Sunday, April 28, 2024

-->

युवाको पुस्तक रुचि: के पढ्छन्, कति समय दिन्छन्?

युवाहरूले प्रायः आख्यान, इतिहास, आत्मकथा र राजनीतिका पुस्तक किन्ने गरेका छन्। धेरैले अभिभावक र साथीभाइको प्रेरणा लिएर पुस्तक पढ्छन्। तर, अतिरिक्त अध्ययन गर्ने युवाको संख्या भने निकै कम छ।

युवाको पुस्तक रुचि के पढ्छन् कति समय दिन्छन्

काठमाडौँ– कपनकी निरूता कार्की कक्षा १२ मा अध्ययनरत छिन्। कक्षा ११ को परीक्षा दिएपछि उनले साहित्य र इतिहाससम्बन्धी केही पुस्तक किनेर पढिन्। विद्यालयको पाठ्यक्रममा समावेश भएका बाहेक उनलाई साहित्य, इतिहास, दर्शन, राजनीतिलगायत पुस्तकमा रूची छ। विशेषगरी इतिहासका पुस्तक आफूलाई मन पर्ने उनको भनाइ छ।

“प्रायः म पुस्तक किनिरहन्छु, कहिलेकाहीँ उपहार पनि आउँछन्,” उनी भन्छिन्, “आफूले पाएको पैसा जम्मा गरेर राख्छु, त्यसैले पुस्तक किन्ने गरेकी छु।”

निरुताको घरमा पुस्तकका कुरा भइरहन्छ। उनका बाबु पढ्नमा रुचि राख्छन्। विभिन्न विधाका पुस्तक किनेर ल्याइरहन्छन्। पहिले त बाबुले पढेको देख्दा उनलाई दिक्क लाग्थ्यो, तर अहिले आफैँ पढ्न रुचाउँछिन्।

“पुस्तक पढ्नुको मज्जा नै फरक हुन्छ,” निरुता भन्छिन्, “पढ्न बस्दा समय बितेको थाहा नै पाइँदैन।”

स्नातक प्रथम वर्षमा अध्ययन गर्ने सुकेधाराका दर्शन न्यौपानेलाई पाठ्यक्रमबाहिरका पुस्तक पढ्न खासै रूची लाग्दैन थियो। तर, साथीको संगतले आजभोलि पुस्तकमै मग्न हुन थालेका छन्। साथीको घरमा आख्यान तथा गैरआख्यानका अनेक पुस्तक देखेपछि आफूलाई पनि पढ्ने रहर जागेको उनको भनाइ छ।

“विजयकुमारको खुसी पुस्तक साथीले नै उपहार दिएको थियो,” उनी भन्छन्, “पछिल्लो समय थोरैथोरै पैसा जम्मा गरेर आफूलाई मन पर्ने पुस्तक किन्ने गरेको छु। पुस्तकले यसरी तान्ने रहेछ कि, त्यसको लत लागेपछि छाड्नै सकिँदैन।”

ज्ञान बढाउन पाठ्यक्रममा तोकिएका पुस्तक पढेर मात्र नपुग्ने कुरा अन्य पुस्तक पढ्न थालेपछि मात्र थाहा पाएको उनी बताउँछन्।

कक्षा ११ मा पढ्न थालेकी मैतीदेवीकी प्रमिला कार्कीले जेठ र असारको खाली समयमा चार वटा पुस्तक पढिन्। एसईई दिएर बसेको समयको सदुपयोग गर्न उनले कृष्ण माबुहाङको ‘माओवादी जनयुद्वः कैदी नं. ५१ को बयान’, सुबिन भट्टराईको ‘इजोरिया’, विजयकुमारको ‘खुसी’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ किनेकी थिइन्। 

“बिदाको समयमा फुर्सद हुन्छ, त्यसैले जहिले पनि बिदामा पुस्तकहरू किन्ने गरेको छु,” कार्की भन्छिन्, “यो वर्ष पनि बिदामा पुस्तक किनेँ, अहिले पढ्न बाँकी पुस्तक दशैँ तिहारको बिदामा पढ्ने योजना बनाएकी छु।”

