युद्धमा मानवीय र भौतिक क्षतिलाई स्वाभाविक ठानिन्छ। कुनै भूगोल र राष्ट्रका लागि होस् या देशभित्रकै शासन व्यवस्था परिवर्तनका लागि नै किन नहोस्, बलियो पक्ष युद्धहरूमा हाबी हुन्छन्, कमजोर पीडित बन्छन्। युद्धमा प्रत्यक्ष सहभागी नहुने खासगरी महिला, बालबालिका र निर्धन युद्धको मारमा बढी पर्छन्। दशक लामो गृहयुद्ध पार गरेर नेपाल यहाँसम्म आइपुगेको हो र युद्धमा बालबालिकाले अगणित कहर खेपेका छन्। दुःखको कुरा, युद्धताक मारमा परेका वर्ग, क्षेत्र, जाति र उमेर समूहबारे हाम्रोमा व्यापक बहस र छलफल भएकै छैन।
प्यालेस्टाइन पक्ष र इजरायलबीच पछिल्लो पटक चर्केको युद्धमा पनि सबैभन्दा बढी बालबालिका र महिला पीडित बने, मारिए, अंगभंग भए। आफन्त गुमाएर बेसहारा र घरबारविहीन बन्न पुगे। केही संख्यामा बालबालिका बन्धकसमेत बनाइए। दुई देश/समुदायबीचको राजनीतिक र धार्मिक उद्देश्य पूरा गर्न निर्दोष बालबालिकालाई ढाल बनाइयो, बनाइँदै छ।
द्वन्द्वसँग मतलबै नराख्ने कलिला बालबालिका युद्धमा घाइते भएका र मारिएका तस्वीरहरू मिडिया र सामाजिक सञ्जालहरूमा देखेपछि स्वयं र परिवार पीडित बनेको दुई दशकअघिका क्षणहरू सम्झेँ। त्यतिखेर देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो।
घटना २०६० मंसिर १६ गते कैलालीको साबिक पण्डौन गाविस वडा नं ३ खिमडीको हो। त्यस दिन तत्कालीन शाही नेपाली सेना र माओवादीबीच झन्डै १२ घण्टा जमिनी भिडन्त भयो। पछि सहायताका लागि सेनाको हेलिकप्टर गाउँ पुग्यो र गाउँमाथि बम खसाल्न थाल्यो।
उतिखेर म त्यस्तै ११ वर्षकी थिएँ होला। कैलालीको श्री भृकुटी माध्यमिक विद्यालय, खिमडी, कैलालीमा कक्षा ६ मा पढ्थेँ। हाम्रो अर्धवार्षिक परीक्षा तोकिएको दिन नै सेना र माओवादीबीच भिडन्त भएको थियो। हामी पढ्ने विद्यालयको चारैतिर बिहानैदेखि शाही नेपाली सेना जम्मा भएपछि गाउँलेले ‘पक्कै आज यहाँ केही अनर्थ हुँदैछ’ भन्ने अड्कल काटेका थिए।
सोही बुझेर त्यस दिन धेरै विद्यार्थी परीक्षा दिनै गएनन्, गएका पनि शायद बीच बाटोबाटै घर फर्किए या अभिभावकले विद्यालय जानै दिएनन्। म पनि गइनँ। म पढ्ने विद्यालय सो दिन रणभूमि बन्यो, दिउँसो पौने चारदेखि भोलिपल्ट बिहान चार बजेसम्म त्यहाँ भिडन्त भयो। सहायताका लागि पछि 'केन्द्र'बाट गएको हेलिकप्टरले बम फाल्न थालेको थियो।
जब बन्दुक पड्के…
खिमडी सुर्खेत, कैलाली र डोटीको सिमानामा पर्छ। शुरूमा सालडाँडा (खिमडी गाउँदेखि माथिल्लो र भिरालो भाग)बाट बन्दुक पड्केको आवाज आएको थियो। यसभन्दा पहिले पनि त्यस दिशाबाट बन्दुकको आवाज आउने गर्थ्यो। माओवादीले सैन्य अभ्यासका क्रममा बन्दुक र बमहरू पड्काएका आवाज हुन्थे ती।
