रक्तसञ्चार सेवा भनेको केवल नसामा बग्ने रातो तरल पदार्थको आदानप्रदान होइन, सङ्कटको घडीमा मानवतालाई बचाइराख्ने अन्तिम सञ्जीवनी बुटी हो।
इतिहास सधैँ किताबकै पानामा लेखिन्छ भन्ने हुँदैन। त्यो त आफ्नै शरीरभित्र पनि बस्न सक्ने भयो—कुनै बास्ना वा गन्धमा, कुनै माधुर्य आवाजमा वा आर्तनादमा, कुनै एकान्त सडकको मोडमा वा कोलाहलमा, मानव स्मृतिको कुनै आदिम दस्ताबेजदेखि अचानक आँखाअगाडि यत्रतत्र सर्वत्र छाएको हुन्छ इतिहास। त्यसैले त हरेक पुस्ताले इतिहासको केही अंश हातले छोएर, आँखाले देखेर वा सबै ज्ञानेन्द्रीयले महसुस गरेको हुन्छ।
हिजोका कुरा आज इतिहास भई जाने यो धर्तीमा, गत वर्षको भदौ २३ र २४ गते नेपालको राजनीतिमा एउटा विस्फोट मात्र नभएर शासकीय स्वरूप, राज्य संरचना, नयाँ पुस्तासहितको आमनागरिक, सुरक्षा संयन्त्र, अस्पताल र आकस्मिक स्वास्थ्य सेवा जस्ता विषयको अन्तरसम्बन्धलाई एउटै आन्दोलनको कसीमा राखेर परीक्षण भएको पाइयो। उक्त दिनमा हामीले सुनेका समाचारहरू टुक्राटाकुरीमा भए पनि अनवरत प्रदर्शन, ठाउँठाउँमा झडप, कतै गोली चलेको हल्ला, कतै घाइतेको चर्चा जस्ता विषय हरेक समाचारको हेडलाइन बनेकै थिए। साँझ पर्न नपाउँदै मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको समाचार आइरहेको थियो। घटना अनुसन्धानको निष्कर्ष केही महिनापछि सार्वजनिक हुँदा भदौ २३–२४ को घटनामा मृत्यु हुनेको सङ्ख्या ७६ जना र घाइतेको सङ्ख्या २,५२२ रहेको पाइयो। अर्थात्, हामीले उक्त दिन सुनेको भययुक्त समाचार केवल हल्ला मात्र नभएर त्यसको पछाडि एउटा गम्भीर मानवीय क्षति आकार लिइरहेको रहेछ भन्ने पछि थाहा भयो।
तर आज हाम्रो यो लेखमा स्मृतिमा ती दिनहरू, मृत्युभन्दा माथि जीवन, के? कसरी? र किन? भन्नेमा बढी केन्द्रित छ। एउटा त्रासद सडकको यात्रा, धुवाँले ढाकिएको आकाश, अनिश्चित आवाजहरू, बेतोडले हुइँकिएका एम्बुलेन्सहरू, अनौठा मान्छेहरू र यस्तै अरू थुप्रै। र यसमा हाम्रो प्रश्न हो—सङ्कटको क्षणमा मानिसको पक्षमा उभिनु भनेको आखिर के हो?
परिचय
मानव सभ्यताकै सबैभन्दा पुरानो कथामा सायद राज्यको कथा पर्छ। यसको विकासक्रमलाई हेर्दा ढुङ्गे युगको घुमन्ते जीवनपद्धतिलाई चिरेर कृषि तथा पशुपालनको स्थायी परिदृश्यमा प्रवेश गरेसँगै परिवार र समाजको प्रादुर्भाव भएको पाइन्छ। जसले एउटा नैतिक र कानुनी आधारशिलाका लागि राज्य व्यवस्था र शासकीय स्वरूपको अवधारणालाई जन्म दिएको पाइन्छ। प्राचीन एथेन्स तथा ग्रीक नगर–राज्यको अभ्यासदेखि आजको आधुनिक राष्ट्र–राज्य निर्माणसम्मको यो कालखण्डमा कानुन, वैधता, शक्ति र नागरिक सम्बन्धको विकास सिद्धान्त तहमा निरन्तर परिष्कृत हुँदै आएको पाइन्छ। समयको कालखण्डसँगै राज्यसत्ता, शासन प्रणाली र प्रशासनिक ढाँचामा अनगिन्ती फेरबदलहरू आएका छन् र आउने क्रम जारी छ। ती छलाङहरूका हरेक व्यावहारिक चरण तथा प्रक्रिया र दार्शनिक आधारहरूले मानव उद्विकासको गतिलाई लयबद्ध गरेको हामीले देखिरहेकै छौँ।
राजनीतिशास्त्र र राज्य विज्ञानको कडीमा राखेर यसलाई नियाल्दा, नेपालको राजनीतिमा गत वर्ष प्रस्फुटन भएको जेनजी आन्दोलन यही ऐतिहासिक क्रमभङ्गता, उथलपुथल, पुस्तान्तरण, संरचनागत असन्तुष्टि र राजनीतिक दर्शन र व्यवहारबीचको चेतनाको स्तरलगायतको एक परिघटना हो भन्न सकिन्छ। जसै राज्य सरकारका नीतिगत अपर्याप्ततामाथि शासकीय अपरिपक्वताका कारण नेतृत्वले नागरिकका नैसर्गिक अधिकारलाई समेत सम्बोधन गर्न चुक्छ, तब त्यो असन्तोष एकाएक प्रतिरोध र आन्दोलनको स्वरूपमा प्रतिशोधको जाज्वल्यमान अग्निमा परिणत हुन पुग्दछ। यस्तै द्वन्द्वात्मक धरातलबाट उठेर कैयौँ युवाहरूले आफ्नो अमूल्य जीवन गुमाएको उक्त आन्दोलनसमेत केवल राजनीतिक सत्ता परिवर्तन वा अमुक मागको नारामा सीमित रहन सकेन। यसले राष्ट्रको समग्र पक्ष र पाटामा अतुलनीय प्रभाव पारेको यथार्थ हाम्रा सामु असरल्ल छ।
