गुरुयोजना बनाउन थालेको वडाले स्थानीयसँग छलफल गरेको हो। 

स्थानीय जेष्ठ नागरिक सिद्धि प्रजापतिका अनुसार हाँडीगाउँका ढोकाजस्तै फल्चा पनि मेटिएका छन्। ती फल्चा बन्छन् कि बन्दैनन् भन्ने कुतूहल छ उनलाई। उनले उकालोसँग भने, “अहिलेजस्तो बाटो पिच भएको थिएन। सबै कच्ची थियो, घाँस उम्रन्थे। पछि घरहरू बढे, फल्चाहरू हराउँदै गए।”

संस्कृतिविद् प्राडा सुदर्शनराज तिवारीको पुस्तक ‘हाँडीगाउँ’मा उल्लेख भएअनुसार लिच्छविकालमा हाँडीगाउँको पश्चिममा गहनापोखरी, पूर्वमा सत्यनारायण र चार कुनामा भीमसेनथान, कृष्ण मन्दिर, नाटेश्वर एवं कार्तिकेय मन्दिर थिए। लिच्छविकालको पछिल्लो समयतिर प्रशासनिक सीमांकनमा गरिएको संशोधनले विशालनगर (हाँडीगाउँ)लाई दक्षिणपूर्वमा सानोगौचरणस्थित नारायण, दक्षिणपश्चिममा नक्सालको चारढुंगेस्थित नारायण, उत्तरपश्चिममा टुकुचा, गैरीधारा र उत्तरपूर्वमा धनगणेशबीचको क्षेत्रमा सीमित गरेको थियो।

हाँडीगाउँ नेवार समुदायको बाहुल्य भएको, तर गैरनेवारको पनि मिश्रित बसोबास रहेको बस्ती थियो। यहाँ नेवारका पनि महर्जन, प्रजापति र डंगोल थर भएकाहरू धेरै थिए।

स्रोत: सुदर्शनराज तिवारीको पुस्तक 'हाँडीगाउँ'

हाँडीगाउँलाई नेपालको प्राचीनकालको मुख्य मानव बस्ती मानिन्छ। काठमाडौँको प्रारम्भिक शहरी स्वरूप र स्थानको अध्ययनका लागि यो एक मात्र जानकारीमूलक ठाँउ हुनसक्ने विज्ञहरू बताउँछन्।

हाँडीगाउँ लिच्छविकालभन्दा अगाडि किराँतकालको पनि मुख्य शहर रहेको प्राडा तिवारीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। तर राणाकालमा यहाँको संरचनामा धेरै परिवर्तन भएको तिवारीको भनाइ छ। उनका अनुसार, हाँडीगाउँ क्षेत्रको सम्पदामाथि मल्लकालमा कुनै हस्तक्षेप भएन। तर राणाकालमा राणाहरूले हाँडीगाउँको बाहिरी क्षेत्र नक्सालमा जग्गा कब्जा गरेर भौतिक संरचना बनाए। सीता भवन (बाल मन्दिर), नक्साल दरबारलगायतका भवन त्यही बेला बनेका हुन्। 

वडाले बनाउँदैछ पुनरुत्थानको गुरुयोजना
गत वर्षको इन्द्रजात्रा हेर्न काठमाडौँ महानगरले अन्य केही स्थानीय तहका प्रमुखलाई अतिथि बोलाएर कीर्तिपुर, भक्तपुर, ललितपुर र हाँडीगाउँसमेत घुमाएको थियो। त्यो भ्रमणलाई ‘महसुस यात्रा’ नाम दिइएको हाँडीगाउँसमेत पर्ने वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति बताउँछन्। “त्यतिबेला मेयर बालेन शाहले पनि हाँडीगाउँलाई सांस्कृतिक क्षेत्र घोषणा गर्नुभएको थियो,” उनी सम्झन्छन्।

सो यात्रापश्चात वडा कार्यालयले गुरुयोजना निर्माण गर्न थालेको हो। गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष प्रजापति बताउँछन्। अब आउने गुरुयोजनाअनुसार हाँडीगाउँमा ५० फिटभन्दा अग्लो भवन बनाउन नमिल्ने भएको छ। नयाँ बन्ने भवनको अघिल्लो भाग (मुखौडा) नेवार समुदायको परम्पारगत मौलिक शैलीको हुनुपर्ने छ। बनिसकेका भवन संरचनाको मुखौडा पनि नेपाली शैली झल्किने गरी बनाउन चाहे अघिल्लो भाग मात्र भत्काएर बनाउन अनुदान पाउने अध्यक्ष प्रजापति बताउँछन्। मौलिक शैलीको घर बनाउँदा नक्सा पासमा ९० प्रतिशत शुल्क छुट दिने वडाले निर्णय गरेको छ।