त्यसो हुँदा शुरूमा बन्दुक पड्कँदा उति नौलो र अत्यास लागेन। बन्दुकको आवाज सुन्दा रमाइलो नै लाग्ने गर्थ्यो, किनकि त्यतिखेरसम्म बन्दुकले मान्छे मर्छ भन्ने ज्ञानसमेत मलाई थाहा थिएन। तर बन्दुक बोकेका मान्छेसँग सर्वसाधारण डराउँछन् भन्नेचाहिँ थाहा थियो। त्यस दिन हामी गाउँले विद्रोही माओवादी र सरकारी सेनाको दोहोरो भिडन्तको साक्षी भयौँ।
हाम्रो गाउँमा माओवादीको प्रभाव भए पनि युद्धका कारण त्यतिखेरसम्म कुनै क्षति र हताहती भएको थिएन। उतिखेर बुवा भीमबहादुर नेपाली माओवादीको गाउँ जनसरकार प्रमुख पनि भएका नाताले गाउँमा आउने माओवादी सेना, नेता र कार्यकर्ताको खानपान र बसोबासको व्यवस्थापनको नेतृत्व उहाँले गर्नुपर्थ्यो। उहाँले माओवादी सेनाको बर्दी निःशुल्क सिलाउनुहुन्थ्यो।
उतिखेर राजनीतिका कुरा मलाई खास थाहा थिएन। यतिचाहिँ थाहा थियो कि सेना र प्रहरीले दलितलाई सिधै माओवादी ठहर गर्छन्। त्यसो हुँदा सेना र प्रहरीको निशानामा दलितहरू रहन्थे। त्यसो हुँदा हाम्रा बुवा पनि त्रासमै हुनुहुन्थ्यो। गाउँमा सरकारी सेना आउन लागेको छ भन्ने थाहा पाएर नै बुवा घर छाडेर जंगलमै बस्ने गर्न थाल्नुभएको थियो।
पार्टीका मान्छेहरूले पनि "कि त तपाईं पार्टीमा हिँड्नुपर्यो, कि त सुरक्षित भएर बस्नुस् है" भनेर सचेत गराएपछि उहाँ जंगलमै केही दिन लुक्ने र स्थिति शान्त भएपछि घर फर्कने सोचमा हुनुहुन्थ्यो।
एक्कासि गोली चलेको आवाज आएन थाल्यो, बमको गर्जनले जमिन थर्कियो। निरन्तर दोहोरो गोली हानाहान र बम पड्कन थालेपछि हामी आत्तियौँ। हामीले हतारमा दुई वटा निर्णय लियौँ। सबै बच्चा सँगै लिएर वनमा लुक्नसमेत असहज भएकाले नौ वर्षको भाइलाई ६ वर्षकी बहिनीका साथमा हाम्रा बालिघरे विष्ट (गैरदलित) का घरमा पठाउने निर्णय गर्यौँ, जबकि दुवै जनाले त्यो घर देखेका थिएनन् र त्यहाँ पुग्न बलियाबाँगा मान्छेलाई नै चारपाँच घण्टा लाग्थ्यो। हामीले उनीहरूलाई फलानो फलानो ठाउँमा सोध्दै विष्टका घरमा जान भन्यौँ।
यसरी हामीले हतारमा जीवनकै कष्टपूर्ण निर्णय गर्यौँ। म र आमा भने साढे दुई वर्षको भाइलाई च्यापेर जंगल पस्यौँ। घरमै बसियो भने सेनाबाट खतरा थियो।
आकाशबाट हेलिकप्टरले तल गाउँ र जंगलमा बम खसाल्दै थिए। आकाश र जमिनमा बारुदका झिल्का झिल्ल–झिल्ल गर्दै पड्कन्थे। कसलाई निशाना बनाइयो र कसको ज्यान गयो भन्ने हामीलाई थाहा हुने कुरा भएन। पछि माओवादीले नै बताएअनुसार त्यहाँ दुई दर्जन माओवादी सेना-कार्यकर्ता मरे। भिडन्तको भोलिपल्ट आफ्ना कामदार आफन्त खोज्न बाहिरबाट आएका केही सर्वसाधारणसमेत सेनाबाट मारिए।
घरको ढोका बन्द गरेर घरमाथिको वनमा ढुंगाको ओडार खोज्न हिँड्यौ हामी तीन। अँध्यारोमा बेलका काँडाले कोतरेको र खोपेको खासै चासो भएन, त्यसको दुखाइ दुई दिनपछि मात्र महसुस भयो। हिँड्ने आँट भने मरेन। ढुंगाको सुरक्षित ओडार नभेटेपछि सानो खोल्साको ढुंगामा सेप लिएर, भाइलाई काखमा च्यापेर बस्यौँ। युद्धमा खाने र पिउने कुराको के चासो? बस् जीवन जोगाउनु थियो।
