हामीले खाने तरकारी–फलफूलमा कति छ विषादी?

कुल खपतमध्ये झन्डै दुईतिहाइ तरकारी तथा खाद्यान्न देशभित्रै उत्पादन हुने नेपालमा ती खानेकुरामा विषादी यति नै छ भन्न पर्याप्त र विश्वसनीय तथ्याङ्क छैन। यसमा थप अनुसन्धान जरुरी छ।

छिमेकी मुलुक भारतको दिल्ली नजिक भएको अन्वेष भन्ने खाद्यसम्बन्धी एक सम्मेलनमा दिइने मौखिक प्रस्तुतिको शीर्षक छान्न भनिएपछि मेरो रोजाइमा अनुसन्धान धेरै नगरी रूचिबर्धक लाग्ने र सुनिरहेको विषय ‘नेपालमा आयात हुने फलफूल र तरकारीमा विषादीको परीक्षण’ भन्ने विषय पर्‍यो। मैले यही शीर्षक सम्मेलनका लागि पठाएँ। केही कारणले मलाई आयातीत फलफूल र तरकारीमा धेरै विषादी हुन्छ भन्ने लागेको रहेछ। सम्मेलन नजिक आउँदै गर्दा मैले यस विषयमा बढी भन्दा बढी अध्ययन गरेँ। तिनै अध्ययनहरूको आधारमा निस्किएको निष्कर्ष सबैसामु यस लेखमार्फत पस्कँदै छु।

तरकारी र फलफूलमा के उच्च विषादी छ?
खानेकुरामा फलफूल र तरकारी स्वास्थ्यका लागि बढी लाभदायक हुने विभिन्न अनुसन्धानले देखाएका छन्। बढ्दो आम्दानीसँगै विगत २५ वर्षमा नेपालीहरूको फलफूल र तरकारीको खपत ५० प्रतिशतले बढेको छ। नेपालीहरूले प्रतिवर्ष प्रतिव्यक्ति लगभग ७० किलो तरकारी र ५० किलो फलफूल खपत गर्ने सर्वेक्षणले देखाउँछन्। 

हिजोआज तरकारीको उत्पादन २५ वर्ष अगाडिको तुलनामा ७० प्रतिशतले बढेर ५० लाख टन प्रतिवर्ष पुगेको छ। त्यस्तै, फलफूलको उत्पादन सय प्रतिशतभन्दा बढेर १५ लाख टन प्रतिवर्ष पुगेको छ। यसरी अन्तिम २५ वर्षमा देशभित्रको फलफूल र तरकारीको उत्पादन लगभग दोब्बर बढेको छ। यतिले नपुगेर ३० देखि ४० प्रतिशत फलफूल र तरकारी आयात गर्नुपरेको छ। यी तथ्याङ्कले दुईवटा तथ्य उजागर गर्छन्। पहिलो, नेपालको कृषि उत्पादन धेरै बढेको छ। दोस्रो, नेपाली खाद्यान्नमा विषादी हुने सम्भावना पनि उच्च छ।

अब चर्चा गरौँ, तरकारी र फलफूलमा प्रयोग हुने विषादीहरूबारे। कृषि उत्पादनमा साधारणतया तीनथरी विषादीको प्रयोग हुन्छ– किरा मार्ने, घाँस मार्ने र ढूसी (फङ्गस) मार्ने। किरा मार्ने विषादीमा विभिन्न वर्गका रसायनहरू पर्छन्, जस्तै– अर्ग्यानाे फोस्फेट, कार्बामेट र अर्ग्यानाे क्लोरिन। डीडीटी एक प्रकारको अर्ग्यानाे क्लोरिन हो जसको खराब असर वर्षौं अगाडि पत्ता लागेको थियो। यसको उत्पादन, आयात, निर्यात र प्रयोग निषेध गरिएको छ। डीडीटी लामो समयसम्म जीवहरूमा रहिरहने र क्यान्सर लगाउने कारकका रूपमा भेटिएको थियो। अर्ग्यानो फोस्फेट र कार्बामेट भने लामो समयसम्म जीवमा नरहने तर धेरै मात्रा रसायन भएमा स्नायु प्रणालीमा असर गर्ने भेटिएको थियो। 