यसै क्रममा स्वास्थ्य सेवा प्रणालीमा समेत गहिरो आघात पुर्याएको ज्वलन्त उदाहरण हाम्रा सामु छ। अस्पतालभित्रै भएको झडप र एम्बुलेन्समाथिको आक्रमणले यसलाई स्पष्ट पारेको हामी पाउँछौँ। विपत्तिको समयमा स्वास्थ्य क्षेत्रको अर्को जीवनरक्षक प्रणाली हो—रक्तसञ्चारको प्रणाली, जसमाथि समेत सङ्कटको त्यो विन्दुमा प्रहार भएको विदितै छ।
अस्पतालका आकस्मिक कक्षहरूमा छटपटाइरहेका घाइतेहरूका निम्ति रगतको अभाव हुन नदिन रक्तदान कार्य गर्नु–गराउनु एक सामान्य प्रक्रिया थियो, तर रक्तदान कार्यक्रमस्थलमा भएको गतिविधिका कारण निम्त्याएको मानवीय सङ्कटले राज्यको प्रशासनिक संयन्त्र र स्वास्थ्य सुरक्षाको अन्तरसम्बन्धलाई निर्ममतापूर्वक परीक्षण गरेको पाइयो। भौतिक पूर्वाधारको क्षतिभन्दा गम्भीर र नागरिकको जीवनरक्षासँग जोडिएको स्वास्थ्य सेवा प्रणालीमाथिको गम्भीर विचलन मान्न सकिने परिस्थिति थियो त्यहाँ। तसर्थ, राज्य संरचना र शासकीय स्वरूपको फेरबदलको उक्त समयले केवल राजनीतिक नेतृत्वको मात्र होइन, आपत्कालीन अवस्थामा समग्र राष्ट्रिय स्वास्थ्य सेवा र जनस्वास्थ्यको रणनीतिक व्यवस्थापनको गम्भीर समीक्षाको माग गरेको हामीले पायौँ।
भदौ २३ कालरात्रिको पदचाप : सहज बिहानीबाट शुरू भएको अनपेक्षित त्रासदी
गत वर्ष भदौ २३ गतेको दिन बिहान हामी सधैँझैँ अत्यन्तै सामान्य र सहज दिनचर्यामा थियौँ। अघिपछिका दिनहरूमा झैँ उपत्यकाका विभिन्न स्थानहरूमा दुई–तीनवटा रक्तदान शिविरहरू नियमित रूपमा सञ्चालन भइरहेका थिए। कोही साथीहरू फिल्डमा खटिएका थिए, कोही प्रयोगशालाको भित्री कक्षमा रगत परीक्षण गर्दै थिए, त कोही प्रशासनिक जिम्मेवारी र व्यवस्थापनका काममा तल्लीन थिए। रक्तसञ्चारको काम भनेको आशावादी र भविष्यगामी काम हो भन्छौँ हामी, जस्तो कि भोलिका लागि आवश्यक रक्ततत्त्वका लागि आज दिनभरको सम्भावित सङ्कलनको अनुमान गर्नुपर्ने, बिरामीको अवस्था बिग्रिएमा भोलि आपत्कालको पूर्वतयारी गर्नुपर्ने काम। बिहान प्रायः यस्तै हुन्छ—ब्यानर, कुर्सी, दाता फाराम के कहाँ छन् देखि प्रयोगशालामा उपकरणको गुणस्तर हुँदै प्रशासनिक कागजातका कुरा जाँच्ने, र परीक्षण गरी तयार राख्ने लगायत।
घडीको सुईमा दिउँसोको करिब बाह्र बज्दै गर्दा बानेश्वर क्षेत्रमा गोली चल्यो र स्थिति तनावपूर्ण बन्दै गयो भन्ने प्रारम्भिक सूचना कानमा पर्यो। त्यसलाई शुरूमा हामीले समाचारभन्दा बढी हल्लाजस्तो ठान्यौँ। मृत्यु हुनेको सङ्ख्या : कसैले सात जना भने, कसैले दस जना। सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरू आए पनि सूचना स्पष्ट थिएन। बिस्तारै माहोल तात्तियो, होहल्ला बढ्यो र असहज परिस्थिति उत्पन्न भयो। रक्तसञ्चार सेवालाई अफवाहमा होइन, सम्भावित आवश्यकता र प्रमाणित जोखिमको मूल्याङ्कन गरेर निरन्तरता दिने वा बन्द गर्ने निर्णय गर्नुपर्ने हुन्छ। हामी कार्यालयबाहिरका क्षेत्रमा सञ्चालित रक्तदान शिविरहरूको वस्तुस्थिति बुझ्न र व्यवस्था मिलाउनतर्फ लाग्यौँ।
सङ्कटको घडीमा मानिसहरू सेवाभावले रक्तदान गर्न आतुर हुन्छन्, रक्तसञ्चार सेवा प्रदायकको दृष्टिले त्यो दृश्य भावुक त हुने नै भयो तर चुनौतीपूर्ण पनि। रक्तदान मानवताको शुरूवात हो तर अन्तिम व्यवस्थापन भने होइन। रक्तदान केवल भीड जम्मा गर्नु मात्र नभएर, रगत दिनेदेखि लिनेसम्म दुवैका बीचमा हुने सम्पूर्ण गतिविधिलाई सुरक्षित रूपमा सम्पन्न गर्नु हो। त्यो दिनसमेत हामी यही यथार्थको परिधिमा थियौँ। त्यसैले हामीले हाम्रो टोलीलाई सुरक्षित रूपमा कार्यक्रम सकेर कार्यालय फर्कन भन्यौँ।