सुइया आवाजले कतिखेर गोली टाउको माथिबाटै गएझैँ लाग्थ्यो। त्यसैगरी हेलिकप्टरले हामी बसेको वरपरतिर बम फाल्दिन्थ्यो। गोली र बमको आवाजले काखको भाइ बेलाबेला आत्तिन्थ्यो। आवाज निकाल्दा सेनाले झनै 'टार्गेट' गर्ने हो कि भन्ने त्रासले हामी उसलाई साउती मारेको स्वरमा नरुन भन्थ्यौँ तर उ झनै निसास्सिन्थ्यो र रुन्थ्यो। भाइको रोदनले झनै त्रास बढाउँथ्यो। भाइको रोदनले अत्यास बढेपछि ‘अब के बाँचिएला र!’ झैँ हुन्थ्यो।
एकै दिनअघि ठीकठाक थियो, अहिले परिवारका सदस्य छिन्नभिन्न थियौँ। बुवा र भाइबहिनीको अवस्था के होला भन्ने कुराले बेचैनी बढाएको थियो। चिसोका बीच हामी काँप्दै रातभर त्यसरी खोलाको ढुंगाको सेपमा बस्यौँ।
लगभग बिहानको ३ बजेपछि बन्दुकको आवाज एकोहोरो हुन थालेपछि हामी जंगलबाट घर फर्कियौँ। बुवा र भाइबहिनीलाई कतिखेर भेट्न पाइएला भन्ने कुराले भित्रभित्रै मलाई पोलिरहेको थियो। आमाको अनुहार पनि चिन्ताले गलेको थियो। बुवा र भाइबहिनी बेखबर भएको अवस्थामा हामी घर फर्कनुको के अर्थ? फेरि हामी भाइबहिनी र बुवा भेटिनुहुन्छ कि भन्दै जंगलतर्फ नै पस्यौँ।
बिहान हुँदै थियो, जंगलमा अलिअलि कुहिरो लागेको थियो। टाउकोमाथि भने हेलिकप्टर अझै घुम्दै थियो। बेलाबेलामा म दुई हात माथि आकाशतर्फ फर्काउँथे। 'दुई हात फर्काएपछि सेनाले सर्वसाधारण भनेर मार्दैनन्', मैले साथीहरूबाट त्यस्तै कुरा सुनेको थिएँ। उज्यालो हुँदै गएपछि बाबाले मेरो आवाज सुन्नुहुन्छ कि भन्दै ‘बुवा बुवा’ भन्दै कैयौँ पटक बोलाएँ। तर कतैबाट पनि उत्तर आएन।
बुवा र भाइबहिनी भेटिए
मेरो मनमा बिस्तारै ‘बुवा हुनुहुन्न होला’ भन्ने लाग्दै गएको थियो। पक्कै पनि सेनाको आक्रमणमा बालाई निसाना बनाइयो भन्ने लागिरहेको थियो। जति कराउँदा पनि जंगलमा बुवाले ‘हँ’ भनेर आवाज फर्काउनुभएन। लगभग तीन/चार घण्टा हामीले जंगलभित्र बुवा खोज्यौँ।
बाको साटो हामीले त भाइबहिनीको आवाज पो सुन्यौँ। आवाज ननिकालीकन बुवा भाइबहिनी च्यापेर हामीनजिक आइपुग्नुभयो। यत्रो बमबारीपछि पनि हाम्रो परिवार सकुशल रहेको कुराले व्यक्तै गर्न नसकिने खुशी लाग्यो। अबचाहिँ बाँचियोझैँ लाग्यो। त्यसपछि हामी घर लाग्यौँ र त्यो स्तरको त्रास नझेलीकनै आजसम्म बाँचिरहेका छौँ।
तर मैले बुवा र भाइबहिनीको भेट बीच जंगलमा कसरी हुन गयो भन्नेबारे सोध्न भ्याएको या पाएको थिइनँ। अघिल्लो साँझ लामो बाटो विष्टका घर पठाइएका साना भाइबहिनी र महिना अघि नै परिवारको सम्पर्कमा नआउनुभएका बुवाबीच भेट कसरी भएको थियो? त्यसबारे मैले भाइबहिनी र बुवालाई कहिल्यै सोधेको थिइनँ। बुवा र भाइबहिनीले पनि सुनाएका थिएनन्।
'तिमीहरू भित्र आउन मिल्दैन…'
