Saturday, April 27, 2024

-->

आज आमाको मुख हेर्ने दिन, काठमाडौँको मातातीर्थमा भक्तजनको घुइँचो

आमाको मुख हेर्ने दिनको अवसर पारेर काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेको घुइँचो लागेको छ।

आज आमाको मुख हेर्ने दिन काठमाडौँको मातातीर्थमा भक्तजनको घुइँचो

काठमाडौँ– आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिन यो पर्व मनाउने परम्परा छ।

छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठोमसिनो खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई दानसहित भोजन गराई सम्झने गर्दछन्।

वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्साइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी रहेको उनले बताए।

यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ। मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थित रूपमा स्नान गर्ने व्यवस्था मिलाइएको बताए। यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको उनको भनाइ छ।

मन्दिरका पुजारी फणीन्द्र अधिकारीले मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेको बताए।

मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ। 


सम्बन्धित सामग्री