Thursday, May 02, 2024

-->

हतुवागढीमा दिमालुङ स्मारक उद्यान

उद्यानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन्। किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्।

हतुवागढीमा दिमालुङ स्मारक उद्यान
तस्वीर: रासस

भोजपुर– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ। किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिका र प्रदेश सरकारको लगानीमा उद्यान निर्माण गरिएको हो। 

प्रदेश सरकारको पर्यटन मन्त्रालय र भवन तथा शहरी विकास कार्यालयको दुई करोड आठ लाख र पालिकाको पाँच लाख रुपैयाँ लगानीमा उद्यान निर्माण गरिएको पालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। वडा नं २ र ३ मा पर्ने सो स्थान किरात राईको आस्थाको केन्द्र हो। 

“किरात संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोडेका छौँ,” अध्यक्ष राईले भने, “यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शंखामचुली, दिमालुङ पदमार्गको अन्तिम बिन्दु हो।” यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन्। यहाँ रहेको किरात राईको इतिहास बोकेको विशेष खालको दिमालुङ ढुंगाको पनि संरक्षण गरिएको छ।  

राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुंगा हो। त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो। किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्।


सम्बन्धित सामग्री