Monday, April 21, 2025

-->

‘यहाँ सुँगुरको कान पाइन्छ’

कहिले धर्म, कहिले जाति वा कहिले राष्ट्रवादको नाममा अपव्याख्या मिसाउँदै लेखक र लेखकीय धर्मको तेजोहरण गर्ने छुपेरुस्तम शक्ति यहाँ धेरै छन्।

‘यहाँ सुँगुरको कान पाइन्छ’

जुनकिरीझैँ चम्किएर देखापर्ने एकाध घटना र सन्दर्भ यस्ता हुन्छन्, जुन छिनभरमा निभेर जाने थाहा हुँदाहुँदै पनि मन–मष्तिष्कमा झस्को परिरहन्छ। जस्तो, बात शुरू गरौँ— सुँगुरको कानबाट। त्यो पनि आफ्नै थातथलोबाट।

मोरङको बेलबारी–पथरी हुँदै उर्लाबारी र झापाको दमक, झिलझिले, सुरुङ्गा हुँदै काँकडभिट्टा आसपासका भित्री वस्तीसम्मै खुलेका देखिन्छन्- सेकुवा र चियाचमेनाका स–साना पसल। काठमाडौँका भित्री चोकबजारमा भेटिने हरियो पर्दा रेस्टुराँझैँ यी पूर्वेली अधिकांश पसलको विशेषता समान छ- यहाँ सुँगुर वा धराने बंगुरका थरीथरी ‘आइटम’ पाइन्छ। त्यसमा पनि सुँगुरको कानको विज्ञापन र माग अधिक देखिन्छ। आश्चर्य यो हुन्छ कि, एउटा सुँगुरका दुइवटा कान हुन्छन्, बजार–वस्तीमा सुँगरको कान पाइने दर्जनौँ अड्डा भेटिन्छन्।

दमक बजारबाट मास्तिर भ्यू–टावर लागे पनि वा शरणार्थी शिविरको बाटो तेर्सिए पनि नामका ‘कानपुर स्पट’ र ‘कान कर्नर’ त कति भेटिन्छन् कति! अझ यो खान्की बनाउने, बेच्ने वा पसल थाप्ने जातअनुसार सबैतिर मतुवालीहरू छन् भन्ने पनि होइन। हुलमुलमा जो पनि छ- पूर्वी पहाडबाट बसाइँ सरेर आएका राई–लिम्बू मात्रै होइन, मधेशको तातोमा घुस्रिन आएका बाहुन–क्षेत्री पनि उत्तिकै छन्। 

बाहुन–क्षेत्रीकै बहुल बस्ती रहेको ठाउँमा पनि ‘कानपुर स्पट’ खुलेका छन्। सुँगुर वा कुखुराको सेकुवा, डामेको, पोलेको, झानेको वा मःम, तोङ्बा र झ्वाइखट्टे जे पनि पाइने यी स्पटमा हरेक अपरान्ह लाग्ने भिड पनि रमाइलै देखिन्छ, सधैँको बुधबारे हटियाझैँ।

‘मठ–मन्दिर, पुजारी र पण्डितहरू रहेको हाम्रो यो वस्तीमा पनि कानपुर? कसरी नि?’ प्रश्न झर्न पाएको हुन्न जवाफ आउँछ, ‘यहाँ बाहुन–क्षेत्री बाक्लै छन् र त हाम्रो बेपार चलेको छ। मतुवालीले त यस्तो शिकार खानै छाडिसके। धेरै त साधु पार्टीमा छन्। के कुरा गर्ने र? कुरैको दुःख!’
⁎⁎⁎
अब वर्तिरपर्तिर वस्तीमा छिरौँ। हिजोसम्म गणेश र शिव मन्दिर रहेका आँगन वा चौतारी थिए ती। हरेक बिहान शुद्ध जल चढाइने बर–पिपलका बढेमाका रूखहरू पनि जीवितै देखिन्छ। गाउँमा भजन–किर्तन मण्डलीहरू पनि चलेकै छन्। तर आश्चर्य लाग्छ– तिनै खेतखलियानका छेउभित्तामा थुप्रै नयाँ धर्म–वर्गका मण्डली उभिएका छन्, चर्चका नाममा। 