उनलाई राजनीतिक र संस्मरणका पुस्तक पढ्न मन पर्छ। आख्यान पनि पढ्ने गरेकी छन्। कक्षा ११ मा अब राजनीतिशास्त्र विषय पढ्ने रहर लागेको उनको भनाइ छ।
जमलस्थित पुस्तक पसल मण्डला बूक प्वाइन्टका संचालक सिदार्थ महर्जनका अनुसार युवाहरूले प्रायः आख्यान, इतिहास, आत्मकथा र राजनीतिका पुस्तक किन्ने गरेका छन्। तर, पुस्तक पढ्ने युवाको संख्या भने निकै कम रहेको उनको भनाइ छ।

“नेपालमा युवाहरू नै छैनन्, सबै विदेश पलाएन भएका छन्, अनि कसरी पुस्तक पढ्ने युवा भेटिन्छन्?” महर्जन भन्छन्, “पहिलाको तुलनामा पुस्तक किन्नेहरूको चाप कम भएको छ।”

अनलाइनबाट पुस्तक किन्नेको संख्या बढेर पनि पसलमै गएर किन्नेको संख्या घटेको उनको अनुमान छ।

बागबजारस्थित रत्न पुस्तक भण्डारका प्रेम महर्जन पनि अनलाइनबाट पुस्तक बिक्री हुन थालेपछि पसल आउनेको संख्या घटेको बताउँछन्। तर, समग्रमा पुस्तक बिक्री पहिलाभन्दा घटेको उनको भनाइ छ। अनलाइन र पसलबाट गरी दैनिक सातआठ वटा पुस्तक मात्र बिक्री हुने उनले बताए।

प्रायः युवा पाठकले प्रेमका विषयमा लेखिएका आख्यान र जीवन कसरी सफल बनाउने जस्ता विषयमा लेखिएका पुस्तक मन पराउने महर्जन बताउँछन्। “युवा पुस्तालाई नै लक्षित गरेर बजारमा त्यस्तो कुनै पुस्तक आएका छैनन्, जसलाई जुन पुस्तक मन पर्छ, त्यही लाने गरेका छन्,” उनी भन्छन्।

पाठकहरूको गुनासोः लेखक कमजोर भए
कक्षा १२ को पढाइ सकेका रञ्जन बुढाथोकी लेखकहरूले युवा पाठकको चाहनाअनुसार विषय समेट्न नसकेको र लेखनशैली पनि खस्किएको बताउँछन्। उनी भन्छन्, “अहिले लेखकले युवाका समस्यालाई बोल्न सकेका छैनन्, युवा  पुस्ताका सपना पुस्तकमा आएका छैनन्। वैदेशिक रोजगारीमा तानिएका युवाहरूको कथा भेटिँदैन।”

पछिल्लो समय प्रकाशित भएका पुस्तक क्षणिक आनन्द र मनोरञ्जन दिनमै केन्द्रित भएको उनी बताउँछन्। लेखकहरूले समसामयिक राजनीति, सामाजिक मनोविज्ञान, धर्म संस्कृतजस्ता  विषयमा युवापुस्ताले आफूलाई पाउने गरी पुस्तक लेख्नुपर्ने उनको भनाइ छ।

जमलस्थित एजुकेशनल बुक हाउसमा भेटिएकी मञ्जु श्रेष्ठ पनि युवा पाठकको चाहना बुझेर लेखकहरूले पुस्तक लेख्न नसकेको बताउँछिन्। “युवा पाठकका लागि युवा लेखकले नै भावना बुझेर लेख्न सक्छन्। तर अनुसन्धान, कथामा मौलिकता र विचार सम्प्रेषण बलियो हुनुपर्छ,” उनी भन्छिन्, “लेखकहरूले युवा पुस्ताको रुचि बुझ्न सकेको जस्तो लाग्दैन।” 

लेखक सुबिन भट्टराई बुढाथोकी र श्रेष्ठको भनाइसँग सहमत छन्। लेखकहरूले पाठकको रुचि बुझेर पुस्तक लेख्न सक्नुपर्ने उनको भनाइ छ। सरल भाषामा पुस्तक लेख्न सके युवापुस्ताको आकर्षण बढ्नसक्ने उनी बताउँछन्।