भएछ के भने लामो बाटो हिँडेर भाइ र बहिनी विष्टका घर पुगेछन् र आफूलाई आश्रय दिन भनेछन्। तर छुवाछुत र अन्धविश्वासका कारण उनीहरूले विष्टका घरभित्र प्रवेश पाउन असहज भएछ। उनीहरूले ‘तिमीहरू बाहिर बस, भित्र आउन मिल्दैन’ भनेपछि उनीहरू केही उपाय नदेखेर फेरि जंगलको बाटो हुँदै घरतर्फ फर्केछन्। भाइका अनुसार रातभर जंगलमा बहिनी बोक्दै घिच्च्याउँदै 'बाबा' भन्दै बोलाउँदै हिँडेछ र बिहान पाँच बजेतिर बालाई भेटेछ।
केही हप्ताअघि निरन्तर मिडियामा इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा परेका बालबालिकाका त्रासद समाचार र तस्वीरले फेरि २० वर्षअघिको बाल्यकालीन त्रासद क्षण सम्झेँ। युद्धपीडित प्यालेस्टाइनका पीडित बालबालिका र अभिभावकको मनोदशा कस्तो भएको होला भनेर अनुमान मात्र गरेँ। यस पटकको दशैँतिहार बिदाको समयमा बालापनको युद्धकालीन तितो क्षण सम्झिँदै एकअर्काको अनुभव साटासाट गर्यौँ, त्यही बेला मात्र २० वर्षअघिको सो 'रहस्य' खुल्यो।
बालबच्चामाथि युद्धले गर्ने अपराध
मानवीय विपत्तिको समयमा आफ्नै देशमा आफ्नै बुवाआमाले काम गर्ने बालिघरमा समेत आश्रय नपाएको कुरा भाइबहिनीबाट सुनेपछि मलाई लाग्यो– युद्धताका उत्पीडित, निर्धन र निमुखाहरू लुक्ने ठाउँ फेरि पनि खुला आकाश नै रहेछ। शायद, सबैतिर निमुखाहरूको कथा यस्तै होला। बाँच्ने आशाका साथ भनेर ठूला जातिको बस्ती छिरेका भाइबहिनी फेरि रातभरि जंगल डुल्नुपर्ने पीडा कल्पनाबाहिरको हो।
भाइबहिनी र मेरो बालापनको युद्ध रणभूमिको अनुभव साटासाट गर्दा अनेकन् प्रश्नले मनमा घोचिरहे। आजभोलि हमास र इजरायलबीचको हिंसात्मक द्वन्द्वमा बुवाआमा गुमाएका अबोध बालबालिकाहरू के गर्दै छन् होला? घाइते भएका बालबालिकाको अवस्था के होला?
मानवअधिकार र बाल अधिकारको क्षेत्रमा काम गर्नेहरू त्यस विषयमा कसरी काम गरिरहेका होलान्? आफ्ना आसपास जतिसुकै भीषण युद्ध चले पनि बालबालिकाले अन्तिमसम्म आफ्नो अभिभावक खोजिरहन्छ भन्ने कुरा मेरो युद्धकालीन अनुभव हो। मलाई लाग्छ– युद्धमा भौतिक क्षति नभए पनि मानवीय क्षति नहोस्, मानवीय क्षतिको पूर्ति कहिल्यै सम्भव छैन।
युद्धका बेला मात्र युद्धको असर पर्दैन, त्यस बेलाको सकसले लामो समयसम्म तर्साउने गर्छ। मानसिक रूपमा कमजोर पार्छ। मलाई धेरै वर्ष पछिसम्म पनि कहीँकतै ठूलो आवाज आउँदा पनि या बाइकको आवाज सुन्दा पनि बमको आवाज सुनिएझैँ लाग्थ्यो। टाउकोमाथि हेलिकप्टरले बम बर्साउन लागेझैँ लाग्थ्यो।
शायद प्यालेस्टिनी बालबालिकालाई पनि एम्बुलेन्सको आवाज युद्धको साइरनझैँ लाग्दो हो, बितेका बुवाआमा सम्झेर ती कहालिँदा हुन्। बितेका बालबच्चा सम्झेर बुवाआमा छटपटिँदा हुन्। त्यसैले, देशभित्र होस् अथवा दुई देशबीचको आपसी समस्या कूटनीतिक पहलबाट समाधान हुनुपर्छ। प्रकृतिमाथि विजय गरेर यति ठूलो स्थान हासिल गरेको मानव जातिले यस शताब्दीमा समेत बालबच्चालाई युद्धको शिकार बनाउनु महाअपराध हो। धर्तीमा लागेका कलिला कोपिलाले फक्रन पाउनुपर्छ।
नेपाली अधिकारकर्मी हुन्।