Monday, May 06, 2024

-->

राजनीति र साहित्यका बीपीलाई जोड्न महोत्सव

कांग्रेस सभापति देउवाले बीपीका साहित्यिक कृतिको पनि चर्चा गर्दै श्वेतभैरवी कथासंग्रह पढेर त्यसको पात्रमाथि बीपीसँग भएको संवाद पनि सम्झिए।

राजनीति र साहित्यका बीपीलाई जोड्न महोत्सव

काठमाडौँ– सधैँ राजनीतिक चहलपहल हुने ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार भने साहित्यको रौनक छायो। 

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आइतबारदेखि आयोजना गरेको ‘बीपी साहित्य महोत्सव, २०८०’ मा सहभागी हुन आउने नेता, कार्यकर्ता र साहित्य अनुरागीको उपस्थितिले पार्टी कार्यालय ‘साहित्यसदन’ जस्तै बनेको थियो।

आफ्नो जीवनमा राजनीति र साहित्य दुवै क्षेत्रमा उत्तिकै योगदान गरेका बीपीलाई सम्झन र सम्मान दिन यो महोत्सव आयोजना गरिएको हो। बीपीका विभिन्न पक्षबारे विमर्श गर्दै महोत्सव तीन दिनसम्म चल्नेछ। 

आइतबार कार्यक्रमको शुरूआतमै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिज्ञ बीपी र साहित्यकार बीपी दुवैलाई गाँसेर बीपी साहित्य महोत्सव आयोजना गरिएको बताए। कार्यक्रमको उद्घाटन सत्रमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। बीपीले देखाएको राजनीतिक चिन्तनको मार्गमै कांग्रेस हिँडिरहेको उनको दाबी थियो। 

सभापति देउवाले बीपीका साहित्यिक कृतिको पनि चर्चा गर्न भ्याए। श्वेतभैरवी कथासंग्रह पढेर त्यसको पात्रमाथि बीपीसँग भएको संवाद उनले सम्झिए। 

"उक्त कथा संग्रहको ‘फगुनी’ पात्रबारे सोध्दा घुँडामुनि लागेको घाउ देखाउँदै बीपीले भन्नुभएको थियो– अहिले पनि यो घाउ ताजै छ," उनले भने। 

महोत्सवको पहिलो छलफल कार्यक्रम ‘बीपीका दृष्टिमा बीपी’ शीर्षकमा भएको थियो। वक्ताहरू भुवन ढुंगाना, कृष्ण खनाल, सिके लाल थिए भने सहजकर्तामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा थिए। 

शर्माले बीपीसँग जोेडिएको ‘भोटो र कात्रोे’को प्रसंग उप्काए। वक्ता भुवन ढुंगानाले बीपीका आत्मकथा पढ्यो भने उनका बुवा नै प्ररेरणाका स्रोत भएको थाहा पाइने बताइन्। 

"यो कुरा थाहा पाउन सकिन्छ कि उहाँका बुवा खरदारका रुपमा चन्द्रगञ्जमा जागिरेमा हुनुहुन्थ्यो। उहाँ बुवा मात्रै होइन गुरु पनि हो। त्यतिबेला भोकानांगा, मैलो लुगा लगाएकाहरू बाटोमा देखेपछि तिनीहरूलाई लुगा खोल्न लगाएर राम्रा लुगा किनेर दिए र ती कपडा चन्द्रशमशेरलाई नेपालका जनता यस्ता छन् भनेर पठाए। उक्त घटनाले पनि बीपीको विद्रोहको शुरूआत् भएको पढ्न पाइन्छ," उनले भनिन्, "बीपीको आमा पनि साहसी महिला हुनुहुन्थ्यो उहाँ पनि बीपीको पथ प्रदर्शकका रुपमा हुनुहुन्थ्यो।"

मोहनशमशेरको अगडि बीपी झुक्नुभन्दा उ मरोस् बरु उसको लागि म कात्रो पठाउँछु भन्ने उनको आमाको उक्त साहसी बोलीका पछाडि बीपीको लोकतान्त्रिक यात्रा अझै सफल भएको बुझ्न सकिने वक्ता ढुंगानाको भनाइ थियो। 

ढुङ्गानाले भनिन्, "बीपीका लागि उनको बुवा रोल मोडल थिए। आमाको हौसलाले पनि उनमा ठूलो प्रभाव पार्‍याे।"

अर्का वक्ता कृष्ण खनालले मोदी आइन् उपन्यासबाट जीवन ठूलो बन्न नभएर असल बन्न भएको सन्देश मिल्ने बताए। वक्ता खनालले भने, "बीपी आफूले देखेको दोस्रो विश्वयुद्धपछिको दर्शन प्रतिपादन गर्नुभएको थियो।" 