उनले लेखेको पछिल्लो उपन्यास इजोरिया युवा पाठकले रुचाएका छन्। यसअघि उनका पुस्तक मनसुन र प्रिय सुफी पनि युवा पाठकले मन पराएका थिए। धेरै पाठकका रुचि र चाहना फरक–फरक हुने हुँदा सबैलाई समेट्ने गरी पुस्तक लेख्न नसकेको भट्टराई बताउँछन्।

“युवा पुस्तालाई पुस्तकले तान्न सकेको छैन भन्ने मलाई पनि लाग्छ,” उनी भन्छन्, “इन्टरनेटको प्रयोगले पनि पाठकको धैर्य कम हुँदै गएको छ, छोटा लेख पढ्ने बानीले लामो समय बसेर पुस्तक पढ्ने बानी हराउँदै गएको छ।”

बुक हिल प्रकाशनका भुपेन्द्र खड्का प्रकाशन गृहहरूले युवाका लागि समेत पुस्तक प्रकाशन गरिरहे पनि समग्र पुस्तककै बजार घटेको बताउँछन्। सरकारले मनोरञ्जनको क्षेत्रलाई प्रथामिकता दिन नसक्दा पुस्तक पढ्ने युवाको संख्या पनि कम भएको हुनसक्ने उनको भनाइ छ।

“नेपाली बजारमा पुस्तकको माग धेरै कम हुन थालेको छ। पहिले जति पुस्तकहरू बिक्री हुन्थे, अहिले घटेर आधामा पुगेको छ,” उनी भन्छन्, “आफ्नो अस्तित्व कायम गर्नको लागि भए पनि पुस्तकहरू प्रकाशन गररिहेका छौँ।”

पछिल्लो समय लेखकहरूले उपन्यास, कथा, कविता, आत्मकथा बढी लेखिएको खड्का बताउँछन्। प्रायः लेखकको लेखन शैली एउटै हुँदा पनि युवालई पुस्तकले तान्न नसकेको खड्काले बताए। 

अतिरिक्त पुस्तक पढ्दै नपढ्ने बानी
कक्षा १२ को पढाइ सकाएका कलंकीका मोहन कार्कीलाई पुस्तक पढ्न मन नै पर्दैन। पाठ्यक्रमकै पुस्तक पढ्न भ्याइ नभ्याइ हुने हुँदा अन्य पुस्तक पढ्न नसकेको उनी बताउँछन्।

“मैले पहिलोपटक अमर न्यौपानेको सेतो धरती पुस्तक किनेको थिएँ। त्यसपछि पाठ्यक्रमबाहिरको नेपाली पुस्तक किनेको छैन्,” उनी भन्छन्, “नेपाली पुस्तक पढ्दा निन्द्रा नै लाग्छ, शब्दहरू हेर्याे त्यसै अल्छी लाग्छ।”

स्नातक तह दोस्रो वर्षमा अध्ययनरत कपनकी निरूता राणा पाठ्यक्रमको पुस्तकभन्दा अरू पुस्तक पढ्ने सोच कहिले नआएको बताउँछिन्। “पुस्तक पढ्ने समय नभएको हो कि मैले समय निकाल्न नसकेको हो, अहिलेसम्म अरू किताब पढेको छैन,” उनी भन्छिन्, “अहिले अलि फुर्सदमा छु, तर पनि पुस्तक किनेकी छैन्।”

काँडाघारीकी अनुसा यादव पनि पुस्तक नपढ्नेमा पर्छिन्। धेरैअघि झमक घिमिरेको संस्मरण ‘जीवन काँडा कि फूल’ किनेकी थिइन्। त्यो पनि पूरा नपढेको उनी बताउँछिन्। “पुस्तक पढ्ने समय नै कहाँ हुन्छ र? कोर्षको पुस्तक पढ्दा नै दिमागले काम गर्न सक्दैन। अरू पुस्तक पढ्ने समय कसरी निकाल्न सकिन्छ?”

कक्षा ११ मा अध्ययनरत कविता सुवेदी आफूले कहिले पनि पुस्तक नपढेको बताउँछिन्। तर उपहारमा केही पुस्तक पाएको र ती भने पढेको उनको भनाइ छ।


सम्बन्धित सामग्री