शाह उपाधि धारण गरेका कास्कीका राजा कुलमन्डन खाँको पालामा अहिलेको पोखरा क्षेत्रमा मुस्लिमहरूको बस्ती बसेको मानिन्छ। अन्य रैथाने जातिजत्तिकै पुरानो इतिहास भएका उनीहरूसँग पोखरा नामकरणको किस्सा पनि छ।
पोखरा– पोखरालाई लाहुरेहरूले बसाएको शहर भनिन्छ। संस्कृतिविद् जगमान गुरुङ २०१८ सालमा कास्कीको याङ्जाकोटबाट पढ्न पोखरा झर्दा गुरुङका चार घर मात्र थिए। बाहुन, क्षेत्री र नेवारहरूको भने बाक्लो बस्ती भएको उनी सम्झन्छन्।
बेलायती र भारतीय सेनामा भर्ना भएका गुरुङहरू फर्किएर पोखरा बस्न थालेपछि बिस्तारै लाहुरेको संख्या बढ्न थाल्यो। २०२० सालदेखि पोखरामा लाहुरेहरू बस्न थालेको गुरुङ बताउँछन्। पोखरामा यी जाति मात्र होइन मुस्लिम पनि छन्, जो अन्य रैथाने जत्तिकै पुराना हुन्।
पोखरा–१३ स्थित मियाँपाटनमा मुस्लिम समुदायको बाक्लो बस्ती छ। पाटनको झाडी फाँडेर उनीहरूले बस्ती बसाएका थिए। यो समुदाय यहाँ बस्न थालेको ४०० वर्ष भएको मुस्लिम अगुवाहरू बताउँछन्।
इतिहासकार बाबुराम आचार्यले कास्की राज्यको स्थापना विचित्र खानले गरेको उल्लेख गरेका छन् (नेपालको संक्षिप्त इतिहास, पृष्ठ ९३)। उनी नुवाकोट (अहिलेको नुवाकोट जिल्ला नभई स्याङ्जामा पर्ने नुवाकोट) का राजा मिचा खानका छोरा हुन्। विचित्र खानका छोरा यशोब्रम्ह शाही लमजुङका राजा भएको आचार्यले उल्लेख गरेका छन्। तर अन्य कतिपय इतिहासकारहरूले भने यशोब्रम्ह शाही कुलमण्डन खानका छोरा भएको उल्लेख गरेका छन्। कुलमण्डल कास्कीका राजा भएको ती इतिहासकारको भनाइ छ। वास्तवमा विचित्र खानकै अर्को नाम कुलमण्डन खान थियो। उनैले पहिलोपटक शाही वा शाह उपाधि लिएका थिए।
कवि हनिफ मियाँका अनुसार चौबिसे राज्य कास्कीका राजा कुलमन्डन शाहकै पालामा मुस्लिमहरू मियाँपाटनमा बस्न थालेका हुन्। राजा कुलमन्डन शाहलाई छोराले काट्न जाँदा समशोद्धिन मियाँ नाम गरेका मुस्लिम सैनिकले उफ्रेर लात्तीले हानिदिए। लात्तीको जोरले ढल्पलाएर लडेका राजाका छोराको आफ्नै हतियारमा परेर मृत्यु भएपछि कुलमन्डन शाह खुशी भएर मुस्लिमहरूलाई बस्ने बस्ती दिएको कवि मियाँ बताउँछन्।
“ज्यान बचाइदिएपछि राजा खुशी भएर ‘के दिउँ’ भनेर सोधे। त्योबेला पैसाको चल्ती थिएन। कास्कीबाट तल हेर्दा बिन्ध्यवासिनीको ठूलो फाँट छ। त्यो फाँट नजिकै ठूलो पोखरी थियो। पानी भएपछि बस्तुभाउ पाल्न पनि सजिलो,” कवि मियाँ भन्छन्, “राजाले त्यहाँ ठूलो टहरो बनाएर मुस्लिमहरूलाई बस्ने व्यवस्था गरिदिएछन्।”
उनका अनुसार त्यहाँ खयरघारी थियो। झाडी पन्छाउँदै र आगो पनि लगाउँदै मुस्लिमहरूले जंगल फाँडेर बस्ती बसाए।