भक्तपुर नगरपालिकाले मौलिक शैलीको घर बनाउँदा १२ देखि ४० लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ। काठमाडौँ महानगरपालिका वडा नंं ५ ले भने वर्गफिटअनुसार अनुदान रकम दिने वडाध्यक्ष प्रजापतिले उकालोलाई बताए। भवनको वर्गीकरण गरेर त्यहीअनुसार अनुदान रकम निर्धारण गर्ने तयारी भएको उनको भनाइ छ।

“अब बन्ने भवनहरूलाई क, ख, ग र घ वर्गमा बाँडिएको छ। पूरै भत्काएर बनायो भने उक्त भवन ‘घ’ मा पर्छ, सबलीकरण मात्र ग¥यो भने ‘क’ मा पर्छ,” अध्यक्ष प्रजापति भन्छन्, “अन्य बाँकी दुई वर्गका लागि त्यहीअनुसार तोकिएको छ। वर्गीकरण अनुसारको रकम तर्जुमा गर्न गृहकार्य भइरहेको छ।”

वडा कार्यालयले आगामी असोज ५ गते ‘वर्ल्ड कार फ्री डे’को दिन पारेर  हाँडीगाउँमा करिब तीन घण्टा सवारी साधन प्रवेश निषेध गरेर पैदल यात्रा गराउने कार्यक्रम बनाएको छ। बिस्तारै हाँडीगाउँ क्षेत्रलाई ‘वान वे’ बनाउन सकिने वडाध्यक्ष प्रजापति बताउँछन्। यसबाट हाँडीगाउँको सम्पदा जोगाउन र पुनरुत्थान गर्न सहयोग पुग्ने उनको भनाइ छ।

वडाको योजनाबाट स्थानीय उत्साही छन्। मीना प्रजापति हाँडीगाँउको केन्द्र डबली चोकमा बस्छिन्। हाँडीगाउँमा हुने हरेक चाडपर्व, विवाहलगायतमा उक्त डबली प्रयोग हुन्छ। हरेक साल हुने खड्ग जात्राको लागि देवीहरूले सोही स्थानमा शक्ति दिने विश्वास गरिन्छ। टुँडालदेवीको जात्रामा उक्त डबलीमै ल्याएर देवीको खट तीनचार दिन बिसाउने चलन छ।

प्राडा तिवारीका अनुसार हाँडीगाउँको उक्त डबली काठमाडौँ उपत्यकाकै पुरानो हुनसक्छ। त्यसबेला बनाइएको विश्वास गरिएको कैलाशकुट भवन भएको अनुमानित ठाउँ र सत्यनारायण मन्दिर परिसरको पश्चिमतर्फ उकालोमा उक्त डबली छ। डबलीनजिक पाइएको शिलालेखअनुसार लिच्छविकालीन समयमा उक्त डबलीे शाही घोषणा गर्ने स्थान हुनसक्ने तिवारी बताउँछन्। 

स्रोत: सुदर्शनराज तिवारीको पुस्तक 'हाँडीगाउँ'

हाँडीगाउँका सडक कुनै समय जात्राका लागि बनाइएका बाटा हुन्। अहिले पनि ती सडक फराकिला हुन नसकेको कारण बिहान र बेलुका सवारी जाम हुन्छ। जाम छिचोल्न गाह्रो हुँदा पाँच मिनेट टाढाको घर पुग्न आधा घण्टासम्म लाग्ने स्थानीय मिना प्रजापति बताउँछिन्। बाटो एक तर्फीमात्र चलाए ट्राफिक जाम र सम्पदा क्षेत्रमा हुनसक्ने सम्भावित दुर्घटना पनि कम हुने उनको अपेक्षा छ।

लिच्छविकालकै सम्पदाहरूको झल्को दिने गरी हाँडीगाउँलाई परिवर्तन गर्ने वडाको अभियानले मिना खुशी छिन्। हाँडीगाउँका सम्पदा पूर्णरूपमा पुरानो समयको जस्तो नभए पनि ६०–७० प्रतिशतसम्म त्यस्तै बन्लान् कि भन्ने उनको अनुमान छ।