जनमानसमा खाद्यान्नमा व्यापक विषादी भएको चर्चा–हल्लासँगै हालसालै विषादीहरूको केही मात्रामा परीक्षण भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले केही परीक्षण गरेका छन्। खेतबारी र बजारमा सस्तो र्‍यापिड किटको प्रयोग गरेर अर्ग्यानाे पोस्फेट र कार्बामेट भए नभएको परीक्षण गरिएको थियो। 

र्‍यापिड किटको नतिजा धेरै विश्वासयोग्य हुँदैन। परीक्षणबाट विषादी भएको देखिए अरू अलि महँगा परीक्षण विधिबाट विषादी भएको प्रमाणित गर्नुपर्छ। फेरि र्‍यापिड परीक्षणले कतिचोटि विषादी नभएको नमूनामा पनि ‘पोजिटिभ’ नतिजा देखाउँछ। र्‍यापिड परीक्षण नेपालका बजारका फलफूल र तरकारीमा सन् २०१४ यता गरिँदै आइएको छ। एक प्रतिशतभन्दा कम नमुनामा मात्र र्‍यापिड परीक्षणमा विषादी भएको देखियो। यो परीक्षणमा विषादी भएको जस्तै देखिँदैमा विषादी भएको ठहर्दैन। अरू महँगा परीक्षणको आवश्यक पर्छ। नेपालमा थप परीक्षण गर्न नसक्दा सतर्कता अपनाउँदै फलफूल र तरकारी फालिएको थियो। अहिलेसम्मका परीक्षणबाट नेपालका बजारमा भएका फलफूल र तरकारीमा विषादी छ भन्ने ठोस प्रमाण छैन। 

ठोस प्रमाण जुटाउन अर्ग्यानाे फोस्फेट र कार्बामेटको र्‍यापिड परीक्षणबाहेक अरू वर्गका किरा मार्ने रसायनको र्‍यापिड परीक्षण गरिनुपर्छ। साथसाथै झार र फङ्गस मार्ने विषादीको पनि सस्तो परीक्षण आवश्यक छ। त्यसपछि ठोस प्रमाण जुटाउन महँगा परीक्षण पनि गर्नुपर्नेछ। यी परीक्षणबाट विषादीको मात्रा तोकिएको मात्राभन्दा उच्च देखिएमा डराउनुपर्ने स्थिति हुनेछ। 

प्रमाणित नहुँदा नहुँदै जनमानसमा खानाभरि विषादी नै विषादी छ भन्ने भ्रम छ। हामीमा कागले कान लग्यो भनेर कानै नछामी कागको पछाडि लाग्ने प्रवृत्ति व्याप्त छ। संसारमा नराम्रो कुरा मात्र देख्ने हाम्रो मानसिकता छ। हामी खानामा किटाणु र विषादी देख्छौँ, हावामा प्रदूषण देख्छौँ, पानीमा हानिकारक रसायन र किटाणु देख्छौँ। शङ्कालु मानवीय मानसिकताले आदिकालमा हामीलाई खतराबाट बचाएको हुनसक्छ। तर यही मानसिकताले आधुनिक कालमा नभएको खतराको भुमरी खडा गरेको छ। त्यसैले ठोस वैज्ञानिक तथ्यलाई शिरोपर गरेर भ्रमको पछाडि नलाग्नु श्रेयस्कर हुनेछ। 

नेपाल र भारतका खेतबारीमा प्रयोग हुने विषादीको मात्रा हेर्ने हो भने हामी सशंकित हुने ठाउँ कम छ। नेपाल र भारतमा अमेरिकाभन्दा पाँच गुणा र चीनभन्दा २५ गुणा कम विषादी प्रयोग हुन्छ। नेपाल र भारतमा धेरै कीरा र फङ्गस मार्ने विषादीको प्रयोग हुन्छ। जीएमको खेती धेरै नहुने भएकोले झार मार्ने विषादीको धेरै प्रयोग हुँदैन। अमेरिका र चीनमा भने विषादीहरूमा झार मार्ने विषादीको सबभन्दा धेरै प्रयोग हुन्छ। अरू विषादीको पनि राम्रै प्रयोग हुन्छ। 