बीपीले आफ्नो लेखनमा जटिल पात्रहरूको सिर्जना गरेको भए पनि आफू ती पात्रभन्दा कम जटिल नभएको सिके लालकाे भनाइ थियाे। बीपीले आफ्नो आत्मकथाको अन्तिम पंक्तिमा उल्लेख गरेको भनाइ ‘अध्यात्ममा म रहस्यवादी हुँ, साहित्यमा म छायाँवादी रोमान्टिक हुँ तर राजनीतिमा म गान्धीको आदर्शवादी हुँ’लाई सम्झिँदै सिके लालले बीपी आफै पनि जटिल पात्र भएको उल्लेख गरे। 

कार्यक्रममा सहजकर्ता शर्माले बीपी प्रधानमन्त्री भएको बेला मदनमणी दीक्षितलाई बोलाएर मलाई प्रश्न गर भनेर मिडियालाई भन्ने तर अहिलेका सरकार प्रश्न गर्दा प्रतिप्रश्न गर्ने प्रवृत्तिकाे बारेमा प्रश्न गरे। यसलाई लिएर वक्ताहरूले बीपीको चरित्र, राजनीतिक चेतना र चिन्तनबारे समीक्षा गरे। अहिले पार्टीको संस्कार र प्रवृत्ति नै गलत भएको जुन अहिलेका युवा नेतृत्वले बुझ्नुपर्ने वक्ताहरूको भनाइ थियो। प्रश्नलाई सामना गर्नको लागि चाहिने आत्मविश्वास बीपीमा मात्रै भएको वक्ता सिके लालको तर्क थियो। 

कार्यक्रमको दोस्रो सत्र “बीपी कोइरालाका आख्यानमा मनोविश्लेषण” विषयमा वक्ताहरू कोमल फुयाल, राम लोहनी, डा. साधना पन्त प्रतिक्षा र सहजकर्ता दीपकप्रसाद ढकाल थिए। कोमल फुयालले तत्कालीन समयबाट पञ्चायती समालोचनाले उत्पादन गरेका भाष्यलाई बीपीले तल्लो स्तरमा राखेका बताए। उनले बीपी निषेधित क्षेत्रमा जान रुचाउने बताए। 

समयले जब केही निषेधित क्षेत्र तोकिदिन्छ, नैतिक सत्ताले केही निषेधित क्षेत्रहरू निर्माण गर्छ जस्तै पञ्चायत, यौन, संस्कृति जस्ता विषयहरूमा फ्रायडको लेन्सबाट पनि मनोविश्लेषण गर्न सकिने फुयालको तर्क थियो। "निषेधित क्षेत्रमा बीपी जान रुचाउने गरेको पाइन्छ," उनले भने।

कार्यक्रमको तेस्रो सत्र 'साहित्यमा पर्यावरण' भन्ने शीर्षकमा विमर्श गरिएको थियो जसको सहजकर्ता अर्चना थापा र वक्ताहरू सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्बराज जोशी, प्राध्यापक तीर्थबहादुर श्रेष्ठ, संगिता रायमाझी थिए। 

चौथो सत्र 'नेपालको मातृभाषा साहित्य' शीर्षकमा गरिएको थियो। सहजकर्ता प्रकाश थाम्सुहाङ वक्ताहरू बमकुमारी बुढामगर, अमृत याेञ्जन, चन्द्र किशोर थिए। नेपाली मातृभाषा साहित्य, सम्भावना लगायतका विभिन्न विषयमा चर्चार र छलफल गरे।

त्यसपछि नेपाली लेखक संघका अध्यक्ष कवि तीर्थ श्रेष्ठले बाघ कविता वाचन गरेसँगै ‘कविता साँझ’को शुरू भयो।
बाघ :
एकदिन नातिले आफ्नो बाजेसँग सोध्नेछ, बाजे बाघ भनेको कस्तो हुन्छ?
बाजे असमञ्जसमा आफ्नो बुढो कपाल कन्याउनेछ अनि भन्नेछ,
बाबु बाघ मान्छेभन्दा भयानक हुन्थ्यो, अहिले बाघभन्दा मान्छे भयानक भएको छ।
त्यसैले तिमी छौ, म छु बाघ छैन।

त्यसपछि २० वटा कविले पालैपालाे कविता वाचन गरेसँगै आजका सत्रकाे समापन भयाे। साहित्य महोत्सवाको दोस्रो दिन भदौ २५ गते बिहान ‘वीर गणेशमान’ चलचित्र प्रदर्शन गरी महोत्सवको शुरूआत गरिनेछ। ‘मार्क्स, गान्धी र बीपी, आजको लोकतान्त्रिक समाजवादको खोज’ विषयमा आनन्द कुमारले सम्भाषण दिनेछन्। त्यसपछि बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन्। दोस्रो दिनको अन्तमा ३० गजलकारबाट गजल साँझ आयोजना हुने छ।

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको शुरूआत गरिने छ। त्यसपछि बीपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनेछन्। त्यसपछि समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबाल्र्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी विषयमा अलग–अलग सत्र सञ्चालन हुनेछन्। अन्तिममा सांगीतिक साँझसँगै महोत्सव समापन गरिने पार्टी कार्यालयले जनाएको छ। 


सम्बन्धित सामग्री