चर्चको वल्लो छेउमा ब्राम्हण मूलका हिन्दू कट्टर वडाध्यक्षको घर छ, अर्को छेउमा पण्डित घरानाको अर्का ब्राम्हणको वर्षौंदेखिको बसोबास छ। त्यो भूमिको सीमामा मण्डली चर्च उभिएको छ रातारात। यसको बिजारोपण, उत्पति र प्रलय कथाबारे न वडाध्यक्ष जानकार छन्, न गुरु–पुरोहित। फेरि पनि ६ महिनापछि त्यही गाउँवस्तीमा पुग्दा उसैगरी कुनै आधा कठ्ठे प्लटमा चर्च थपिएको देखिन्छ— लघु आकारमै भए पनि।

कवि हरिवंश राय बच्चनले ‘बैर बढाते मस्जिद–मन्दिर, मेल कराती मधुशाला’ भनेझैँ गाउँवस्तीमा गजबकै मिलाप देखिन्छ—सबै जात, वर्ग वा समुदायको। कहिले कानपुर स्पटमा, कहिले मण्डली चर्चमा।

उल्का यो छ कि, गाउँमा रंगोली, राखी, करवाचौध, भ्यालेन्टाइन, थेंक्स–गिभिङ डे सबैसबै उसैगरी भित्रिएको छ। अझ क्रिसमस इभमा त आँगनमा ठडिएको तुलसाको मठलाई कृत्रिम सल्लाको हाँगाले छेक्दै–छोप्दै झिलीमिली बेलुन उभ्याइएको हुन्छ। सान्ता क्लजदेखि आदम–इभका नाममा यहाँ झिर्झिरे बालिन्छ रातैभर। बर्थडे पार्टी र ‘बेबी–सावर’ त बाजा बजाएरै हुन्छन्। कोही कसैको काबुमा देखिन्न।

यो सबै हाम्रो हिन्दू धर्मकै अन्तरआत्मा हो कि पुँजीवादी कर्म? क्रिश्चियन मन्त्रणा हो कि हाम्रो पहिचान र अस्तित्वमाथिको धावा? अहँ कोही बोल्दैन। मानौँ, यो बहसको विषय नै होइन। 

बर्थडेको मैनबत्ती फुकेर निभाउने कि बालिरहने भन्ने गलफत्तीमा पनि कोही बस्नै चाहँदैन, किनभने सामुमा झन् भयावह रसरंगी पार्टी शुरू हुनेवाला छ। साँझ ढल्दैछ।
⁎⁎⁎
यति लामो पृष्ठभूमि जोडेर विषय उक्काउन किन खोजिएको हो भने, हालै अमेरिकी सरकारको सहयोग (यूएसएड र एमसीसी) समेत स्थगनमा परेपछि यी र यस्ता सन्दर्भका अन्तर्यहरू खोजबिन हुन थालेको छ। खोजबिन भन्दा पनि उडन्ते एउटा भाष्य तयार गरेर विशेषतः सामाजिक सञ्जालबाट कोही व्यक्ति वा संस्थाको तेजोहरण गर्ने ‘मिसन’ शुरू भएको देखिन्छ। कसैले भन्छन्— यूएसएडको लाखौँ रूपैया खाएर एकजना लेखकले हिन्दू धर्म मास्नेगरीको ग्रन्थ लेखे। कोही भन्छन्— अमेरिकी डलरको थैलो पाएर मदनकृष्ण–हरिवंशले ‘भैँसीको मःम बाहुनले खान्छ’ भन्दै टेलिसिरियल मार्फत ‘धर्मभ्रष्ट’ गराए। मह क्रिश्चियन धर्म प्रचारक हुन्, आदि–इत्यादी। 

अझ कोही खोजकर्ता भन्छन्— जर्मन पैसाको सहयोगमा कसैले ‘टुँडाल’ (कृष्ण धराबासी) लेखे, अर्कोले ‘पानीको घाम’ (अमर न्यौपाने) पनि त्यसैगरी खानु खाएरै लेखे। अनि, अर्को समीक्षक देखा पर्छ— लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’समेत पश्चिमा पुँजीवादी शक्तिको प्रभाव, दबाब र पैसाको पेलानमा तयार भएको हो, त्यही कारण यसले माओवादी द्वन्द्वको विद्रुप सामाजिक तस्वीरलाई देखाएको छ। 