कवि मियाँका अनुसार नेपालमा राजा महेन्द्र मल्लको पालामै मुस्लिमहरू अंगरक्षकका रूपमा नेपाल आएका थिए। सिंगारपटारदेखि हातहतियार बनाउन उनीहरू पारंगत थिए। विवाहमा बेहुलीको सिँगारपटारका सामान उनीहरू नै ल्याउँथे। “मुस्लिमहरूले सामान ल्याउँदा कहीँ पनि भन्सार कर तिर्न नपर्ने भनेर छुट दिइएको थियो। २०१५ सालसम्म पनि यो छुट कायम थियो,” उनी भन्छन्।
मुस्लिमहरूको बस्ती थियो पोखरा
त्यसबेला भारतबाट सामान ल्याउँदा उधारो पनि पाउँथे। भारतमा उधारो ल्याउने ठाउँमा उनीहरूले आफ्नो ठेगाना ‘नेपाल राज्य, शितलादेवी मन्दिर, चिसोखोलाको सानो पोखरी’ भनेर लेखाउने गरेको इतिहास भएको कवि मियाँ बताउँछन्।
त्यतिबेला झाडापखालाको प्रकोप नै चलेको उनी बताउँछन्। झाडापखालाबाट धेरैको ज्यान गएपछि सामान लिन भारत जानेहरूको संख्या पनि घटेको थियो। उधारो लगेका धेरै जनाको मृत्यु भएको खबर पुगेपछि पैसा उठाउन उताका साहु यताबाट जानेको पछि लागेर आए। यता महामारीले घरहरू खाली थिए।

उताका व्यापारीले चिसो खोलाको सानो पोखरीलाई चिसो पोखरी भने। पोखरी भन्दाभन्दै पोखरा नाम भएको कवि मियाँ बताउँछन्।
चिसापोखरीबाट मुस्लिमहरू अहिलेको महेन्द्रपुल आसपास सरे। त्यहाँबाट भद्रकाली सरे। त्यहाँको बसाइ पनि अहसहज भएपछि करिब ३०० वर्षअघि मियाँपाटन सरेको मियाँको भनाइ छ।
त्यसपछि आवादी बढ्दै गएर जीविकोपार्जनमा कठिन हुन थालेपछि विदेशिने लहर चल्यो। कतिपय कामका लागि भारत गए भने, कोही अरबतिर। रोजगारीमा गएका धेरै उताबाट फर्किएनन्। बरु, यताकालाई पनि लगे। अहिले पोखरा–१३ मा मुस्लिम समुदाय ३०० परिवार छन्। १३ सयभन्दा बढी मतदाता छन्।
भातृत्वपूर्ण सम्बन्ध
दिनहुँ ‘अजान’पछि नमाज पढ्ने मुस्लिम र स्थानीय अन्य धर्मावलम्बीबीच भातृत्वपूर्ण सम्बन्ध छ। ४१ वर्षीय ज्याउल हफ मियाँ २० वर्षअघि स्कुल पढ्दाका साथीहरूसित अहिले पनि उस्तै नजिकको सम्बन्ध रहेको बताउँछन्। “म भद्रकालीबाट एसएलसी गरेर २० वर्षअघि पढ्नका लागि पृथ्वीनारायण क्याम्पस गएँ। त्यसबेला स्कुल पढ्दाका साथीहरू सम्पर्कमा छौँ,” उनी भन्छन्, “इदको मौकामा साथीहरूलाई बोलाएर गेट टुगेदर गर्छु। निकै राम्रो सम्बन्ध छ।”
अर्का स्थानीय अब्दुल रहिम मियाँपाटनमा सबै समुदाय मिलेर बसेको बताउँछन्। ब्राह्मण समुदायको बाहुल्य रहेको मियाँपाटनमा अहिले गुरुङहरू पनि थपिएका छन्। “हामी एकदम मिलेर बसेका छौँ। हामीलाई उहाँहरूले माया गर्नुहुन्छ,” रहिम भन्छन्।
२०६१ भदौ १६ गते इराकमा १२ नेपालीको हत्या हुँदा नेपालमा त्यसको विरोधमा आन्दोलन भएको थियो। त्यतिबेला मुस्लिम समुदायलाई जोगाउन मियाँपाटनका अन्य समुदायले ठूलो भूमिका खेलेको रहिम बताउँछन्। “यहाँका दाजुभाइ, छरछिमेकले हामीलाई मात्र होइन हाम्रो मस्जिद पनि जोगाउन सहयोग गर्नुभयो। हाम्रो मस्जिदमा क्षति हुन दिनुभएन,” उनी भन्छन्।