उता घटनाको स्पष्ट विवरण अझै आइसकेको थिएन, यद्यपि सो दिन ७ देखि १० जनाको ज्यान गएको अनुमानित खबरहरू सामाजिक सञ्जालमा फैलिसकेका थिए। पर्याप्त सूचनाको अभाव र आन्दोलनको स्पष्ट खाका नदेखिएका कारण जेन जी पुस्ताका विद्यार्थी भाइ–बहिनीहरूले सामाजिक सञ्जाल बन्द गरिनु हुँदैन भन्ने मागसहित अभिव्यक्तिको स्वतन्त्रता, डिजिटल पहुँच र सार्वजनिक उत्तरदायित्वको प्रश्न उठाएर शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको प्रारम्भिक बुझाइ थियो। त्यसैले उक्त घटना यतिमै सीमित हुने अनुमानसहित सधैँझैँ विश्रामका लागि आ–आफ्नो घरतर्फ लागियो। त्यो बेला हामीलाई थाहा थिएन कि दिनको अन्त्यसम्म मृत्युको सङ्ख्या १९ पुगिसकेको समाचार आउनेछ। यसरी कालरात्रिको पदचापमा रुमल्लिएर भोलिपल्ट बिहानैदेखि परिस्थिति पूर्ण रूपमा बदलियो, जुन हाम्रो कल्पनाभन्दा बाहिरको थियो।
भदौ २४, हिंसाको दुष्चक्रमा रक्तसञ्चारको मोर्चा: रक्तथैली बोकेर भाग्नुपरेका विवश प्रहरहरू
भोलिपल्ट बिहान अर्थात् भदौ २४ गते सबेरै हामी कार्यालयमा भेला भयौँ। दिनले फरक भाषा बोलिरहेको भए पनि आवश्यकताभन्दा ज्यादा बोल्ने फुर्सद हामी कसैसँग थिएन। पूर्वनिर्धारित तालिकाअनुसारका रक्तदान शिविरहरू सञ्चालन गर्न सहकर्मीहरू बिहानैदेखि आ–आफ्नो गन्तव्यतर्फ खटिए। पहाडका गाउँमा हिउँ परे पनि गोठबाट बस्तुभाउ चराउन गोठाला निस्किएझैँ हामी पनि आन्दोलनको आँधीबेहरीका बीच आफ्नो कर्तव्य पालना गर्न घरबाट बाहिरिएका थियौँ।
काठमाडौँको लय फेरिएको थियो, बिहान आठ बजेदेखि नै आन्दोलनको चर्को हलचल शुरू भइसकेको थियो। हरेक केही मिनेटमा समाचार अपडेट आउँथ्यो, मृतकको सङ्ख्या बढ्दै गएको हेडलाइन आइरहन्थे, कतै आगजनी त कतै भिडभाडमा प्रहरीको गोली लगायतका खबर सुनियो। दिन अघि बढ्दै जाँदा समाचारका शीर्षकहरू हरेक मिनेटमा बदलिन थाले। यता आगजनी भयो, उता तोडफोड हुँदै छ, सडक अवरोध छ, घाइतेलाई अस्पताल पुर्याइयो लगायतका खबर आइरहे। माछापोखरी, बालाजुमा निरा अधिकारीको नेतृत्वमा र प्रीतिका काफ्लेको नेतृत्वमा कोटेश्वरमा उत्साहपूर्ण रक्तदान भइरहेको थियो। देव महर्जनले कार्यालयको सवारीसाधनबाट सेवा प्रवाहलाई निरन्तरता दिइरहनुभएको थियो भने अर्को शिविरका लागि अजयप्रसाद खनालले व्यवस्था मिलाइदिनुभएको सेतो स्कोर्पियो गाडीमा चौधरी गुरुजी तैनाथ हुनुहुन्थ्यो। यता कार्यालयमा प्रयोगशालाको नेतृत्व देवीजीले गर्नुभएको थियो भने अर्चनाजी केन्द्रमै रगत सङ्कलनमा तल्लीन हुनुहुन्थ्यो। बिनु, आशा र सङ्गमजीले प्रयोगशालामा र मेलिना, गङ्गा र विकासजीले सहयोगी भूमिकामा कार्य गरिरहनुभएको थियो।
हामीलाई भने रगतको सम्भावित मागबारे चिन्ता थियो। समग्र रक्तसञ्चार केन्द्रहरूको अवस्था बुझ्न भनेर हामी पनि भक्तपुरतर्फ निस्कियौँ। हामीले ललितपुरतर्फको अवस्था भने डा. अरुण भण्डारीबाट प्राप्त गर्दै थियौँ। भक्तपुरका केही अस्पतालको अवस्था बुझेर हामी वीर अस्पतालमा आयौँ, त्यहाँबाट त्रि.वि. शिक्षण अस्पताल हुँदै ग्रान्डी अस्पताल गयौँ। त्यहाँको अवस्था बुझेर फर्कियौँ। बाटोमा हामी चढेको गाडीमा आन्दोलनकारीहरूको भीडले रोकटोक गरे। गाडीमा टाँसिएको “एच” अस्पतालको सङ्केत देखाउँदा पनि मानेनन्। हामीले हाम्रो परिचयपत्र देखाउँदै कृपया हामीलाई जान दिनु भनेर निस्कियौँ। अलिक अघि बढेपछि फेरि हामीलाई रोकियो।