एफएचआई ३६० स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरका अनुसार सम्पदा क्षेत्रमा सवारी साधानको आवतजावतबाट हुने कम्पनले कमजोर संरचनामा क्षति पुग्न सक्छ। यस्ता क्षेत्रमा  सवारीसाधनको आवतजावत कम गरी पदैल यात्रालाई प्रोत्साहन गर्न सके संरक्षणमा टेवा पुग्छ। वायु प्रदूषण नियन्त्रणका लागि पनि सवारी साधनलाई त्यस्ता स्थानमा कम चलायमान बनाउनु पर्ने उनको भनाइ छ। 

“संसारभरिका परम्परागत शहरहरूमा सवारी साधनलाई नियन्त्रण नै गरेको पाइन्छ,” तुलाधर भन्छन्, “कोर एरियाको सरसफाइ पनि उत्तिकै महत्वपूर्ण विषय हो। गल्ली, साँघुरा क्षेत्रमा अनावश्यक फोहोर थुप्रने प्रवृत्तिमा कमी आउनुपर्छ, जुन स्थानीय तहबाट पहल हुनुपर्छ।”

त्यो हाँडीगाउँ, यो हाँडीगाउँ
टंगाल भाटभटेनी मन्दिरबाट पूर्वमा ढल्कु हुँदै करिब ३०० मिटर पर पर्छ हाँडीगाउँस्थित वडा नं. ५ को कार्यालय। वडा कार्यालयबाट पूर्वतर्फ भुतेश्वर भैरवसम्म जाँदा शिवलिंगका पुराना मूर्ति घरको आँगनअघि बेवास्ता गरी राखिएको पाइन्छ। त्यसैगरी, गहना पोखरी क्षेत्र पुनर्निर्माण गर्दा मार्बल लगाइएको छ। पुराना मौलिक घरको भग्नावशेष देख्न सकिन्छ। सडकको छेउमा पाइने चिबाः, मूर्ति, शिलालेखलगायत सम्पदा संरक्षणको पर्खाइमा छन्।

वडा कार्यालयले भदौ २३ गतेको छलफलमा प्रस्तुत गरेको कार्यपत्रअनुसार ४० वर्षअघि यहाँ नौ वटा पोखरी थिए। तर अहिले एउटा मात्र बाँकी छ। उतिबेला चोकचोकमा इनार थिए। अहिले मालीगाउँको एउटा इनार मात्र बाँकी छ। विभिन्न समय र पर्वमा १४ प्रकारका बाजा बजाइन्थे, हाल ११ थरीका बाजा मात्र बज्छन्। पैँता हाँडीगाउँका महर्जनहरूले मात्र बजाउने बाजा हो। यस्ता मूर्त, अमूर्त सम्पदा हराउँदै गएका उदाहरण छलफल कार्यक्रममा प्रस्तुत गरिएको थियो। 

“हाँडीगाउँ जोखिमपूर्ण स्थितिमा गइसक्यो। प्रत्यक्ष महसुस हुने ढुंगेधारा, इनार, जलद्रोणी, जात्रा, पर्व, नाच, बाजालगायत मूर्त, अमूर्त सम्पदालाई ब्युँताउने काम प्राथमिकतामा छ,” वडाध्यक्ष प्रजापति भन्छन्, “दिनप्रतिदिन जोखिमपूर्ण अवस्थामा पुग्न थालेको ऐतिहासिक हाँडीगाउँको विषयमा समयमै ध्यान दिनसकेको भए यो परिस्थितिको सामना पक्कै गर्न नपर्ने थियो।”

लामो तयारीपछि हाँडीगाउँ पुनरुत्थानको गुरुयोजना बनाएको प्रजापतिको भनाइ छ। गुरुयोजना पूरा हुन १५–२० वर्ष लाग्न सक्ने उनी बताउँछन्। “चार वर्षको अवधिमा धेरै काम नसके पनि दुई–चार वटा काम गर्न सके त्यसले आउने जनप्रतिनिधिले त्यस योजनालाई निरन्तरता दिने क्रम दबाब पर्ने थियो,” प्रजापतिले भने।

हाँडीगाउँका स्थानीय तथा संस्कृतिविद् डा. सुदर्शनराज तिवारी यसअघि पनि सम्पदा पुनरुत्थानको गुरुयोजनाको विषय पटकपटक उठेको बताउँछन्। यद्यपि, यसपटक स्थानीयको सहभागिता खोज्नुले आशावादी बनाएको उनको भनाइ छ।