अझ पत्रकार कनकमणि दीक्षितले लेखेको ‘देखेको मुलुक’ पुस्तक पनि त्यस्तै अपव्याख्याको कृति हो भनेर साइनपेन र मार्कर लिएर सामाजिक सञ्जालमा निस्कने पनि उत्तिकै छन्। फेरि दोहोर्‍याउँदै पढिहेर्दा ‘देखेको मुलुक’मा दीक्षितले देखेकै प्रसंग दोहोर्‍याएका रहेछन्, जस्तो— बुद्ध जन्मभूमि र सगरमाथाबारेको भूगोल–यथार्थ।

दीक्षित लेख्छन्— “नेपाललाई बुद्ध जन्मेको देश भनिए पनि यो पूर्णतः सत्य होइन। बास्तवमा ‘जुन ठाउँमा बुद्ध जन्मेका थिए, त्यो कपिलवस्तु क्षेत्र वर्तमान नेपालको भूभागभित्र पर्दछ’ भनेर भन्नुपर्ने हुन्छ, किनभने अढाई हजार वर्षअघि सिद्धार्थ गौतम जन्मँदा नेपाल राज्य थिएन। नेपाल सगरमाथाको देश भनिन्छ। त्यो पनि सही भन्न मिल्दैन, किनभने चीनसँग सन् १९६० मा भएको सिमाना सन्धिले सगरमाथा÷चोमोलोङमालाई भागबण्डा गरिदियो। सगरमाथाको दक्षिणी मोहडा नेपालतर्फ परे पनि उत्तरीपाटो तिब्बततर्फ पर्छ। जब सिंगो हिमालको आधा मात्र भाग यतातिर पर्न गयो, यसलाई ‘हाम्रो’ कसरी भन्ने? पर्यटन क्षेत्रले विदेशीलाई आकर्षण गर्न ‘बुद्धको देश’ या ‘एभरेष्टको देश’ भन्दा फरक नपर्ला, तर हाम्रा बालबालिकालाई अर्ध–सत्य कुराहरू सिकाएर राष्ट्रिय भाव जगाउनु कति जायज हुन सक्ला?” (राष्ट्रवाद, राष्ट्रियता)

पुस्तक ‘देखेको मुलुक’को अन्तर्यमा भनिएको कटु–सत्य यति मात्रै हो, जुन भनिनैपर्छ। यसमा नियोजित वा प्रायोजित अर्थ (फन्डेड) कहीँकतै छैन, देखिँदैन। अपनत्व र राष्ट्रवादको गगनभेदी मोह देखाउनै ‘बुद्ध वाज बोन इन नेपाल’ भन्दै टेम्पो र ट्रकका भित्तामा नारा लेखाएर देशव्यापी यात्रामा निस्कनु त्यस्तै ‘लोलोपोचो’ हो, जस्तो हरेकपटक चिनियाँ भूमि टेक्नासाथै हाम्रा नेता–राजनेताहरूले प्रलाप निकाल्ने गरेका छन्— एक चीन नीति! 

दीक्षितले लेखेका छन्, “राष्ट्रवाद कायर पनि छ। यसले उत्तरको चीनको सन्दर्भमा बेइजिङसँग स्वाभिमानी सम्बन्ध राख्नुको साटो मुन्टो झुकाइदिन्छ र बारम्बार ‘वान चाइना पोलिसी’ मात्र रट लगाउँछ, जबकि एकपटक निर्धक्क बेइजिङलाई नेपाली नीति मनाएपछि पुग्नुपर्ने थियो- एकल चीन हाम्रो मान्यता हो, बारम्बार यो कुरा दोहोर्‍याउन लगाएर हाम्रो स्वाभिमानमा आँच आउन नदेऊ।”