त्यहाँ उपस्थित भीडले हाम्रो गाडीका दुई चक्काको हावा फुस्काइदियो र बाँकी दुईमा भने चक्कु प्रहार गरी टायर छेडेर काम नलाग्ने बनाइदियो। हामीले सङ्केत पाइसकेका थियौँ कि अब हाम्रो गाडीमा आगजनी हुनेछ। त्योभन्दा गम्भीर पक्ष, हामीलाई गाडीबाट निस्कन नदिएरै आगजनी हुनेछ भन्ने थियो। हठात् हामीले झ्यालको सिसा खोलेर हाम्रो परिचयपत्र देखाउँदै, रक्तदानको काम गरेर मान्छे बचाउन हिँडेको स्वास्थ्यकर्मी हौँ भनेपछि बल्लतल्ल छुट पाइयो। त्यस्तै हावाबिनाको टायर बिस्तारै गुडाउँदै त्यहाँबाट हामीले हाम्रो गाडीलाई कलङ्की र बल्खुबीचको एक गल्लीभित्र छिराएर पार्क गर्यौँ। कार्यालयको गाडी रगत लिएर सोही बाटो आउने भएकोले बाहिर बाटोसम्म निस्किएर गाडी बोलाएर कार्यालय पुग्यौँ।
कसको घर जलाइदियो, कसको व्यवसाय नष्ट भयो, को सुरक्षित छ र को छैन भन्ने दर्दनाक खबरहरूको बाढी नै आएको थियो। ‘डाम्–ड्याम्’ र ‘डुम्म–डुम्’ को पड्किने आवाजसँगै सहरका विभिन्न भागबाट कालो धुवाँको बाक्लो मुस्लो आकाशतर्फ उडिरहेको स्पष्ट देखिन्थ्यो। कीर्तिपुरमै पनि हजारौँको सङ्ख्यामा पटक–पटक उर्लिएको आक्रोशित भीडको आवतजावत चलिरहेको थियो, जसका हातमा नग्न खुकुरी, भाला र घरेलु हतियारहरू थिए। उनीहरूले हाम्रो केन्द्र रहेको आयुर्वेद क्याम्पसको बाटो र गेटमा समेत ढुङ्गामुढा बर्साउँदै, लात्तीले हान्दै, कराउँदै र चर्को नाराबाजी गर्दै अगाडि बढिरहेका थिए। केन्द्रका निवर्तमान अध्यक्ष रुद्रहरि ज्ञवालीसमेत केन्द्रमा केही आपत्कालीन अवस्था आइपर्छ कि भनेर बिहानैदेखि कार्यालयमै उपस्थित हुनुहुन्थ्यो।
सम्पूर्ण परिवेश देखे–भोगेपछि हामीलाई सुरक्षित रूपमा आफ्ना कर्मचारी साथीहरू, उपकरण र सङ्कलित रगतलाई कसरी जोगाउने भन्ने प्रश्नले थिचेको थियो। हामीले आफ्ना फिल्डमा खटिएका साथीहरूलाई फोन गर्न थाल्यौँ। कहाँ कस्तो अवस्था छ? शिविर सकियो? दाता सुरक्षित छन्? सामग्री कस्तो छ? लगायतका कुराकानी भयो। यस्तैमा, करिब १ बजेतिर निराजी भएको माछापोखरी, बालाजुको शिविर क्षेत्रमा गोली चलेको र स्थिति नियन्त्रणबाहिर गएको खबर प्राप्त भयो। त्यहाँको अवस्था बुझ्न खोज्दा, रगत दिन तयार भएर बसेका स्वयंसेवी रक्तदाताहरूको आँखाअघिबाट गोली चलेपछि रक्तथैली हातमा समातेर ज्यान जोगाउन भागदौड गर्न बाध्य भएको खबर प्राप्त भयो। रक्तदानको आकस्मिक अवस्था भनेको दाताको हेमोग्लोबिन घट्नु, रक्तस्राव नरोकिनु वा सामान्यतया बेहोस हुनु मात्र हुने गर्थ्यो, तर गोलीबाट ज्यान जोगाउन रक्तथैलीसमेत साथै लिएर भाग्नुपरेको कल्पना गर्नु फरक कुरा रहेछ। त्यस क्षण रगत केवल एक चिकित्सा विज्ञान मात्र रहेन भन्ने बुझियो। आज त्यो जीवित मानिसहरूको विश्वास बनेर सडकमा दौडिरहेको थियो।
माछापोखरीको रणमैदान : गोलीका डोब र जीवनको बाजी थापेर उद्धार यात्रा
माछापोखरी, बालाजु बाइपासस्थित रक्तदान शिविरबाट आपत्कालीन सम्पर्क स्थापित भएसँगै गोली चलेको सूचना आयो। सङ्कटको यस घडीमा लामो समयको आपत्कालीन व्यवस्थापनको अनुभव बोक्नु भएका केन्द्रका पूर्व जनरल म्यानेजर ऋषि रमण खनाल सरसँग समेत हामी निरन्तर संवादमा थियौँ। उहाँले पनि हामीले सोचे जस्तै कुरा बताउनुभयो, “डा. विपिन वा कोमल, तपाईँहरूमध्ये एक जना गाडी लिएर तुरुन्तै जानुहोस् र पहिले मान्छेहरूलाई सुरक्षित गर्नुहोस् र सामग्री उठाएर ल्याउनुपर्छ।” यता चौधरी गुरुजीले एक्लै त्यो उग्र भीड र युद्धको मैदानजस्तो बनेको क्षेत्रमा जान अलिक असहज महसुस गरिरहनुभएको समेत थियो। कार्यालयमा रुद्रहरि ज्ञवाली सरको सल्लाहमा लेखा अधिकृत अमितजीलाई पनि सँगै लिएर हामी चौधरीजीको सेतो स्कोर्पियो गाडीमा सवार भयौँ। साथमा कार्यालय सहयोगी कोपिलाजी पनि हुनुहुन्थ्यो।