पहिलेका गुरुयोजनामा हाँडीगाउँलाई संरचनागत, सांस्कृतिक र सामाजिक दृष्टिले मात्र हेरिएको थियो। मठमन्दिर क्षेत्रहरूको संरक्षणमा ध्यान दिइएको थियो। हालको गुरुयोजनामा सामाजिक घुलनलाई प्राथमिकता दिइएको डा. तिवारी बताउँछन्।

स्रोत: सुदर्शनराज तिवारीको पुस्तक 'हाँडीगाउँ'

वडाले गरेको छलफलमा कार्यपत्र प्रस्तुत गर्दै उनले इसापूर्व दोस्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र रहेको बताए। हाँडीगाउँको यो लिच्छविकालीन इतिहासलाई त्यही कालको झल्को दिने अवस्थितिमा रुपान्तरणको काम थालनी गुरुयोजनाको लक्ष्य भएको उनी बताउँछन्।

“यहाँका मूर्त, अमूर्त सम्पदाको पुनरुत्थानबिना मैले किताबमा लेखेको समय नै जोखिममा थिए। कतिपय सम्पदा क्षेत्र मासिएका पनि छन्। मासिएका र हराएका दुवै थरी सम्पदालाई संरक्षण गर्नु पर्छ,” उनी भन्छन्, “हामीले गलत गरेका थियौँ, गल्ती सुल्झ्याउन अब ढिला गर्न समय छैन।”

‘अर्बन डिजाइन गाइडलाइन आवश्यक’
वडासँग मौखिक सहमतिमा रिच आर्किटेक्ट कम्पनीले सम्पदा बचाउने खालका भवन बनाउन काम गरिरहेको आर्किटेक्ट कन्जर्भेसन डिजाइनर सविना तुलाधरले बताइन्। उनका अनुसार, गुरुयोजना अन्तर्गत सांस्कृतिक पाटोलाई केन्द्रमा राखेर भवन डिजाइन तोक्ने योजना बन्दैछ। जसअन्र्तगत हाँडीगाउँका मौलिक र मूर्त तथा अमूर्त सम्पदालाई पुनरुत्थान र समयअनुकूल बनाउने कामलाई प्राथमिकतामा राखिने उनले बताइन्। 

“हाम्रो योजना पूर्ण भइसकेको छैन। बाँकी रहेका आवासीय तथ्यांक तथा जानकारीको अभिलेखीकरण बाँकी छ। सीमांकनको अध्ययन पनि क्रमिक रूपमा भइरहेको छ,” उनले भनिन्, “कल्चरल मास्टरप्लानमा पर्यटनलाई पनि ध्यानमा राख्नुपर्छ। अहिलेको लागि मास्टर प्लानमा पुराना सम्पदा कसरी ब्युताउन सकिन्छ भन्ने हेर्दैछौँ।” 

लिखित कार्यादेश नआइसकेको कारण सोचेअनुरूप काम भने अघि बढाउन समस्या भइरहेको तुलाधरको भनाइ छ। बचेका मूर्त, अमूर्त सम्पदालाई पहिला संरक्षण गर्नुपर्ने छ। त्यसलाई मास्न नदिन योजना बनेको उनले जानकारी दिइन्। घरआँगन, पेटी, खेतबारी, सडकमा असरल्ल रहेका सामग्री संरक्षणको प्राथमिकता रहेको पनि उनले जानकारी दिइन्।

“यी क्षेत्रलाई पैदलयोग्य बनाउनु पर्नेछ, तर गाडी रोकेर मान्छे मात्र हिँड्न दिनु पनि अबको समयमा सम्भवना र प्रयोगको विषय होइन,” आर्किटेक्ट तुलाधर भन्छिन्, “पर्यटन गतिविधि शहरी चरित्रअनुसार सुहाउँदिलो हुनुपर्छ। अबको लागि परम्परागत घर धेरै मात्रमा हराइसक्दा नयाँ बन्ने घर वा भौतिक संरचनामा पुराना शैलीको आभास दिलाउन सकिन्छ। त्यसको लागि अर्बन डिजाइन गाइडलाइन आवश्यक पर्छ।”

प्रशासनिक कार्यबाहेक हाँडीगाउँका जात्रा, पर्वलगायत सम्पदाको फोटो, भिडियो तथा अभिलेखीकरणको काम भइरहेको रिच आर्किटेक्ट कम्पनीको आर्किटेक्ट पदमसुन्दर महर्जन बताउँछन्। उनी भन्छन्, “कार्यादेश प्राप्त भएसँगै पूर्ण अधिकार र कर्तव्यसहित काम शुरु गर्नेछौँ।”


सम्बन्धित सामग्री