यति देखेको कुरा लेखेपछि सोध्न मन लाग्छ- के उसो भए दीक्षितले भगवान बुद्धदेखि सगरमाथा र एक चीन नीतिको लाजमर्दो पुकारासम्म ‘पैसा पाएरै’ लेखेका हुन्? शायद यिनलाई बुद्धजन्मको इतिहास सम्झाउन उत्तरले र बण्डा–सगरमाथाको आवाज उठाउन दक्षिणले पैसा दिएको हुनुपर्छ। यसमा कुनै शक्तिशाली आयोग बनाएर खोजबिन हुनुपर्छ, अनि मात्रै अहिले सामाजिक सञ्जालमा आएको होहोरी टुंगिन सक्ला। हो, धुँवाधार छानबिन हुनैपर्छ- बरु एउटा दीक्षित वा धराबासी, अर्को वाग्ले वा संग्रौलाको आफ्नै ‘विवेक’ र ‘हरि’ भने भड्खेलामै परोस्! 

यसरी कहिले धर्म, कहिले जाति वा कहिले राष्ट्रवादको नाममा अपव्याख्या मिसाउँदै लेखक र लेखकीय धर्मको तेजोहरण गर्ने छुपेरुस्तम शक्ति यहाँ धेरै छन्। स्थापित लेखकहरू नारायण वाग्ले, अमर न्यौपाने, खगेन्द्र संग्रौला, सीमा आभाष, कनकमणि दीक्षित, कुन्द दीक्षित, कृष्ण धरावासी, युग पाठक, आहुतिसहितलाई विदेशी दाताको पैसा खाएर किताब लेख्नेहरू भन्दै सामाजिक संजालमा ‘हुर्मत’ लिने काम यतिखेर जारी छ। संयोग के छ भने, आजको सन्दर्भमा कतिपय विषयगत मुद्दा र सरोकारमा औँलो उठाउने यी लेखकहरू मात्रै यस्ता प्रतिनिधि हुन्, जसलाई सिध्याउन सकेमा एउटा आवाजको तप्का निमिट्यान्न होला भनेर यो ‘परिचालन’ अघि बढेको देखिन्छ।

यो ‘खानपिन’ प्रकरणमा अहिलेसम्म प्रत्यक्ष नजोडिएका लेखक श्रवण मुकारुङ, जीवा लामिछाने, महेश पौड्याल, शरद प्रधानले लेखनवृत्तिका पक्षमा राय राख्दै ‘अनुदान कसले पायो भन्दा पनि त्यो अनुदानबाट के लेखियो (?)’ भन्ने प्रश्नलाई सरोकारमा ल्याउनुपर्ने भनेका छन्।

नियात्राकार एवं खेमलाल–हरिकला फाउण्डेसनका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, “यदि नेपाली लेखकहरूले ग्रान्ट लिएर समाजलाई उपयोगी हुने पुस्तक लेखेका छन् भने त्यो गौरवको बिषय हो, आलोचना र घृणाको बिषय होइन। तसर्थ, बहस साहित्यिक गुणस्तर, लेखनले समाजमा पारेको प्रभाव र बौद्धिक योगदानमा केन्द्रित हुनुपर्छ। व्यक्तिगत पूर्वाग्रहले भरिएका बहसहरूले कसैलाई फाइदा पुर्‍याउँदैन।” 