कीर्तिपुर केन्द्रबाट बल्खुसम्म त हामी बेतोडले गाडी हुइँक्याएर पुग्यौँ, तर बल्खु पुग्नेबित्तिकै प्रदर्शनकारीहरूको उर्लिएको भीडले हाम्रो गाडीलाई घेरिहाले। हामीले गाडीको झ्यालबाट मुन्टो निकालेर घाइतेहरूको उपचारका लागि आवश्यक पर्ने रगत लिन जान लागेको भनेर निकै नम्र स्वरमा जानकारी गरायौँ। अलिक अगाडि बढेपछि गणेशथान मन्दिरको अगाडि फेरि गाडी रोकियो। हामीले त्यसै गरी उत्तर दियौँ। चौधरीजीले खोलाको बाटो तुलनात्मक रूपमा सुरक्षित हुन सक्छ भनेर गाडी उतैतिर मोड्नुभयो। तर जसै एक चोक आउँथ्यो, त्यहाँ टायर र पराल बालेर मानिसहरू बाटो छेकेर बसेका हुन्थे। हामी भयभीत हुँदै बिस्तारै गाडी अगाडि बढाइरहेका थियौँ। ठाउँ–ठाउँमा आन्दोलनकारीहरू “यो के हो, कसको गाडी हो?” भन्दै नजिकै आइपुग्थे। हामीले पालैपालो कहिले अमितजीको झ्यालबाट त कहिले कोपिलाजीको झ्यालबाट निकै विनयी स्वरमा आफ्नो परिचय दिँदै अगाडि बढ्नुपरेको थियो।
ठाउँ–ठाउँमा प्रहरीका ब्यारिकेडहरूझैँ बाङ्गो पारेर दन्किएको आगोलाई छलेर, विष्णुमती खोलाको किनारकिनारको बाटो र १६ खुट्टीबाट आउने बाटो तथा रिङ रोड बसपार्कको बाटो जोडिने चोक नजिकै पुग्दा अवस्था पूर्ण रूपमा भयावह देखिन्थ्यो। त्यहाँ जम्मा भएका अधिकांश युवाहरू ३० वर्षभन्दा कम उमेरका देखिन्थे। उपत्यकाले सदाझैँ नदेखेका अनुहारहरू, अधिकांशले कम्मरमाथि कपडा नै नलगाएको, हँसियाले काटेझैँ बाङ्गोटिङ्गो पारेर काटेको जिन्स पाइन्टको हाफ पाइन्ट लगाएका थिए। कपाल अनौठो ढङ्गले काटिएको, एक पाटो मात्र चिल्लो र अर्को पाटो लामो कपाल भएको, कतिपयको टाउकोमा ताराको चिह्न देखिने गरी खैरो वा रातो रङले मुण्डन गरिएको—अनेक अनेक थियो।
अनुहारमा एउटै किसिमको भाव देखिन्थ्यो—क्रोध र उत्तेजनाको घनत्व तीव्र थियो। आँखामा तीव्र आक्रोश र भोकमरीले पोलेको हिंस्रक जनावरजस्तो आक्रामकता स्पष्ट झल्किन्थ्यो। कसैको घाँटीमा नेपालको राष्ट्रिय झन्डाको रङ मिलेको कपडा बेरिएको थियो भने कसैका हातमा पेट्रोल भरेको बोतल, भाला, लाठी, नाङ्गो खुकुरी, फलामको पाइप र घर बनाउने छडहरू थिए। प्रहरीको आधा च्यातिएको बर्दी आफ्नो शरीरमा नमिलेको भए पनि लगाएका, हातमा रुमाल बाँधेका र हेलमेट लगाएका उनीहरूको उन्मत्त हुलले पेस्तोल र बन्दुकसमेत बोकेका थिए।
भीडको आँधीबेहरीमा मानवीय संवेदनाको परीक्षा: मृत्युको मुखबाट पुनरागमन
यस भयानक परिदृश्यबीच जब उनीहरूको नजर हाम्रो गाडीमा पर्यो, तब करिब एक सय जनाभन्दा बढी युवाहरूको हुलले “ओए, आयो–आयो” भन्दै दौडिँदै हाम्रो गाडीतिर झम्टिए। सङ्कटको भयावह पक्ष भन्नु नै भीडमा व्यक्ति हराउँछ र जब व्यक्ति हराउँछ, उत्तरदायित्व पनि हराउँछ। उनीहरूले चारैतिरबाट गाडी घेरेर “यो सरकारी गाडी हो कि क्या हो? सेतो छ त!” भन्दै केरकार गर्न थाले। पछाडिबाट एक जनाले एक हातमा आगोको पुल्ठो र अर्को हातमा पेट्रोलको बोतल बोकेर “आगो झोस्, आगो झोस्!” भन्दै चिच्याउन थाल्यो, तर उनीहरूमध्ये नै कसैले उसलाई रोक्यो।
हामी आत्तिए पनि सम्हालिएको स्वरमा आफ्नो वास्तविक परिचय दियौँ। हाम्रो मुख त बल्खुबाटै सुकेको थियो, यहाँ मुटुलाई ठाउँमा राख्नु थियो। कोपिलाजी र गुरुजीले पनि गाडीमा टाँसिएको रक्तदानको ब्यानर देखाउँदै हामी रगत लिन र आन्दोलनकारी बचाउन हिँडेको कुरा बताएपछि उनीहरू केही नरम भए। अमितजीले परिस्थिति साम्य पार्ने उद्देश्यले एकदमै विनम्र अनुनयको भाकामा, “हामी पनि तपाईँहरूसँगै देश र जनताको हित चाहने हौँ, घाइते आन्दोलनकारीहरूको उपचारका लागि रगतको व्यवस्था गर्न हिँडेका हौँ। हामीलाई छिटो रगत लिएर जान दिनुहोस्, ताकि हाम्रा घाइते भाइहरूलाई समयमै रगत चढाउन सकियोस्,” भन्नुभयो। यो सुनेपछि भीडबाटै कसैले ठूलो स्वरमा भन्यो, “ओए, सबैले छोडिदेऊ, रगत लिन गएको रे!” अर्को एक जना अगाडि आएर भन्यो, “हामीलाई पनि सँगै लैजाऊ अगाडिसम्म।”
