Thursday, May 02, 2024

-->

भोजपुरे खुकुरी संरक्षणमा जुटेका महेन्द्र, वार्षिक १० लाखसम्म कमाउँछन्

खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण यसमा नयाँ पुस्ता लागेका छैनन्। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ।

भोजपुरे खुकुरी संरक्षणमा जुटेका महेन्द्र वार्षिक १० लाखसम्म कमाउँछन् 

भोजपुर– कालिगड व्यवसाय सञ्चालन गरेर महेन्द्रकुमार विश्वकर्माले भोजपुरे खुकुरी संरक्षणमा जुटेका छन्। उनले लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई जोगाएका मात्र छैनन्, यसबाट वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानीसमेत गरिरहेका छन्। 

भोजपुर नगरपालिका–५ बोखिमका महेन्द्रले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएका हुन्। “पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ,” उनले भने, “भोजपुरे खुकुरी बनाउने हाम्रो पुर्ख्यौली पेसा हो। भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्‍याउन जुटेको छु,” उनी भन्छन्, “आम्दानी पनि राम्रो छ।”

जिजुबाजे गोपे विश्वकर्मा, बाजे जंगबहादुर र बुवा सिंहबहादुरले खुकुरी बनाएर नै जीवन बिताएको उनले सुनाए। तत्कालीन राजा महेन्द्र शाह आउँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान चुलिएको उनको भनाइ छ। त्यो समयमा खुकुरी चढाएबापत बुवालाई राजाले एक हजार ४०० रुपैयाँ दिएको उनको भनाइ छ। 

“भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ,” उनले भने, “त्यसमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु। बजारमा पुरानो शैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ।”

उनले ‘महेन्द्र खुकुरी उद्योग’समेत दर्ता गरेका छन्। एउटा खुकुरी एक हजार ५०० देखी ३० हजार रुपैयाँसम्ममा बिक्री हुने महेन्द्रले सुनाए। यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारको रूपमा लैजाने गरिन्छ। आफूले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरबार, कट्टीलगायत निर्माण गर्ने गरेको उनले जानकारी दिए। 

१८ वर्ष नेपाली सेनामा जागिर खाएर आएपछि उनले छोराहरूसहित यो पेसालाई निरन्तरता दिएका छन्। “भोजपुरको पहिचान झल्कने विभिन्न आकारका खुकुरी निर्माण गर्दै आएको छु,” उनले भने, “बाहिर पसलमा पाउनेभन्दा मैले बनाएका खुकुरी महँगा छन्। अन्य बजारमा पाइने खुकुरीको तुलनामा गुणस्तर फरक हुन्छ। पहिलो पटक किन्ने मान्छेलाई पहिचान गर्न समय लाग्छ।”

महेन्द्रका दुई छोराले पनि यही पेसा गर्दै आएका छन्। बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक २० लाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताए। गाउँमा रहेको उद्योगबाट सिधैँ बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनी सुनाउँछन्। यस पेसालाई भावी पुस्तासम्म पुर्‍याउने लक्ष्यले स्नातक तह पढेर पनि कालिगड पेसा गर्दै आएको ज्ञानेन्द्रको भनाइ छ। मेहनत गरेर लाग्न सके विदेशमा हुने कमाइ यही गर्न सकिने उनको अनुभव छ। 

“यो पेसामा युवापुस्ताको रुचि कम हुँदै गएको अवस्था छ,” उनले भने, “गाउँमा विगतमा १० परिवार कालिगड रहेकामा अहिले हामीले मात्र गर्दै आएका छौँ। यसलाई बचाउनुपर्छ भन्ने लागेर नै अन्य काममा नलागेर कालिगड पेसा गर्दै आएको छु।”

खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा संकटमा पर्ने अवस्था रहेको उनले सुनाए। व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ। राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने ज्ञानेन्द्रले बताए। “यो व्यवसाय सञ्चालन गर्न धेरै नै समस्या छन्,” उनले भने, “दैनिक कामकाजका लागि कोइला, बिँड र दापका लागि चाहिने काठसँगै गुणस्तरीय फलाम पाउन मुस्किल पर्छ।”

बनाएको खुकुरी बिक्रीका लागि उपयुक्त बजारसमेत नभएको उनीहरूको गुनासो छ। “बिचौलियाको मारमा हामी उत्पादक परेको अवस्था छ। सरकारले बजारीकरणका साथै आवश्यक सहयोग दिए सहज हुने थियो,” उनले भने। एउटा सादा खुकुरी बनाउन दुई जनालाई एक दिन र ठूलो तथा बुट्टा भएको खुकुरी र दाप बनाउन चारदेखि पाँच दिनसम्म लाग्ने गरेको छ। आफूले बनाएको खुकुरीमा बाउबाजेले जस्तै घरेलु औजार उपकरणको सहायताले पुरानो शैलीबाट सान लगाएर पाइनसँगै धार लगाउने भएकाले आकर्षकसँगै लामो समयसम्म टिकाउ हुने उनको भनाइ छ। 

पछिल्लो समय गुणस्तरभन्दा पनि सजिलोको बाहनामा पुरानो शैलीमा भोजपुरे खुकुरी बनाउने चलन हराउँदै गएको छ। गुणस्तरीय ढंगले पाइन नलगाएको खण्डमा हेर्दा राम्रो देखिए पनि खुकुरी केही समयमा बिग्रने विश्वकर्मा बताउँछन्। सस्तोका नाममा बाहिरबाट आउने खुकुरीले भोजपुरे खुकुरीको पहिचान हराउने अवस्था आएको छ। 

“भोजपुरे खुकुरी भन्ने बित्तिकै बनावट र आकार नै विशेष प्रकारको हुन्छ,” महेन्द्रले भने, “घरेलु औजारको प्रयोग गर्दै हातको सहायताले निर्माण गरिने भएकाले यो खुकुरी गुणस्तरीयसँगै आकर्षक देखिन्छ।”

खुकुरी बनाउने परम्परागत शैलीलाई यथावत् राख्दै पेसालाई जोगाउन राज्यले समस्याको पहिचान गरी आवश्यक सहयोगसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। 


सम्बन्धित सामग्री