स्वच्छ आलोचना भन्दा बढी घृणायुक्त बहस र नकारात्मकता फैलिएर अति भएपछि ‘पल्पसा क्याफे’ उपन्यासका लेखक नारायण वाग्ले पनि ‘मुख खोल्ने’ मुद्रामा पुगेका छन्। तनहुँमा कृषि फर्म खोलेर उतै अर्गानिक दैनिकी बिताइरहेका वाग्ले भन्छन्, “यो सबै म दोस्रो जनआन्दोलनताका कान्तिपुरको सम्पादक हुनुको ब्याज हो। त्यो आन्दोलनपछिको परिवर्तनप्रति असहमत हुनेहरूबाट यसरी ट्रोल बन्ने गरेको देखिन्छ। नागरिक आन्दोलनका क्रममा मैले सडकमा औँला तेर्स्याउन थालेपछि त्यस्ता कुन्ठाहरू मप्रति पुनः पोखिन थालेका हुन्। कारण प्रष्ट छः प्रश्नसहित उभिने स्वाभिमानी नागरिकसँग डराउनेहरू नै त्यसरी लुकेर प्रहार गर्न विवस छन्। हाम्रो समाजमा राष्ट्रिय असुरक्षाको भाव कमजोर बनाएर राजनीति गर्न खोज्नेहरू सधैँ सक्रिय छन्, तिनले हिनभावना फैल्याउँछन्। आम मनोविज्ञान कमजोर पार्न तिनले प्रगतिका विचारहरूप्रति निन्दा प्रसार गर्छन्। हाम्रो लोकतन्त्र संस्थागत हुन नसकेको, दलहरू लोकतान्त्रिक हुन नसकेको, संस्थाहरू बन्न नसकेको, मिडिया खुम्चँदै गएको, राजनीतिक रोलमोडेलहरू असान्दर्भिक भएको समाजमा यसरी दक्षिणपन्थीले फुँडा उचालिहाल्छन् नि!”  
⁎⁎⁎
फेरि फर्कौं सुँगुरको कानतिरै। अनि— कलाकार महदेखि लेखक संग्रौला र हिन्दू धर्मको तक्ता पल्टाउन लागेका सबै अग्रगामी पात्र–प्रवृत्तितिर!

औँला भाँच्दै गनिहेर्दा— २०७५ जेठमा मेरी आमा मन्दोदराको निधन भाँगबारी गाउँमा भएपछि घरआँगनमा हाहाकार नामक दैत्यको उपासना कर्म शुरू भयो। कुकर्म गर्ने जोकोहीलाई माथि गोलोकमा कराईमा उम्लँदै गरेको तेलमा हालिने र सजाय दिलाइने कथाको पवित्र गरुड पुराण सुनेर हुनुसम्मको बैराग छाएको स्थिति थियो। अझ छोरी, श्रीमती, दिदीबहिनीका हकमा गरुड र विष्णुले आफ्ना विद्धत् वाणीमा यस्तो मन्त्रणा छाडेका छन्, मानौँ— नारीजाति भनेको किटपतंग हुन्, यिनको मानव–चोला छँदैछैन।

यसरी ‘अति’ भएपछि कोरामा बसिरहेकै मैले भनेथेँ— “बन्द गरौँ यी अनर्गल पाठहरू। यस्तो गरुड बखान सुनेकै भरमा हिन्दू सत्संगी बन्ने हो भने म आजैदेखि धर्मछाडा बन्न चाहन्छु। हिजो बाआमा छइन्जेल केही गर्न सकिएन, आज यो १३ दिने रोनाधोना किन? मिल्छ भने पञ्च–बैठक राखेर यसलाई तीन दिनमा झारौँ।”

आवेशमा आएर बोली त हालियो। पछि शोककर्मबाट उठेर इतिहासको केही ‘थ्रेड’ पछ्याउँदा थाहा लाग्यो— सम्वत १९९८ देखि यो १३ दिने काजक्रियाको पद्दति थालिएको रहेछ। श्री ३ महाराज जुद्ध शमशेरले यो नियम शुरू गराएका रहेछन्, जबकि त्यसअघि १३ महिनाको काजकर्म हुने रहेछ। 

यसरी हिन्दू विधिको एउटा विधान बनिएको १०० वर्ष पुग्नै लागेको रहेछ, त्यो पनि तोक आदेशबाट। यसकारण— अब त ‘कुछ हेराफेरी’ गरौँ, शोकमग्न दिनहरू घटाऔँ, गरुड पुराण जलाऔँ भनेर बोल्न र लेख्न आँट गरेको निकै भइसकेछ। मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँले ‘खसको काँधमा भिराइएको जनैको अर्थ!’ भनेर यसको ‘जातिवादी प्रभुत्व पहिचान’मा अहिले बहस थाल्नुभन्दा धेरैअघि काँधको जनै मिल्काउने मजस्ता थुप्रैले हिन्दू धर्मको ‘ध्वंशात्मक द्वन्द्ववाद’ शुरू गरेका रहेछौँ।