आन्दोलनकारीहरू गाडीभित्रै चढ्ने हो कि भन्ने चरम त्रास हामीमाथि थियो, तर मुख खोल्ने वा प्रतिवाद गर्ने कुनै सुझबुझ र ठाउँ नै थिएन। हामी पूर्ण रूपमा मौन रहेर उनीहरूको आदेश पर्खिरह्यौँ। अर्को एक जना व्यक्तिले अगाडि बढेर “यो बाटो जाऊ” भन्दै बाटो खाली गराउन आफ्ना हातमा बोकेको बाँसको लट्ठीले मानिसहरूलाई “हट–हट!” भन्न थाल्यो। बिस्तारै त्यो उग्र भीड दुई भागमा विभाजित भयो र हाम्रो गाडीका लागि बीचबाट साँघुरो बाटो खुल्यो। हामी द्रुत गतिमा अगाडि बढ्यौँ र खोलाकै बाटो हुँदै नयाँ बसपार्कको विष्णुमती पुलमुनि पुग्यौँ।
उक्त भयकारी घटनापछिको त्यो यात्रामा हामी कोही पनि एक–अर्कासँग बोल्न सकेनौँ, शब्दहरू घाँटीमै अड्किएका थिए। हामी तब मात्र झसङ्ग भयौँ, जब मोबाइलमा निराजीको फोनको घण्टी बज्यो। हामीले कहाँ आइपुग्नुपर्छ भनेर सोध्यौँ, उहाँले बताएको ठाउँ ठ्याक्कै पहिचान गर्न नसकिने अवस्था थियो। हामीले गाडी रोकेर बाहिर निस्कनेबित्तिकै अर्को उग्र हुल आएर फेरि गाडी घेरिहाल्यो। त्यसपछि हामी तुरुन्तै गाडीभित्र छिर्यौँ र आफ्नो बाध्यता बतायौँ। उनीहरूले “यहाँ नबस, छिटो जाऊ” भन्दै तुरुन्तै प्रस्थान गर्न आदेश दिए। निराजीले त्यहाँका स्थानीय आयोजकहरूलाई भेटेर पुलसम्म जान भन्नुभएछ, भने हामी पनि ज्यानको बाजी थापेर माथिल्लो हाइवेमा उक्लियौँ।
माछापोखरी र नयाँ बसपार्क क्षेत्रको विष्णुमती पुलमाथि केही समयअघि मात्र भीषण झडप भएको र तीन पटक गोली चलेको जानकारी प्राप्त भयो। धुवाँको बाक्लो मुस्लोले आकाश ढाकेको थियो, अगाडिको बाटो स्पष्ट देख्न सकिएको थिएन। हामीले गाडीमा भएको सबै लाइट बालेर अगाडि बढ्ने प्रयत्न गर्यौँ, तर पनि केही देखिएन। मानिसलाई ठक्कर दिइने हो कि भन्ने चरम डर, भीडबाट घेरिनुपर्ने हो कि भन्ने डर, अनि हर्न बजायो भने आन्दोलनकारीहरू रिसाएर अनर्थ पो गर्ने हुन् कि भन्ने आशङ्काले सताइरहेको थियो। गुरुजीले साहस बटुल्दै सिधै गाडी हुइँकाइदिनुभयो र हामी सडकमा दनदनी बलेको आगोको ज्वाला पार गर्दै अगाडि बढ्यौँ। आगोको ताप गाडीभित्रसम्म आयो। धन्न आगोले गाडी छोएन र हामी सुरक्षित रूपमा माछापोखरीस्थित हाम्रो रक्तदान शिविर सञ्चालन भएको स्थलमा पुग्यौँ।
निराजी त्यहाँ रुन मात्र बाँकी हुनुहुन्थ्यो, तर उहाँले असाध्यै सुझबुझपूर्ण तरिकाले स्थानीय आयोजकहरूको सहकार्यमा कार्यालयका सम्पूर्ण सामग्रीहरू पहिले नै सुरक्षित रूपमा थन्क्याएर राख्नुभएको रहेछ। त्यहाँ गोलीले भित्तो छेडेको दृश्य हामीले आफ्नै आँखाले देख्यौँ। हामीले हेर्दाहेर्दै त्यहाँ अर्को एउटा मोटरसाइकल घिसार्दै ल्याएर आगो लगाइयो र “अब यसको पालो!” भन्दै कथित आन्दोलनकारीहरूको हुलले त्यहाँ राखिएको डोजर र स्काभेटरलाई ठेल्न थालिसकेका थिए। हामीले सामग्रीहरू गाडीमा हाल्यौँ र त्यहाँबाट तुरुन्तै निस्कियौँ। त्यहाँका स्थानीय आयोजकहरू र लायन्स क्लबका सदस्य साथीहरूले हामीलाई उहाँहरू स्कुटरमा अघि–अघि लागेर कहीँ टाढासम्म सुरक्षित रूपमा पुर्याइदिनुभयो। त्यसपछि हामी पुरानै बाटो हुँदै सुरक्षित रूपमा कार्यालय फर्कियौँ।