खेतीमा पाँचदेखि पच्चीस गुणा बढी विषादी प्रयोग गर्दा बजारसम्म पुग्ने फलफूल र तरकारीमा पनि बढी विषादी हुनुपर्ने अनुमान लगाउन सकिन्छ। चीन र अमेरिकाका उपभोक्ता परीक्षण गरेर खानामा विषादी छैन भन्छन् भने हामी मात्र आत्तिनुपर्ने स्थिति नहुन सक्छ। विषादी कम प्रयोग भए पनि नियम नपुर्‍याई प्रयोग भए खानामा विषादी थुप्रिन सक्छ। यसको ठोस प्रमाण नभएको अवस्थामा कृषकलाई विषादीको प्रयोगबारे सही शिक्षा दिने र खेतबारीमै गएर खानामा विषादी भए नभएको परीक्षण गर्ने गर्न सकिन्छ।

अर्को, जनमानसमा भएको हल्ला भनेको फलफूल र तरकारीको आयु बढाउन किसानले खानेकुरा बेच्नु अगाडि विषादी छर्कन्छन् भन्ने छ। यो हल्लाको पनि वैज्ञानिक आधार र प्रमाण छैन। नेपालमा किरा मार्ने विषादीको मात्र परीक्षण भएको छ। बजारसम्म पुगेको फलफूल र तरकारीलाई किराबाट खासै खतरा हुन्छ भन्ने मलाई लाग्दैन। खतरा भए फङ्गसबाट हुन सक्छ। त्यसैले कीरा र झार मार्ने विषादी भन्दा फङ्गस मार्ने विषादीको परीक्षण गर्नु आवश्यक देखिन्छ। 

फलफूल र तरकारीमा विभिन्न किसिमका विषादी अस्वीकार्य मात्रामा हुनु पक्कै डरलाग्दो अवस्था हो। खानामा विषादी भए मानव स्वास्थ्यलाई नकारात्मक असर पर्नसक्छ। अहिलेसम्म भएका परीक्षणबाट यो सम्भावना यथार्थ हो भन्न सकिन्न। यसका लागि विभिन्न प्रकारका विषादीको मात्राको ठोस परीक्षण आवश्यक छ। ठूलो जाँचमा देशभरिकै फलफूल र तरकारीको नमुना जाँच्नुपर्ने हुन्छ। निरन्तर अनुगमनका लागि विज्ञहरू सुष्मिता थापा र प्रद्युम्न पाण्डेले स्तरबद्ध उपाय सुझाएका छन्। 

जसअनुसार पहिलो चरणमा नेपालका सबैजसो ठूला बिक्रेता बजारमा र्‍यापिड परीक्षण गर्नुपर्नेछ। दोस्रो चरणमा खेतबारी र बजारमा अर्ग्यानाे फोस्फेट र कार्बामेट बाहेकका अरू रसायन परीक्षण गर्ने किटहरूको उपयोग गर्नुपर्नेछ। तेस्रो चरणमा एचपीएलसी र मास स्पेक्टोमेट्री जस्ता महँगा उपकरणहरूको प्रयोग गर्नुपर्छ। चौथो चरणमा सस्ता र महँगा उपकरणको प्रयोग खेतबारी र नाकामा गर्नुपर्छ। अन्तिम अर्थात् पाँचौ चरणमा उत्तम खेती प्रणाली र फलफूल र तरकारी कहाँबाट आएका हुन् भनेर पछ्याउने प्रणालीको विकास गर्नुपर्नेछ। 

मैले सकेजति यस विषयमा अनुसन्धान गरेपछि पहिले बुझाएको शीर्षक फेर्न बाध्य भएँ। पहिलो कुरा खाद्यान्नमा विषादीको समस्याबारे ठ्याक्कै यही हो भन्नलाई हामीसँग पर्याप्त विश्वसनीय तथ्याङ्क छैन। यसमा थप अनुसन्धान नगरी निष्कर्षमा पुग्न सकिन्न भन्ने लाग्छ। दोस्रो कुरा नेपालमा उत्पादित तथा आयातित तरकारी तथा फलफूलमा विषादीको मात्राको परीक्षण गर्नुपर्छ। नेपालको उपभोगको दुईतिहाइ जति नेपालमै उत्पादन हुने भएकाले यहाँ उत्पादित तरकारी तथा फलफूलको बढी मात्रामा परीक्षण हुँदा उपभोक्ताको स्वस्थ तरकारी तथा फलफूल खान पाउने अधिकार सुनिश्चित हुन्छ भन्ने मलाई लाग्छ।

(भट्टराई काठमाडौँ विश्वविद्यालय, वायोटेक्नोलोजी विभागका सह–प्राध्यापक हुन्।)