तैपनि, स्पष्ट पारिहालौँ— न उत्तर, न दक्षिण वा न अमेरिका वा युरोपेली शक्तिको आडमा यसरी गरुड पुराणदेखि हाहाकार दैत्यको प्रतिरोध गर्ने आँट पलाएको हो। यो त स्वविवेक हो। भैँसीको मःम खानेदेखि सुँगुरको कान चाख्नेसम्मको ‘बागी आँट’ त्यही हाहाकार दैत्यको बयानले मसहितका मेरा भाइभतिजमा भित्र्याएको रहेछ। यो कटु यथार्थ सुनाइरहँदा म पनि प्रायोजित–नियोजित हिन्दू धर्मको जड उखेल्ने अ.त. उहीबेला भएको रहेछु। जे त पर्ला, परेको बेहोरम्ला! 
⁎⁎⁎
मनोविज्ञान शास्त्रको पठनमा एउटा पाठ छ— ‘लोकस अफ कन्ट्रोल’ अर्थात् नियन्त्रणको केन्द्र! यो पाठ पढिहेर्दा थाहा लाग्छ— मान्छे दुइ प्रकारका हुन्छन्। एक, आफ्नो नियन्त्रणमा रहेका र दोस्रो, पराधिन। आन्तरिक नियन्त्रणमा भएको र बाह्य नियन्त्रणमा चलेको मान्छेको यो फरकपनाले धेरै अर्थ तथा प्रयोजन खुलाउन सक्छ।

मेरो अनुभव, सफलता वा विफलता जेजसरी र जुन रूपमा भयो, त्यो मेरै कारणले भएको हो भन्ने बुझाइको एउटा तप्कामा एकथरि मान्छे हुन्छ। यो तप्काले न भाग्यवाद मान्छ, न बाह्य शक्तिको हात। तर अर्को चाँही ‘म फलानो शक्ति वा व्यक्तिको दोषदृष्टि परेर असफल भएँ’ भन्दै अनर्गल प्रलाप गरिरहेको हुन्छ। बाह्य नियन्त्रण, प्रभाव र आशीर्वादमा यो जगत चलेको छ र यही कारण मेरो–तेरो जीवन पनि चलेको छ भन्ने अर्को वर्ग पनि उत्तिकै (अझ बढी) बलशाली छ। यो वर्ग बढीजसो ‘कन्सपिरेसी थ्योरी’ रुचाउँछ, जेजता पनि कसैको हात–साथ देख्ने भयवादी सिद्धान्त!

यसरी हेर्दा हाम्रो प्रवृत्ति, मानसिकता र सिंगो समाज समेत ‘आरोपण सिद्धान्त’ (एट्रिब्युसन थ्योरी) मा चलेको हो किझैँ लाग्छ। केही फल प्राप्त हुनसक्यो भने मेरै कारणले यो भएको हो भन्ने। फल प्राप्ति भएन भने ‘त्यस (अर्कै)को कारणले भएन’ भनिदियो। राम्रो नतिजा आएमा मात्रै ‘गुडलक’को फुर्को आफैमा रहने, गलत नतिजा नआएमा ‘ब्याडलक’को नकारात्मक चेत मात्रै बाँकी रहने!

जस्तो, अहिले सामाजिक सञ्जालमा छाएझैँ विदेशीको पैसा खाएर किताब लेख्ने वर्गबारेका सूचना ‘नकारात्मकता’ मात्रै हो, ‘आलोचना’ होइन। यसमा धेरै सोचविचार गर्ने, प्रतिवादी बन्ने वा लेखक धरावासीले झैँ आवेशमा आएर ‘लु भन, मैले पाएको ५० हजार फिर्ता बुझाउन कता जाऔँ?’ भनिरहनै पर्दैन। बरु ‘टुँडाल’ पुस्तकको अन्तर्य पाना गिन्ती गरेर भिडियो वाचन गरे पुग्छ।

अब लागौँ— अन्वेषक लैनसिंह बाङ्देलको बहुचर्चित कृति ‘स्टोलन इमेजेज अफ नेपाल (१९८९)’ तिर। बाङ्देल जीवित छँदै २०५७ सालमा (मसँग) भएको कुराकानीमा उनले यो कृति तयार पार्दा नेपालका लागि तत्कालीन अमेरिकी राजदूत मिल्टन फ्रेंक (१९८८–१९८९) सँग भएको उठबस स्मरण गरेका थिए। नेपाल (विशेषत काठमाडौँ उपत्यका) बाट चोरिएका र हराएका पुरातात्विक २०० भन्दा बढी मूर्ति सम्पदाहरूको सचित्र विवरणको कृति तयार भएपछि बाङ्देलले त्यसको पाण्डुलिपि हेर्ने अन्तिम जिम्मा उनै राजदूत फ्रेंकलाई दिएका थिए। 