बाटोमा आउँदै गर्दा निराजीले सन् २०१२ सालको विनाशकारी भूकम्पको सम्झना गर्नुभयो। भूकम्पको झट्का आउँदा मानिसहरू रक्तदानका लागि हातमा राखिएको सिरिन्ज हतार–हतार थुतेर हातबाट रगतको फोहरा उडाउँदै ज्यान बचाउन भागेका ती कहालिलाग्दा दृश्यहरू सुनाउनुभयो। उहाँले थप्नुभयो, “आजको यो सङ्कटमा २०७२ सालको भूकम्पको अनुभवले हामीलाई सिकाएको पाठले यो जटिलतालाई पार गर्न सजिलो भयो।”
उक्त रक्तदान शिविरमा हाम्रो टोलीसँग खटिनुभएका दुई जना स्वयंसेवक बहिनीहरू पनि हामीसँगै हुनुहुन्थ्यो। उहाँहरूलाई पनि जीवनको परवाह नगरी यो जोखिमपूर्ण काम किन गरेको भनेर घरबाट लगातार फोनहरू आइरहेकै थिए। उहाँहरूलाई घरसम्म पुर्याउन सम्भव नभएकाले उहाँहरू बस्ने टोलको नजिकै सुरक्षित स्थानमा झारेर हामी अगाडि बढ्यौँ। चालक चौधरी गुरुजीलाई पनि घरबाट लगातार फोन आएको थियो, “दैनिक ज्यालादारीको कमाइ खानलाई ज्यानकै बाजी थापेर यस्तो महासङ्कटमा काममा जाने हो?” भन्दै चिन्तासहितको गाली त हामीले फोनबाहिर नै सुन्यौँ। उहाँले पनि “हस्, हुन्छ, बुझेको छु,” भन्दै फोन काट्दै परिस्थितिलाई सम्हालिरहनुभएको थियो।
हामीमध्ये कोही पनि त्यहाँ नायक बन्न निस्किएका थिएनौँ। हामी सबैसँग डर, साहस, चिन्ता र इमानदारिता थियो। र थियो यो सबैको अन्तरघुलनबाट जन्मिएको जिम्मेवारी। यहाँ आएर भने जीवन र मृत्युको एक गहिरो चिन्ता र सोचाइको अनन्त सागर देखिन्थ्यो—को–को के–के गर्दै छन्? कसका लागि गर्दै छन्? र हामी के गर्दै छौँ? भन्न त ‘बाँच र बचाऊ’ भन्छ, के हामी सुरक्षित छौँ? के हामीले सही गरिरहेका थियौँ? यो सब किन र कसका लागि भइरहेको छ? हामी के गर्दै छौँ? भन्ने प्रकृतिका अनेकौँ प्रश्नहरूले मस्तिष्कमा मन्थन गरिरहे। यी प्रश्नहरूको निश्चित उत्तर आज पनि छैन। तर एउटा कुरा स्पष्ट थाहा थियो। सङ्कटबीच काम गर्ने संस्थाहरूको वास्तविक मूल्य त्यतिबेला देखिन्छ, जब उनीहरूलाई आफ्नो नियमित जिम्मेवारीभन्दा एक पाइला अगाडि जानुपर्ने हुन्छ। यस्तै वैचारिक उथलपुथलका बीच हामी सुरक्षित रूपमा कार्यालयसम्म आइपुग्यौँ। कार्यालयमा हाम्रा अन्य फिल्डबाट फर्किएका सहकर्मी साथीहरू पनि सुरक्षित रूपमा आइपुग्नुभएको रहेछ।
साँझ परेपछि रक्तदान गर्न भन्दै करिब सय पटक जति फोन आयो। त्यसै गरी, करिब ५०–६० जना युवा तथा विद्यार्थीहरूको लामो ताँती कार्यालय परिसरमा आइपुग्यो। अरू १०–१५ जनाको दरले झुन्डका झुन्ड युवाहरूले कार्यालय भरिभराउ भयो। हामीले उनीहरूलाई सम्झाउँदै भन्यौँ, “हामीसँग अहिले रगत पर्याप्त मात्रामा सुरक्षित छ, तपाईँहरू चिन्ता नलिनुहोस्। भोलिको परिस्थिति कस्तो हुन्छ हामीलाई थाहा छैन, त्यसैले खाँचो परेको अवस्थामा भोलि आएर रक्तदान गर्नुहोला।” यसरी उनीहरूलाई सान्त्वना दिएर बिदा गरियो।
हामी सबैले सो दिन कार्यालयमै रात बिताउने निर्णय गरेर कार्यालयमै मिलेर खाना खायौँ, एक–अर्कालाई ढाडस दिएर बस्यौँ। तर आज कार्यालयमा सबै बस्ने हो भने भोलि फेरि कसरी कार्यालय चलाउने भन्ने चिन्ता पनि थियो। राति १०–११ बजेपछि रक्तदानका लागि आउनेहरूको सङ्ख्या घट्दै गयो। राति ११–१२ बजेतिर साथीहरूले आपसी सल्लाह गरेर एक–एक गर्दै सुरक्षित रूपमा घरतर्फ निस्कनुभयो। ल्याब इन्चार्ज देवीजी राति १२:३० बजेतिर निस्कनुभयो भने हामी अन्तिममा राति १:३० बजेतिर मात्र कार्यालयबाट बाहिरियौँ।
रक्तसञ्चार र सामाजिक सुशासनको नयाँ मार्गचित्र
गत भदौको २३ गते साँझदेखि २४ गते दिनभरिजसो रक्तदान शिविर राख्नुपर्छ भन्दै आएका करिब १२० वटा फोन कलहरूको जवाफ हामीले फर्काएका थियौँ। तर विडम्बनाको कुरा, ठीक त्यसको एक महिनापछि बडादसैँको मुखमा जब अस्पतालहरूमा रगतको चरम अभाव सिर्जना भयो र ती नम्बरहरूमा नियमित रक्तदान गर्ने आयोजकहरूबाहेकलाई फोन गरेर “दसैँको बेला रगतको खाँचो परेको छ, कृपया रक्तदान गरिदिनुहोस्” भनियो, तब तीमध्ये अधिकांशले मिठो त बोले तर सकारात्मक उत्तर दिन सकेनन्।