आफूहरूले मान्दै आएको ‘कुर्बानी इद’मा अरू समुदायलाई पनि निम्तो दिने गरेको उनी बताउँछन्। “उहाँहरू हाम्रो चाडमा आउनुहुन्छ। दशैँ तिहारमा हामीलाई बोलाउनुहुन्छ। हामी पनि जान्छौँ,” उनी भन्छन्, “मेरो धर्मदिदी क्षेत्री समुदायको हुनुहुन्छ। उहाँले मलाई प्रत्येक तिहारमा टोपी लगाउन बोलाउनुहुन्छ। हाम्रो धार्मिक आस्था मात्र फरक हो, हामी बीच धेरै माया छ।”

पोखरामा सबैभन्दा ठूलो मस्जिद मियाँपाटनमै छ। मियाँपाटनको अक्सास्थित जामे मस्जिदका इमा (धर्मगुरू) हुसेन अलिका अनुसार यहाँ दिनमा पाँचपटक नमाज पढिन्छ। पहिलो नमाज सूर्योदयअघि गरिन्छ, जसलाई ‘फजरको नमाज’ भनिन्छ।
दोस्रो, मध्यदिनमा पढिनेलाई ‘जोहरको नमाज’, सूर्यास्तअघि पढिनेलाई ‘हसरको नमाज’ भनिन्छ। त्यस्तै, सूर्यास्त भइसकेपछि चौँथो प्रार्थना ‘मग्रिबको नमाज’ र सूर्यास्त भएको दुई घण्टापछि पाँचौँ नमाजलाई ‘इशाको नमाज’ भनिन्छ।
हरेक बालिग मुस्लिमले नमाज पढ्नुपर्ने धार्मिक मान्यता छ। धेरैजसो नमाज पढ्न मस्जिदमै आउँछन्। “जबसम्म हाम्रो जिन्दगी रहन्छ, हामीले नमाज पाँचपटक पढ्नैपर्ने हुन्छ। आउन नसक्नेले घरमै अथवा दुकानमा भए पनि पढ्छन्,” इमा हुसेन भन्छन्।
शुक्रबार मियाँपाटनमा ‘धार्मिक मेला’
मुस्लिम समुदायमा नमाजलाई प्रार्थना गर्ने मानिस र सृष्टिकर्ताबीचको समन्वयकर्ता मानिन्छ। सृष्टिकर्ता निराकार भएकाले परिकल्पना पनि गर्न नसकिने विश्वास मुस्लिम धर्ममा छ। “त्यसकारण पनि हामी उहाँको कुनै खाले मुर्ति पूजा गर्दैनौँ। हाम्रो धर्मले यो मान्दैन,” हुसेन भन्छन्, “हामीले सृष्टिकर्ताको महानतालाई महसुस गरेर सृष्टिकर्ताको तारिफ गर्दै नमाज पढ्ने गर्छौं।”
शुक्रबार स्थानीयसहित मस्जिद नभएका ठाउँबाट पनि नवाज पढ्न आउने हुनाले मियाँपाटनमा भिड लाग्छ। त्यसलाई ‘झुमाजको नमाज’ भनिन्छ। त्यस्ता अरू पनि नमाज छन्। मुस्लिमहरूको सबैभन्दा ठूलो चाड ‘इद’मा पनि नमाज पढिन्छ।
मुस्लिम समुदायको दोस्रो ठूलो चाड ‘बकर इद’ हो। त्यसमा सम्पूर्ण शहरबासी मुस्लिम आएर एकै ठाउँमा नमाज पढिने हुसेन सुनाउँछन्। “मस्जिदमा आएर नमाज पढ्नुको मान्यता, संसारमा बाहिर धनी, गरिब, सफा, फोहोर जे–जस्तो भए पनि सृष्टिकर्तालाई समानरूपमा याद गर्ने मौका आउँछ,” उनी भन्छन्, “त्यतिखेर एउटै छतमा कुनै भेदभावबिना कसैलाई नछुट्याइ, धनी र गरिब एउटै लाइनमा बस्छन्। यसले समाजमा समानताको सन्देश दिन्छ।”
पोखरामा मुस्लिम समुदायको इतिहास ४०० वर्षभन्दा लामो भए पनि धेरैले थाहा नपाएको उनी बताउँछन्। “मल्ल राजा जयस्थिति मल्लको समयदेखि विभिन्न दस्ताबेजमा मुस्लिमको नाम रहेको पाइन्छ। त्यसकारण मुस्लिमको इतिहास नेपालमा लामो छ,” हुसेन भन्छन्, “पोखरेली मुस्लिमको इतिहास चारपाँच सय वर्ष पुरानो भएको हाम्रो पुर्खाले भन्ने गर्थे। दुखको कुरा, हाम्रो यति लामो इतिहास हुँदाहुँदै पनि पोखरामा मुस्लिम समुदाय छ भन्ने धेरैलाई थाहा छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