कतिसम्म भने कृतिको नाम ‘स्टोलन’ राख्ने वा ‘लस्ट इमेजेज अफ नेपाल’ राख्ने भन्ने अन्योल पनि छँदै थियो। तर गजब के भइदियो भने, उनै अमेरिकी राजदूतले पुस्तकको नाम ‘स्टोलन इमेजेज अफ नेपाल’ नै हुनुपर्छ भनेर निर्णायक मत राखेका थिए। तिनै राजदूतले नेपालबाट चोरिएर अमेरिका पुगेका केही संग्रहालयको डिटेल तथा सदबिज र क्रिष्टिजमा लिलामीमा राखिएका नेपाली सम्पदाबारे प्रारम्भिक जानकारी दिएका थिए। त्यो गुनलाई लैनसिंहले राम्रैसँग सम्झिएका छन्।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कुलपति भइसकेका बाङ्देलको यो मानक सोध–कृतिको वाहवाही आज कति छ भन्नै पर्दैन। यही कृतिले उत्खनन् गरेका र अभिलेखीकरण गरेका नेपालका मूर्ति सम्पदामध्ये १०० जतिको हालको स्थान (अवस्थिति) पत्ता लागिसकेको छ भने, ३० जति त घर फर्किसकेका छन्। अब यहाँनेर गम्भीर सरोकार के उब्जिन्छ भने, झन्डै ३४० पृष्ठको बृहत पुस्तक (रंगीन तस्वीर, ग्लसी–पेपर) छाप्नका लागि त्योबेलाको प्रज्ञा प्रतिष्ठानसँग पैसो थिएन (जस्तो आज पनि हुन्न।)

अनि, लेखक बाङ्देलले केही कूटनीतिक परामर्शमा प्रज्ञा प्रतिष्ठानको अनुमतिसहित ‘स्टोलन इमेजेज अफ नेपाल’ छपाइमा जापानी दूतावासमा हारगुहार गर्न पुगे। कतिपय सम्पदाको मामला युनेस्को अभिसन्धिमा पनि जोडिएको र जापानको युनेस्को सम्बद्धताका कारण जापानकै टोयोटा फाउन्डेसनबाट आर्थिक सहयोग पाएर यो पुस्तक छापिएको थियो। त्यो अनुदानलाई बाङ्देलले सहृदयतापूर्वक पुस्तकको भित्री पृष्ठमा लेखेका छन्, आफ्नो मन्तव्यमा कृतज्ञता जाहेर गरेका छन्।

के ‘स्टोलन इमेजेज अफ नेपाल’को योगदान र सत्कर्मलाई आज ‘टोयोटा–ग्रान्ट’ भनेरै भुंग्रामा हाल्ने? यही पुस्तकको प्रमाण बोकेर सम्पदा पहिचान र प्रामाणिकतामा लागिरहेका तथा ‘कन्ट्री अफ ओरिजिन’ पहिल्याउने अभियान–अभियन्तालाई ‘हन्डीमा खाएको पैसाको बलमा जारी राखिएको काम’ भन्दै अँचेटिरहने?

हो, ‘स्टोलन इमेजेज अफ नेपाल’ त एउटा उदाहरण मात्रै हो, अहिलेलाई यो एउटै काफी छ। उहिल्यै कवि भूपी शेरचनले उसै ‘हामी’ लेखेका होइन रहेछन्। भूपी लेख्छन्—
“हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने, हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्ट्याइदिनुपर्ने
हामी आफूखुशी कहिल्यै अगाडी बढ्न नसक्ने
कसैले पछाडीबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ–रोगन छुटेका
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौँ
एउटा मनोरञ्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’द्धारा सञ्चालित 
हो, हामी मानिस कम र बर्ता गोटी हौँ।”


सम्बन्धित सामग्री