आज पछाडि फर्केर ती घटनाहरूलाई स्मरण गर्दा, रसुवा र नुवाकोटतिर गएको विनाशकारी बाढीको पीडा र त्रासदीको झल्को फेरि ताजा भएर मानसपटलमा आइपुग्छ। विपद्का बेला रगत सङ्कलन र वितरणको तीतो यथार्थ सधैँ उस्तै रहिआएको छ। आज पनि जब कुनै पनि दुर्घटना हुँदा बिहान ९ बजेदेखि शुरू भएको सङ्कट बेलुका ३ बजेसम्म र त्यसपछि भोलिपल्ट र पर्सिपल्ट गरी लगातार ३–४ दिनसम्म फोनको घण्टी लगातार बजिरहन्छ, तब हामी महसुस गर्छौँ कि हाम्रो संस्थागत प्रणाली र नागरिक उत्तरदायित्व कति संवेदनशील छ।
दसैँको मुखमा रगतको अत्यावश्यक खाँचो पर्दा कोही पनि तत्पर हुन नसक्ने तर मौसमी र देखावटी अवसरहरूमा भिडभाड गर्ने प्रवृत्तिले हाम्रो सामाजिक चरित्रको उदाङ्गो रूप देखाउँछ। कीर्तिपुर बर्न अस्पतालमा जलेका बिरामीहरूको पक्षमा अहोरात्र उभिनुभएका उज्ज्वल विक्रम थापाले भनेजस्तै, यहाँ एक पोका रगत दान गर्ने बेलामा मानिसहरू भेट्टाउन मुस्किल पर्छ, तर आफूलाई रगत चाहिएमा वा सामाजिक सञ्जालमा चर्चा बटुल्ने बेलामा भने भीड लगाउनेहरूको ताँती लाग्छ।
यसले के स्पष्ट पार्छ भने, वर्षभरि सेवाभावले निःस्वार्थ रूपमा खट्ने सच्चा रक्तदाताहरूलाई ओझेलमा पार्दै मौसमी सामाजिक अभियन्ताहरूले हिलोमा माछा मार्ने शैलीमा केवल भिडियो खिचाउने, प्रचारबाजी गर्ने र जनमानसमा वरिष्ठ समाजसेवीको नक्कली छवि बनाएर सामाजिक सञ्जाल प्रदूषित गर्ने प्रवृत्ति मात्र मौलाएको छ। नियमित रक्तदाताहरू र आपत्कालीन अवस्थामा ज्यानको बाजी लगाएर सहयोग गर्ने मनकारी हृदयहरूलाई यस किसिमका मौसमी गतिविधिहरूले गहिरो अन्याय गरिरहेका छन्।
विपद्को यस्तो बेलामा मानिसको ज्यान अत्यन्तै असुरक्षित हुन्छ, अनाहकमा धनजनको क्षति हुन्छ, कार्यालयका बहुमूल्य सामग्रीहरू हराउने र तोडफोड हुने जोखिम हुन्छ। यसको उदाहरण गत जेन जी आन्दोलनका क्रममा हाम्रो केन्द्रले भोगेको छ। तथापि, रक्तदाताहरूले बोकेर लैजानुभएको रक्तथैली भने पछि सम्पर्क गरेर सुरक्षित रूपमा कार्यालयमा फिर्ता ल्याइदिनुभएको समेत हामीले पाएका छौँ। तर कतिपय अवस्थामा ती सामग्रीहरू हराउने र दुरुपयोग हुने गम्भीर खतरा सधैँ रहन्छ।
तसर्थ, आगामी दिनमा राज्यको नियमनकारी निकाय, नीतिनिर्माता तह र रक्तसञ्चारका प्रमुख साझेदार संस्थाहरूले स्पष्ट दीर्घकालीन नीति निर्माण गर्नुपर्छ। जसबाट आपत्कालीन अवस्थाका लागि रक्तसञ्चार व्यवस्थापन, स्वयंसेवक सुरक्षा र स्वास्थ्य सुशासनको क्षेत्रमा कठोर र वैज्ञानिक मापदण्डहरू लागू हुन सकून्। यसले भोलिका दिनमा आउन सक्ने विपद्हरूमा रक्तसञ्चार सेवालाई पूर्ण रूपमा सुरक्षित, निर्बाध र जनमुखी बनाउन सकियोस्।
आउँदा दिनमा हामीले त्रासदीलाई स्मृतिमा राख्नुपर्छ, तर पीडाको सङ्ग्रहालय बनाएर होइन। जिम्मेवार, सुरक्षित र मानवीय सेवाभावको संवादको संस्कार निर्माण गर्नुपर्छ। राज्यले नागरिकको आवाज सुन्नुपर्छ; नागरिकले सार्वजनिक संरचना र जीवनरक्षक सेवालाई जोगाउनुपर्छ। हामी रक्तसञ्चार सेवामा काम गर्नेहरूले जस्तोसुकै कठिन घडीमा पनि विज्ञान, संवेदना र सेवाभावनाको दीप निभ्न दिनु हुँदैन। रक्तसञ्चार सेवा भनेको केवल नसामा बग्ने रातो तरल पदार्थको आदानप्रदान होइन, यो सङ्कटको घडीमा मानवतालाई बचाइराख्ने अन्तिम सञ्जीवनी बुटी हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
कोमल अधिकारी
